टाटा मोटर्सको उत्कृष्ट विद्युतीय गाडी नेपाल आउने निश्चित भएको छ।
भारतमा बिक्री हुने विद्युतीय गाडीमा दुई तिहाइ बजार हिस्सा ओगट्न सफल नेक्सन ईभी केही महिनाभित्रै नेपाली बजारमा आउने भएको हो।
सरकारले विद्युतीय गाडीमा बढाएको कर खारेज गरेसँगै नेपालमा टाटा मोटर्सको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा उक्त गाडी नेपाल ल्याउने तयारी गरेको छ।
भारतमा आक्रामक रुपमा बजार विस्तार गरिरहेको टाटाको नेक्सन ईभी भारतमा २०१९ डिसेम्बर अन्तिममा सार्वजनिक भएको थियो।

नेपालमा सिप्रदी टेड्रिङले गत वर्षकै २०२० कै अप्रिलसम्म यो गाडी नेपाल आउनसक्ने बताएको थियो। तर कोरोना महामारीसँगै नेपाल सरकारले विद्युतीय गाडीमा कर बढायो।
सोही कारण उक्त योजना सिप्रदीले स्थगित गरेको थियो।
टाटाले भारतमा मात्रै गत अप्रिलसम्म ४ हजार ५ सय २५ विद्युतीय गाडी बिक्री गरेको छ।
सन् २०२० को सुरुमा बजारमा आएको नेक्सन ईभी अगस्टसम्म १ हजार गाडी बिक्री भएको थियो।
त्यसपछिको ३ महिनामा दोब्बर बिक्री गरी नोभेम्बरसम्म २ हजार गाडी बेचेको हो।
डिसेम्बरदेखि मार्चसम्म फेरि दुई हजार गाडी बिक्री भएको थियो।

महामारीको बीचमा अप्रिलमा भारतमा ७ सय ४९ विद्युतीय गाडी बिक्री हुँदा टाटा एसयूभी नेक्सन ईभीको मात्रै ५ सय २५ वटा गाडी बिक्री भए।
नेक्सन ईभीमा ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, सनरुफ, कनेक्ट कार फिचर, प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर लगायतका फिचरहरु छन्।
नेक्सन ईभीले आरामदायी र सुरक्षाको हिसाबले एदमै बलियो गाडीको रुपमा पहिचान बनाएको छ।
टाटा नेक्सनको पेट्रोल इन्जिन गाडी नेपालमा बिक्री हुँदै आएको छ।
नेपालमा एसयूभी सेगमेन्टमा टाटाको नेक्सनले राम्रो बजार हिस्सा ओगटेको छ।
नेक्सन ईभी त्यही प्लटेफर्ममा निर्माण भएकाले विद्युतीय गाडीमा सबैभन्दा सुरक्षित गाडीको रुपमा लिइन्छ।
ग्लोबल एनक्यापमा नेक्सनले ५ स्टार रेटिङ पाएको छ। त्यसबाहेक सुरक्षाको लागि गाडीमा एन्टिलक बे्रकिङ सिस्टमसँगै इलेक्ट्रिक ब्रेक डिस्ट्रिब्युसन सिस्टम छ।
गाडीमा डुअल एयरब्याग, क्यामेरा बेस रिभर्स पार्क पनि छ।
प्लेटफर्म एउटै भएकाले गाडीको लम्बाइ र चौडाइ उस्तै छ। गाडीको बुट स्पेस ३५० लिटर रहेको छ भने तौल १४ सय किलो छ।

९५ किलोवाट मोटर्स, फुल चार्जमा ३१२ किमिसम्म गुड्ने
टाटाले तयार गरेको जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा ३१२ किलोमिटर रेञ्ज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ।
यसमा ३०.२ किलोवाट आवरको हाई इनर्जी डेनसिटी लिथियम आयन ब्याट्री सेल दिइएको छ।
यसको मोटरमा लिक्विड कुल्ड सिस्टम छ।
नेक्सनमा ९५ किलोवाटको इलेक्ट्रिक मोटर छ। जसले १२९ पीएस तथा २४५ एनएम टर्क जेनेरेट गर्छ। जिपट्रोन टेक्नोलोजीमा आधारित एसयूभीले फुलचार्जमा ३१३ किलोमिटर रेञ्ज प्रदान गरेको छ।
फास्ट चार्ज अर्थात् चार्जिङ स्टेसनबाट ८० प्रतिशत चार्जिङ १ घण्टामा हुन्छ भने घरमै फुल चार्ज गर्न करिब ८ घण्टा लाग्ने गर्छ।
गाडीमा ३०.२ किलोवाट आवरको हाई इनर्जी डेन्सिटी लिथियम आयन ब्याट्री छ। ईभीमा २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ।
नेक्सन ईभी ड्राइभ गर्दा न्वाइज, भाइब्रेसनजस्ता समस्या भोग्नु नपर्ने कम्पनीले जनाएको छ।
भारतमा ३ वटा भेरियन्टमा नेक्सन ईभी उपलब्ध छ। तिनमा ईभी एक्सएम, एक्सजेट प्लस र एक्सजेट प्लस लक्जरी रहेका छन्।
टाटाले ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किमिसम्म वारेन्टी दिएको छ। गाडीको ३ वर्ष वा १ लाख २५ हजार किमिसम्म वारेन्टी दिएको छ।

मूल्य कति?
भारतमा नेक्सन एसयूभी ईभीको मूल्य १३ लाख ९९ हजारदेखि १६ लाख ४० हजार भारतीय रुपैयाँसम्म रहेको छ।
नेपालमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीमा सरकारले कम कर लगाउँदै आएको छ।
गत वर्ष सबै गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको सरकारले अब १०० किलोवाट मोटर भएका विद्युतीय गाडीमा १० प्रतिशत मात्रै भन्सार लगाउने भएको छ।
मोटर १०० देखि २०० किलोवाट भए १५ प्रतिशत भन्सार लाग्नेछ।
मोटरको पिकपावर २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका गाडीको लागि ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ।
पिकपावर ३०० किलोवाटभन्दा बढीका कार, जिप र भ्यानमा ४० प्रतिशत भन्सार लाग्नेछ।
टाटाको ईभी नेक्सनमा भन्सार १० प्रतिशत, १३ प्रतिशत भ्याट, ५ प्रतिशत सडक दस्तुर, भारत–नेपाल ढुवानी खर्च र डिलर कमिसन लगायत जोडेर मूल्य निर्धारण हुनेछ।
सिप्रदी ट्रेडिङले नेक्सन ईभी भित्र्याउने बताए पनि मूल्य कति हुने सार्वजनिक भने अझै गरेको छैन।
प्रतिक्रिया