राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले मालदार र बद्नाम अड्डाका रूपमा रहेको भन्सार प्रणालीलाई रूपान्तरण गर्ने गरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सौद्धान्तिक छलफलमा वाग्लेले यस्तो धारणा राखेका हुन्।
उनले भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा जोड दिए। ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उनको भनाइ थियो।
उनले भने,‘भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्छ। ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्नेतिर जानुपर्छ। भन्सार नीतिमार्फत निर्मूल बनाउन सकिँदैन। तजबिजीमा काम गर्ने प्रवृत्ति छ। त्यसलाई रोक्ने कानुन बनाउनुपर्छ। भन्सारमा तजबिज लगाएर काम गर्ने प्रवृत्तिलाई निर्मूल बनाउनुपर्छ। भन्सार प्रणालीलाई डिजिटल, डिजिटलाइजेसन, अटोमेशन तथा भौतिक रूपमा उपस्थित हुनु नपर्ने विधिमा जानुपर्छ। भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाही भयो भने भन्सारमा सुधार ल्याउँछ। बद्नाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र राम्रा अभ्यासहरू आएका छन्। भन्सार प्रविधिमा नेपालभन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक छ। मालदार र बदनाम अड्डालाई हामीले रुपान्तरण गर्नुपर्छ।’
Shares

प्रतिक्रिया