आजभन्दा ७ बर्ष अघि (२०१४) बनेको ‘अर्गानिक’ कबड्डी दृश्यकथाको सिक्वेल कबड्डीकबड्डी (२०१५) मा झाँक्रीको रोलमा देखिएका कवि उपेन्द्र सुब्बाले पति छन्त्याल (बुद्धि तामाङ) को आदेशमा ‘कोख भराई पाऊँ’ भनी शरणमा आएकी गौरी (पशुपति राई) लाई नशालु पदार्थ खुवाई करणी गर्छन्।
इमान्दार गौरी श्रीमानलाई झाँक्रीको कोखको बच्चाको बोझ बोकाउन चाहन्न्, बरु उनी गाउँ नै छाड्न तयार हुन्छिन्।
छन्त्यालले दोषी उनी नभई झाँक्री भएको कारण त्यसको बोझ टाउकोमा नबोक्न सम्झाउँदै घर फर्काउन खोज्दा गौरी भन्छिन्, ‘गाउँमा कसरी अनुहार देखाउने?’
छन्त्यालको जवाफ निकै सुझबुझपूर्ण हुन्छ, ‘दोष जसुकैकाे भएपनि कोख तेरो आफ्नो हो। तेरो आफ्नो मेरो पनि आफ्नो हो। डर यो गाउँ समाजको हो, हामी सँगै यो गाउँ छाडौंला।’
छन्त्यालले ‘चिन्ता नगर समाजको डर पनि सामना गरौँला’ भन्ने आँट नगरेपनि बलात्कार जस्तो जघन्य अपराधमा दोष बलात्कारीको हुन्छ, बलजफ्ति भोग्ने महिलाको हुँदैन र बलात्कारीको वीर्यबाट कोखमा हुर्किरहेको बच्चाको त झन् यो अपराधमा कुनै पनि भागीदार नै हुँदैन भनी सन्देश प्रवाह गर्ने यो दृश्यका लेखक तथा निर्देशक रामबाबु गुरुङको विषयवस्तुलाई हेर्ने चिन्तन बजनदार देखिन्थ्यो।
गुरुङले झाँक्री जस्ता तथाकथित भगवानका सन्देशवाहकहरुले सर्वसाधारणमा रहेको अगाध श्रद्धालाई ‘ढाल’ बनाई कसरी यौनशोषण गर्दा रहेछन् भनी सामाजिक रुढतामाथि पनि प्रहार गर्न खोजेको देखिन्थ्यो। तर कबड्डी–४ अर्थात ‘फाइनल म्याच’ सम्म आइपुग्दा निकै बदलिसकेका रचनात्मक भनिएका लेखक गुरुङ झेली खेलमा विश्वास गर्ने भैसकेका रहेछन्।
फाइनल म्याचमा झाँक्रीलाई चोख्याउन जबरजस्ती एउटा दृश्य श्रृजना गरिएको छ। बलात्कारी झाँक्रीलाई मार्छु भन्दै लखेट्न नछाडेको छन्त्याललाई झाँक्री सोध्छ, ‘तिम्रो छोराको गालामा कालो कोठी छ कि छैन?’
आफ्नो गालामा कोठी बोकेको छन्त्याल गम्दै भन्छ, ‘छ।’
बलात्कार जस्तो संवेदनशील मुद्दालाई बलजफ्ती हाँस्यचेतमा लग्न खोज्दै झाँक्रीको मुखबाट एउटा नमिठो र अवैज्ञानिक कुतर्क ओकलाइन्छ।
झाँक्री भन्छ, ‘त्यसो भा त्यो कसरी भो मेरो छोरो? त्यो तेरै छोरो हो।’
पीडित महिलाले ६ बर्षअघि नै झाँक्रीको कोख भनिसकेपछि त्यो तथ्यलाई यसरी ढाकछोप गर्नको पछाडि लेखकका केही बाध्यता छ छैन, थाहा भएन तर पीडक झाँक्रीको कुतर्क पत्याउँदै छन्त्याललाई टाउकोबाट टनभरिको भारी बिसाएझैँ सन्तुष्ट भएको देखाइएको छ।
त्यसले रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको सह–लेखनले जन्माएको बौद्धिकताको भारी पनि गर्ल्यामगुर्लुम ढल्न पुग्छ। बलात्कारी झाँक्री ठीक भन्ने मानक स्थापित गराउन रचिएको यस्तो पटकथा कबड्डी श्रृंखलाको सबैभन्दा दुखान्त पक्ष हुन गएको छ।
तपाईंले कबड्डी श्रृंखलाका सबै अध्याय हेर्नुभएको छ भने पक्कै स्मृतिमा राख्नुभएको होला – यी दृश्य कथाको क्यानभासभित्र मुस्ताङको मनमोहक हिमाली दृश्य सहितको हरियाली खेतबारी, ढिकी–जाँतोे, पानीघट्ट मात्र छैनन्, त्यहाँभित्र मामाको छोरीसँग बिहेवारी चल्ने थकाली कथाको अर्गानिक स्वादमा बगेको विविध चरित्रले बाँच्ने निस्वार्थ जीवनशैली छ, हाँस्यचेत सहितको तिनका झर्राे संवाद छ। साथमा परम्परा, संस्कृति र धर्म–संस्कारका नाममा परिपालना गर्दै आइएका ‘जडता’ बिरुद्ध भद्र अवज्ञा पनि छ। केही त्यस्ता अवज्ञा दृष्टान्ट यहाँ हाजिर छ:
अवज्ञा १: छोपुवाप्रथा बेठिक
मामाको छोरी बिहेवारी गर्ने संस्कृति रहेको थकाली, मगर, गुरुङ लगायतका समुदायमा ‘मामाको छोरीमाथि हक लाग्ने’ भन्दै केटीले नमानेको खण्डमा अपहरण गरेरै भएपनि बिहे गरिन्छ, जसलाई छोपुवा भनिन्छ।
कबड्डीले प्रारम्भदेखि नै केटीको राजबन्दीबिना संस्कृतिको नाममा गरिने छोपुवा प्रचलनलाई बेठिक मानेको छ। पहिलो अध्यायमा साथी छन्त्यालले नायिका मैया (रिश्मा गुरुङ) लाई छोपुवा हान्न सुझाव दिँदा नायक बीरकाजी (दयाहाङ् राई) ले ‘त्यो अन्तिम उपाय हो’ भन्दै उनको सुझाव अस्वीकार गर्छन्।
तर जति गर्दा पनि सोल्टिनीले भाउ नदिएपछि अन्तिममा बीरकाजी पनि छोपुवा हान्ने निष्कर्षमा पुग्छन। तथापि विवेक (निश्चल बस्नेत) का कारण बीरकाजी यसमा असफल हुन्छन्।
कबड्डी–४ मा मैया (मिरुना मगर) लाई छोपुवा हान्ने सोल्टी बमकाजी (सौगात मल्ल) लाई खलनायकको रुपमा प्रस्तुत गरिनुले यसमा लेखकद्धयको दृष्टिकोण प्रष्ट झल्किन्छ।
पहिचान स्थूल हुँदैन, त्यो तरल (परिवर्तन) हुन्छ भन्ने दार्शनिक टेकोमा यस्तो दृष्टिकोण बनाइएको देखिन्छ। यहाँ के जोड्न जरुरी छ भने नब्बेको दशकमा श्रृजनशील अराजकताका नाममा हाङयुग अज्ञात र राजन मुकारुङसँग मिलेर पहिचानको मुद्धालाई बौद्धिक मन्चमा उठाउने उपेन्द्र र सिनेमाको कथावाचनमा आदिवासीपनको वकालत गर्ने नविन सुब्बाहरुको स्कूलिङबाट उदाएका रामबाबु दुबै पहिचान आन्दोलनसँग जोडिएका पात्र हुन्।
अवज्ञा २: जातीय विभेद विरुद्ध कलात्मक हस्तक्षेप
कबड्डीमा प्रारम्भदेखि नै बीरकाजीको अभिन्न दलित मित्र छ, विके (विजय बराल)। जातले हेपिएको र गृह प्रवेशमा बन्चित गराइएको यो पात्रको कथा वाचन र अभिनय यति सशक्त छ कि अन्तिम अध्यायसम्म उसैले सिंगो सिनेमा काँधमा बोकेको भान बनाइदिन्छ।
पहिलो अध्यायमा मैयाको आमा (अरुणा कार्की) ले ‘लौ यो मोरो त झन्डै भित्र छिरेछ’ भनी हपार्ने विके अन्तिम अध्यायसम्म आइपुग्दा यति स्वीकार्य भइसक्छ कि उ बीरकाजीको घरभित्र छिरिसकेको हुन्छ।
कबड्डीको दोश्रो अध्यायमा बमकाजीको आमाले छोरालाई ‘तल्लो जातको बुहारी ल्याए घरभित्र पस्न दिन्न’ भन्ने धम्की हामीले भोग्दै आएको सामाजिक यथार्थ हो।
दलितको घरमा गएर मासुभात हसुर्दै ‘छुवाछुत अन्त्य’ को प्रवचन भट्ट्याउने तर तथाकथित अछुतहरु आफ्नो चुल्हाेचौकामा कहिल्यै नछिरुन भन्ने इच्छा राख्ने नेताहरुको ‘राजनीतिक–सामाजिक’ नौटंकीको व्यापार भन्दा कबड्डीले सशक्त दलित पात्र मार्फत छुवाछुत बिरुद्ध गरेको वैचारिक हस्तक्षेप सयौँ गुणा प्रभावकारी छ। कबड्डीमा लेखद्वयको यो चेत अग्रगामी र कलात्मक दुवै रहेकाे छ।
अवज्ञा ३: अन्तर्जातीय विवाह ठिक
कबड्डीको तेश्रो अध्यायमा मैया (उपासनासिंह ठकुरी) का बुवा (माओत्से गुरुङ) र आमा (लुनिभा तुलाधर) ले घरिघरि अन्तर्जातीय विवाहले बैवाहिक सम्बन्ध बिग्रेको दोहोर्याइन्छ। त्यसैले आफ्नो छोरीले पनि प्रेमी (कर्मा शाक्य) सँग अन्तर्जातीय बिहे नगरोस् भन्ने चाहन्छन्।
बुवा माओत्सेले अन्तर्जातीय बिवाहको नकारात्मक पक्षमाथि छोरीलाई लामो शास्त्रीय तर्क झार्दै भन्छन्,‘प्रेम उमेरमा सबैको हुन्छ तर बिहे आफ्नो जातसँग मात्र गर्नुपर्छ। जात मिलेन भने संस्कार मिल्दैन। संस्कार नमिलेपछि परिवार मिल्दैन। परिवार नमिलेपछि जिन्दगी नर्क हुन्छ। तेरो बाउको जस्तै।’
तर छोरीले बा–आमाको दर्शन एक कानले सुन्छिन, अर्काेले उडाउँछिन्। अन्तिममा परम्पराले दिएको सोल्टी सोल्टिनीबीच गरिने बैवाहिक प्रचलनलाई लत्याउँदै आफूले मन पराएको गैर जातकाे प्रेमीसँग भागेर जान्छिन्।
आदिवासी समुदायमा चलेको रीतिथितिमा आधारित रहेर बनाइएको भएपनि कबड्डी श्रृंखलाले आधुनिक मान्यतालाई केन्द्रमा राखेको हुनाले लेखकद्वय खुलेर अन्तर्जातीय बिवाहको पक्षमा देखिन्छन्।
महिला हिंसाभन्दा जब्बर बजारतन्त्र
कबड्डी श्रृंखलाको समग्र चिन्तन ‘पहिचानका नाममा भएका सबै खालका रुढता छाड’ भन्ने रहेकोले यसले जडतामाथि स्वतः प्रश्न गर्नै नै भो। तर गतिशीलताको वकालत गर्ने कबड्डीका पछिल्ला श्रृंखलाले बजारतन्त्रलाई भने खुलेर अँगालो हालेको देखिन्छ। त्यसैले विज्ञापनलाई समेत कथासँग जोडेर प्रस्तुत गरिएका दृष्टान्ट भेटिन्छन।
कबड्डी टिम भन्छ, हिमाली गाउँमा फोनपेको क्यूआर कोड पसिसक्यो। नेपाली ब्रान्ड ‘सोनाम’ले मुस्ताङ् ढाकिसक्यो। बीरकाजी एण्ड टिम सेकेन्डह्यान्ड अपाचे बाईकबाट नेक्सन कारमा चढेर हुईंकिने भैसक्यो।
एक साता अवधिमा १५ करोड कमाई गरेर ‘रेकर्ड ब्रेक’ गरेको दावी आइसक्यो। बजारतन्त्रको वैचारिक धरातल के हो भने उसको बुझाईमा हरेक बस्तु ‘कमोडिटी’ हो। कबड्डी टिम पनि त्यो विचारबाट मुक्त देखिएन। यदि रामबाबु श्रृजनशील कर्ममा लागेका हुन्थे भने उनले एउटै विषयलाई तन्काएर चार वटा ‘प्रडक्ट’ तयार पारी व्यापार गर्ने थिएनन् होला।
यो किन भनिएको हो भने कबड्डी–४ को यत्रो व्यापार पहिलो अध्यायले झैँ मौलिक कथावस्तु र सशक्त प्रस्तुतिले नभई ‘ब्राण्ड भ्यालू’ले आर्जन गरेको हो। यदि यो सिनेमाबाट केही झर्राे संवाद, गौमाया गुरुङ र विजय बरालहरुलाई निकालिदिने हो भने बाँकी केहि नविन कुरा पाउनुहुने छैन।
कबड्डी–४ ले समग्रमा बक्ने के हो भने मातृसत्तात्मक व्यवस्थाको अवशेष पाइने थकाली र गुरुङ समुदायभित्र रहेका संस्कृतिलाई काँचको पर्दामा उतारेर बहसमा ल्याइदिने कबड्डी टिम आफैँ पनि बजारको मोहपासमा नराम्ररी फस्दै गएको रहेछ।
यो तथ्य त्यसका नायिका मिरुना मगर प्रकरणमा उदाङ्गो हुन गएको छ। सार्वजनिक थलोमा आफ्नो ‘गोप्य अंगमा चिमोटेको’ भन्दै मिरुनाले गाला चड्काएका एकजना बौद्ध लामालाई उनले प्रहरी प्रशासनकहाँ जिम्मा लगाइदिइन्। रामबाबु र उपेन्द्रको रिल पात्र झाँक्री जसरी आस्थाको आडमा महिलामाथि जाइ लाग्दछन्, त्यसैगरी यी दुई लेखकका नायिकामाथि रियल लाईफमा पनि सांसारिक मोह मायामा आसक्त एकजना गेरुवाबस्त्रधारी पुरुष सेक्स कुण्ठा मेटाउन अंगप्रत्यांग चिमोट्न आइपुग्छ।
मान्छेको वास्तविक स्वरुप संकटमा खुल्छ भनिन्छ। त्यस्तै भो, बौद्ध धर्मप्रति आस्था राख्नेहरू प्रदर्शनमा उत्रिएपछि यी दुई ‘प्रगतिशील’ लेखकद्वय कबड्डी–४ का वितरक मनोज राठीको अङ्कगणित सपार्ने सल्लाह बमोजिम चल्न थाले।
पुरुषत्वको शीरमाथि धावा बोलेर तिनको दम्भ ठेगानमा ल्याउन कानुनी उपचारमा गएकी मिरुनाको साहसिक निर्णयलाई फिर्ता लिन लगाइयो। तथाकथित मिलापत्र गराइयो। यी दुई लेखकले जसरी बलात्कारी झाँक्री गलत थिएनन् भन्दै पटकथा तयार पारेर आफ्नो प्रगतिशीलताको मुकुण्डो च्याते, त्यसैगरी रियल लाइफमा पनि व्यापार व्यावसाय बिग्रने डरले ‘लामा गलत हुन सक्दैनन्’ भन्ने भाष्य स्थापित गराउने निर्णायक भूमिका खेले।
यसबाट मिरुनाको स्वाभिमानको लडाइँबाट उनलाई बन्चित पार्ने काम गरे। यदि यिनले मिरुनालाई आफ्नो लडाइँ लड्न दिएको भए र प्रहरी प्रशासनलाई अनुसन्धान अगाडि बढाउन दिएको भए अहिले पीडक भनिएका लामाले पक्कै आफैँले हस्ताक्षर गरेर स्वीकार गरेको ‘अपराध’ बिरुद्ध भ्रम फैलाउँदै हिँड्ने दुस्साहस गर्ने थिएनन्।
यी दुई लेखकले ‘रिल’मा जसरी ‘बलात्कारी’ झाँक्रीलाई चोख्याएर गल्ती गरे त्यस्तै गल्ती ‘रियल’ मा पनि देखिने गरेकाले भोलि मिरुना जस्ता साहसिक युवतीहरुले उठाउने कदम बिरुद्ध पठित पात्रहरु नै खम्बा बनी खडा हुने देखिन गयो। त्यसमाथि गल्ती आफू गर्ने र मिडियामा आएर पहिचानको आन्दोलनलाई सत्तोसराप गर्ने सुब्बा झन बढी बिद्रुप देखिए।
सिनेमा आफैँमा समाज अध्ययन गर्ने पुस्तक हो। त्यसैले सिनेमा राजनीति हो, दर्शन हो, दृष्टिकोण हो। कबड्डी श्रृंखलाले त्यसलाई झन बलियो गरी स्थापित गर्ने काम गरेको छ। कबड्डीको फाइनल म्याचसम्म आइपुग्दा पहिचानको वकालत गर्ने राजनीतिक पृष्ठभूमिबाट उदाएका दुई पात्र जसरी स्खलित देखिए, यसले पहिचानको वकालत कुन मोडतिर मोडिएको छ भन्ने संकेत गर्ने हुँदा समाज अध्ययनका निम्ति यो एउटा गतिलो सन्दर्भ सामग्री पनि हुन गएको छ।
Shares
प्रतिक्रिया