ad ad

ब्लग


सन्न्यासी पूर्व प्रधानन्यायाधीशसँग संसद् विघटनबारे जिज्ञासा राख्दा

सन्न्यासी पूर्व प्रधानन्यायाधीशसँग संसद् विघटनबारे जिज्ञासा राख्दा

एल.बी. क्षेत्री
असार ६, २०७८ आइतबार १०:३१,

आज देवघाट जाने योजना बन्यो। हिजो फेसबुकमा एक जना पूर्व प्रधानन्यायधीश दामोदर शर्माको एउटा अपत्यारिलो तस्बिर भाइरल भएको थियो। देवघाटवारि उहाँको आश्रम रहेछ। आश्रमको नाउँ– अखण्डानन्द।

बिहानको ११ बजिसकेको थियो। कृष्ण मन्दिरसँगै रहेको आश्रमभित्र उहाँ अग्निपूजामा मग्न हुनुहुन्थ्यो। एउटा कुर्सीमा बसेर चारैतिर नियालेँ। भित्तामा हिन्दु देवताका तस्बिर टाँसिएका थिए। भित्तैमा टाँसिएको टीभीमा भजनकिर्तन चलिरहेको थियो। उहाँ एकाग्र मनले एउटा हातले अग्निमा चरु हवन गर्दै हुनुहुन्थ्यो, अर्को हातमा रुद्राक्ष माला थियो।

म पुगेको उहाँलाई थाहा नभएको होइन, तर आफ्नो पूजालाई रोक्नुभएन। लगभग आधा घण्टाको प्रतीक्षापछि उहाँ ध्यानबाट निवृत हुनुभयो र मन्दिर कक्षबाट बाहिर निस्कनुभयो। हातमा रहेको रुद्राक्षको माला आफ्नो घाँटीमा राख्नुभयो। मैले नमस्कार टक्र्याएँ, लिनुभयो। तर मप्रति खासै रुचि देखाउनुभएन। अलिक खल्लो स्वरमा सोध्नुभयो– ‘किन आउनुभयो? कता आउनुभयो?’

मैले विनम्रतापूर्वक भनेँ, ‘तपाईंलाई भेट्न आएको हुँ। अहिले म देवघाट आएको छु।’

उहाँले भन्नुभयो, ‘सन्न्यासी भएर बसेको मान्छेसँग किन भेट्न खोज्नुभयो?’

मैले फेसबुकमा भाइरल उहाँको फोटोबाट प्रभावित भएर आश्रम खोज्दै भेट्न आएको भन्दा उहाँले पुनः अरुचिकै स्वरमा भन्नुभयो, ‘हामी यसरी नै बस्छौं, जीवन चलिरहेछ। ईश्वरमा समर्पित छौं। यहाँभन्दा बढी केही छैन मसँग।’

damodar sharma
देवघाटमा पूजा गर्दै पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा । तस्बिर : एल.बी. क्षेत्री

साथै सोध्नुभयो, ‘तपाईंको परिचय?’

मैले विनम्रताका साथ भनेँ, ‘मेरो खासै परिचय छैन गुरु! म त्रिभुवन विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हुँ। चितवनमै बस्छु।’

त्यसपछि उहाँमा अचानक परिवर्तन आयो र भन्नुभयो, ‘ओ हो! तपाईं त यो देशको विद्वान नागरिक! यता आउनुस्, सँगै बसौं।’

पहिला म टाढाकाे कुर्सीमा बसेको थिएँ। उहाँको स्वर केही नरम भएपछि नजिकैको कुर्सीमा सरेँ।

मेरो परिचय खुलेपछि उहाँले आफ्नै खाटमा बस्न कर गर्नुभयो र सँगै कफी खान आग्रह गर्नुभयो। स्टिलको गिलासमा कफी आयो। कफीसँगै विभिन्न विषयमा कुरा गर्‍याैँ।

उहाँले आफ्नो व्यक्तिगत जीवनबारे केही भन्न चाहनुभएन। मैले कर पनि गरिनँ। मात्र भन्नुभयो, ‘मेरोबारे बाहिर सोध्नुभयो भने सबैले भनिहाल्छन्।’

परिवारबारे सोध्दा छोटकरीमा भन्नुभयो, ‘मेरो कोही छैन। म एक्लै आएँ, एक्लै जाने हो!’

त्यसपछि उहाँसँग मैले नेपालको वर्तमान राजनीतिबारे कुरा गर्ने चाहना राखेँ। तर केही बोल्न चाहनुभएन।

मैले भनेँ, ‘तपाईं देशको पूर्व प्रधानन्यायाधीश, देश राजनीतिक रूपमा लथालिङ्ग बनेको परिवेश, जनताको सार्वभौम परिचय भनिएको संसद दुई दुईपटक भंग भएको अवस्था छ। त्रिभुवन विश्वविद्यालयको एक जना सेवानिवृत्त प्राध्यापकले यसबारे तपाईंसँग विमर्श गर्न चाहँदा आपत्तिजनक त होइन सर?’

उहाँले सोझै भन्नुभयो, ‘पूर्व प्रधानन्यायाधीशहरूले आफ्ना कुरा राखिसक्नुभएको छ। शेरबहादुरलगायत पाँच–पाँच जना पूर्वप्रधानमन्त्रीले आफ्ना कुरा बारम्बार दोहोर्‍याइरहनुभएकै छ। म सन्न्यासी भएर बसेको मान्छेले के भन्ने सर?’

मैले भनेँ, ‘हिजोको दिनमा त्यस्तो उच्च ओहोदाको जिम्मेवारी लिएर बस्नुभएको हजुरले भित्तामा टाँसिएर भजन गाइरहेको टेभिलभिजनबाट देशमा भइरहेका राजनीतिक दुर्घटनाका समाचार अवश्य सुन्नुहुन्छ। तपाईंको पनि मन त पक्कै दुख्दो हो? मन र मस्तिष्कमा विचारले आक्रमण गर्छन् नै होला?’

त्यसपछि उहाँले मेरो नाउँ सोध्नुभयो। मैले एलबी क्षेत्री भनेँ।

damodar sharma cj
शर्माको यो तस्बिर सामाजिक संजालमा भाइरल भएको छ।

यसपछि भन्नुभयो, ‘क्षेत्रीजी, लोकतान्त्रिक परिपाटीमा विकल्प रहुन्जेल संसद् विघटन गर्नु उचित होइन, तर धेरै किचलो हुँदा जनता नै सार्वभौम शक्ति भएकाले जनताकैबीच गएर निर्णय लिऊँ भन्नु कुनै अपराध होइन।’

त्यसपछि उहाँसँग राख्नयोग्य कुनै प्रश्न/जिज्ञासा नरहेकाले मैले बिदा मागेँ।

उहाँले भन्नुभयो, ‘पख्नुस्!’

अनि पाकेका पहेँला दुइटा केरा दिँदै अगाडि भन्नुभयो, ‘यो प्रसाद लिएर जानोस्, तपाईंको शुभ होस्।’

मैले प्रणाम गरेँ र बिदा भएँ।

०००
देवघाटको मुख्य पार्किङतिर जाने मूल बाटोमा लवराज सुवेदी नामका एक जना विद्वानसँग मेरो पुरानो चिनजान थियो। उहाँलाई खोजेर केही बेर सन्न्यासी दामोदर शर्माबारे जानकारी लिने मनसाय राख्दा उहाँले भन्नुभयो, ‘खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा उहाँ कायममुकायम प्रधानन्यायाधीश हुनुभएको रहेछ। रेग्मी सेवानिवृत भएपछि उहाँ प्रधानन्यायाधीश बन्नुभएको रहेछ।’

लवराज सुवेदीबाटै मलाई २०६६/६७ तिरै मलाई जानकारी भएको थियो– दामोदर शर्मा देवघाट आउँदै गरेको र एउटा आश्रम बनाउने योजनामा लागेको कुरा।

भारतको वृन्दावनका कुनै अखण्डानन्द महाराजबाट सन्न्यास दीक्षा ग्रहण गरी उहाँ पूर्णरूपेण सन्न्यासी बन्नुभएको रहेछ।

काठमाडौं र बाराको सिमरामा पनि उहाँका आश्रम रहेछन्। मसँग पनि उहाँले ‘कहिलेकाहीँ उता पनि जाने गर्छु’ भन्नुभएको थियो।

सुवेदीजीको भनाइअनुसार देवघाटका बासिन्दाका लागि उहाँले गरेको मुख्य योगदान हो– सरकारी लगानीको आयोजना पारेर खानेपानी व्यवस्था गर्नु।

सुवेदीजीले भन्नुभयो, ‘आज हामीले उहाँले गर्दा सरकारी पानी खान पाएका छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .