NepalKhabar NepalKhabar

ब्लग


चिनियाँ कार्ड असान्दर्भिक भएपछि ‘जय श्री राम’ कार्ड

चिनियाँ कार्ड असान्दर्भिक भएपछि ‘जय श्री राम’ कार्ड

निष्णु थिङ
काठमाडौं, जेठ ३०

प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तारोहणपश्चात् सबैभन्दा द्रुत गतिमा परियोजना सम्पन्न भएको एउटै उदाहरण हो– चितवनको माडीमा राम मन्दिर स्थापना। एक आर्थिक वर्ष पनि नलगाईकन जुन गतिमा राम मन्दिर निर्माण भयो, त्यहीअनुसार अरू परियोजना सम्पन्न हुने हो भने नेपालको कायापलट हुन धेरै वर्ष लाग्दैन। अर्थ मन्त्रालयलाई आर्थिक वर्षको अन्ततिर भएकाले रकमान्तर गर्ने चटारो छ, तैपनि अहिलेसम्मको पुँजीगत खर्चको स्थिति चित्तबुझ्दो छैन। पुँजीगत बजेट किन खर्च हुन सक्दैन? यसबारे अर्कै लेख लेख्नुपर्ने हुन्छ।

ओलीको राजनीतिको कम्पास अब पूर्ण रूपमा राम मन्दिरवरिपरि घुम्नेमा कुनै सन्देह छैन। सत्तामा सदैव टिकिरहन उनले ब्रह्मसूत्र पत्ता लगाए। सरकारमा रहन उनले जति प्रयत्न गरिरहेका छन्, त्यसको एक हिस्सा मात्रै शक्ति कोरोना रोकथाम, पीडितको व्यवस्थापन, अस्पतालमा अक्सिजन सिलिन्डर र बेड व्यवस्था गर्नमा लगाएको भए, अहिलेको भयावह अवस्था आउने थिएन। तर उनले राम मन्दिरका लागि गरेको लगानी, बाालुवाटारदेखि माडीसम्म लगाएको सवारीसााधनको लावालस्कर, त्यहाँ मूर्ति अनावरणका लागि लगाइएको मानिसको भीडले कोरोना फैलाउन उल्लेखनीय काम गरे।

ओलीमा २३ सय वर्षअगाडिको प्राचीन भारतको मगध राज्यको महाराज धनानान्द प्रवृत्ति प्रशस्त पाइन्छ। महाराज धनानान्द सत्तामा टिक्न जे पनि गर्न तयार, उनलाई धनको लोभ यति हुन्थ्यो कि धनार्जनका लागि उनी नागरिकलाई कुशासन थोपर्न किमार्थ पछि पर्दैन थिए। मगध राज्यका नागरिकलाई करको बोझ यति थियो कि उनीहरू आफन्तजनको दाहसंस्कार गर्न समेत सक्दैनथे। किनकि दाउरामा यति चर्काे कर लगाइएको थियो, त्यो खरिद गर्न कठिन हुन्थ्यो। धन थुपार्न धनानन्द जे पनि गर्ने गर्थे।

अहिले कोरोनाको दोस्रो लहरले देश आक्रान्त हुँदा उपचारको स्थिति बेहाल छ। सरकारले नागरिकको उपचारका लागि केही गर्न नसकेको हैन कि उल्लेखनीय प्रयास नै गरेन। प्रयास गरेर असफल वा निष्प्रभावी हुनु र प्रयास नै नगर्नु फरक कुरा हुन्। गत साल कोरोना नियन्त्रणका लागि भनेर स्वास्थ्यसम्बन्धी सरसामान खरिद गर्दा ओम्नी समूहले लुट मच्चाएको सर्वविदितै छ। यसपालि पनि हुकाम काण्ड सार्वजनिक भयो। नागरिकको जीउधन संकटमा परेका बेला पनि भ्रष्टाचार गर्नुपर्ने नियत उजागर भएपछि उनमा धनानान्द प्रवृत्ति उतिकै रहेको प्रष्टिन्छ । धनानान्दको अर्थ धनबाट आनन्द लिने प्रवृत्ति वा सोच हो।

सन् १९८४ को आम चुनावमा भाजपाले देशभरि २ सिटमा चित्त खुम्चिनुपर्‍यो। त्यसरी आफ्नो राजनीतिक एजेन्डाको प्रभाव भारतीय जनतामा कमजोर देखिएपछि भाजपाले राजनीतिक कोर्सलाई बाबरी मस्जिद भर्सेज राम मन्दिरको राजनीति आयोध्याबाट सुरु गर्‍यो। आयोध्यामा राम मन्दिरको राजनीति थालेदेखि हिन्दू–मुसलमान कट्टरपन्थी भड्कावले नयाँ उचाइ लियो। जुन बेलाको घटनाका कारण तसलिमा नसरिनले ‘लज्जा’ उपन्यास नै लेखिन्। जसमा समकालीन भाजपाको धार्मिक राजनीति र त्यसले निर्माण गरेको हिंसाको सजीव चित्रण गरिएको छ। भारतको आयोध्यामा राम मन्दिरको राजनीति सुरु गरेपछि भाजपाले अहिलेसम्म पछि फर्केर हेर्नुपरेको छैन। त्यही जगमा नरेन्द्र मोदीले दोस्रोपटक बहुमतको सरकार बनाए।

स्मरणीय छ– ओलीले भारतविरोधी कार्ड उछालेर सत्ता राजनीतिको लय समातेका थिए। तर ओलीको भारतविरोधी कार्ड रअका प्रमुख सामन्त गोयलको दर्शन भेटपछि असिना बिलाएजसरी बिलायो। प्रधानमन्त्री भएको ३ वर्षमा उनले सबै रेकर्ड ब्रेक गरे। राज्यका सबै अगंमा आफ्ना मान्छे भर्ना गर्नेदेखि यती समूह, ओम्नी समूहद्वारा सार्वजनिक सम्पत्तिमा रजगज गराउनेसम्म सबै काम गर्न भ्याए। यस क्रममा पछिल्लोपटक ओलीले धार्मिक (हिन्दू) राजनीतिको बीउ राम्रैसँग छरेर आफ्नो भविष्यको मार्गप्रशस्त गरेका छन्।

ओलीले गत आम निर्वाचनको पूर्वसन्ध्यामा अन्नपूर्ण पोस्टलाई दिएको विस्तृत अन्तर्वातामा आफू ‘आइडिओलोजिकल कम्युनिस्ट’ नभएर ‘पोलिटिकल कम्युनिस्ट’ भएको बताएका थिए। उनको राजनीतिक कम्युनिस्टको अर्थ कम्युनिस्ट राजनीतिको प्रभाव र जनमत रहेसम्म त्यो प्राप्त गरेर सत्तामा जाने हो। आइडिलोजिकल कम्युनिस्ट होइन, भनेर उनले आफू साँचो अर्थमा कम्युनिस्ट नरहेको बताएका थिए। उनले कम्युनिस्टको जनमत र प्रभावलाई पोल्टामा पार्न मात्रै कम्युनिस्टको खोल ओढिरहेका छन्।

भारतमा अहिले भाजपाले दोस्रोपटक हिन्दू राष्ट्रवादको नारा लगाएर सत्तासीन भएको देखेर ओलीले पनि त्यही पथमा लम्किने तयारी गर्दै छन्। नेपालका मिथ्यांकहरूले पनि ८० प्रतिशत जनता हिन्दू धर्मावलम्बी देखाएकाले पनि उनी त्यो जनमत आफूतिर आकर्षित गर्न तल्लीन देखिन्छन्। ओली-सिर्जित भाष्यमा भारतविरोधी हुनुलाई नेपाली राष्ट्रवाद ठानियो। अब निकट भविष्यमा भारतमा जस्तै ‘जय श्री राम’ नारा नलगाउनेहरूलाई राष्ट्रविरोधी संज्ञा दिने जबर्जस्त वातावरण निर्माण गर्न खोजिँदै छ। भारतमा भाजपाले हिन्दू हुनुलाई श्रेष्ठताको परिचायक बनायो। फलस्वरूप गैरहिन्दूलाई अराष्ट्रिय, राष्ट्रविरोधी र देशद्रोहीका रूपमा हेर्न थालियो। भाजपाको धार्मिक राजनीतिप्रति ओलीको आशक्ति बढ्दै जानुले नेपालमा पनि हिन्दू राष्ट्रवादको आगो सल्काउने संकेत मान्न सकिन्छ। आरएसएसको भ्रातृ संगठन भाजपाको हिन्दू राष्ट्रवादको मूल भाष्यमा राष्ट्रवादको परिभाषा हिन्दू कट्टरपन्थी विचारको अनुशरण गर्नुहुन्छ। अब नेपालमा पनि जय श्री रामको अभियान सुरु भयो। भारतमा त्यही ‘जय श्री राम’ नभन्नेहरूलाई झुण्ड्याई-झुण्ड्याई मारिएको थियो।

चिनियाँ कार्डको प्रयोग असान्दर्भिक हुँदै गएपछि ओलीले राम मन्दिर कार्ड अघि सारेका हुन्। चिनियाँ कार्डको दुरुपयोग गरेर सत्तासीन भएका ओलीलाई पुनः त्यो कार्ड खेल्नु फाइदाजनक नदेखिएपछि उनले राम मन्दिरको कार्ड तयार गरेका हुन्। उनले यो कार्ड खेलाउनुमा पाँचवटा पहेली छन्। पहिलो, रामको जन्मस्थल आयोध्या नेपालको माडीमा पर्छ भन्नु एउटा भारतविरोधी भावनालाई मलजल गरेर आफूलाई राष्ट्रवादी नै सिद्ध गर्नु हो। दोस्रो, नेपालमा रहेको हिन्दू जनमत आकर्षण गर्नु, जसमा राजावादीको पनि समर्थन सजिलै प्राप्त गर्न सकिन्छ। तेस्रो, आफ्नो चीर प्रतिद्वन्द्वी प्रचण्डलाई चेपुवामा पार्ने रणनीति हो, किनकि त्यो आयोध्या उनकै निर्वाचन क्षेत्रमा पर्छ। चौथो, भाजपा र मोदीको मार्ग अनुशरण गरेर उनीहरूलाई खुसी तुल्याउनु हो। पाँचौ, नेपाली संस्करणको एम.एस.गोल्वाकर बन्न खोज्नु हो।

सत्ता–राजनीतिमा आफ्नो वर्चस्व र श्रेष्ठता कायम राखिराख्न ओलीले राम मन्दिरको कार्ड फ्याँकेको देखिन्छ। आफूलाई जे सनक चढ्यो त्यही घोषणा गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिनु शोभनीय होइन। बरु उनले आयोध्याको प्रामाणिकताका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, पुरातत्त्वविद्, इतिहासविद् र वैज्ञानिक सम्मिलित कार्यदल बनाएर त्यसको खोज, उत्खनन् र अन्वेषण गर्नतिर लाग्नुपथ्र्यो। तर यसविपरीत धार्मिक कट्टरपन्थी राजनीतिले आगामी दसकमा मुलुक र नागरिकले निकै सास्ती खेप्नुपर्ने हुन्छ। आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जय श्री राम’को मूल्य नेपाली जनताले पुनः तिर्नुपर्दा यो राष्ट्रको भविष्य धुमिल हुनेछ।

ओलीको राम मन्दिरको राजनीतिले नेपाललाई करिब ४ दसकअगाडिको भारतीय राजनीतिमा प्रवेश गराउने प्रस्ट संकेत गर्छ। कोरोना महामारीले थिलोथिलो बनाएको आजको अवस्थामा मन्दिर र धर्ममा भन्दा विज्ञान, प्रविधिमा लगानी गर्नुपर्नेमा ओलीले राष्ट्रलाई मध्ययुगीन अँध्यारो सुरुङमा धकेल्न चाहेको देखिन्छ। यस्तै राम मन्दिरलाई जति पनि राज्यको ढुकुटी खर्च गर्ने ओलीले महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई फुटेको कौडी दिँदैनन्। बरु गुगल ब्वाईको पगरी गुथाएर एउटा बालकलाई लाखौं रकम खर्चिन्छन्।

प्राचीन मगधका महाराज धनानान्दले जे बोले त्यही कानुन भएजस्तै परिस्थिति अहिले नेपालमा तयार हुँदै छ। आफ्नो सत्ता बलियो बनाइराख्न ओलीले देशमा हिन्दू राष्ट्रवादी र विरोधी वैचारिकी निर्माण गर्नेछन्। जसरी भाजपाले जेएनयू र अलिगढ विश्वविद्यालयलाई राष्ट्रविरोधी किल्लाका रूपमा चित्रण गरिरह्यो, यहाँ ओलीले त्यस्तै प्रयोग गर्न प्रयास गर्नेछन्। जय श्री रामको नारा लगाउनेहरूलाई क्रमशः राष्ट्रवादी, देशभक्त र त्यो नारामा प्रश्न गर्ने र नारा लगाउन नचाहनेहरूलाई देशद्रोही र राष्ट्रविरोधीको बिल्ला भिराउने अभियान अघि बढाउनेछन्। समयअगावै झन्डै ५० अर्ब रुपैयाँ खर्च हुने निर्वाचन गराउन उद्यत प्रधानमन्त्रीले कोरोना भाइरसबाट आक्रान्त नागरिकको ज्यान सुरक्षाका लागि भने सकेसम्म सुको खर्च गर्न नचाहनुले उनको राष्ट्रवादको मुकुण्डो उतारेको छ। समग्रमा प्रधानमन्त्री ओलीले मुलुकको नायक बन्ने महत्त्वपूर्ण अवसर त गुमाए गुमाए, आफूलाई खलनायक नै साबित गर्ने भए।

 

जेठ ३०, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .