खैरो देखिने कागज बोकेर दायाँतर्फको माइकअगाडि राष्ट्रपति विद्यादेवी भण्डारी र उस्तै कागजका साथ बायाँतर्फको माइकअघि प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन्।
राष्ट्रपति भण्डारीले जे जे भन्छिन्, त्यही त्यही शब्द/वाक्य प्रधानमन्त्री ओलीले दोहोर्याइरहेका छन्।
राष्ट्रपति : ...मुलुक र जनताप्रति पूर्ण वफादार रही
प्रधानमन्त्री : मुलुक र जनताप्रति पूर्ण वफादार रही
राष्ट्रपति : सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु
प्रधानमन्त्री : सत्य, निष्ठापूर्वक (यत्तिमै रोकिन्छन्)
राष्ट्रपतिलाई लाग्छ, त्यसपछिका शब्द ओलीले भन्न छुटाए। यसैले उनले इशारासमेत हुने गरी देब्रे हात हल्का हल्लाउँदै अलि जोड दिएर पुनः भन्छिन् : प्रतिज्ञा गर्छु
तर ओली भन्छन् : त्यो पर्दैन !
यसपटक दाहिने हात हल्का हल्लाउँदै राष्ट्रपति हाँस्छिन् : हिहिहि...
अनि ‘प्रतिज्ञा गर्छु’ छाडेर उनी अन्य शब्दतर्फ अघि बढ्छिन्। ओलीले त्यही कुरा दोहोर्याउँछन्। अनि भन्ने/भनाउने क्रम सकिन्छ।
यो दृश्य हो– गत वैशाख ३१ गते दिउँसो, राष्ट्रपतिको कार्यालय (शीतलनिवास) को। जहाँ दोस्रोपटक प्रधानमन्त्री ‘पड्काएका’ एमाले अध्यक्ष ओली शपथ ‘खाइरहेका’ थिए। तर माथि उल्लेख गरिएझैं शपथका सबै शब्द उच्चारण गरेका ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्न मानेनन्। राष्ट्रपतिले दोहोर्याएर भन्दासमेत उनले ‘त्यो पर्दैन’ भने।
जसविरुद्ध सर्वाेच्च अदालतमा मुद्दै हालिएको छ– प्रधानमन्त्री ओलीले पूरा शपथ ‘खाएनन्’, फेरि ‘खुवाउनुपर्छ’ भन्ने माग गर्दै। यस विषयमा अदालतले अन्तरिम आदेश त जारी गरेन, तर प्रधानमन्त्री ओलीसँग लिखित जवाफ मागेको छ। उनले के जवाफ देलान्, त्यो सुन्न/हेर्न बाँकी छ।
तर मेरो मनमा व्यापक खुल्दुली छ– आखिर प्रधानन्त्री ओलीले ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न इन्कार गर्नाको कारण के होला? भूलवश छुटेको होला भनौँ भने राष्ट्रपतिले दोहोर्याएर भन्न लगाउँदासमेत उनले ‘त्यो पर्दैन’ नै भने। यसमा यो पङ्क्तिकार– ओलीको अहङ्कारभन्दा पनि मनोवैज्ञानिक कारण पो जोडिएको छ कि भन्ने ठान्छ।
‘नेपाली बृहत् शब्दकोश’का अनुसार प्रतिज्ञा शब्दको अर्थ : कसम, किरिया पनि हो। हाम्रा गाउँ/समाजमा कसम, किरिया खाइसकेपछि त्यसअनुरूप वाचा गरिएको काम पूरा गर्नैपर्छ, अन्यथा अनिष्ट हुन्छ भन्ने धार्मिक भय व्याप्त छ। प्रधानमन्त्री केपी शर्मा ओली लामो समयदेखि कम्युनिस्ट पार्टीका कार्यकर्ता भए पनि पहिलेदेखि उनका बोली/व्यवहार कम्युनिस्टअनुरूप छैनन् भन्ने विषयमा लोक जानकारै छ। पछिल्लो समय पशुपतिनाथमा सुनको जलहरी, चितवनमा राम–सीताको मूर्ति स्थापनाले त प्रधानमन्त्री ओलीको धार्मिक भावना अझ प्रखर रूपमा प्रकट भएको छ।
अतः उनी वाचा गरिएका कामकुरा ‘सत्य, निष्ठापूर्वक’ पूरा नगरिएका खण्डमा ‘अनिष्ट हुने’ भयले कसम, किरिया पनि ठानिने ‘प्रतिज्ञा’ गर्न डराएका हुन सक्छन्। नभन्दै प्रधानमन्त्री ओलीमा दोस्रोपटक प्रधानमन्त्री बन्दा ‘खाएको’ शपथ पूरा गर्ने सोच रहेनछ भन्ने कुरा शुक्रबार मध्यराति प्रतिनिधि सभा पुनः विघटन गरिनुले स्पष्ट पारेको छ।
शपथको अर्थ
अहिलेसम्म मैले शपथ शब्दलाई कामचलाउ बुझाइमै प्रयोग गरिरहेको थिएँ। तर प्रधानमन्त्रीको शपथ काण्डपछि मलाई यो शब्दको अर्थ शब्दकोशमै हेर्ने हुटहुटी जागेर आयो।
‘नेपाली बृहत् शब्दकोश’का अनुसार शपथको अर्थ : १. कुनै कामकुरो हो–होइन वा गर्ने–नगर्ने भन्ने विषयमा बोलिने वचन, धर्मभकाइ, किरिया, प्रतिज्ञा। २. संविधानअनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा।
पहिलो कुरा– शपथ भन्नु नै प्रतिज्ञा रहेछ। यसर्थ प्रधानमन्त्री ओलीले त्यही शब्द भन्न इन्कार गर्नु शाब्दिक दृष्टिले त शपथै ‘नखानु’ हो भन्ने प्रस्ट हुन्छ। संविधान/कानुनका दृष्टिले कस्तो हो भन्ने कुरा त यसका ज्ञाताले भन्लान् नै।
अझ अहिले त प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ शब्दै हटाएर शपथसम्बन्धी अध्यादेश नै जारी गराइसकेका छन्। टन्टै साफ!
प्रधानमन्त्री ओली तिनै व्यक्ति हुन्, जो नेपाली भाषा/शब्दका मर्म, अर्थ र प्रयोगबारे पत्रकारलाई अर्ती दिन्छन्– आफूजस्ता ‘उच्च’ मानिसलाई ‘तपाईं’ नभनेकामा गुनासो गर्दै। शनिबार मात्र उनले शेरबहादुर देउवा तथा नेपाली काङ्ग्रेसलाई पनि नेपाली भाषाको सभ्यता सिकाएका छन्– विज्ञप्तिमा राष्ट्रपतिलाई ‘तिमी’ भनिएको भनेर चित्त दुखाउँदै।
यही सिलसिलामा शपथ शब्दकै प्रयोगबारे पनि छोटो चर्चा गरौँजस्तो लाग्यो।
शपथ : लिने/ग्रहण गर्ने कुरा हो कि खाने?
मैले यस आलेखमा सुरुदेखि नै शपथमा ‘खानु’ क्रिया प्रयोग गरिरहेको छु। तर हाम्रा सञ्चारमाध्यममा शपथमा ‘लिने’, ‘ग्रहण गर्ने’ शब्द जोड्ने गरिएका छन्। उसो त म आफैँ पनि यही प्रयोग गरिरहेको छु।
तर यसपटक हाम्रा प्रधानमन्त्रीको शपथ जब विवादमा पर्यो, तब यो शब्दको अर्थसँगै हाम्रा लेखनमा भइरहेको यसको प्रयोग शैली पनि केलाउन मन लाग्यो। यो मेरो ठोकुवा भने होइन, मनमा गुन्दै जाँदा लागेको कुरा हो। यसमा तपाईंहरूका दृष्टि, राय–सुझाव पनि आवश्यक छन्।
शपथको अर्थ ‘किरिया, कसम’ पनि रहेछ भन्ने कुरा शब्दकोश हेरेपछि प्रस्ट भयो। अब सोचौँ– हामी व्यवहारमा कसम, किरिया ‘खाने’ भन्छौँ कि ‘लिने’, ‘ग्रहण गर्ने’ भन्छौँ? बहस आवश्यक देखिन्छ।
अर्काे कुरा– हामी कतिपय सञ्चारकर्मी ‘शपथ’लाई ‘सपथ’ पनि लेखिरहेका छौँ। तर शब्दकोशमा ‘सपथ’ भेटिनँ है।
पद मुक्त कि पद च्युत?
अहिले सञ्चारमाध्यममा व्यापक प्रयोग भइरहेको शब्द यो पनि हो– ‘पदमुक्त’। फेरि यो शपथसँगै सम्बन्धित शब्द पनि हो। पदकै शपथ खाने र खुवाइने हो। हामी लेख्छौँ– फलानोले फलानोलाई पदमुक्त गराए, फलानो पदमुक्त भए। शब्दकोशमा पद र मुक्त छुट्टाछुट्टै लेखेको पाएँ, फेरि ‘ऋणमुक्त’चाहिँ जोडेर लेखिएको रहेछ! अहिले यतातिरको झमेलामा नलागौँ। शब्दकोश आफैँ पनि थुप्रै कुरामा अलमल, दोधारमा पाएँ। यो विषयमा कुनै बेला अलग्गै आलेख लेखौँला।
अहिलेलाई ‘पद मुक्त’का विषयमा चर्चा गरौँ।
‘नेपाली बृहत् शब्दकोश’का अनुसार ‘पद मुक्त’को अर्थ : आफ्नो पद वा स्थान छाडेको वा त्यसबाट हटेको (व्यक्ति) हो।
पहिलो दृष्टिमै प्रस्ट हुन्छ– ‘पद मुक्त’लाई क्रियाका रूपमा प्रयोग गर्न मिल्दैन। किनकि यो पदबाट हटिसकेको ‘व्यक्ति’का लागि प्रयोग गरिने शब्द हो भनेर शब्दकोशले भनेको छ। यसर्थ कसैले कसैलाई ‘पद मुक्त’ गरायो भन्नु भाषिक दृष्टिले गलत हो।
शब्दकोशकै अनुसार बरु ‘पद मुक्ति’को अर्थ– कुनै पद वा दर्जाबाट छुटाउने काम, नोकरी खोसिने क्रिया, बर्खास्तगी, खोसुवा हो। यस अर्थमा बरु कसैले कसैलाई ‘पद मुक्ति’ गरायो भन्नु कम्तीमा क्रियाका हिसाबले ठीक हुने देखिन्छ।
अब लागौँ– पदबाट हट्न पर्नु/बर्खास्त हुनुलाई ‘पद मुक्त’ र हटाइनु/बर्खास्त गरिनुलाई ‘पद मुक्ति’ भन्नु कत्तिको सुहाउँदो र सान्दर्भिक, भन्नेतर्फ।
शब्दकोशकै अनुसार मुक्तको अर्थ हो : स्वतन्त्र गरिएको, फुक्का छाडिएको, बन्धनमा नपारिएको, खुला।
मानिस त्यस्ता बन्धनबाट स्वतन्त्र र मुक्त हुन चाहन्छ, जुन उसलाई मन परिरहेको छैन। जुन जीवनका लागि दुःखदायी छ, कष्टकारक छ। जस्तो : मानिस ‘कोरोना मुक्त’ हुन चाहन्छ, ‘कारागार मुक्त’ हुन चाहन्छ। सबै दुःख, कष्ट, पीर, व्यथाबाट मुक्ति चाहन्छ। अनि यस्ता उत्पीडनबाट छुट्कारा दिलाउनेलाई ‘मुक्ति दाता’ भनिन्छ।
तर पदमा टाँस्सिइरहने उत्कट अभिलाषा हुँदाहुँदै गलहत्याएर निकालिदिनु केको मुक्त! कसरी मुक्ति! तर हामी यसरी लेखिरहेका/भनिरहेका रहेछौँ– मानौँ, त्यसरी घोक्रेठ्याक लगाइनु मुक्त हुनु हो भने घोक्रेठ्याक लगाउने व्यक्ति ‘मुक्ति दाता’! मानौँ, ऊ त्यो पदबाट कहिले मुक्ति पाउँला वा कसले मुक्ति देला भन्ने व्यग्र प्रतीक्षामा थियो।
गण्डकी प्रदेशका तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई पदबाट हटाएकामा राष्ट्रपतिलाई धन्यवाद दिनु बेग्लै कुरा! उनलाई त त्यो पद प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती भिराएका थिए रे! त्यही भएर त्यस्तो ‘अधिकारविहीन कारागार’बाट शीतलनिवासले छुट्कारा दिलाउँदा नेकपा माओवादी केन्द्रका नेता शेरचनलाई शीतल भयो रे!
अन्यथा, पदबाट हटाइनुलाई ‘पद च्युत’ भन्नु पो सान्दर्भिक हुनेरहेछ। ‘नेपाली बृहत् शब्दकोश’का अनुसार ‘पद च्युत’को अर्थ हो : आफ्नो पदबाट हटाइएको, नोकरीबाट हटाइएको। यस्तै ‘पदच्यूति’को अर्थ रहेछ : पदबाट हटाउने काम, नोकरीबाट निकाल्ने काम, खोसुवा। हामीले भन्ने गरेको ‘पद मुक्त’ त यतातिर पो मिल्लाजस्तो छ।
अझ मुक्त, मुक्ति शब्द त निर्वाण, मोक्षसँग पो सम्बन्धित रहेछ। शब्दकोशका अनुसार मुक्त शब्दको अर्थ निर्वाणप्राप्त पनि हो भने मुक्तिको अर्थ : १. छुट्कारा, उन्मोचन, स्वतन्त्रता। २. मोक्ष, बारबारको जन्म र मरणबाट आत्माको मोचन।
विडम्बना ! हामी गल्ती लेख्नमै यति अभ्यस्त भइसक्यौँ कि शुद्ध लेख्दा अशुद्ध, अशुद्ध लेख्दा शुद्ध; सही लेख्दा गल्ती, गल्ती लेख्दा सही लाग्छ। जाँदाजाँदै एउटा उदाहरण : ‘नेपाली बृहत् शब्दकोश’का अनुसार सुचारु शब्दको अर्थ हो– खुब राम्रो, ज्यादै सुन्दर। तर हामी ‘पुनः सञ्चालन’को अर्थमा यो शब्द भरमार प्रयोग गरिरहेका छौँ। जस्तो : अवरुद्ध यातायात सुचारु।

प्रतिक्रिया