ब्लग


कोरोना खोपका लागि बेइजिङतिरै धेरैको नजर किन?

कोरोना खोपका लागि बेइजिङतिरै धेरैको नजर किन?

चेतनाथ आचार्य
पुस २२, २०७७ बुधबार १७:१०,

सन् २०२० इतिहासकै भयानक वर्ष बन्यो। कोरोना महामारीसँगै विश्वमा दुई पक्षीय, बहुपक्षीय नयाँ द्वन्द्व पनि यही वर्ष देखियो। यसकारण नयाँ वर्ष सन् २०२१ को शुभकामना दिँदा धेरैले सहज रूपमा कोरोनाविरुद्धको खोप प्राप्त होस् भनेका छन्। अहिले सबैको चासो कोरोना खोपमै केन्द्रित छ।

सन् २०२० डिसेम्बर ३१ तारिख चीनको राष्ट्रिय औषधि नियामक र व्यवस्थापन ब्युरोले कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ। चीनले बनाएको खोपको प्रतीक्षा चिनियाँ नागरिकले मात्र होइन, विकासोन्मुख धेरै मुलुकका मानिसले गरिरहेका छन्।

चीनले कोरोनाविरुद्धको खोपलाई सार्वजनिक सम्पति मान्नुपर्ने र विशेषगरी विकासोन्मुक मुलुकलाई सर्वसुलभ बनाउनुपर्ने सुरुदेखि नै बताइरहेको छ। आफ्नो देशका ५ कम्पनी खोप अनुसन्धानमा जुटिरहेका बेला राष्ट्रपति सी चिनफिङले त्यस्तो विचार प्रस्तुत गर्दा नेपाललगायत विकासोन्मुख मुलुकले चीनप्रति ठूलो आशा गरिरहेका छन् भने अमेरिकालगायत पश्चिमा मुलुकले भने चीनविरुद्ध ‘खोप कूटनीति’ गरिरहेको आरोप लगाइरहेका छन्।

कोरोनाले विश्वलाई प्याकप्याकी पारिरहेका बेला चीनले महँगोमा खोपको व्यापार गरेर महामारीमा गुमेको आर्थिक क्षति तुरुन्तै पुर्ताल गर्न सक्थ्यो। तर ठूलो राष्ट्र, विश्वको दोस्रो ठूलो अर्थतन्त्र र एउटा जिम्मेवार मुलुक चीनले त्यस्तो अनुचित कहिल्यै सोचेन। चीनले साँच्चै इमान्दारपूर्वक सबैको हितका लागि उल्लिखित अभिव्यक्ति बारम्बार दोहोर्‍याइरहेको छ।

चीनले राम्रो गरे पनि गलत देख्ने अमेरिकाको दृष्टि खोपमा पनि प्रकट भएको छ। अमेरिकी वाल स्ट्रिट जर्नलले चिनियाँ खोपमा स्वार्थ रहेको आरोप लगाएको छ। अल्पविकसित मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणाका पछाडि चीनको स्वार्थ रहेको आरोप लेखमा लगाइएको छ।

त्यसैगरी केही समयअगाडि बेलायती द गार्जिएन पत्रिकाले पनि चीनले अल्पविकसित मुलुकमा खोप कूटनीति अपनाएको आरोप लगाएको छ। महामारी सुरुवातका सम्बन्धमा विश्वले आफूलाई लगाएको दोष र आलोचनाबाट बच्न चीनले विकासोन्मुख देशलाई खोप दिन लागेको लेखमा दाबी गरिएको छ। त्यति मात्र होइन, चिनियाँ बायोटेक कम्पनीहरूलाई विशाल आर्थिक लाभ हुने गरी चीनले विकासोन्मुख मुलुकलाई खोप बेच्न लागेको आरोप पनि लगाइएको छ। थुप्रै अमेरिकी सञ्चारमाध्यमले ‘चिनियाँ खोप कूटनीति सुरु’ आशयका लेख प्रकाशन गरिरहेका छन्।

Vaccine China

खोप निर्यात गरेर चीनले आफ्ना बायोटेक कम्पनीलाई आर्थिक फाइदा दिन खोजेको भन्ने भनाइ पनि आफैंमा हास्यास्पद छ। सन् २०२० मेमा आयोजित ७३औं विश्व स्वास्थ्य महाधिवेशनमा चीनका राष्ट्रपति सीले आफ्नो देशले २ वर्षमा २ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय उद्धार रकम कोरोना महामारीबाट पीडित विशेषगरी विकासोन्मुख राष्ट्रलाई आर्थिक र सामाजिक पुनरुत्थानका लागि दिने घोषणा गरेका थिए। अहिले चीनले विकासोन्मुख मुलुकलाई उपलब्ध गराउने भनिएको खोप सहयोग यहीअन्तर्गतको भएको प्रस्ट पारिसकेको छ। गत अक्टोबरमा चीनले औपचारिक रूपमा ‘कोरोना भाइरसविरूद्ध खोप लागू योजना’ कार्यान्वयन गर्दै विश्वभर खोप समान वितरण गर्ने अभियान अघि बढाउने भनेर थप प्रस्ट्याएको थियो। अमेरिकीहरू कहिले चीनलाई ‘भाइरसको मूल’ भन्दै हिलो छ्याप्ने काम गर्छन् त कहिले ‘मास्क कूटनीति’ भन्दै आफैं मास्क लुट्छन्। अहिले ‘खोप कूटनीति’ भन्दै आफ्नो जलन र पीडा प्रकट गरिरहेका छन्।

सन् २०२० को सुरुतिर चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको थियो। त्यस बेला चीनका विभिन्न मित्रराष्ट्रले मास्कलगायत महामारी रोकथामका लागि आवश्यक सामग्री सहयोग गरेका थिए। नेपालले पनि उल्लेख्य मात्रामा चीनलाई मास्क उपलब्ध गराएको थियो। चीनका नेताले नेपालले गरेको सहयोगलाई बेलाबेला उल्लेख गरिरहन्छन्। दत्तचित्तका साथ काम गर्दै चीन कोरोना महामारी नियन्त्रण गर्न सफल पनि भयो। त्यसपछि पनि चुप लागेर बसेन। उसले अन्य देशलाई महामारी नियन्त्रणका लागि विभिन्न सामग्री उत्पादन गरेर नियमित आपूर्ति गर्न थाल्यो। गत डिसेम्बर मध्यसम्ममा चीनले २ खर्बभन्दा बढी मास्क, २ अर्ब सुरक्षा पोसाक र ८० करोड टेस्ट किट विभिन्न देशलाई प्रदान गरिसकेको छ। चीनले १५० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थालाई महामारी प्रतिरोधका लागि सहयोग उपलब्ध गराएको छ र ३६ चिकित्सा विशेषज्ञ समूहलाई ३४ देशमा पठाएर महामारी नियन्त्रणमा काम गरेको छ।

सधैं अरूलाई औंला ठड्याउने अमेरिकामा चाहिँ कोरोना महामारीको अवस्था कस्तो छ त? अमेरिकाले न आफ्नो देशमा महामारी नियन्त्रण गर्न सकेको छ न त यस विषयमा अरू राष्ट्रलाई नै सघाएको छ। अमेरिकाको पछिल्लो अवस्थाबारे केही चर्चा गर्नु प्रासंगिक होला।

सन् नयाँ वर्षको पहिलो दिन २०२१ जनवरी १ तारिख अमेरिकामा कोरोनाबाट संक्रमित व्यक्तिको संख्या २ करोडभन्दा बढी पुगेको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार सन् २०२० जनवरी २१ का दिन अमेरिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएको थियो। पहिलो संक्रमित फेला परेको ३ महिनापछि अप्रिल २८ सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको थियो। अमेरिकामा संक्रमितको संख्या १ बाट १० लाख पुग्न केवल ९९ दिन लागेको तथ्यांकबाट पुष्टि हुन्छ। गत नोभेम्बर ९ तारिख अमेरिकामा संक्रमितको संख्या पहिलोपटक करोड नाघ्यो। त्यसपछि एक हप्तामै १० लाख संक्रमित थपिए। एक करोड जना संक्रमित भएको ५३ दिनमै अमेरिकामा थप करोड जनामा संक्रमण पुष्टि भयो।

अमेरिकाका सञ्चारमाध्यमले आफ्नो देशका कैयौं विज्ञलाई उद्धृत गर्दै लेखेका छन्- देशमा सबैभन्दा खराब अवस्था आउन बाँकी नै छ। त्यहाँका मिडिया र अर्थशास्त्रीले महामारीका कारण अमेरिकामा धनी र गरिबबीचको खाडल विशाल बनेको उल्लेख गरेका छन्। महामारीको बढ्दो प्रभावले विशेषगरी निम्न आय भएका मानिसलाई बाँच्नै गाह्रो बनाएको छ। अमेरिकी श्रम विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार गत डिसेम्बर २६ तारिखसम्म बेरोजगारी सुविधाका लागि आवेदन दिने व्यक्तिको संख्या ७ लाख ८७ हजार पुगेको छ।

अमेरिकामा यस्तो अवस्था निम्त्याउन त्यहाँको राजनीतिक नेतृत्व वर्गले मुख्य भूमिका निर्वाह गरेको छ। अमेरिकाका २ ठूला राजनीतिक दल डेमोक्र्याटिक र रिपब्लिकनले अहिले एकअर्कालाई आरोप लगाए पनि महामारीको सुरुमा यो नियन्त्रण गर्न कुनै कदम चालेका थिएनन्। अमेरिकीहरू सुरुमा कोरोना भाइरस चीनको मात्र समस्या भन्ठानेर रमाइलो मान्दै हेरिरहेका थिए। विश्वमा ‘अमेरिका पहिलो’ नारा लगाउनेहरूसँग महामारी रोक्न न कुनै पूर्वाधार थियो न त ठोस योजना नै। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओले अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले चीनविरुद्ध लाञ्छना लगाउने काम मात्र गरे। उनीहरूको हेलचक्र्याइँ र चटकीपनले थुप्रै अमेरिकीको ज्यान जोखिममा परेको छ।

आफ्ना कमजोरी/त्रुटी ढाकछोप गर्दै अमेरिकाले कोरोना महामारीलाई राजनीतीकरण गर्‍याे। महामारीलाई राजनीतिक स्वार्थको हतियार बनाउँदै अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइरहेको सहयोग पनि रोक्यो। सबै मिलेर महामारी नियन्त्रण गर्नुपर्ने बेला अमेरिका डब्लूएचओबाट अलग्गियो, जसबाट महामारीविरुद्ध विश्वव्यापी सहकार्यमा ठूलो धक्का लाग्यो।

डिसेम्बर २९ तारिख यूएसए टुडे र सुफोक विश्वविद्यालयले गरेको सर्वेक्षणअनुसार झन्डै एकचौथाइ उत्तरदाताले सन् २०२० लाई नराम्रो वा भयानक भनेर दुत्कारेका छन्। तीमध्ये १५ प्रतिशत अमेरिकीले यति खराब शब्द प्रयोग गरेका छन् कि त्यो सञ्चारमाध्यमले उल्लेख गर्न सक्दैनन्। अमेरिकीहरूमा व्याप्त निराशा र आक्रोश कोरोना महामारीकै उपज हुन्। अमेरिकाले ठूलो मात्रामा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। तर संक्रमित थपिने, अस्पताल भर्ना तथा मृत्यु हुने दर दिनप्रतिदिन बढिरहेको छ।

यस्तो भयावह अवस्था आउँदा पनि अमेरिकाको नेतृत्वकर्ताले ऐनामा आफ्नो अनुहार हरेको छैन। अरूलाई दोष र लाञ्छना लगाएर आफ्नो गल्ती ढाकछोप गर्नमै अमेरिकाले आफ्ना सबै ऊर्जा खर्च गरिरहेको छ। 

Vaccine China2

आफ्नो देशभित्र महामारी नियन्त्रण गरेर चीनले यसका लागि अन्य मुलुकलाई पनि विभिन्न सहयोग गरिरहेको छ। यसभन्दा अगाडिका सानातिना सहयोगसँगै विकासोन्मुख मुलुक अब चिनियाँ खोपको प्रतीक्षामा छन्।

चीनमा परीक्षणकालमै १० लाखभन्दा बढी चिनियाँले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। चीनबाहिर ब्राजिल, इन्डोनेसिया, इजिप्ट, टर्कीलगायत मुलुकमा गरिएको क्लिनिकल परीक्षणमा खोपका कारण मानिसमा कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन। उही समयमा अमेरिका र जर्मनी मिलेर विकास गरेको फाइजर खोप पनि बिस्तारै युरोप र अमेरिकामा आइसकेको छ। केही इजरायली सञ्चारमाध्यमले उल्लेख गरेअनुसार फाइजर खोप लगाएका २४० इजरायलीमा फेरि कोरोना संक्रमण भएको छ।

त्यसैगरी अमेरिका, स्पेन आदि मुलुकमा पनि फाइजर खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अहिले प्रयोगमा आएका चिनियाँ खोप र विदेशी खोपबीच मुख्य समानता के हो भने यिनीहरूको प्रभावकारिता ८५ प्रतिशतभन्दा बढी छ। तर भण्डारण तापमानका सम्बन्धमा ठूलो भिन्नता छ। अमेरिकाका मोडर्ना र फाइजरले बनाएका खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा मात्र राख्न सकिन्छ। यस्तो पूर्वाधार प्रायः विकासोन्मुख मुलुकमा छैन। त्यसैले यी खोपको ढुवानी र भण्डारण निकै जटिल छ। यसका लागि तुलनात्मक रूपमा चिनियाँ खोप सहज छ। किनभने चिनियाँ खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममै निश्चित समयका लागि भण्डारण गर्न सकिन्छ। लामो समय भण्डारणका लागि माइनस २० देखि १८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ, जुन यसअगाडिका अन्य खोपको भण्डारणजस्तै हो।

पश्चिमा मुलुक चीनविरुद्ध ‘खोप राष्ट्रवाद’ अँगालेको आरोप लगाउँछन्। तर व्यवहारतः उनीहरू आफूचाहिँ त्यसो गरिरहेका छन्। उदाहरण क्यानाडालगायतका मुलुक हुन्। जसले आफ्नो देशको जनसंख्याभन्दा पाँचगुणा बढी खोप किनेर राखेका छन्। विकसित भनाउँदा देशको यस्तो चालाले विकासोन्मुख मुलुकमा थप चिन्ता उब्जाएको छ। यसैले पनि सबै विकासोन्मुख मुलुकको आशा चीनप्रति बढेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad