ब्लग


घनश्याम भुसाल र याेगेश भट्टराईलाई बेइजिङबाट स्मरणपत्र

घनश्याम भुसाल र याेगेश भट्टराईलाई बेइजिङबाट स्मरणपत्र

चेतनाथ आचार्य
मंसिर ११, २०७७ बिहिबार १५:५४,

चीनले गरेका विकास र प्रगतिबारे नेपाली सञ्चारमाध्यममा ७ वर्षदेखि निरन्तर लेखिरहेको छु। मेरा लेख पढेपछि धेरैजसो पाठकले दिने प्रतिक्रिया उस्तैउस्तै हुने गरेका छन्- ‘नेपाली नेताले पनि यो पढिदिए हुने नि’, ‘कहिले सिक्लान् हाम्रा नेताले चीनबाट?’ ‘चीनको विकास नेपाली नेताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात्’, ‘नेपाली नेतालाई एकपटक चीनको विकास देखाउनुपर्ने, ए साँच्ची नेपाली नेता चीन त गइरहेकै हुन्छन्, चीनले गरेको विकास देख्छन् कि देख्दैनन्?’

साँच्चै, मलाई पनि अचम्म लाग्छ- नेपालमा गर्व गर्नलायक विकास किन हुँदैन? रोम एकै रातमा बनेको होइन, तर चीनको निर्माणचाहिँ अत्यन्त छोटो समयमा भएको छ। कहिलेकाहीं त यहाँ एकै रातमा पनि निकै ठूला भौतिक संरचना बनाइएका छन्।

नेपालका पहिलो पुस्ताका नेतासँग त त्यस्तो विधि अपेक्षा सायदै कसैले गरेका होलान्, तर केही युवा नेतासँग थुप्रै नेपालीले ठूलाे आशा गरेका छन्। जसलाई जिम्मेवारी दिने हो भने राष्ट्रले पक्कै केही उपलब्धि पाउँछ भन्ने उनीहरूको विश्वास छ। आशलाग्दा त्यस्ता युवा नेतामा अहिले मन्त्री पदमा आसीन घनश्याम भुसाल र योगेश भट्टराई पनि पर्छन्।

नेताले पदमा हुँदा र नहुँदा गर्ने कुरा छेपाराको रङसँग मिल्दोजुल्दो हुन्छ। तीन वर्षअगाडि केही नेपाली युवा नेता बेइजिङ भ्रमणमा आएका बेला भएका भेटवार्ताका प्रसंग यहाँ राख्नु उपयुक्त होला।

सन् २०१७ अगस्ट २५ तारिख शुक्रबारको कुरा हो। तत्कालीन नेकपा एमालेका युवा नेता घनश्याम भुसाल, योगेश भट्टराई, अरुण नेपाल, पर्शुराम मेघी गुरुङ, पशुपति चौलागाईं, प्रकाश ज्वाला र विजय पौडेल साताव्यापी चीन भ्रमणमा थिए। उनीहरूलाई भेट गर्न त्यस दिन साँझ सहकर्मी लक्ष्मी लम्सालसँग म बेइजिङको उत्तरी क्षेत्रमा पर्ने तेस्रो रिङरोडको एउटा होटलमा पुगेको थिएँ। राति साढे ८ बजे भेट गर्न उनीहरूका दोभासे वाङमार्फत समय मिलाइएको थियो, तर उनीहरू १ घण्टा ढिला मात्र होटलमा फर्किए। त्यो दिन उनीहरूलाई रेडियो तथा टीभी टावरको अवलोकन गराउन लगिएको रहेछ र त्यतै डिनर गर्दा ढिला भएको रहेछ।

‘हैट टावर त कति अग्लो! बेइजिङको विकास छ्याङ्ग देखिने रहेछ,’ भेट हुनेबित्तिकै योगेश भट्टराईले सुनाए।

‘टावरको उचाइभन्दा पनि विकासको प्रतीक मान्नुहोस् न। चीनले यस्ता विकास धेरै गरिसकेको छ। विश्वलाई देखाउने चीनका भौतिक पूर्वाधार अनगन्ती होलान्, तर हामीकहाँ खै के छ,’ घनश्यामले प्रश्न गरे।

उनको प्रश्न हामी सबैलाई र उनी आफैंलाई पनि थियो।

बेइजिङको पश्चिम क्षेत्रको तेस्रो चक्रपथमा सन् १९९२ मा बनेको ४ सय ५ मिटर अग्लो रेडियो तथा टेलिभिनजन टावर त्यो समयसम्म बेइजिङकै अग्लो भौतिक संरचना थियो। अर्को वर्ष सन् २०१८ मा त्योभन्दा अग्लो भवन बनेपछि टावर बेइजिङको दोस्रो अग्लोमा परेको छ।

हाम्रो कुराकानी अग्ला भवनमा केन्द्रित भइरहेको थियो। योगेश भट्टराईले जिज्ञासा राखे, ‘मैले सुनेको थिएँ- घरको छतमा हेलिप्याड भएको संसारकै सबैभन्दा अग्लो भवन पनि बेइजिङमै छ रे नि?’

Beijing CBD2

उनले बेइजिङको पूर्वी क्षेत्रमा पर्ने तेस्रो चक्रपथ निर्मित भवनको कुरा गरेका हुन्। चीनले छोटो समयमा विकास गरेको बेइजिङको केन्द्रीय व्यावसायिक क्षेत्र अर्थात् सेन्ट्रल बिजिनेस डिस्ट्रिक ‘सीबीडी’ मा रहेको सो भवन जमिनमाथि ८१ र जमिनमुनि ४ तला तथा ३ सय ३० मिटर उचाइको छ। जुन सन् २०१८ अगाडिसम्म बेइजिङकै र हेलिप्याड भएको विश्वकै अग्लो भवन थियो। तर यसपछि यो भवन उल्लिखित दुवै कुरामा दोस्रो नम्बरमा झरेको छ। किनकि चीनकै क्वाङचौमा छतमा हेलिप्याडसहितकाे ४ सय ३९ मिटर उचाइको भवन बनिसकेको छ।

प्रसंग निस्किएपछि सीबीडीबारे मैले पाएको जानकारी उनीहरूलाई सुनाएँ।

सात वर्ग किलोमिटर क्षेत्रमा फैलिएको सीबीडीको मुख्य विशेषता नै गगनचुम्बी महलको जंगल हो। विश्वका शीर्ष ५ सय व्यवसायका चिनियाँ मुख्यालय यही क्षेत्रमा छन्। विश्वकै ठूलो सञ्चार गृह चाइना मिडिया ग्रुपको मुख्यालय तथा पिपुल्स डेली अखबार र बेइजिङ टेलिभिजनजस्ता विशाल चिनियाँ मिडिया पनि यही क्षेत्रमा छन्। साथै ठूला सपिङ मल, अन्तर्राष्ट्रिय ब्रान्डेड सामानका मुख्य बिक्री कक्ष तथा अन्तर्राष्ट्रिय होटल पनि। विदेशी दूतावास केही किलोमिटरको दूरीमा पर्ने भएकाले पनि सबै विदेशीका आँखा तुरुन्तै पर्ने क्षेत्र हो- सीबीडी।

Beijing CBD

जहाँ बेइजिङमा रहेका १० अग्ला भवनमध्ये ९ वटा छन्। चाइना मिडिया ग्रुप अर्थात् सीएमजीको मुख्यालयलाई सीसीटीभीको भवन पनि भनिन्छ। सन् २००७ मा निर्माण पूरा भएको यो भवनलाई विश्वकै अनौठो डिजाइनको मानिन्छ। किनभने भवनका दुई पिलर नियमित र समान छैनन्। जुन भवन ५२ तला र २ सय ३४ मिटर उचाइको छ। सन् २००७ मा अमेरिकी टाइम्स पत्रिकाले यो भवनलाई विश्वका शीर्ष १० चामत्कारिक भवनमध्ये एक भनेर उल्लेख गरेको थियो।

सीबीडी क्षेत्र पहिले बेइजिङको औद्योगिक केन्द्र थियो। अहिले जहाँ गगनचुम्बी भवन छन्, त्यहाँ ३० वर्ष अगाडिसम्म धुँवाको मुस्लो छाड्ने चिम्नी थिए। फ्रिज र जिप गाडी उत्पादन गर्ने नामी कारखानाको ‘हब’ मानिन्थ्यो। सो क्षेत्र दिनभर आउजाउ गरिरहने ट्रक र कारखानाको आवाजले गुञ्जयमान हुन्थ्यो भने रातिचाहिँ सुनसान र चकमन्न।

सन् १९९३ मा चिनियाँ राज्य परिषदले उक्त औद्योगिक क्षेत्रलाई सीबीडीका रूपमा विकास गर्ने योजना स्वीकृत गर्‍याे। सन् २००० देखि सीबीडीको औपचारिक निर्माण र विकास सुरू भएको हो। हिसाब गर्दा यो क्षेत्रले काँचुली फेरेको २ दशक मात्र भएको छ। अहिले सीबीडी क्षेत्र दिउँसोभन्दा बढी राति व्यस्त देखिन्छ। झिलिमिली बत्तीसहित विदेशी पाहुनाले भरिभराउ होटल २४सै घण्टा खुला हुन्छन्। जहाँ अहिले धुँवाका मुस्लो छाड्ने चिम्नीभन्दा कैयौं गुणा अग्ला महल छन्। जुन क्षेत्र चीनकै आर्थिक विकासको द्योतक बनेको छ।

यो जानकारी पाएपछि भुसाल र भट्टराई केही बेर गम्भीर सोचमा परे। केही क्षणपछि भुसाल बोले, ‘देशको मुहार फेर्न त सबैभन्दा ठूलो कुरा इच्छाशक्ति चाहिन्छ। बेइजिङको सीबीडीले २ दशकमै यत्रो विकास गरेको छ, तर हामीकहाँ प्रजातन्त्र पुनःप्राप्ति भएको ३ दशक हुन लाग्यो, तर पनि हामीसँग देखाउने उल्लेख्य कुनै भौतिक पूर्वाधार बन्न सकेको छैन।’

भुसालको विचारमा सहमति जनाउँदै भट्टराईले भने, ‘असल नेता र सही विचारको नेतृत्व हुने हो भने चाँडै विकास हुन्छ भन्ने उदाहरण बनेको छ- चीन। हामीले चीनबाट यस्ता योजना र विकासबारे धेरै कुरा सिक्न सक्छौं।’

यसरी नेता भुसाल र भट्टराईसँग कुराकानी भएको ३ वर्ष बितिसकेको छ। यसबीच चीनले अरू पनि थुप्रै प्रगति हासिल गरिसकेको छ। सीबीडीमै बेइजिङकै अग्लो अर्को भवन बनेको २ वर्ष नाघिसकेको छ। चाइना इन्टरनेसनल ट्रस्ट एन्ड इनभेस्टमेन्ट कर्पोरेसन अर्थात् सिटिकको भवनको उचाइ ५ सय २८ मिटर छ भने जमिनमाथि १०८ र जमिनमुनि ७ तला छन्। जहाँ १२ हजार मानिस काम गर्छन् भने दैनिक १० हजार पर्यटकले भ्रमण गर्न सक्छन्। पछिल्लो समय यो भवनलाई चीनका शीर्ष १० निर्माणवस्तुमा राखिएको छ। जुन भवनमा जडित लिफ्टबाट सबैभन्दा माथिल्लो तलामा पुग्न जम्मा १ मिनेट लाग्छ।

अहिले विश्वका अग्ला १० भवनमध्ये चीनमा मात्रै ६ वटा छन्। यूएईमा रहेको वुर्जा खालिपा विश्वकै अग्लो टावर हो भने दोस्रोमा चीनको साङहाईमा रहेको भवन पर्छ। यसैगरी विश्वको तेस्रो अग्लो भवन साउदी अरेबिया छ भने चौथो र पाँचौं अग्ला भवन चीनमा छन्। छैटौं कोरिया र सातौं अग्ला भवन अमेरिकामा छन्। अनि आठौंदेखि १० नम्बरमा पर्ने सबै अग्ला भवन चीनमा छन्। बेइजिङको सबैभन्दा अग्लो भवनचाहिँ अहिले चीनका अग्ला भवनमा छैटौं नम्बरमा पर्छ।

चीनले हरेक २ वर्षमा अग्ला भवनको ‘रेकर्ड’ बनाउने गरेको छ। यतिबेला नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झन्डै दुईतिहाइ बहुमतको शक्तिशाली सरकार छ। संयोग कस्तो परेको छ भने जुन सरकारमा तिनै नेता भुसाल र भट्टराई मन्त्री छन्। त्यति मात्र होइन, दुवै नेता आफ्नो पार्टीको शक्तिशाली स्थायी कमिटीमा पनि छन्। अनि उनीहरूसँग चीन भ्रमणमा सहभागी नेता पनि केन्द्रीय सदस्य छन्। अरुण नेपाल र प्रकाश ज्वाला त प्रदेश सरकारका मन्त्री पनि हुन्।

चीनले हरेक २ वर्षमा आकाश छुने महल बनाइरहेको छ, जुन आर्थिक सम्वृद्धिको एउटा प्रतीक हो। नेपालले चाहिँ अहिलेसम्म आर्थिक सम्वृद्धिका के के आधार बनायो? भुसाल र भट्टराईलाई सोध्न मन लागेको छ।

अग्ला भवन मात्रै आर्थिक सम्वृद्धिको प्रतीक होइन। मनमा उब्जिने प्रश्न के हो भने नेपालमा गर्व गर्नलायक विकास कहिले होला?

(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो– सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad