चमत्कारी फुटबल खेलाडी डिएगो म्याराडोनालाई अन्तिम विदाइ गर्न हजारौँ मानिस अर्जेन्टिनी राजधानी ब्युनर्स आयर्सको सडकमा निस्केका छन्।
उनको शवपेटी राखिएको राष्ट्रपतीय भवन कासा रोसाडाबाहिर मानिसहरुको भीड लागेको छ। म्याराडोनाको शवपेटीलाई अर्जेन्टिनी झण्डा र १० नम्बरको जर्सीले बेरिएको छ।
अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो। पछिल्लो समय स्वास्थ्य समस्या र दुर्व्यसनीसँग जुधिरहेका उनको जीवन संघर्षले भरिपूर्ण थियो।
उनको अन्तिम संस्कार स्थानीय समयअनुसार बिहीबार साँझ ६ बजे हुने बताइएको छ।
‘मेरो जीवनमा घटित सबैभन्दा ठूलो घटना भनेकै म्याराडोना हुन्। म उनलाई आफ्नो बुबाजत्तिकै प्रेम गर्छु। यतिबेला मलाई आफ्नै बुबा बितेजस्तै लागिरहेको छ,’ २२ वर्षीय क्रिस्टियन मोन्टेलीले आँखाभरी आँसु पार्दै भने।

अर्जेन्टिनाका मात्रै होइन, विश्वभरका खेलप्रेमी, खेलाडी र नेताहरुले पनि म्याराडोनाप्रति श्रद्धाञ्जली दिएका छन्।
स्थानीय बोका जुनियर्स क्लबको जर्सीमा देखिएका म्याराडोनाका प्रशंसक माउरो जिमेनेजले भने, ‘मलाई लाग्छ, आज सबैले केही न केही गुमाएको महसुस गरे। बालापन मर्यो। आमा बितिन्, बुबा बिते। त्यस्तै महसुस भइरहेको छ।’ एजेन्सी

प्रतिक्रिया