ब्लग


हिप्पी हिँडेको त्यो बाटो, स्ट्रेट अफ हर्मुजको यो बाटो

चन्द्रमाको कुनै ‘डार्क साइड’ हुँदैन, सबै भाग अँध्यारो हुन्छ
हिप्पी हिँडेको त्यो बाटो, स्ट्रेट अफ हर्मुजको यो बाटो

वाशुदेव मिश्र
बैशाख १, २०८३ मंगलबार १३:२६, पोखरा

यो त्यो बेलाको कथा हो, जुनबेला काठमाडौको झोँसेका गल्लीहरूमा महिनौँ नफालेको दाह्री, नकाटिएको लामो कपाल,फ्याङ्ल्याङ्गे लुगा लगाएका अनि ,राता आँखा पारेका फिरिङ्गीहरू छ्याप्छयाप्ति भेटिन्थे। ‘मोक्ष’को खोजीमा निस्केका यी फिरिङ्गीहरू खुल्ला विचार राख्थे, युद्ध हैन प्रेम रोज्थे। संगीत र पुस्तकप्रति यिनीहरूको अग्घोरै प्रेम थियो भने गाँजा र चरेस यिनका प्रिय थिए तर बैराग्य जागेका साधुजस्ता पटक्कै थिएनन्।

यौनप्रति उनीहरू साँच्चै उदार थिए, बाटोमा खुल्लमखुला चुम्बन गरिदिन्थे। अर्धनग्न हुनु त्यो समूहका युवतीका निम्ति सामान्य थियो। उनीहरू ब्रा लगाउँदैनथे अनि मेकअपप्रति नफरत गर्थे। सन् १९६० देखि ७० को मध्यसम्म काठमाडौँ,पोखरासहित देशका अन्य भागमा पनि यदाकदा देखिने उनीहरू आखिर को थिए र कहाँबाट आएका थिए त? 

नेपाल पहिलो र दोस्रो युद्धमा सामेल त थिएन तर त्यो युद्धमा नेपालका हजारौँ युवाहरू सामेल थिए। युद्धको बेला दैनिकजसो ‘धागोले बाँधेको चिठी’ नेपाल आउँथ्यो। एउटी अवलाको सिन्दुर पुछिन्थ्यो,कुनै अबोध टुहरो हुन्थ्यो र आमाको टेक्ने लठ्ठी भाँचिन्थ्यो। मर्ने युवा थिए,शोकमा पर्ने चाहिँ बुढाबुढी र अवलाहरू। विद्रोह सम्भव थिएन।

तर, अमेरिका र युरोपमा चाहिँ ठिक उल्टो भयो। पहिलो र दोस्रो विश्वयुद्धलगत्तै अमेरिकाले भियतनाममाथि आक्रमण गर्‍यो। युद्धको त्रासदीसँगै युवाहरूलाई अनिवार्य सैन्य तालिमको व्यवस्था गरियो। ‘रातो धागोले बाँधेको चिठी’ गयो/गएन तर मृत्युले त्यसलाई पनि छाडेन। उनीहरूले युद्ध हैन प्रेम रोजे। तत्कालीन व्यवस्थाप्रति शान्त विद्रोह जताए। विद्रोहीहरू सानफ्रान्स्किोको सस्तो मानिने हाइट एसवरीमा जम्मा हुन थाले।

एलेन गिन्सवर्गजस्ता लेखकबाट प्रभावित यो समूहका नायकमा बिटल्स ब्याण्डका जोन लेनन पनि थिए। उनको ‘इम्याजिन’गीतका शब्द–शब्दहरू ती फिरन्ताका निम्ति मन्त्रहरू थिए। ‘गिभ पिस अ चान्स’ मात्र हैन, बिटल्सका हरेक गीतहरू उनीहरूलाई कण्ठस्त  थियो। अमेरिकाबाट सुरु भएको यो विद्रोहले अभियानको रुप लियो। नवयुवा र युवतीहरू फरक जीवन जिउने र मोक्षको खोजी गर्ने लालसासहित यात्रामा निस्के। युरोप छिरे।

त्यो बेलाको फ्रान्स, नेदरल्याण्डको एम्मरर्डम,युगोस्लाभिया,आइसल्यान्ड,टर्कीको आंकरा हुँदै गाँजा–चरेस पाइने ठाउँहरू इरान, अफगानिस्तानबाट खैवर घाँटी हुँदै पाकिस्तानको लाहोर र त्यसपछि काश्मीर गोवा, दिल्ली अनि काठमाडौँ आइपुगे। करिब १२ हजार माइलका यो यात्रा गर्न बसबाट ५० दिन लाग्थ्यो। यस्तो विद्रोही जीवन बाँच्नेहरूलाई ‘हिप्पी’ नामाकरण गरियो। उनीहरू भारत र नेपाल आउनुमा चाहिँ उनै जोन लेननको ठूलो भूमिका रह्यो।

लेनन स्वयं भारतीय शास्त्रीय संगीतका मुर्धन्य व्यक्ति रविशंकरबाट प्रभावित भए। लेननले आफ्नो अस्तू वाराणसी (काशी) को गंगामा बगाइदिन भनेका थिए। त्यसको प्रभाव हिप्पीहरूमा पर्ने नै भयो। भारत र खासगरी वाराणसी आइपुगेका यी विद्रोहीले सितल हावा बग्ने र मीठो गाँजा पाइने नेपालबारे थाहा पाए। भैरहवा,रक्सौल नाका हुँदै उनीहरू नेपाल छिरे। 

अनि,यात्रा सार्वजनिक बस अथवा निजी गाडीको हुन्थ्यो। त्यो बेला इरान अहिलेको जस्तो इस्लामिक राष्ट्र थिएन, नत अफगानिस्तानमै तालिवानहरू हाबी थिए। इरानमा त्यो बेला राजा रेजा साह पहलवीको शासन थियो। उनी अमेरिका र बेलायतका प्रिय थिए। शान–सौकतको जीवन बिताउँथे। उनले अमेरिकी सहयोगमा इरानमा ‘स्वेत क्रान्ति’ अर्थात् पश्चिमीकरणको सुरुवात गराएका थिए।

इरानी सहरहरूमा पश्चिमा संस्कृति अनुरुपका गतिविधि हुन्थे। महिलाहरू पश्चिमाले जस्तै पहिरन लगाउँथे। एसियाको यही पश्चिमी देश हुँदै युरोप र अमेरिकाका मान्छेहरू भारत र नेपालसम्म आउँथे। अमेरिकाबाट सुरु भएको हिप्पी संस्कृति र त्यो संस्कृतिको प्रवर्तक हिप्पीहरू नेपालसम्म आइपुगेको बाटो पनि त्यही थियो। 

‘हिप्पी ट्रेल’को नामबाट चर्चित त्यो बाटो नेदरल्याण्डको आम्सेड्रम वा लन्डन अनि प्यारिसबाट सुरु हुन्थ्यो। हिप्पीहरू ३६ घण्टाको बस यात्रापछि टर्कीको इस्तानबुल,इरानको राजधानी तेहरान हुँदै अफगानिस्तान,कान्दाहर,काबुल अनि पाकिस्तानको लाहोर आइपुग्थे। लाहोरबाट भारतको यात्रा सुरु हुन्थ्यो। केही हिप्पीहरू दिल्ली पुग्थे। वाराणसी र गंगाको किनारतिर महिनौँ झुम्थे र केही चाहिँ भारतभन्दा चिसो र मीठो गाँजा पाइने नेपाल आइपुग्थे। नेदरल्याण्डबाट नेपालसम्मको यात्रा झण्डै ३ महिनाको हुन्थ्यो। 

कसले खोज्यो, को हिँड्यो? 
पश्चिमाहरूका लागि भारत रहस्यमयी देश थियो। त्यही रहस्यले तानिएका कोलम्बस भारत खोज्न हिँडेका थिए। तर, उनी पश्चिम लागेछन् र अमेरिका पत्ता लाग्यो। कोलम्बसले पहिलोपटक टेकेको अमेरिकी जमिन इण्डियाना बन्यो। हिप्पी ट्रेलको खोजी चाहिँ केही साहसी यात्रुहरूबाट भएको मानिन्छ।

‘दी ओभरल्याण्ड–बसेस टु इण्डिया १९५७–१९८०’ मा लेखक रिचर्ड ग्रेगोरीले भने अनुसार त्यो यात्रा सन् १९२० मा नै थालिएको थियो। सन् १९२४ मा मेजर फोब्र्स नेतृत्वको तीन सदस्यीय टोलीले पहिलोपटक सडकबाटै भारत यात्रा गरेका थिए। सन् १९२७ मा अष्ट्रेलियन नागरिक फ्रान्सिस ब्रिटलेसले लन्डन-दिल्ली यात्रा गरे भने सन् १९३१ मा रेसिङ ड्राइभर जोन रिचमण्डले तीनवटा कारसहित भारत यात्रा गरे। त्यसको अर्को वर्ष मोन्टेकार्लो कार र्‍याली पनि भारत आइपुग्यो।

फ्रान्सेली लेखक इला माइलार्टको ‘फरबिटन जर्नी’,पिटर फ्लेमिङको ‘न्युज फ्रम ट्राटरी’मा सडक मार्ग हुँदै गरिएको यात्रानुभूति समेटिएको छ। माइलार्टले सन् १९९३ मा नयाँ फोर्ड गाडीबाट काबुलसम्मको यात्रा गरिन् र यात्रानुभूति ‘दी क्र्युल वे’मा समेटिन्। अर्का स्वीस लेखक एनिमेरी स्वार्जेनवर्कले सडक यात्रालाई ‘अल दी रोड्स आर ओपन’भन्ने किताबमा समेटे। 

सन् १९५१ मा जोन लेनक्स कुक र टिम ह्यामिल्टनले लन्डनबाट,कान्दाहार,काबुल,लाहोर,दिल्ली यात्रा गरे र फर्केर अष्ट्रेलिया अनि अमेरिका नै पुगेर इतिहास रचे। डेभिड म्याकी र उनकी श्रीमतीले सन् १९५४ मा भक्सबोगनमा बम्बे–लन्डन यात्रा पनि सम्झनालायक छ। तर, यो सडकमा व्यावसायिक रुपले नै बस चलाउने सपना चाहिँ ओस्वाल्ड जोसेफ प्याडी ग्यारो फिसरले सुरु गरेका थिए। पेशाले गाडीका पार्टपूर्जा बिक्रेता प्याडीले ‘इण्डियाम्यान’ बस सेवा सुरु गरे।

त्यो कालखण्डमा अल्बर्ट ट्राभल्सले पनि यो १६ हजार किलोमिटर यात्राको क्रममा कोलकोत्ता, वाराणशी, दिल्ली, पञ्जाव, पाकिस्तान, अफगानिस्तान, इराना, टर्की, बुल्गेरिया, युगोस्लाभिया, अष्ट्रेलिया, जर्मनी हुँदै लन्डन पुग्थ्यो। त्यसको एकतर्फी भाडादर १४५ पाउण्ड थियो। त्यो दुईतले बसमा सुत्ने र खाने प्रबन्ध पनि गरिएको हुन्थ्यो। 

इण्डियन म्यानको बस चाहिँ १५ अप्रिल १९५७ मा पहिलोटक लन्डनबाट कोलकोत्ताको  लागि छुटेको थियो। ५ जुनमा कोलकोत्ता पुगेको सो बस २ अगस्तमा सुरक्षित तबरले लन्डनको भिक्टोरिया कोच स्टेसनमा फर्किएको थियो। हिप्पीहरू त्यही बस चढेर नेपाल आइपुग्थे। तीमध्ये केहीले चाहिँ आफ्नै भक्सवागन वा फोर्ड गाडीहमार्फत् पनि यात्रा गरे। केहीले ती गाडी र बस यतै बेचे पनि। अहिले पनि नेपालमा ती पुराना गाडीहरू कतैकतै देख्न सकिन्छ। त्यो बस सेवा  सन् १९७८ सम्म नै सुचारु रह्यो।

तर, इरानी राजाको पश्चिमासँगको हिमचिम तथा आधुनिकतालाई कट्टरपन्थी मुस्लिमहरूले मन पराएनन्। राजा आफ्नै व्यवहारका कारण अलोकप्रिय थिए। आयोतोल्लाह खोमेनीको नेतत्वमा सन् १९७८ मा त्यहाँ विद्रोह सुरु भयो। सन् १९७९ मा राजतन्त्र सधैँको लािग उखेलियो। इस्लामिक क्रान्तिले इरानलाई इस्लामिक गणतन्त्रमा परिणत गर्‍यो। हिप्पी ट्रेल पनि त्यो क्रान्त्रिसँगै बन्द भयो।

ती दिनमा त्यही बस हुँदै नेपाल आइपुगेका र हाल ८२ वर्ष पुगेका केथ म्याकवानले सामाजिक सञ्जालमा यात्रानुभूतिबारे लेखेका छन्,‘सन् १९६७ मा म त्यो बाटो हिँडेको छु। बसमा रहेकामध्ये हरेक दिन ४ जनाको खाना पकाउने पालो हुन्थ्यो।हामी खाना पकाउन बस कतै रोक्थ्यौँ। सुत्ने चाहिँ खाली भुइँमै हो। त्यहाँ टेण्ट गाडिन्थ्यो। कहिलेकाहिँ खाना पकाउँदै गर्दा पानी र हिउँ पर्‍थ्यो। ’

उनले लामो यात्राको क्रममा अफगानिस्तान र इरानमा रोकिँदाको तस्वीहरू सार्वजनिक गर्दै भनेका छन्,‘मैले सन् १९६७ मा म्युनिखको होस्टलमा बस्ने क्रममा केही काठमाडौँ घर भएका नेपालीलाई भेटेँ। उनीहरूको कुरा सुनेपछि म क्रिसमस मनाउने गरी म काठमाडौँ आउँछु भनेँ। तर ,त्यहाँ पुगेपछि घर ठम्याउन सकिएन। तस्वीरमा देखिएको उस्तै घरको अगाडि गएर उभिएँ। केही दिनपछि त्यही बाटोमा ऊ (साथी) भेट भयो।’ उनले स्वागम्यान बसबाट इरान हुँदै यात्रा गरेको उल्लेख गरेका छन्। 

यो यात्रालाई समेटेर क्यानेडियन लेखक रोरी म्याकलेनले ‘म्याजिक बस’नामक पुस्तक नै लेखेका छन्। रोरी म्याकलेनले काठमाडौँबारे चाहिँ ‘काठमाण्डु: र्याटस् दी साइज अफ क्याट्स भन्ने शीर्षकमा अनुभूति पस्केका छन्। 

उनले तत्कालीन इरानको सामाजिक परिवेशबारे उल्लेख गर्दै लेखेका पंक्तिहरू यस्ता छन्–इस्फाहानमा कुहिरो–जस्तो निलो र खरबुजा–जस्तो हरियो रंगका ट्युलिप गुम्बजहरू मरुभूमिमा फुलेका छन्। इन्डगो रङका मोजाइक स्मारकहरू सेता पोप्लरका पङ्क्तिहरूमाथि उठेका छन्। म इस्तानबुलबाट भारततर्फ जाँदैछु, एसिया ओभरल्याण्ड ‘हिप्पी’ ट्रेलको मार्ग पछ्याउँदै। साठी र सत्तरीको दशकमा, पुराना अष्टिन गाडीहरू, इन्द्रेणी रंगका डबल डेकरहरू र जलेका जस्ता भक्सभोगन कम्बी बसमा यात्रा गर्ने आशावादी पुस्ताले यो महान यात्राले अझ राम्रो संसार ल्याउने आशा राखेका थिए। तिनीहरूमध्ये धेरै यहाँ (तेहरानमा) रोकिन्थे, संसारकै सबैभन्दा सुन्दर अनुपात भएको सहरको आनन्द लिन। यसको दिव्य सुन्दरता- अंग्रेजी सौन्दर्यप्रेमी र यात्राविद रोवर्ट ब्यारोनका अनुसार पूर्ण शान्तिको दुर्लभ क्षण ल्याउँछ, जहाँ शरीर हलुका हुन्छ, मनले कुनै प्रश्न गर्दैन, र संसार एउटा विजय जस्तो लाग्छ। 

दिउँसोको मृदु प्रकाशमा, विशाल रोयल (अहिले खोमेनी) स्क्वायर घुमाउरो, भूलभुलैयाजस्तो बजारभन्दा पर फैलिएको छ। यसको दुई महान मस्जिद-सानदार, भित्रतिर गहिरिएका प्रवेशद्वार र मीनारहरूले सजिएका-हल्का खैरो इँटाको अली कापु दरबारसँग लगभग पूर्ण सममितिमा उभिएका छन्। म मैदानको आधा किलोमिटर लामो भाग हिँड्दै जान्छु, हल्का महजस्तो रंगका तह–तहका आर्केडहरू मुनि, आइसक्रिम बेच्नेहरू, पर्यटक गाडीहरू र पिकनिक मनाइरहेका परिवारहरूबीच। बाबुहरू र छोराहरू पोलिएको मकै चपाउँदैछन्। आमाहरू टार्टन चटाइमा आराम गर्दैछन्, भारी चादर अलि खुलाउँदै, रातो किनारा वा टाइट डेनिमको झल्को देखाउँदै। छोरीहरूले आफ्नो टाउकोको स्कार्फ मुनिबाट लामो कपाल फुकाल्छन्, अनि नाङ्गा खुट्टाले फोहरामा खेल्छन्। बाइरनले लेखेका थिए कि यस स्क्वायरको सुन्दरता औपचारिक स्थान र विविध भवनहरूको रोमान्टिक भिन्नताबीचको विरोधमा छ। मलाई रोमको सेण्ट पिटर बासिलिकाको सम्झना हुन्छ। 

मेरो अगाडि मस्जिद इ शाह छ–हजार वर्षको फारसी वास्तुकलाको पराकाष्ठा, १६३८ मा सम्पन्न भएपछि लगभग अपरिवर्तित। यसको विशाल र खुला भवनको लगभग सम्पूर्ण सतह सुन्दर ग्लेज गरिएको टायलले ढाकिएको छ। चराहरू शान्त आँगनमाथि उडिरहेका छन्, तिनको उडानको चाप कमानीहरूको रेखाजस्तै सुन्दर। एउटा भुइँतलाको पटाङ्गिनीमा, दुई विद्यालयका छात्रहरू चित्र कोर्दैछन्। गाढा निलो र सुनौलो पहेँलो पानीरङ थप्दै, लेखोटहरू फेरि उतार्दै। एक जना हेरचाह गर्ने व्यक्ति पुरानो साइकलमा आउँछन्, उनको छायाँ ठूलो पानीको पोखरीमा लहराउँदै।

यस शान्त ठाउँमा, आधुनिक युगले अझै बिगारेको छैन, म साठको दशकका यात्रुहरूको विरासतबारे सोच्दछु। केही पुस्ताअघि मात्रै अंग्रेजी केटीहरू इरानभर एक्लै लिफ्ट माग्दै यात्रा गर्थे। बर्लिन र बोस्टनका स्वतन्त्र किशोरहरू बगदादमा सम्मानित पाहुना झैं स्वागत पाउँथे। हजारौं पश्चिमी यात्रीहरू, फराकिलो पाइन्ट र खुला स्यान्डल लगाएर, इतिहासमा उपनिवेश बनाउन नभई आफैँ प्रभावित हुन यात्रा गर्ने पहिलो समूह हुन सक्छन्, तर तिनका मूल्य र तुलनात्मक सम्पत्तिले भ्रमण गरिएका स्थानहरू परिवर्तन गरे।

स्थानीय समाजहरू-विशेषगरी ग्रामीण इरान र अफगानिस्तान-अधिकांश रूपमा कडा परम्परावादी थिए। म सोच्न थाल्छु कि ती पहिलो स्वतन्त्र यात्रुहरूको सहज नैतिकता र मानवतावादले ती देशहरूलाई अझ ध्रुवीकृत बनायो कि, शहरका उदार अल्पसंख्यकलाई प्रोत्साहन दिँदै, परम्परावादी र कट्टरपन्थीलाई अपमानित-यहाँसम्म कि क्रुद्ध-गर्‍यो, जसले कडा इस्लामिक पुनर्जागरणलाई उक्सायो।

‘हे मिस्टर, तपाईं कहाँबाट हो?’ एउटा साहसी युवक कराउँछ, मेरो विचार भङ्ग गर्दै। म उसलाई बेवास्ता गर्दै टाढा जान्छु। उसले फेरि कराउँछ, ‘हामी पिंक फ्लोयडका फ्यान हौँ।’ 

यो मैले अपेक्षा गरेको थिएन। उनीहरूले फ्लोयडको ‘दी लुनाटिक इज इन माइ हेड’ सुनाउँछन् र थप्छन्,‘यु लक ड डोर एण्ड थ्रु अवे दी कि,देयर इज समअन इन माइ हेड बट इट्स नट मी’

ती चार जना माशहदका इन्जिनियरिङ विद्यार्थीहरू हुन्। उनीहरू सहर वरिपरि रहेका हतियार र रक्षा उद्योग-नयाँ इस्फाहान न्यूक्लियर टेक्नोलोजी सेन्टरबारे समेत-बारे जानकार छन्। उनीहरू किशोरावस्थाको अन्त्यतिरका, हल्का गोरो छाला भएका, सेतो कमिज र कालो पाइन्ट लगाएका छन्। एकजनाले फेर्दोसी विश्वविद्यालयको पत्रिका फानोस खियाल बोकका छन्। ‘हामी रोजर वाल्टरबारे जान्दछौँ,’उनीहरू थप्छन्। उनीहरू सोध्छन्,‘महाशय, डार्क साइड अफ दी मुनको अन्त्यमा कुन गीत छ ?’

‘गीत ?’ 

‘यदि इक्लिप्सको अन्त्य ध्यान दिएर सुन्नुभयो भने हल्का संगीत सुनिन्छ।’ 

‘पौल इज डेड’ म भन्छु। 

कतिपयले त्यसलाई बिटल्सको गीत भन्छन्। 

त्यसपछि मस्जिदको मुख्य कक्षमा, ठूलो गुम्बजमुनि, ती चार युवाहरू गाउन थाल्छन्- आई विल सी यू अन द डार्कसाइड अफ दी मुन।
म विचलित हुन्छु-यसको अपवित्रताबाट, आफ्नो शान्त क्षण हराएको महसुस गर्दै। तर यसले साठ र सत्तरी दशकको प्रभाव अझै बाँकी रहेको पनि सम्झाउँछ।

त्यसपछि एक अपरिचित व्यक्ति अगाडि आउँछ र ‘अल्लाहु अकबर’ भन्छ। उसका शब्दहरू गुम्बजभरि गुञ्जिन्छन्।

क्रोधित पालेले  विद्यार्थीहरूलाई बाहिर निकाल्छ।

‘महाशय, तपाईंलाई थाहा छ चन्द्रमाको कुनै ‘डार्क साइड’ हुँदैन,’ तीमध्ये एकले फर्केर भन्छ,‘सबै भाग अँध्यारो हुन्छ।’

हो आधुनिकतालाई कट्टरताले किचेपछि इरानमा उज्यालो छैन। यो संसारमा हिप्पी संस्कृति त छ तर हिजोका हिप्पी छैनन्। हिप्पी हिँड्ने बाटो त छ तर तगाराहरूले गर्दा त्यो यात्रा सजिलो छैन। झन् अहिले इरानले हिप्पी हिँडेको बाटो मात्र हैन, पानी जहाज हिँड्ने समुद्री मार्ग होर्मुज नै बन्द गरिदिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad