ब्लग


अमेरिकाबाट नेपाली डाक्टरको आग्रहः कोरोना रोग नलुकाऔं, बिरामीलाई हेला नगरौं

अमेरिकाबाट नेपाली डाक्टरको आग्रहः कोरोना रोग नलुकाऔं, बिरामीलाई हेला नगरौं

डा.रविन श्रेष्ठ
बैशाख २४, २०७७ बुधबार १:४२,

चिकित्सा पेसामा लागेदेखि डाक्टरले यति ठूलो त्रास भोगेको मलाई सम्झना छैन। म र मेरी श्रीमती दुवै चिकित्सक हौं। हाम्रा दुई बच्चा छन्– ६ र ४ वर्षका। अहिलेको अवस्थामा हामी दुवै डाक्टर हुनुको अर्थ हो– हामीलाई कोरोना संक्रमण सम्भावना बढी छ। किनभने हामी दैनिक कोरोना संक्रमितको उपचारमा खटिन्छौं।

अमेरिकाको टेक्ससस्थित टेनिसी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा कार्यरत भएकाले मसँग कोरोना उपचारबारे केही अनुभव छन्।

महामारीको यो बेला सबैभन्दा ठूलो कुरा रोगबाट बच्नु हुनेरहेछ। हिजोआज हामीले परिवारमा कोरोना भइहाले के गर्ने भनेर योजना बनाउने गरेका छौं। भइहाले पनि दुवै जनालाई फरक–फरक समयमा होस्, एकैपटक नहोस् भनेर सुरक्षा सावधानी बढाएका छौं। सावधानी अपनाउँदै गर्दा पनि एक जनालाई भेटिहाले बच्चाले के गर्ने? त्यो पनि अर्को महत्वपूर्ण पक्ष हुनेरहेछ। त्यसको पनि योजना बनाएका छौं।

कोरोना संक्रमणबाट अमेरिकामा अहिलेसम्म ५–६ हजार स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। कतिपय डाक्टरले त आत्महत्या पनि गरेका छन्। उपचारको अग्रपंक्तिमा काम गर्दा यस्ता विषयले ठूलो अर्थ राख्छ। यी सबै घटनाले सिद्ध गरेको कुरा एउटै हो– अग्रपंक्तिमा खटिने चिकित्सक दबाबमा हुन्छन्। यो बेला मैले बुझेको अर्को कुरा पनि छ– अग्रपंक्तिमा उपचारमा खट्ने हामीले मन सधैँ दह्रो बनाउनुपर्छ।

अस्पताल जाँदा र फर्किंदा म बढी नै सावधान रहन्छु। कोरोना संक्रमण सुरु भएपछि यो सावधानी बढाइएको हो। बिरामी हेर्नु परे अहिले पीपीई, ग्लोभ सबै सुरक्षा साधन छन्। ती लगाएर मात्र उपचारमा जाने गर्छु। अस्पतालबाट निस्किने बेलाको अवस्थामा पनि सावधान रहन्छु। निस्किनुभन्दा पहिले बाहिरी सामग्री चस्मा, बेल्ट, परिचयपत्र, मोबाइल फोन ग्लिसिरिनले पुस्छु। ग्यारेज गएर लुगा फेर्छु। जुत्ता गाडीबाट बाहिरै निकाल्दिनँ, त्यहीँ छाड्छु। फर्किएपछि मात्रै लगाउँछु।

पहिला ३–४ जना बिरामी हेर्थें, अहिले १४–१५ जना हेर्नुपर्छ
कामबाट घर फर्किएपछि कहिले कहीँ बच्चाले सोध्छन्– तपाईंसँग कोरोना पो छ कि? उनीहरुलाई डर पैदा नहुने गरी सावधानी अपनाउन वास्तविकता बताइदिने गरेको छु। अस्पतालमा उपचारका क्रममा सधैँ उस्तै दिन हुँदैन। कहिलेकाहीँ अलि असाधारण पनि भइदिन्छ। त्यस्तो दिनमा घर फर्किएपछि बच्चासँग घुलमिल हुन्नँ। अलग्गै रहन्छु, नुहाएर मात्र आफ्नो कोठाभित्र जान्छु।

सुरुमा कोरोना संक्रमित बिरामी अस्पताल आउँदा दबाब महशुस हुन्थ्यो। मन ढक्क फुल्थ्यो। फेरि त्यतिबेला पीपीई गाउन, ग्लोभ अभाव थियो, अहिले त्यस्तो छैन। कोरोनाबारे धेरै कुरा थाहा भइसकेको छ। म सरुवा रोगीको उपचारमा खटिएको यो पहिलोपटक होइन। सुपरबग ब्याक्टेरिया, मेनेन्जाइटिसको उपचार पहिला पनि गरेकै हुँ। तर अहिले अवस्था फरक छ। अहिले थप ‘बर्डन’ भनेको बिरामीको चाप पनि हो।

एकैपटक धेरै संक्रमित अस्पताल आइदिँदा सबैलाई उस्तै उपचार पुर्‍याउन सकिन्छ कि सकिँदैन भन्ने हुन्छ। महामारीका कारण दबाब अझ बढेको छ। पहिला बढीमा दिनमा ३–४ जना हेर्दा हुन्थ्यो, अहिले १४–१५ जना पनि हुन्छन्। यसले चिकित्सकमाथि दबाब बढाएको छ।

डाक्टर कति प्रेसरमा छन् भन्ने कुरा उनीहरुको आत्महत्याले देखाउँछ। अर्को पाटो पनि छ। चिकित्सकको हौसला बढाउन, तनाव घटाई मनोबल बढाउन सहयोगी समूह काम गरिरहेछन्। परिवार र नातेदारले पनि चासो राखिरहनुभएको छ।

भेन्टिलेटरमा राखेका संक्रमितमध्ये ५०–५५ प्रतिशतको मृत्यु
अहिलेसम्मको अनुभवमा पीपीई राम्रोसँग लगाएर उपचारमा खटिँदा संक्रमण सर्न सक्दैन। कोभिड–१९ सरुवा रोग हो। त्यस्ता रोगीको नजिकै गए यो सर्छ। डायबिटिज, मुटुसम्बन्धी वा अरु कुनै रोग भएकालाई कोरोना सर्ने सम्भावना बढी हु्न्छ भन्ने कुरा गलत हो। त्यस्ता रोग भएकालाई संक्रमण भइहाले पछि कम्प्लिकेसन भने हुन सक्छ। डायबिटिज भएकालाई ७ प्रतिशत, मुटुरोगीमा १० प्रतिशत बढी ‘कम्प्लिकेसन’ हुने सम्भावना देखिएको छ। कोरोना धेरैलाई लागे पनि सबैलाई ‘कम्प्लिकेसन’ हुन्छ भन्ने होइन, कमैलाई मात्र हुन्छ। कतिपय सञ्चो हुन्छन्।

भेन्टिलेटरमा राखेर उपचार हुनेमध्ये सबै कोरोना संक्रमित सञ्चो हुन्छन् भन्ने होइन। न्युयोर्कको एउटा अस्पतालको अनुसन्धानले भेन्टिलेटरमा राखेर उपचार गराउने बिरामीमध्ये ५०–५५ प्रतिशत मृत्यु भएको भन्ने देखाएको छ। सघन कक्षमा बिरामी आइसकेपछि हामी पहिला अक्सिजन दिन्छौं। अक्सिजनको मात्रा बढाउँछौं। बढी प्रेसरमा २०–३० लिटर दिन सक्छौं। भेन्टिलटरमा पनि सबैको अवस्था उस्तै हुँदैन। कसैलाई घाँटीमा एउटा ‘क्याथेटर’ राखेर मुटु र फोक्सोको काम बाहिरबाटै गराउँछौं। मैले धेरैको उपचार गरेँ, परिणाम राम्रो देखिएको छ।

कर्मभूमि अमेरिका भए पनि मेरो जन्मभूमि नेपाल हो। एक समय नेपालकै राम्रो डाक्टर बन्छु भन्ने लागेको थियो। परिस्थितिले अमेरिका आउन प्रेरित भएँ। नेपालमा किन डाक्टर बनेको भनेर प्रश्न गर्दा एउटा रेडिमेड जवाफ दिने चलन छ– बिरामीको सेवा गर्न।

वास्तविक रुपमा भन्नुपर्दा हाम्रो नेपाली समाजमा डाक्टर बन्नेको कथा विद्यालय तहदेखि नै सुरु हुन्छ। अझ भनौं, बच्चादेखि नै सुरु भइसक्छ। विद्यालयमा राम्रो नम्बर आयो भने भनिन्छ– यो डाक्टर बन्छ। मेरो दाइ पनि डाक्टर नै हुनुहुन्छ। परिवार, सामाजिक परिवेश सबै कारणले म डाक्टर हुन पुगेँ।

मैले चिकित्सा पेशा सुरु गरेदेखि डाक्टरका लागि यति ठूलो जोखिम कहिलै देखेको थिइनँ। अस्पतालको क्षमताभन्दा बढी बिरामी हुनु सामान्य स्थिति होइन। हामी डाक्टर यस किसिमको त्रास पहिलोपटक अनुभव गर्दैछौं। कोरोना सबैका लागि जोखिम हो।

सुन्छु– नेपालमा कोरोना संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीलाई राम्रो व्यवहार गरिएको छैन। रोगीलाई पनि घरबाटै निकालिएको छ, हेला गरिएको छ भन्ने पनि सुनिन्छ। यो अवस्थामा सबैलाई मेरो अनुरोध छ– रोग नलुकाऊँ, कोरोना भएको मान्छेलाई माया गरौं। घृणा रोगलाई मात्र गरौँ। स्वास्थ्यकर्मीलाई सम्मान र हौसला दिऊँ।

(अमेरिकाको टेक्सस, टेनेसीस्थित अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिरहेका डा. रविन श्रेष्ठसँग नेपालखबरका लागि वासिंगटन डिसीबाट विजय थापाले गरेको कुराकानीमा आधारित।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad