जानु पर्ने चीनको शेन्याङ। अहिलेसम्म कहिल्यै देश छाडेर विदेश नगएको। समाचार लेखनका विषयसँग सम्बन्धित सेमिनार भएको कारण पनि यो आएको मौका गुमाउन मन थिएन। अहिलेको विश्वको दोस्रो शक्तिशाली देश जान पाउनु आफैँमा गौरवको कुरा थियो। यदि नेपालीले विकासको नयाँ मोडेल हेर्न जाने हो भने चीन जानु पर्छ भनेर धेरै सुनेको, किताबमा पढेको, त्यसमा पनि हामीलाई चीन जान पाउनु छिमेकी भएको नाताले खुसी नै लाग्छ।
चीनतर्फ उड्दै गर्दा केही अपेक्षा थिए। तर ती साधारण, सीमित र कक्षाकोठाभित्रै हुने आशा मात्र थिए। १४ दिनमा केके होलान्? पूरै समय कक्षा कोठामा बिताउनु पर्ला भन्ने थियो। हुन त विषय अलिक फराकिलो नै थियो। पछि जब फर्किएँ, अनि मात्रै थाहा भयो, यो यात्रा केबल सेमिनार थिएन। जीवनको गहिरो अनुभव, प्रकृतिको आत्मा, संस्कृतिको स्पर्श र अन्तर्राष्ट्रिय मित्रताको अविस्मरणीय अध्याय बन्यो।
२०२५ अक्टोबर १४ देखि २७ सम्म शेन्याङ नर्मल विश्वविद्यालयमा बेल्ट एन्ड रोड राष्ट्रहरूका लागि जैविक विविधता संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार आयोजना भएको थियो। त्यस कार्यक्रममा सहभागी हुनको लागि १३ तारिख नै हामी त्यहाँ पुग्नु पर्ने तालिका थियो। सुरुमा ५ जना मात्रै नेपाली जाने भन्ने चर्चा थियो। तर, भिसा लागेर चीनतर्फ प्रस्थान गर्ने क्रममा १७ जना नेपालीहरू भेला हुँदा छुट्टै आनन्दको अनुभूति भएको थियो। एक जनाबाहेक सबै साथीहरूको पहिलो चीन यात्रा थियो यो।
काठमाडौँबाट ४ घण्टाको उडानपछि ग्वान्जाओमा अवतरण गरेका हामीलाई जानु पर्ने अर्कै प्रान्त थियो। साढे ७ घण्टाको ट्रान्जिटपछि मात्रै थप ४ घण्टा बढीको उडानमा शेन्याङ पुगियो। त्यहाँ पुग्दा झण्डै ५ बजिसकेको थियो। लिनको लागि विद्यार्थी भाइबहिनीहरू हातमा प्ले कार्ड सहित नेपाललाई स्वागत भन्दै बसेका थिए। ढाका टोपी लगाएर पुगेका हामीलाई उनीहरूलाई बाहिरबाटै हात हल्लाउँदै स्वागत गर्दै थिए। बस चढेपछि हामीलाई झण्डै ४५ मिनेटमा हामी बस्ने नोभ्लिन होटल पुग्ने भनिए पनि ट्राफिक जामका कारण एक झण्डै डेढ घण्टा नै लाग्यो। होटलमा पासपोर्ट बुझाएपछि सबै नेपालीहरूलाई खानाको लागि रेस्टुुरेन्टमा लगिन्छ।
सबै नेपाली रेस्टुरेन्ट पस्छन्। अघिल्लो दिन साँझ खाना खाएर प्लेनमा चढेका साथीहरू कतिपयलाई प्लेनमा दिएको खानाले धित मरेको थिएन। त्यही भएर पनि केही खान पाए हुन्थ्यो भन्नेमा थिए। तर त्यहाँ मासु बाहेकका केही पनि खाने कुरा थिएन। त्यसमा अण्डादेखि बिफसम्म एकै ठाउँमा भएपछि धेरै साथीहरूले अण्डा र भात मात्रै खाए। मासु सुन्नै नचाहनेहरू पनि यो यात्रामा थिए। त्यसमा ४ जना शाकाहारी भोजन गर्नेहरू अलमलिए। फ्रेन्च फ्राइ लिएर बसे। तर विश्वविद्यालयका लेक्चरर, प्रोफेसरहरू, स्वयमसेवी विद्यार्थीहरूको उपस्थिति त्यहाँ थियो। उनीहरू कसो गर्ने होला भनेर अलमलिए। लगत्तै फलफूल मगाए। तर, ल्याइएको फलफूल पनि नेपाली पाराको नभएपछि त्यहाँ पनि केही अलमल भयो। हेर्दा काँचो फर्सी जस्तो लाग्ने फलफूलको स्वादसँगै रात्रीकालीन भोजन सम्पन्न भयो। त्यसमा केही रोशनजीले बोकेर ल्याएको ठेकुवाको स्वादमा रमाउँछन्।
अर्को दिन बिहान ८ बजेर ३० मिनेटमा होटल छाडिसक्नु पर्ने म्यासेज आउँछ। सहभागीहरूको लागि ८ बजेसम्म खाजा खाएर सबै देशका सहभागीहरूलाई आफ्नै मौलिक पहिरनमा सहभागी हुन भनिएको थियो। कोही ढाकाटोपी र कोट प्यान्टमा, कोही दौरा सुरुवाल, ढाकाटोपी र कोटमा सजिए। अनि महिलाहरू गुन्युचोलीमा सजिएर निस्किए। हामीलाई लिन पर्खिएर बसेका स्वयंसेवक विद्यार्थीहरू अघिअघि, हामी पछि लागेर झण्डै १० मिनेट हिँडेपछि शेन्याङ नर्मल युनिभर्सिटीको सेमिनार हलमा पुग्यौँ। त्यहाँ विश्वविद्यालयका डिन, प्रोफेसर, पार्टी सेक्रेटरीहरू लाइन लागेर नेहाउ गर्दै स्वागतमा बसेका थिए।
सात देशका ३५ सहभागीमध्ये १७ नेपाली प्रतिनिधिहरू एकै समूहमा उपस्थित हुँदा कार्यक्रम नै नेपालमा भएको अनुभूति हुन्थ्यो।
विश्वविद्यालयको न्यानोपन
विश्वविद्यालय प्रवेश गरेपछि सबैभन्दा पहिलो अनुभूति भनेकै न्यानोपन थियो। शेन्याङ नर्मल विश्वविद्यालयका चिनियाँ कर्मचारी, प्राध्यापक, स्वयंसेवक विद्यार्थी सबैको अनुहारमा झल्किने स्वागत। बिहानदेखि साँझसम्म सधैँ कसै न कसैले साथ दिने, सहयोग गर्ने र हरेक सहभागीलाई परिवारको सदस्य जस्तै गरेको व्यवहार बिर्सनै नसकिने खालको छ। हरेक दिन ६–७ जना स्वयंसेवी विद्यार्थी हाम्रै वरिपरि भेटिन्थे। उनीहरू पनि केही कुरा गरौँ भन्ने चाहन्थे, हामी पनि उनीहरूको अनुभव सुन्न र बुझ्न चाहन्थ्यौँ तर समस्या भाषाको थियो। कहिले त हातको इसाराले बोल्नु पर्दा नमज्जा पनि लाग्थ्यो। हुन पनि सबैको लागि भाषा मुख्य कुरा थिएन। नबुझेको, नजानेको बेलामा गुगल ट्रान्सलेट गर्दा बेलाबेला धोका नै हुने। एक दिन फलफूलमा राखेर खानको लागि नुन मगाएको, होटलकी बैनीले चिनी ल्याएर हालिदिएपछि निकै हँस्यौली भएको थियो।
विदेशमा खानाको चुनौती सामान्य कुरा हो। तर सहभागीहरू धेरैको रोजाइमा चाइनिज खाना नै थियो। सुरुका दिनमा केही अप्ठेराहरू भए पनि हरेक दिन सहज हुँदै गए।
चिनियाँ भोजन संस्कृतिले समृद्धि र सामूहिक भावना झल्काउँछ। चीनमा खाना केवल पेट भर्नका लागि होइन, सामूहिकता, सम्बन्ध र आत्मीयता बाँड्ने माध्यम पनि हो। ठूलो गोलो टेबुल, बीचमा घुम्ने सिसाको टेबुल। यस्तो गोलो टेबुल समानता र एकताको प्रतीक हो, जहाँ सबैले एकै खालका धेरै परिकारहरू एकै ठाउँबाट निकाल्छन् र बाँडेर खान्छन्। यसलाई उनीहरू एकता र सौहार्द्रताको रूपमा लिन्छन्। त्यही भएर पनि विश्वविद्यालयले दिने हरेक खानपानका कार्यक्रमहरूमा पदाधिकारीहरू सबै टेबुलमा छरिएर बसेका हुन्छन्। कार्यक्रममा सहभागीहरूको लागि दिइएको रात्री भोजमा पनि शेन्याङ नर्मल विश्वविद्यालयका कलेज अफ लाइफ साइन्सका डिन झाङ याङ, इन्टरनेसनल एक्सचेन्ज एन्ड कोअपरेसन डिपार्टमेन्टका स्पेसलिस्ट ली छियओई (जस्मिन), डिपुटी डिरेक्टर हु बो, सहायक डिनहरू याओ झियुन, फु वेइ, तथा प्रोफेसरहरू हरेक टेबुलमा बाँडिएर बसेका थिए।
एउटै घुम्ने टेबुलमा माछा, तरकारी, भात, फ्राइ चिकेन, डम्प्लिङ, स्प्रिङ रोल, फलफूलहरूले सजिसजाउ हुन्छ। चिनियाँ खानामा रङ, स्वाद, बनावट र पोषणको सन्तुलन अत्यन्त महत्वपूर्ण मानिन्छ। त्यसैले एकै टेबुलमा गुलियो, पिरो, नुनिलो, अमिलो सबै स्वाद भेटिन्छ। उदाहरणको रूपमा पाकेको केराको पकौडालाई लिन सकिन्छ। अधिकांश खानाका परिकारहरू माछा, मासु, अण्डाका परिकार मात्रै हुन्छन्। भेज भनेर माग्दा अण्डा तथा चिकेन मिसाइएको नुडल्स ल्याएर दिइन्छ।
संरक्षणको वास्तविकता
शेन्याङ नर्मल विश्वविद्यालय कक्षाभन्दा बढी एउटा अन्तर्राष्ट्रिय परिवारको घरझैँ बन्यो। ज्ञानको प्रयोगशालाबाट जंगलसम्म फैलिएको शिक्षाको संसार निक्कै नै महत्वपूर्ण थियो। ११ प्राविधिक तथा लेक्चर सत्रहरूले विषयको ज्ञान मात्रै दिलाएन, चीन सरकारले गरेको लगानी, तथ्य, नवीन अनुसन्धान, व्यावहारिक उदाहरण र चीनको संरक्षण यात्राको वास्तविक चित्रण विज्ञहरूले प्रस्तुत गरेका थिए।
माटोका आक्रमणकारी प्रजाति नियन्त्रण, सिमसार क्षेत्रको संरक्षण, दिगो पर्यटन, स्थानीय समुदायको सहभागिता, गरिबी निवारण र जैविक विविधताको दीर्घकालीन संरचनालगायतका सबै विषय यथार्थ उदाहरणका साथ प्रस्तुत भएका थिए।
चीनले राष्ट्रिय वनस्पति उद्यान र संरक्षित क्षेत्र सञ्चालनमा देखाएको प्राविधिक क्षमता नेपालको लागि प्रेरणादायी थिए। चीन विज्ञान प्रतिष्ठान अन्तर्गत युनान प्रान्तको छिशुङ्वान्ना ट्रोपिकल बोटानिकल गार्डेनमा रहेका विशाल जलकुम्भी निक्कै आकर्षक थिए।
करिब २ मिटरभन्दा बढी क्षेत्र भएका यी जलकुम्भीका पातहरूले ६० देखि ७० किलोग्रामसम्मको भार सजिलै वहन गर्न सक्ने विज्ञहरूले बताए। विशाल जलकुम्भी मूलतः दक्षिण अमेरिकाका उष्णकटिबन्धीय क्षेत्रका बोट हुन् र सन् १९६३ मा यी बिरुवाहरू पहिलो पटक यस उद्यानमा ल्याइएका थिए। यी जलकुम्भी छाता नाङ्लोको आकारमा पानीमाथि तैरिएका थिए। मजबुत शिराका कारण बच्चा मात्र होइन, वयस्क व्यक्तिसमेत पातको सतहमा उभिन वा बस्न सक्छन्।
विशाल जलकुम्भी हेर्नका लागि जुनदेखि अक्टोबरको उत्तम समय मानिन्छ। यी जलकुम्भीका दुई विशेषता अझ रोचक छन्। पहिलो, तिनीहरूको फूलको रङ समय–अनुसार सेतोबाट गुलाबी वा बैजनीमा परिवर्तन हुन सक्छ। दोस्रो, तिनीहरूले अत्यन्तै धेरै बीउ फलाउँछन्।
साँझ पर्दै गर्दा सुनौलो–रातो–बैजनी रंगमा ढल्किँदै जाने सूर्यास्त। ढोलको तालमा दाई समुदायका युवाहरूको नृत्य यहाँका मौलिकता हुन्। स्थानीय गाइडले बताए अनुसार, रात पर्दा—माछा सेकुवा, बाँसमा पकाइने चामल, चिया–पातको सुप यहाँका मौलिक पहिचान खाना हुन्।
दाई समुदायको बस्तीमा यहाँको मौलिकता पानीसँग जोडिएको छ। उनीहरू नदीलाई पानी मात्रै मान्दैनन्, देवताको रूपमा चित्रण गर्छन्। नयाँ वर्षमा विशेषगरी पानी छ्यापाछ्याप गर्ने यो समुदायले पानीलाई पर्यटनसँग जोडेका छन्। जो कोही भिज्दै रमाउँदै दाई समुदायको यो संस्कृतिसँग रमाउँदै थिए। त्यो अवसर हाम्रा लागि निक्कै महत्वको थियो। यहाँ नयाँ वर्षमा पानी छर्कने र शुभकामना दिने प्रथा छ, जुन शुद्धता, भाइचारा र सुरुवातको प्रतीकको रूपमा लिइन्छ। रमाएर निथ्रुक्क भिजेका साथीहरू कपडा खोज्न निस्कँदा हराएपछि निक्कै बेर खोज्नु परेको थियो।
म्यानमारसँग जोडिएको मेकङ नदी सबै हिसाबबाट यहाँको आदिवासी समुदायको आड हो। उनीहरूको जीविको पार्जन र संरक्षणको लागि सरकारले यहाँको प्रचार र विकास चीन सरकारले गरेको देखिन्छ। क्रुजको जीवन शैली, सुनौलो नदी वारपार गर्दै गरेका, बाँसका डुंगा, बौद्ध मन्दिरका चम्किला गजुरहरू, मयुरका जोडीहरू, कसैकालागि यो कविता जस्तै लाग्न पनि सक्छ। मेङक नदीमा सबैसबै यस्तै छ। नयाँ पर्यटकहरूले पुग्नेबित्तिकै यो ठाउँलाई आफ्नो ठान्न थालिहाल्छन्।
Shares

प्रतिक्रिया