शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै (२०८२) मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार बर्दिवासको जनता मावि गौरीडाँडा, महोत्तरी देशैभरिबाट उत्कृष्ट असल अभ्यास गर्ने सामुदायिक विद्यालयहरूको सूचीमा आफ्नो नाम दर्ज गराउन सफल भएको छ।
सो सूचीमा नेपालभरिका जम्मा एक्काइस विद्यालय रहेकोमा कालिका मानव ज्ञान मावि बुटवल सर्वाधिक ९३.५ अङ्कसहित प्रथम स्थानमा छ भने जनता मावि गौरीडाँडा, धम्बोजी मावि नेपालगन्ज र शीतलादेवी मावि पोखरा समान अङ्क ८६.२ सहित नवौँ स्थानमा पर्न सफल भएका छन्।
क्रमाङ्क एघारमा जनता मावि गौरीडाँडाको नामोल्लेखित भए तापनि नेपालगन्जको धम्बोजी मावि र पोखरास्थित शीतलादेवी माविकै सरह समान अङ्क ल्याएर हाम्रो विद्यालयले नवौँ स्थान हासिल गरेको देखिन्छ।

२०८२ मा यस प्रकारको नतिजा प्राप्त भए पनि यसको पृष्ठभूमि विगत पाँच सात वर्ष यतादेखि गरिँदै आएको असल अभ्यासहरूको समष्टिगत स्वरूप हो।
पहिलो पटक २०६८ मा प्रथम ब्याच एसएलसीमै जिल्लामै धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल भई कीर्तिमान कायम गर्दै पुरस्कृत भएको यस विद्यालयले कुशल व्यवस्थापन र शिक्षकहरूको सामूहिक प्रयत्नबाट सफलता हासिल गर्न सकिने रहेछ भन्ने प्रमाणित गर्दै आएको छ। कक्षा दसको अन्तमा लिइने एसएलसी (हाल एसईई) होस् वा कक्षा १२ को अन्तिम बोर्ड परीक्षा, सबैमा जिल्ला हुँदै प्रदेशमै उत्कृष्ट नतिजा दिने सामुदायिक विद्यालयमा गणना हुँदै आएको पाइन्छ।
यद्यपि यस पटक शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रकाशन गरेको रिपोर्टको नतिजा असल अभ्यासको प्रयोगको परिणाम हो। असल अभ्यासले विद्यार्थीको समग्र सिकाइ र उत्कृष्ट नतिजामा गहिरो प्रभाव पार्ने कुरालाई फेरि नकार्न भने सकिन्न।
आफ्ना सन्तान आफ्नै स्कुलमा
`आफैँले पकाएको खाना खान नचाहने भान्से र आफ्नै स्कुलमा बच्चा नपढाउने शिक्षक एकै हुन्,´ हाम्रो पहिलो बुझाइ यही हो। सामुदायिक विद्यालयको गुमेको साखलाई फर्काउन र अभिभावक अनि सिङ्गो समुदायको विश्वास जित्ने कडीको रूपमा हामीले यसलाई प्रयोगमा ल्यायौँ।
घरपरिवार अन्यत्र अर्थात् बाहिर भएका शिक्षक, अविवाहित शिक्षक, विद्यालय उमेर समूहका सन्तान नभएका शिक्षक बाहेक लगभग सबै शिक्षक, विद्यालय कर्मचारी, विव्यस पदाधिकारी, शिअस पदाधिकारीले यस अभियानमा साथ दिनुभयो। लगभग हामी सबैजसो शिक्षक, विद्यालय कर्मचारी र विद्यालयका पदाधिकारीहरूका सन्तान यहीँ पढ्दै आएका छन्।
यो हाम्रो दशकौँदेखिको निरन्तर अभ्यास हो। यस कार्यबाट एकातिर हामीले समुदायको विश्वास जित्न सकेका छौँ भने अर्कातिर ती विद्यार्थीहरूले उत्कृष्ट नतिजा पनि दिइरहेका छन्।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन
हुन त मातृभाषामा शिक्षाको आवाज उठिरहेको परिवेश, सम्पर्कको भाषाको सन्दर्भ चलेको अवस्थामा आफ्नो बोलचालीको भाषा, राष्ट्रभाषाको सट्टामा पढाइलेखाइको भाषा अङ्ग्रेजी माध्यम बनाइनु कति वा कति नराम्रो, त्यो कुरा भोलिका समय र परिस्थितिले मूल्याङ्कन गर्लान्! विसं २०६८ मा हामीले यस्तो परिस्थितिको सामना गर्नुपर्यो कि विद्यालयले अङ्ग्रेजी माध्यम नचलाए भैरहेका २३६ जना विद्यार्थी टिकाइ राख्न पनि गाह्रो र थप नयाँ विद्यार्थी आकर्षित गर्न नसकिने अवस्था आइपर्यो।
त्यसबेला अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने निजी विद्यालयहरूको दबदबा पनि उस्तै थियो। गाउँका चरम गरिबीमा बाँचिरहेका अभिभावकहरू पनि अङ्ग्रेजीको मोहले आफ्ना बालबालिकालाई महँगो शुल्क तिरेर निजी विद्यालयमै लैजान तत्पर हुन्थे। यस्तो परिस्थितिमा समुदायको चाहनाबमोजिम अङ्ग्रेजी माध्यममा स्कुल चलाउनै पर्ने बाध्यता हाम्रो सामु आइलाग्यो।
अभिभावकहरूको राय, व्यवस्थापन समितिको निर्णय र शिक्षकहरूको सामूहिक प्रतिबद्धतापछि २०६८ सालको नयाँ शैक्षिक सत्रको सुरुवातबाटै यस विद्यालयले एकै पटक कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्यो। क्रमशः हरेक वर्ष अङ्ग्रेजी माध्यमको कक्षा थपिएर ६, ७ हुँदै अन्ततः २०७३ मा आइपुग्दा स्कुल पूरै अङ्ग्रेजी माध्यमको हुन पुग्यो। यतिबेला त बालकक्षादेखि कक्षा १२ सम्म पूर्णतया अङ्ग्रेजी माध्यम मात्र एकछत्र हुन पुगेको छ।

अङ्ग्रेजी माध्यम आफैँमा विद्यालय रूपान्तरणका लागि जादुको छडी त होइन, तर पनि यसको प्रयोगले धेरै विद्यार्थी र अभिभावकहरू यस विद्यालयसँग आकर्षित भए र विद्यार्थीको तीव्र चाप बढ्दै हाल यो २३५० जना कुल विद्यार्थीको साझा स्कुल बन्न पुगेको देखिन्छ।
आमा समूह: विद्यालयको सञ्जीवनी बुटी
विद्यालयको तरक्कीमा धेरै पक्षहरूले भूमिका खेलेका हुन्छन्। जनता मावि गौरीडाँडाको यो उडानको महत्त्वपूर्ण पखेटा भनेको विद्यालयमा रहेको आमा समूह नै हो। यस विद्यालयका पूर्वप्रअ नेत्रबहादुर रम्तेलले ल्याउनु भएको एक महत्त्वपूर्ण अवधारणा `आमा समूह´ को परिचालनले यस विद्यालयलाई रोगाउन नै नदिने सञ्जीवनी बुटीको रूपमा काम गरेको छ।
हाल यस स्कुलका पखेटाका रूपमा मौजुदा अठार ओटा आमा समूहहरू गौरीडाँडाका अठार ओटा टोलमा तैनाथ छन्। बिनाबर्दीको सिपाही भनेझैँ ती आमा समूहहरू आआफ्नो टोलको विद्यार्थीको पढाइलेखाइ, रहनसहन र उनीहरूलाई दिइनु पर्ने संस्कार र उचित वातावरण निर्माणमा अवैतानिक शिक्षक झैँ भएर तैनाथ छन्। आमा समूह र स्कुलको बीचमा पुलको रूपमा काम गर्न समन्वय शिक्षकका रूपमा विद्यालयकै महिला शिक्षकहरूले भूमिका खेल्ने गरेका छन्।

बेलाबेलामा आमा समूहको पदाधिकारीहरूको बैठक समन्वय शिक्षकको रोहबरमा बस्ने गर्दछ। टोलका बच्चाहरूको सिकाइ सम्बन्धी समस्या, उनीहरूले पाइरहेको वातावरण र सम्भावित लागू पदार्थ दुर्व्यसनबाट उनीहरूलाई के कसरी जोगाउन सकिएला जस्ता विषयमा त्यहाँ गम्भीर छलफल र विचारहरूको मन्थन हुन्छ। त्यस्ता छलफलमा उठेका विषयलाई सम्बन्धित आमा समूहका शिक्षकहरूले विद्यालय प्रशासन र व्यवस्थापन समितिसम्म ल्याइ पुर्याएर समाधानका उपायहरू अवलम्बन गरिन्छ।
विद्यालयको महत्त्वपूर्ण निर्णय प्रक्रिया, आगामी योजना र रणनीति निर्माणमा आमा समूहले विशेष भूमिका निर्वाह गर्दै आएको छ। समग्र आमा समूहसँग समन्वय गर्दै उहाँहरूको विचारलाई संश्लेषण गर्ने र विद्यालयको योजनामा समाहित गराउने कार्यमा पूर्वप्रअ तथा आमा समूहका परिकल्पनाकार नेत्रबहादुर रम्तेल सर अहोरात्र खटिरहनु भएको छ।
आमाहरू नै पकाउँछन् स्कुलको दिवाखाजा
यस विद्यालयको अर्को राम्रो पक्ष भनेको कक्षा ५ सम्मका विद्यार्थीहरूले खाने दिवा खाजा आमाहरूले नै पकाएर खुवाउने प्रचलन हो। अठार ओटा आमा समूहहरूलाई फलानो दिन वा बारमा फलानो आमा समूहको खाजा पकाउने पालो भनेर कार्य विभाजन गरिएको हुन्छ। त्यसरी पालो तोकिएका आमा समूहका सदस्यहरू पाँचसात जनाको सङ्ख्यामा आएर टिफिनअघि नै खाजा पकाउने, तुल्याउने काममा लाग्छन्। विद्यालयका सहयोगी कर्मचारीहरू पनि आमाहरूको काममा सहयोगीका रूपमा खटिन्छन्।
यस प्रकार सफा, ताजा र गुणस्तरीय खाजा बच्चाको पेटसम्म पुग्न पाउँछ। दिवा खाजा कार्यक्रममा अपनाइएको यो तालमेलले आमा समूह, स्कुल , विद्यार्थी र सम्पूर्ण अभिभावकबीच झन् सुमधुरता बढाएको छ।
पाइन लगाइएका शिक्षक
आरनमा तयार पारिएको हतियारलाई धारिलो पारेर पाइन लगाएपछि त्यसको मजबुती र मार क्षमतामा वृद्धि भएजस्तै विद्यालयमा कार्यरत शिक्षकहरूको शिक्षण कलामा बढोत्तरी ल्याउन स्कुल स्वयंले शिक्षकका लागि सक्षमता वृद्धिका कार्यक्रमहरू आयोजना गरिरहनु पर्ने हुन्छ। यस सवालमा जनता मावि गौरीडाँडा एक कदम अगाडि छ। हरेक वर्ष कम्तीमा एक पटक विविध आयाम र विविध शीर्षकका शिक्षक सक्षमता बढोत्तरी गर्ने तालिम, गोष्ठी र सेमिनारहरू भइरहन्छन्।
विशुद्ध रूपमा कक्षा कोठासम्म गुणस्तरीय शिक्षा कसरी पुर्याउने, विद्यार्थीलाई आलोचनात्मक चेतसहितको सिर्जनात्मक शिक्षा कुन तवरले दिने, मनोपरामर्श कसरी दिन सकिन्छजस्ता विषयमा विज्ञ प्रशिक्षकहरूबाट प्रशिक्षण पाएर यहाँ प्रायः शिक्षकहरू तिखारिएका छन्।
शिक्षाविद् विद्यानाथ कोइराला, नन्द थापा, नारायणी माविका पूर्वप्रअ पूर्णप्रसाद दवाडी, सामाजिक अध्येता बिमलकुमार फुयाल, प्रशिक्षक पुनम कुँइकेल, मनोपरामर्शविद् गणेश आम्गाईं, शिक्षा प्रशासक तथा स्टिम शिक्षाका विज्ञ उपसचिव निर्मल घिमिरे, शिक्षा तालिम केन्द्र जनकपुरका तत्कालीन प्रमुख तथा शिक्षा प्रशासक चन्द्रप्रसाद लुइँटेल, पूर्वस्रोतव्यक्ति दीपकराज बराल जस्ता कहलिएका विद्वान प्रशिक्षकहरूबाट पटकपटक यस विद्यालयका शिक्षकहरू प्रशिक्षित हुन पुगेका छन्।
यस प्रकार शिक्षण कौशलमा खिया पर्न नदिने, बरु झनझन् कौशल वृद्धि गर्दै शिक्षकलाई अद्यावधिक राख्नसक्नु यस स्कुलले गरिरहेको असल अभ्यासको एक महत्त्वपूर्ण पाटो हो भन्न सकिन्छ।
फोन इन कार्यक्रम: कक्षा शिक्षक र अभिभावकलाई झक्झक्याउने कडी
कुनै विद्यार्थी बिना जानकारी विद्यालयमा अनुपस्थित भएमा यस विद्यालयका क्लास टिचरहरूको फोन अभिभावकलाई पुग्छ। अनुपस्थित हुनुको कारण सोधिन्छ। नियमित स्कुल पठाउन सुझाइन्छ। विद्यार्थीको पढाइलेखाइ र उनीहरूको सिकाइको अवस्थाबारे क्लास टिचर र अभिभावकबीच कुरा भइरहन्छ।
`विद्यालय मेरो बच्चाको सिकाइमा जिम्मेवार छ। मैले ध्यान दिन नसकेको कुरामा पनि विद्यालयले ध्यान दिइरहेको छ´ भनेर अभिभावकहरूले यस प्रकारको फोन इन कार्यक्रमलाई औधी रुचाएका छन् र स्कुललाई अझ पत्याएका छन्।
शिक्षक तथा कर्मचारी प्रोत्साहन कार्यक्रम
तन, मन र ध्यानले खटिरहेका यहाँका मेहनती शिक्षकहरूलाई थप प्रोत्साहित गर्न विव्यसले बेलाबेलामा प्रोत्साहन कार्यक्रम गरिरहेको देखिन्छ।
विद्यालयका सम्पूर्ण शिक्षकसम्म त्यस्ता कार्यक्रम पुग्न नसके पनि लामो समयदेखि यसै विद्यालयमा कार्यरत रहेका विद्यालयकै स्रोतबाट तलब बुझ्ने शिक्षकहरूलाई विद्यालयले नै स्थायी गरेको छ। त्यस्ता शिक्षकहरूको सञ्चय कोष कट्टी गरी कोषमा जाने दस प्रतिशत रकम विद्यालय स्वयंले बेहोर्दै आएको छ। पेसागत स्थायित्व खोजिरहेका र चालीस वर्ष उमेर नाघेका शिक्षक तथा विद्यालय कर्मचारीहरू यस कार्यक्रमबाट लाभान्वित भएको देखिन्छ।
प्रविधिमैत्री कक्षाकोठा र जानिफकार शिक्षक
विद्यालयका लगभग दुईतिहाइ कक्षाकोठा स्मार्ट बोर्डले सुसज्जित छन्। विद्यालयले शिक्षकहरूलाई स्मार्ट बोर्ड सञ्चालन गर्न सिकाएर स्मार्ट बनाएकै छ। शिक्षकहरूलाई कम्प्युटर प्रयोग गर्न प्रोत्साहित गरेर बेलाबेलामा त्यससम्बन्धी थप नयाँ जानकारीले अद्यावधिक गर्ने कार्य हुँदै आएको छ।
विद्यालयको आफ्नै एपमा विद्यार्थीले प्राप्त गरेको नतिजा शिक्षक स्वयमले कम्प्युटर वा मोबाइलबाट प्रविष्टी गर्ने, विद्यार्थीको ईहाजिरी गरिने र सो एप्लिकेसनको पहुँच अभिभावकसम्म पुर्याउने काम भएको छ। हरेक परीक्षाको नतिजा विद्यार्थीको लाब्धाङ्क पत्र र उत्तर पुस्तिकासहित अभिभावकलाई प्रदान गरिँदै आएको छ।
विद्यार्थीको नतिजा विश्लेषण र कार्य योजना
हरेक त्रैमासिक परीक्षाको नतिजा पश्चात् विषयगत विभागको `नतिजा समीक्षा´ बैठक आयोजना गरिन्छ। यस विद्यालयमा मुख्य तथा अनिवार्य विषयहरू नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र कम्प्युटरका विषय विभागहरू कार्यान्वयनमा छन्। सम्बन्धित विषयको वरिष्ठ शिक्षकको संयोजकत्वमा बन्ने यस प्रकारको विषयगत विभागमा शिक्षकहरू आफ्नो विषय शिक्षणमा आइपरेका समस्यामाथि छलफल गर्दै निष्कर्षमा पुग्छन्। अनुभव आदानप्रदान गर्दछन्।
त्रैमासिक परीक्षाको नतिजापश्चात त्यस बैठकमा विद्यार्थीले प्राप्त गरेको औसत अङ्क (सम्बन्धित विषयको सिकाइ उपलब्धी) वृद्धि हुन सके नसकेको मिहिन विश्लेषण हुन्छ र थप नतिजा बढोत्तरीका लागि कार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याइन्छ। सिकाइ कमजोर भएकालाई अतिरिक्त कक्षाको व्यवस्थालगायत आवश्यक कदमहरू चालिन्छ।
रहरलाग्दो बालकक्षा
मन्टेश्वरी तालिमप्राप्त अनुभवी महिला शिक्षकहरूको मायालु वातावरणमा यस विद्यालयमा चार ओटा कक्षा एकपूर्वका बालकक्षाहरू सञ्चालनमा छन्। प्ले ग्रूप, नर्सरी, एलकेजी र यूकेजी भनिने ती कक्षाहरूमा बच्चालाई सुरक्षा, सरसफाइ, बालगीत र कक्षा एक उक्लिनु पूर्वको आवश्यक लेखन-पठन सीप पनि सिकाइन्छ।
बालमैत्री वातावरण र छुट्टै ब्लकमा, बाल उद्यान सहित सञ्चालन गरिएका बालकक्षाहरूमा साना बालबालिकाहरू हाँस्दै, नाच्दै रमाइरहेका र आधारभूत ज्ञान लिँदै गरेका हुन्छन्।
विविध अभ्यासहरू
व्यवस्थित एसेम्ब्ली, असाध्यै कम बिदाको उपयोग, शुक्रबार पनि अन्य बारझैँ पूरै समयको स्कुल, हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप, मार्सल आर्ट्स अन्तर्गत तेक्वान्दो र कराते खेलको व्यवस्थापन, हरेक वर्ष नेपाली सेनासँगको सहकार्यमा सञ्चालित राष्ट्रिय सेवा दलको कार्यक्रमको निरन्तरता, चुस्त व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ, छात्रा क्लब, बाल क्लबको सक्रियता पनि यो स्कुलमा देख्न पाइन्छ।
त्यस्तै, भित्ते पत्रिकाको व्यवस्था, हरेक ६ महिनामा विद्यालयको गतिविधि समेटिएको `सिकाइ संवाद´ नामक बुलेटिनको प्रकाशन, साहित्यिक गतिविधिमा बढवा दिन तल्लो सदन र माथिल्लो सदन नामक दुई साहित्यिक क्लबको व्यवस्था गरी हरेक हप्ता जस्तो स्थानीय पत्रिकामा यस विद्यालयका विद्यार्थीहरूको सिर्जनाको प्रकाशन आदि पनि यस विद्यालयले गरिरहेका असल अभ्यास हुन्।
जुझारु व्यवस्थापन समिति
हुन त विद्यालय व्यवस्थापन समितिको आफ्नै निश्चित जिम्मेवारी र कार्यभारहरू रहेका हुन्छन्। शिक्षा ऐन, नियमावली प्रदत्त अधिकारहरूको समुचित प्रयोग गर्दै यस विद्यालयको व्यवस्थापन समितिले उत्कृष्ट ढङ्गले आफ्नो कार्य गर्दै आएको छ। २०३१ सालमा स्थापित भई २०६३ सालसम्म प्राथमिक तहसम्म मात्र सीमित रहेको यस शैक्षिक संस्थाले २०६४ देखि निमावि तहको कक्षा ६ सञ्चालन गर्न सक्षम भएको थियो। त्यसपछि क्रमशः कक्षा थप्दै २०६८ सालमा कक्षा दससम्मको पढाइ हुन सकेको थियो।
विशेष गरी २०६८ सालको मङ्सिर ९ गते जुझारु व्यक्तित्व राजनप्रसाद ढुङ्गानाको अध्यक्षतामा विव्यस गठन भएपछि रूपान्तरणको यात्रामा यो स्कुल अघि बढ्न सकेको हो। २०६८ यता एक कार्यकाल मात्र (वडा अध्यक्ष भएकाले) नरबहादुर खनाल विव्यस अध्यक्ष भई ढुङ्गानालाई पालो दिनु भए बाहेक उहाँ नै अभिभावकको चाहना र सहमतिले अध्यक्षमा चयन हुँदै आउनु भएको छ।

विद्यालयको समग्र उन्नयनमा रातदिन खट्न सक्नु र पहाडजस्ता चुनौतीलाई फाँड्दै दुरदृष्टि दिन सक्नु उहाँको मौलिक खुबी हो। हाल उहाँ आफू अध्यक्ष भएको स्कुल मात्र होइन, देशभरिका सामुदायिक स्कुल सुध्रिनु पर्छ, रूपान्तरण हुनै पर्छ भन्ने अभियानमा लागिरहनु भएको छ। उत्कृष्ट व्यवस्थापन समितिको अध्यक्षको उपाधिले दुईदुई पटक राज्यद्वारा सम्मानित भइसक्नु भएका राजनप्रसाद ढुङ्गाना अन्य प्रदेश र जिल्लाका सामुदायिक विद्यालय र शिक्षामा सरोकार राख्नेहरूले आयोजना गर्ने कार्यक्रममा सरिक भई आफ्ना व्यावहारिक अनुभवहरू बाँड्नमा पनि पछि पर्नु भएको छैन।
उहाँ नेतृत्वकै व्यवस्थापकीय टिमले २०८० मा नेपालको शैक्षिक इतिहासमा नौलो प्रयोगका रूपमा विद्यालयको आयोजनामा देशको तत्कालीन उपप्रधानमन्त्री नारायण कजी श्रेष्ठलाई साक्षी राखेर ऐतिहासिक शिक्षा सम्मेलन गरी विद्यालयको आगामी दस वर्षे रणनीति र गुरुयोजना तयार गर्न सकेको थियो। त्यस्तै २०८० मै विद्यालय औपचारिक रूपमा स्थापना भएको ५० औँ वर्ष प्रवेशको अवसरमा देशको सरकार प्रमुख सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल `प्रचण्ड´को प्रमुख आतिथ्यमा भव्य स्वर्ण महोत्सव आयोजना हुन सकेको थियो।
कतिपय मानिसहरूले जनता माविलाई `मन्त्रीको स्कुल´ भनेर ट्याग लगाउने गर्दछन्। यसको वास्तविकता चाहिँ के हो भने यो स्कुल पूर्वमन्त्री गिरिराजमणि पोखरेलले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको क्षेत्र महोत्तरीको क्षेत्र नम्बर १ मा पर्दछ। अझ रोचक पक्ष उहाँको घर स्कुलनजिकै छ।
उहाँ स्कुलको पूर्व दिशातर्फको सँधियार छिमेकी नै हुनुहुन्छ। सामूहिक बसोबास कम्युनको अभ्यासमा रहेको आधारशिला उहाँ र उहाँका राजनीतिक सहयोद्धाहरूको बसोबास गर्ने थलो हो। त्यही आधारशिला परिवार नै यस स्कुलका छिमेकी हुन्। त्यहाँका बालबच्चा कुनै महँगा निजी विद्यालयमा पढ्न नगई यसै विद्यालयमा विगतदेखि नै पढ्दै आएका हुन्। यसर्थ उहाँ यस स्कुलको अभिभावक हुनु नै भयो।
फेरि पटकपटक शिक्षामन्त्री भएर सिङ्गो देशको विद्यालयको अभिभावकत्व ग्रहण गर्नु भएको उहाँले यस विद्यालयलाई पनि अपनत्वभावले हेर्नु कुनै अनौठो होइन। तर मानिसहरूले भन्ने गरेजस्तो `मन्त्रीको स्कुल´ भएर यसले धेरै सुविधा पाएको होला भन्ने सोच भने सत्य होइन।
आजका दिनमा मावि तहको एक जना स्थायी (प्रअ रामसकल महतो मात्र) र एक मावि राहत शिक्षकको व्यवस्था हुनु, प्राथमिक तहका मास्टर डिग्री होल्डर शिक्षक र अधिक निजी स्रोतका शिक्षकका भरमा पाँचपाँच ओटा सेक्सनसहितको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई पढाउनु पर्ने बाध्यता हुनु यहाँको वास्तविकता हो। सरकारी दरबन्दीको व्यापक कमी यहाँको धरातलीय यथार्थ हो। अभिभावकले दिने चन्दा सहयोगका भरमा धेरै जस्तो निजी स्रोतका शिक्षकलाई तलब खुवाउनु यहाँको जमिनी हालत हो।
फेरि अर्को वास्तविकता के पनि हो भने विद्यालयको अभिभावक र संरक्षक हुनाका नाताले पोखरेलले यथाशक्य सहयोग गर्दै आउनु भएको छ। सबभन्दा ठूलो कुरा त शिक्षकलाई पेसागत निष्ठा नछोडी उच्च मनोबलका साथ लागिपर्न उहाँले बेलाबेलामा हौस्याउँदै आउनु भएको छ। न कि अरुले सोचेजस्तो शिक्षामन्त्रीले सारा बजेट र दरबन्दी घोप्ट्याएर बनाएको स्कुल होस्।
आजका दिनमा असल अभ्यास गर्ने विद्यालयहरूको सूचीमा यस विद्यालयको नाम नवौँ स्थानमा देख्दा र सिङ्गो देशले जनता मावि गौरीडाँडालाई चिनिरहँदा स्कुलसँग तालुक राख्ने शिक्षक, विद्यार्थी, अभिभावक, आमा समूह, विव्यस, शिअसं, आम समुदाय सबै खुसी हुने, पुलकित हुने कुरा त छँदै छ।
सरकारले नमुना भनेर घोषणा गरेका देशका अन्य विद्यालयहरूको मौजुदा हालत पनि हामी सबैले देखेकै छौँ। सरकारको नजरमा नमूनु नदरिइए पनि आम अभिभावक र समुदायको सहकार्यबाट सबैका लागि नमुना बन्दै गएको जनता मावि यो नतिजाबाट हौसिने मात्र होइन, थप जिम्मेवार बन्नुपर्ने देखिन्छ। प्रसिद्धिको यो चुलीमा पुगिसक्दा पनि एक जना मावि स्थायी शिक्षकका भरमा चलिरहेको स्कुल, लगभग प्रावि तहका डिग्री र ग्र्याजुएट) शिक्षकहरूले नै यो तहको नतिजा र उडान भर्न सकेका हुन् भन्ने कुरालाई कसैले बिर्सनु हुन्न। यसरी खटेर नतिजा दिने ती शिक्षकहरूलाई प्रोत्साहित गर्न अब कसैबाट कन्जुस्याइँ गरिनुहुन्न। अझ स्कुलको व्यवस्थापकीय पक्ष त चनाखो हुनै पर्छ।
(फुयाल जनता मावि गौरीडाँडा, महोत्तरीकी शिक्षक हुन्)
Shares

प्रतिक्रिया