प्रारम्भमा १९९७ साल देखि २०८२ सम्मका सहिदहरूप्रति हार्दिक श्रद्धासुमन। भावपूर्ण श्रद्धाञ्जली। नेपाली कांग्रेसको जिम्मेवार सदस्य र एक तहको कार्यकर्ता हुनुको कर्तव्य सम्झेर क्षमायाचना गर्दछु। यसको बारेमा छुट्टै टिप्पणी गर्नु पर्ने नै छ।
भूतपूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकप्रति खेद प्रकट गर्दछु। रमेश लेखकको अकर्मण्यता र नालायकी र उनको रक्षार्थ उभिएको पार्टीपंक्तिसँग जवाफ पनि माग्दछु।
तिनले स्वतन्त्रताको निमित्त जहानियाँ शासनका विरुद्ध उभिएका बीपी कोइरालाले बनाएको ऐतिहासिक पार्टीको नेतृत्वमा बसेर सरकारमा गएर सामाजिक सञ्जालको बन्देजलाई कथित रास्ट्रवादसँग जोडे। जनताको अन्योन्याश्रित सम्बन्ध भएका फेसबुक, व्हाट्स एप, युट्युब, एक्स, इन्स्टाग्राम लगायत लाभदायक, सूचनाका स्रोत र कम्युनिकेसन च्यानलहरूको बन्देज र सर्वोच्चको झुटो व्याख्या (जुन प्रधानन्यायाधीशले भनिसक्नु भएको छ) गरी प्रधानमन्त्रीको हुकुमी प्रमांगीको लुरुलुरु मान्ने कांग्रेसी मन्त्रीहरूको चेतना देखेर लज्जित हुनु परेको छ।
जेन जी युवाले आरम्भ गरेको आन्दोलन भए तापनि यो त्यसमा सीमित नरहेको जगजाहेर भैसकेको छ। हिंसाको यो प्रचण्ड स्वरूप ती कलिला हात वा मस्तिष्कबाट मात्र प्रकट भएको होइन भन्न यसै सकिन्छ। तर यो हत्कण्डामा नेपाललाई पुर्याउन मूलत: कांग्रेस, एमाले र माओवादी पार्टी, सरकारमा सामेल भएका मन्त्रीहरू र शीर्ष तहका नेतृत्वको बेजोड योगदान छ। यो तहको सत्ताच्यूत गराउन सक्ने आन्दोलनका रचनाकारहरूलाई बधाई छ। ती रचनाकारलाई बधाई भन्दै छु जो जेन जी हुन्। जसले भूराजनीतिक तत्वले होइन, अर्गानिक असन्तुष्टिले समाजलाई एकै पटक यो विन्दुमा ल्याइपुर्याए।
अब कुरा गरौँ, नेपाली कांग्रेसको। मैले यो लेख्दै गर्दा बिर्सेको छैन कि म यो पार्टीको महासमिति सदस्य छु। नेपाली कांग्रेसका करिब ८ लाख सदस्य छन। पार्टीभित्रको लोकतन्त्र अफ्ठेरोमा परिरहेकै थियो। २०६२/६३ सालको आन्दोलनको सेरोफेरोमा पनि आन्तरिक लोकतन्त्रबारे निकै जोडबलले तर सानो समूहले यो कुरा उठाइरहेको हुन्थ्यो। आज पर्यन्त अन्तरिक लोकतन्त्र जोखिमपूर्ण छ तर त्यसको अवाज मधुरो, नसुनिने खालको बनेको छ। कांग्रेस यो हदसम्म आइपुग्नु आन्तरिक लोकतन्त्रको स्वर बस्नु हो। अनुमान गर्न सकिन्छ, आन्तरिक लोकतन्त्रको आवाज उठाउने घाँटीमा 'भ्वइस रेस्ट'को प्रेस्क्रिप्सन लेखिएको होला।
जब पार्टीभित्र 'भ्वइस रेस्ट' हुन थाल्यो, त्यसपछि हाबी भयो 'वचनतन्त्र'। पार्टीको शीर्ष तहको वचन शिरोधार्य गर्नु, स्तुति गाउनु नभए कोपभाजनमा पर्नेको भयमा नेपाली कांग्रेस अवतरित हुन थालेपछि ज्ञान, विज्ञान, विमर्श र व्याख्यान सबैलाई झन्झटिलो र वाहियात लाग्न थाल्यो। यो कठिन बाटो थियो। तर्क आउँथ्यो। तर्कले तर्कमाथि प्रश्न उठ्थ्यो। नेताहरू प्रश्नबाट भयग्रस्त थिए। प्रश्नोत्तरले समय माग्छ। मन्त्रीसँग, नेतासँग समय थिएन, केवल हतार थियो। यस्तो बेला सबै प्रश्नको उही उत्तर हुन्छ- यो हुँदैन किनकि मैले वचन दिएको छु र यही हुन्छ। जस्तो कि मैले फेसबुकमा स्टाटस लेखिसकेँ, यही हुनु जरुरी छ।
कांग्रेसको सिद्धान्त, दृष्टिकोण, गौरवबोध हुने सिंगो इतिहास, ऐतिहासिक योगदान यो हरेक चिज सम्झिँदा रोमरोममा हर्षविभोर महसुस हुन्छ, हरेक कांग्रेसको शिर ठाडो हुन्छ, सायद मुलुकको पनि। उदार नागरिकहरू आशावादी नै हुन्थे भने पत्रकारहरू सुरक्षित हुन्थे, व्यवसायी र निजी क्षेत्र ढुक्क हुन्थ्यो। हेर्दाहेर्दै, बुझ्दाबुझ्दै आँधीबेहरी आयो, आन्दोलनको, घुसपैठको जसले पार्टीको केन्द्रीय कार्यालयको बेहाल भयो, केन्द्रीय सभापति र विदेशमन्त्रीले घरमै कुटिनु पर्यो, करिब ३ दर्जन कांग्रेस नेताहरूको निवास आगजनी गरियो। यो आक्रमण र निजी सम्पत्तिको दहन निन्दनीय छ।
केन्द्रीय समितिमा हतार छ, महाधिवेशनमा हतार छ, सम्मेलनहरूमा झनै हतार छ, महासमिति बैठकमा हतार छ, भेलाहरूमा हतार छ, सानासाना बैठकहरूमा हतार छ र कतै त अघोषित निषेध छ। नेताहरूलाई, मन्त्रीहरूलाई यति हतार हुनुको अर्थ हो उनीहरू आफ्नो कामका प्रति दत्तचित्त भएर होला। परिणाम निकाल्न गम्भीर भए होलान् भन्ने लागिरहेको थियो। हामीले यही बितेको वर्ष सरकारमा कांग्रेसको उपस्थिति र तिनको कर्मका बारेमा कतै बहस भएको, कतै जिम्मेवारी र जवाफदेही भएको त देखेनौँ। लौ हामी त कार्यकर्ता, देखेको हौँला रे तर के आम नागरिकले देख्न पाए? सुन्न पाए? देख्न र सुन्न पाएको भए यो तहसम्म जेन जी उभिन्थ्यो?
अब कुरा गरौँ सहरी विद्रोहपछिको समयको। फेरि हामी विभक्त भैसकेका छौँ, यो वा त्यो नाममा। हामीले सोच्ने सामर्थ्य पनि गुमाइसकेको देखिन थालेको छ। हामीसँग केन्द्रीय समिति छ त्यो पनि भीमकाय। प्रदेश समितिहरू छन् सयसयको संख्यामा। यसको ठोस बैठक बस्न, ठोस निष्कर्ष निकाल्न कसले छेकेको छ? करिब २५०० सदस्य रहने महत्त्वपूर्ण निकाय महासमिति छ, जसले नीति, विधि र कार्यक्रम बदल्न सक्छ। महासमितिले मुलुकलाई गणतन्त्रमा लैजाने निर्णय गर्ने सामर्थ्य राखेको थियो। यो बदलिँदो दृश्य र युगको मागलाई मध्यनजर गर्दै महासमितिले नयाँ नेतृत्व निर्माण गर्ने तागत समेत राख्नु पर्छ।
नेपाली कांग्रेसको मौजुदा केन्द्रीय समिति बैठक त बसोस् नै। केही निर्णय गरोस् नै, जसले हामीलाई अगाडि लैजान्छ। हामी यो समितिको ल्याकत हेर्न, पढ्न चाहन्छौँ। तर कुरा प्रस्ट छ, केन्द्रीय समितिभन्दा विस्तृत निकायमा यो छलफल हुन जरुरी छ र त्यो पनि वैधानिक बाटोबाट। हामी महासमिति बैठकमा जान सक्छौँ, हामी १५ औँ अधिवेशनमा जान सक्छौँ, त्यो गर्न नसके तत्काल विशेष अधिवेशन गर्न सक्छौँ र भन्न सक्छौँ- आदरणीय र सम्मानित नेताज्यूहरू अभिभावक भइदिनोस्। उहाँहरूलाई स-सम्मान बिदा गरौँ। अगाडि ल्याउने नेतृत्वलाई पनि ससम्मान र भरोसाका साथ स्थापित गरौँ।
भर्भराउँदो कांग्रेस बनाउन सकिन्छ। कवि भूपी शेरचनले लेखे जस्तो मैनबत्तीको शिखाजस्तो कांग्रेस बनाउन सकिन्छ। दूरदृष्टि राखेर आउँदो १०, २०, ३० वर्षमा यो मुलुकलाई यहाँ पुर्याउन सकिन्छ भनेर काम गर्न सक्ने केन्द्रीय नेतृत्व निर्माण गर्न सकिन्छ। हरेक निर्वाचनमा झुटा वाचा गरेको आरोप लागेको छ, अब ठ्याक्कै गर्न सकिने मात्र वाचा गरेर जान सकिन्छ। दलमा लागेर दलकै टिकट किन्न पर्ने जस्तो भद्दा आरोप समेत सहेर पार्टी चलेको छ, त्यसको अन्त्य गर्न सकिन्छ, गर्नु पर्छ।
समावेशी सहभागितामूलक, समतामूलक, वैयक्तिक स्वतन्त्रता र वृद्धिको अधिकारको रक्षा गर्दै प्रत्यक्ष लोकतन्त्रको प्रत्याभूति हुनेगरी कांग्रेसको नेतृत्व गर्न नयाँ पुस्ता तयार भइसकेको छ। विधिवत् नयाँ नेतृत्व स्थापित गरौँ। हामी सक्छौँ, देश बन्छ। हामी सुध्रिन्छौँ, सच्चिन्छौँ भनेर मात्र पुग्ने छैन, सुध्रिएर सच्चिएर देखाउनुपर्ने छ। इन्कलाब जिन्दावाद!
(इन्जिनियर अमृत ज्ञवाली नेपाली कांग्रेसका महासमिति सदस्य हुन्)
Shares

प्रतिक्रिया