ब्लग


भाटभटेनीका मीनबहादुरलाई पत्र: तपाईं फेरि उठ्नुहुनेछ अझै सशक्त भएर

भाटभटेनीका मीनबहादुरलाई पत्र: तपाईं फेरि उठ्नुहुनेछ अझै सशक्त भएर

अविधान सापकोटा
भदौ ३०, २०८२ सोमबार ८:४९, काठमाडौँ

मीनबहादुर गुरुङज्यू,

म अविधान सापकोटा। न्यायालयमा काम गर्ने एक साधारण सेवक। तर, आज यो पत्र कुनै पद वा जिम्मेवारीको हैसियतले होइन, एउटा नागरिक, बाबु, छिमेकी र आत्मीय ग्राहकको नाताले लेख्दै छु।

गुरुङज्यू, म कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट छेउमै बस्छु। हाम्रो परिवार (म, मेरी जीवनसंगिनी र मेरी आठ वर्षीया छोरी)लाई हरेक दिनजसो भाटभटेनी पस्ने बानी परेको छ। हामीसँग ‘मेम्बरसिप’ पनि छ। छोरीले बाहिरी संसार बुझ्न थालेदेखि नै भाटभटेनी उसको एउटा रंगीन र रमाइलो संसार मात्र होइन, एउटा अभिन्‍न साथी थियो।

तर दुर्भाग्यवश, त्यो रात जब अराजक भीडले आगोको लप्कामा हाम्रो आफ्नै परिवारजस्तै प्रिय भाटभटेनीलाई जलाइदियो, हामी स्तब्ध भयौँ। खबर सुन्नासाथ म, श्रीमती र छोरी दौडिँदै बाहिर निस्क्यौँ। केही गर्न सकिएला कि भन्‍ने आशाले। तर न प्रहरीलाई सम्पर्क गर्न सकियो, न आगो नियन्त्रणमा ल्याउन।

अन्ततः हामी बस्ने गरेको घरको छतबाट ५० मिटर टाढा दनदनी बलिरहेको आगो नियाल्न मात्र विवश भयौँ। छोरी निःशब्द भई टोलाइन्, आँखा रसाए। हामी कृष्ण भगवानलाई पूजा गर्ने हुँदा छोरीले हे! कृष्ण भगवान् पानी पारिदिनु होस् भनेर प्रार्थना पनि गरिन्, त्यो पीडादायी क्षणमा लाग्यो। यदि सम्भव हुन्थ्यो भने म आफैँ आगो लगाउनेलाई रोक्न, आवश्यक परे सजाय दिन पनि तयार हुन्थेँ।

भोलिपल्ट बिहान पनि धूवाँ र आगो बाँकी थियो। छोरीले हात तानेर ‘बाबा, हेर्न जाऔँ’ भनिन्। हामी फेरि त्यहाँ पुग्यौँ। तर त्यो दृश्य देख्दा मेरी छोरी धुरुधुरु रोइन्। उसलाई आइसक्रिमको माया लागेको होला, मिठाइको मोह लागेको होला। वा, केवल त्यो रमाइलो रौनक हराएको पीडा थियो। तर उसको आँशु देख्दा मलाई लाग्यो– त्यो उसका लागि पसल मात्र थिएन, त्यो उसको सानो संसार थियो। जसलाई उनले आफ्नै घर मानेकी थिइन्।

गुरुङज्यू ! तपाईँले नेपालमा भाटभटेनी सुरु गर्दा केवल एउटा सानो पसलबाट सुरू गर्नुभएको सुनेको थिएँ। तपाईँले एउटा परम्परा निर्माण गर्नुभएको थियो। रिटेल बजारको रूपान्तरणमार्फत हजारौं नेपालीलाई रोजगारी दिनुभयो। ग्राहकलाई मात्र होइन, यो देशलाई नै एक फरक उचाइमा पुर्‍याउनुभयो। हामीजस्ता साधारण ग्राहकका लागि भाटभटेनी केवल किनमेलको स्थान थिएन। त्यो त एउटा रमाइलो पार्कजस्तै थियो, एउटा परिवारिक भेटघाट स्थल, एउटा अपनत्वको संसार।

तर दुःखद सत्य के हो भने हाम्रो समाजमा इष्र्या, द्वेष र शत्रुताले अराजक रूप लिन थालेको छ। अरूको सफलता सहन नसक्ने जमात हरेक क्षेत्रमा बढ्दै गएको छ। तपाईँले नेपाललाई जुन साहसिक योगदान दिनुभयो, त्यो उद्यमशीलता सहन नसक्नेहरूको आँखाको काँडा बनेको छ। तपाईँले विभिन्न क्षेत्रमा गरेको दानलाई पनि गलत बुझियो। 

तर सत्य के हो भने – दान पुण्य हो, उद्यमशीलता गौरव हो, प्रगति साझा सम्पत्ति हो। तर पनि, केही व्यक्तिहरूले त्यो गौरवलाई जलाउन खोजे। यसमा केवल अन्धकार छ, द्वेष छ, दानवत्व छ।

गुरुङज्यू ! तपाईँ शून्यबाट शिखरमा पुगेको एउटा प्रेरणादायी नाम हुनुहुन्छ। तपाईँले जीवनभरको संघर्ष र इमानदारीको आधारमा भाटभटेनीलाई स्थापित गर्नुभयो। तपाईँले केवल व्यापार गर्नुभएन, तपाईँले हजारौं युवालाई रोजगार दिनुभयो, असंख्य परिवारलाई बाँच्ने आधार दिनुभयो।

मलाई अझै सम्झना छ– सर्वोच्च अदालतको निरीक्षणका क्रममा हामी कैलाली पुगेका थियौँ। फर्किँदा हामीले एक स्वरमा ‘भाटभटेनी जाऔँ’ भनेका थियौँ। कस्तो सबैको विश्वास, सबैको एकै स्वर! त्यो क्षणले मलाई प्रस्ट पारेको छ— भाटभटेनी केवल पसल होइन, यो त सर्वसाधारण नेपालीको विश्वास र आत्मीयताको प्रतीक हो।

हो, यो आगलागीले तपाईँलाई खर्बौँको क्षति पुर्‍याएको छ। यो घाउ केवल तपाईँको निजी होइन, हामी सबै नेपालीको साझा घाउ हो। तर तपाईँको जीवनयात्रा नै उदाहरण हो, तपाईँ बारम्बार उठ्ने क्षमता राख्नुहुन्छ। आज फेरि पनि तपाईँ उठ्नुपर्छ। भाटभटेनी अझ भव्य, अझ विशाल, अझ सुरक्षित स्वरूपमा पुनः स्थापित हुनुपर्छ। 

तपाईँले अझ धेरै रोजगारी सिर्जना गर्नुपर्छ, अझ बलियो अर्थतन्त्र बनाउनुपर्छ। जसरी तपाईँले छोटो समयमा भाटभटेनीलाई आकाशमा पुर्‍याउनुभयो, त्यस्तै प्रतिबद्धताले देशलाई पनि उज्यालो भविष्यतर्फ डोर्‍याउनुपर्नेछ। देश विकासको लागि भाटभटेनी पनि एउटा प्रेरणा अवश्य बनेको छ। अब तपाईँले सुरक्षा संयन्त्र अझ मजबुत बनाउनुपर्छ, कतै चुकेको पो छ कि! ता कि यस्ता त्रासदी पुनः कहिल्यै नदोहोरियोस्!

गुरुङज्यू! तपाईँ केवल व्यापारी होइन, यो राष्ट्रको लागि एउटा प्रेरणा, आधार र गौरव हो। भाटभटेनी केवल तपाईँको सम्पत्ति होइन, यो हाम्रो साझा भावनात्मक सम्पत्ति हो। हामी सबै तपाईँसँगै छौँ। तपाईँलाई सहानुभूति मात्र होइन, आत्मीय साथ र अटुट विश्वास पनि दिन्छौँ।
आज यो पत्र लेख्दा मेरा आँखा रसाइरहेका छन्। मेरी छोरीले भनेजस्तै ‘अब राधे राधे भाटभटेनी जाऔँ’ यो कुरा अब लाखौँ नेपालीको मुखमा छ। किनकि भाटभटेनी हाम्रो जीवनको अभिन्‍न अंगजस्तो भइसकेको छ।

हामी सबैको विश्वास छ–
तपाईँ फेरि पनि उठ्नुहुनेछ, भाटभटेनी फेरि पनि उज्यालो बन्‍नेछ र तपाईँको नाम सदैव सम्मान र प्रेरणाको शिखरमा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad