ब्लग


भदौमा बगेको रगतको भेल र जेन-जीलाई पनि प्रयोग गरिने खतरा

भदौमा बगेको रगतको भेल र जेन-जीलाई पनि प्रयोग गरिने खतरा

पुष्प न्यौपाने
भदौ २९, २०८२ आइतबार १५:५५, काठमाडौँ

यस बखतको रगत कल्पनाभन्दा पर थियो। हामीले लास ओछ्यायर र रगतका भेल बगाएर जसलाई यो देशको शासन सत्ता सुम्पियौँ, उनैले थप रगतको माग गर्नेछन् भन्ने अनुमानसम्म गरिएन। कुनै चेतावनीबिनै सरकारले युवाहरूको ज्यान लिने उदेश्यले गोलीबारी होला, भौतिक संरचनाहरू निसानामा पर्नेछन्, लुटपाट र आगजनीको आँधी सहित एक हुल वितण्डा मच्चाउन आउने छ भन्ने पनि कल्पना गरिएन।

भदौ २३ को बल प्रयोगको चरित्र पनि सुरुमै असामान्य र अस्वाभाविक बन्यो। एकै दिन १९ जना मानिसको ज्यान जानु सामान्य घटना थिएन। त्यस दिनको दृश्य भयावह थियो। टाउको र छातीमा ताकेर दागेका गोलीहरू, बिना कुनै चेतावनी एकै झट्कामा आकस्मिक दमनद्धारा भीडमा असरल्ल लासहरू, रगतले भिजेका स्कुल पोसकहरू, ट्रमा सेन्टर पुर्‍याइएका अंगभंगहरू, अप्रेसन थिएटरका घाइतेहरूको जाम, काँधमा सहयोद्धाका लास बोकेका जेन जी पुस्ताको चित्कार, यस देशको यस युगकै असामान्य र हृदयविदारक दृश्यहरू हुन्। त्यो हेर्दा स्पष्ट हुन्छ- प्रहरी भीड नियन्त्रणका लागि प्रशिक्षित थिएन वा मानवअधिकारको विश्वव्यापी मूल्यबारे जानकार थिएन।

जेन जी आन्दोलन र त्यसले निम्त्याएको परिस्थितिपछाडि दुई प्रवृत्ति र केही पात्रहरू जिम्मेवार छन्। पहिलो प्रवृत्ति आजीवन सत्ता छोड्न तयार नहुने र आसेपासे पोस्ने प्रवृत्ति नै हो। दोस्रो प्रवृत्ति योजनाबद्ध यस मुलुकलाई अस्थिरतामा लिएर संसद्, अदालत र संविधानविहीन बनाउने हरियो घाँसभित्र लुकेको यस मुलुकको शत्रु प्रवृत्ति हो। दुवै प्रवृत्तिको बेलगाम अहंकार र प्रतिद्वन्द्विता सबैका सामु जगजाहेर छ।

पहिलो प्रसंग जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूबारे राखौँ। साढे दुई दशकअघि मैले सत्ताका विरुद्ध घर छोडेर परिवर्तनको बाटो रोज्दा मेरी आमा डाँको छोडेर रोएको सम्झेँ। आन्दोलनमा दर्जनौँले ज्यान गुमाउँदा तिनका बाआमाको हालत कस्तो होला ? आफ्ना प्रिय सन्तानलाई अभिव्यक्तिको स्वतन्त्रता कायम गर र भ्रष्टाचार नगर भनेकै भरमा गोली हानेर मृत्युशय्यामा पुर्‍याउने यी शासक र  सरकारप्रति ती आमाहरूको क्रोधको अग्नि ज्वाला कति दन्किएको होला। मलाई पहिलो रात उनीहरूको सम्झनाले बेस्सरी बेचैन बनायो।

आफ्ना सन्तानको समृद्धिका लागि सबैखाले सामाजिक र कानुनी हद पार गर्नेहरूले त्यही उमेरका जनताका सन्तानहरूमा गोली ठोक्ने आदेश कसरी गर्न सस्क्छन्? यति निर्मम, यति निर्दयी र यति घृणित व्यवहारलाई कसरी आइडल मान्ने? ब्वाँसोभन्दा स्वार्थी र सिंहभन्दा आक्रामक भएपछि उनीहरूलाई कसरी सेलेब्रेटी र समाजको रोल मोडल मान्ने? भावनाको आवाज दबाउन षड्यन्त्रको सिद्धान्त र दाउपेचको गेम खेल्नेहरूलाई कहिलेसम्म अभिभावकका रुपमा  टाउकोमा बोकी रहने? जेन जी यतिबेला यिनै प्रश्नहरूको जवाफ खोजिरहेको होला। जेन जी विक्षिप्त होला।

जेन जी. जसले राजधानीमा आन्दोलनको यत्रो आँट गर्‍यो, उसले सिरिया, लिबिया,इराक, ट्युनिसिया र भर्खरैको बंगलादेश पनि हेरेको होला। त्यसले आफूलाई सम्हालेर जिम्मेवार प्रतिरोध गर्ला भन्ने मेरो अनुमान थियो र जेन जीप्रति निकै ठूलो सहानुभूति थियो। तर दोस्रो दिन जब उनीहरूले देशलाई जलाए र आम नागरिकलाई स्तब्ध बनाए, त्यसपछि उनीहरूप्रतिको सहानुभूति मेटियो। सायद यो देशव्यापी मनोविज्ञानमा आएको उतारचढाव हो। दोस्रो दिन मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकको हेडक्वार्टर खरानी बनाउँदा,सं वैधानिक अंगका मुख्यालय, कर तथा राजस्व कार्यालय, सडक विभागको सयौँ वर्ष पुरानो भवन र देशव्यापी खर्बौँ क्षति हुँदा आम मानिसको जेन जीप्रतिको समर्थन आवेगमा परिणत भइसकेको थियो र मेरो पनि। भलै जेन जी आन्दोलनले जित्यो तर भोलिका लागि नैतिक रुपमा, तार्किक रुपमा र कानुनी रुपमा जेन जीले आफूलाई सही प्रमाणित गर्नु फलामको च्युरा हुने छ।

हरेक दशकमा शासक बदल्न, व्यवस्था बदल्न र परिवर्तनको आवाज उठाउन दर्जनौँ आमाहरूले आफ्नो काखका प्रिय सन्तान गुमाउनै पर्ने, शासकहरूले बलि लिनैपर्ने यो कस्तो राजनीतिक संस्कार हो? बखतबखतका रगतले हामीलाई कुनै पाठ किन सिकाएनन्? हामीले त पटकपटकका आन्दोलनमा बेहिसाब रगत बगाइसक्यौँ। फेरि पनि नयाँ आउने शासकले रगतको मूल्य किन बुझ्न चाहँदैन? यस पटक हामीले खोजी गर्नैपर्छ, त्यस्तो कुन चाहिँ तत्व हो, जसले शासकहरूलाई आर्यघाट नपुगेसम्म पद नछोड्ने जिद्दीवाल र हठी बनाउँछ?

दरबारविहीन, श्रीपेचविहीन, विशेषाधिकारविहीन शासकले लोकतान्त्रिक परिपाटीमा रक्तपातको परम्परालाई नै पछ्याउलान् भन्ने सोच्ने कुरा पनि भएन। जसले लोकतान्त्रिक क्रान्तिको नेतृत्व गरे, लोकतन्त्रका लागि जेलनेल र यातना भोगे। जीवनभर लोकतन्त्रका अनगिन्ती प्रवचनहरू दिइरहे, तिनैले आफ्नो शासनको बचाउका निम्ति इतिहासकै भयानाक क्रूरता प्रदर्शन गर्छन् भन्ने अड्कल गर्न साँच्चिकै कठिन थियो। एउटा रक्षक भक्षक बन्न सक्दैन भन्ने हाम्रो मान्यता छ। तर हाम्रा सबै अनुमान विपरीत लोकतान्त्रिक सरकार नै नरभक्षी बन्यो।

गुप्तबासमै भए पनि शासकले एकपटक आफ्नो कमजोरीमा घोत्लिनु त पर्छ नै। हामीलाई थाहा छ, मानव जातिको इतिहास र राजनीतिक परिवर्तनका प्रत्येक अध्याय रगतले लेखिएका हुन्छन्। तर हामीले ०६२-०६३ मा एउटा ऐतिहासिक संकल्प गरेका थियौँ, अब उप्रान्त शासनको हठ र आकांक्षाका लागि एक थोपा रगत बग्ने छैन। कुनै पनि शासकले असीमित शासनको चाहना प्रकट गर्न सक्ने छैन। पार्टी सत्तामा होस् वा राज्यसत्तामा लोकतान्त्रिक पद्धति, प्रक्रिया, आचरण, मूल्य, अधिकार र कर्तव्यको पूर्ण पालना हुने छ। प्रणालीमा विश्वास गर्ने, संयन्त्रहरूप्रति कटिबद्धहरू र मानवीय मूल्यप्रति प्रतिबद्धहरू सत्ताको नेतृत्व गर्न आउने छन् र ती सामाजिक आवश्यकता र भावनाको कदर गर्न योग्य हुनेछन्। तर त्यसो भएन। जसको परिणाम मुलुकले भोगिसक्यो।

दुई दशकका हरेक दिन र रात बदलिँदै गए। सुनौला दिनहरूको आशा पट्यारलाग्दा र वाक्कदिक्क लाग्दा दिनहरूमा परिणत हुँदै गए। सत्तासीनहरू आफ्नो व्यक्तिगत पद प्रतिष्ठामा दीर्घायुको उपाय खोज्न थाले। आसेपासे र परिवारको समृद्धिका लागि शक्तिको दुरुपयोग गर्न थाले। मुलुक दिनप्रतिदिन निम्छरो हुँदै गयो। गाउँबाट भविष्य खोज्न सहर झरेको युवा, सहरबाट काठमाडौँ पुग्यो, काठमाडौँमा पनि उसले जीवन र भविष्यको बाटो भेटाउने सम्भावना नदेखेपछि ऊ विदेश हानियो। मुलुक झन् भन्दा झन् शिथिल हुँदै गयो। त्यही मौका छोपेर सत्तालाई सिनियर जेष्ठ नागरिकको विलासी क्लब बनाइयो। जुन कुरा स्वीकार्न हामी अझै तयार छैनौँ। तर घटनाको पृष्ठभूमि यी र यस्तै कार्यशैलीसँग पनि जोडिएको छ।

लोकतन्त्र क श्रेणीका तीनचार जना राजनीतिक ठेकेदारको कब्जामा पुग्यो। मन्त्रिपरिषदका नीतिगत भ्रष्टाचारबाट सुरु भएको उनीहरूको सिन्डिकेट संसदका विभिन्न समिति हुँदै सिंगो संसदसम्म पुग्यो। दलीय ह्विपका नाममा सांसदहरूलाई विवेकहीन बनाइयो र संसद् बन्धक बन्यो। एउटा बाँकी स्वतन्त्र न्यायपालिका थियो, त्यसैमा राजनीतिक भागबण्डाको प्रचलन स्थापित गर्दै लबिइङ र म्यानुपुलेसनको घुमाउरो कोसिस जारी रह्यो। देशका सम्पूर्ण संस्थाहरू बफादारहरूलाई निश्चित कार्यकालका लागि बिर्ता दिने प्रचलनको निरन्तरता कायम राखियो। यी विषयमा समीक्षा नगरी आज पनि पार्टीहरूको पुनर्गठन सम्भव छैन।

सत्ता गठनको घण्टी बज्दा साम्यवादी विचारका कम्युनिस्ट र सामन्तवादी विचारका राजावादी पनि एकै ठाउँमा उभिन थाले। सत्ताकै लागि पहिलो ठूलो दल र दोस्रो ठूलो दलका बीचको लक्ष्मण रेखा मेटाएर गठबन्धन सरकार बनाइयो। तेस्रो स्थानको ठूलो दल सत्ताको चाबी लिएर उभिएपछि उसले दायाँ र बायाँलाई खेलाएर आनन्द लिन थाल्यो। पाँचै वर्ष सत्ता आफैसँग राख्न पाइने रुमानी कल्पनामा हरायो।

निलो क्रान्तिको पखेटा फिँजाएर राजनीतिक मैदानमा आएको शक्ति गृहमन्त्रीका लागि घरी यता र घरी उता दौडँदादौँडदै सत्ताका खेलाडीहरूको माकुरी जालमा पर्‍यो। पूर्वपञ्चहरूको पार्टी राप्रपा राजतन्त्र कि गणतन्त्र, हिन्दु धर्म कि धर्म निरपेक्षता भन्नेमै अलमलियो। यी सबै राजनीतिक दाउपेच र तिकडमलाई नजिकबाट हेरेको जेन जी जब सामाजिक सञ्जालबाट एकैपटक सडकमा ओर्लियो, अनि सत्तासिनहरूको सातो गयो। उनीहरूले गोलीको सहारामा प्रदर्शनकारीको ज्यान लिए। ज्यानको बदला तिनले सत्ता टिक्ने आकलन गरे। अन्ततः युवाहरूको ज्यान पनि गयो। शासकहरूको कुर्सी पनि गयो र देशको संसद्, संविधान र शान्ति सुव्यवस्था एकैपटक निष्प्राण भए।

आफूलाई फर्केर समीक्षा गर्दा हामी लुटतन्त्र र लोकतन्त्रलाई सँगसँगै बोकेर हिँडिरहेकै थियौँ। गणतन्त्रको झोलीमा आसेपासे पोस्ने पुँजीवादलाई अलग ठाउँ थियो। दल नेताहरूको नियन्त्रित र निर्देशित लोकतन्त्रको सर्तलाई हामीले अनिच्छापूर्वक भए पनि स्वीकारेकै थियौँ। आफ्नो ७० नकटेका बालाई वृद्धाश्रम खोजेर भए पनि ७५ आसपासका नेतालाई तेल घस्दै उनीहरूको सत्ता,स्वार्थ र पदको आयुको कामना गरेकै थियौँ। उनीहरूको दिमागको डोपमाइन र सेराटिनिन सन्तुलित राख्न आजीवन सत्ताको ग्यारेन्टी गर्नुपर्ने देखियो। त्यसका लागि पनि हाम्रो बहुमत भीड तयारै थियो।

एक दिन अचानक जेन जीले तिनको भ्रष्ट कार्यशैली र आजीवन सत्ता विलासितामाथि प्रश्न उठायो। त्यसलाई उनीहरूले पत्याएनन्। फुच्चे, नाथे जेन जी भन्ने थियो। तिनै नाथेहरूले संसद् भवनमा धावा बोले। त्यसपछि गोली ठोक्ने क्रम सुरु भयो। दर्जनौँ मानिसहरूको मृत्युले पनि उनीहरूको संवेदनामा चोट परेन। विडम्बना, भदौ २३ को त्यही दिन नै हाम्रै समयको रक्तपातपूर्ण कालो दिन भयो र नेपाललाई दशकौँ पछि धकेल्ने प्रतिगामी दिन पनि।

नागरिकहरू मौन हुँदैमा लुटको धन्दा चलाउन पाइन्छ। बुद्धिजीवीहरू नबोल्दैमा झुटको शासन गर्न पाइन्छ र कार्यकर्ताहरू चुप लाग्दैमा दलभित्र पनि शक्तिशाली गुटको मनोमानी चलाउन पाइन्छ भन्ने भ्रम मूर्खहरूको सोचमा, बेइमानहरूको योजनामा र धुर्तहरूको डायरीमा हुन्छ। त्यो क्षणिक हो। हामीले त्यो कुरा नेताहरूलाई कहिल्यै बुझाउन सकेनौँ, चाहेनौँ। बरु चाकडीको प्रतिस्पर्धामा एकले अर्कोलाई उछिन्न सबै प्रयास गर्यौँ। यी नै प्रवृत्तिहरूको समग्र योगफल हो आजको परिस्थिति।

जहाँसम्म जेन जीको सवाल छ, त्यो हाम्रो किशोर र युवा पुस्ता हो। त्यो अपरिपक्व छ। मुलुक भोलि बिहान उठ्दा खरानीको थुप्रोमा परिणत हुने छ, हामी आफैँ ग्लानिमा बाँच्नुपर्ने छ र आउने पुस्ताले हाम्रो सनकलाई धिक्कार्ने छ अनि हाम्रो निधारमा कलंकको टीका लाग्ने छ भन्ने त्यसले सोच्नै भ्याएन। खतरा अझै बाँकी छ। भौतिक संरचनापछि संविधानविहीनता र शासनविहीनताको स्थिति सिर्जना गर्न जेनजीलाई प्रयोग गरिन सक्छ। युवाहरू चनाखो होऊन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad