तीज नेपाली नारीहरूको महान् चाड हो भन्नेमा विवाद छैन। त्यसैले यसको सांस्कृतिक पहिचान र सामाजिक प्रभाव अवश्य हुने नै भयो।
यस महान् चाडको जति ऐतिहासिक महत्त्व र सांस्कृतिक पहिचान छ, यो सँग जोडिएको शरीर राजनीति र कालक्रमिक रूपमा भएको सामाजिक आर्थिक परिवर्तन सँगसँगै आएका सामाजिक प्रभावका बारेमा पनि चर्चा गर्नु आजको दिनमा सान्दर्भिक हुन्छ।
तीजको सांस्कृतिक महत्त्व
शिव पुराणका अनुसार पौराणिक कालमा हिमालय पुत्री पार्वतीले ‘शिव वर पाऊँ’ भनी घोर तपस्या गरेपछि शिव प्राप्त गरेको सन्दर्भमा तीजको व्रत बस्ने र गीत गाउने प्रचलनको सुरुवात भएको पाइन्छ। यसबाट नारीले स्वतन्त्र रूपमा आफूलाई मन परेको वर छान्न पाउनु पर्छ भन्ने सन्देश तीजले दिएको छ। यसर्थ तीज नारीको सफलताको पर्व हो।
खास गरी हिमालय पर्वतले पार्वतीलाई विष्णुसँग विवाह गरिदिन लागेपछि उनका साथीहरूले लुकाएका पौराणिक प्रसंगबाट र कृष्ण जन्मेपछि न्वारानको दिन गोकुलका नारीहरूले कृष्णको नाम राख्ने सन्दर्भमा खुसियाली मनाउँदै तीज गीतको सुरुवात भएको मानिन्छ।
नेपाल कृषिप्रधान देश हो। असार–साउनमा खेतमा धान रोप्ने सबै काम सकिने र केही फुर्सदको समय पनि हुनाले पहिलेपहिले बिहे गरेर गएका नारीहरूलाई तीजका बेलामा बाबु तथा दाजुभाइ लिन जाने र उनीहरू माइत आउने, दुुःखसुख बाँड्दै दर खाने, बालककालका साथीसंगी मिलेर नाचगान गर्ने, उपवास बसी शुद्घ मनले शिवको पूजा–आराधना गर्ने परम्परा रहेको पाइन्छ। अघिपछि नारीका स्वरलाई दबाइने भए पनि तीजमा भने स्वतन्त्र भएर नाच्न गाउन सामाजिक स्वीकृति दिइएको हुनाले परम्परादेखि नै तीज नारी स्वतन्त्रताको प्रतीक बनेको छ।
सांस्कृतिक पहिचान
प्राकृतिक भिन्न व्यवस्थाका आधारमा महिला र पुरुष भिन्न हुन्छन् भने सामाजिक सांस्कृतिक सम्बन्धका आधारमा परम्परागत लैङ्गिक सम्बन्धले पनि यिनको भूमिकालाई भिन्न बनाएको रमेशप्रसाद भट्टराईको भनाइ छ। पहिचान अन्तर्गत मूलतः जातीय, क्षेत्रीय र लैङ्गिक पहिचान पर्दछ। यहाँ लैङ्गिक पहिचानको मात्र संक्षिप्त चर्चा गरिएको छ।
सामान्यतः लिङ्ग र लैङ्गिकता शब्दको अर्थ समानजस्तो देखिन्छ, तर लिङ्गले पुरुष, महिला र तेस्रो लिङ्गीको जैविक भिन्नतालाई छुट्याउँछ भने लैङ्गिकताले समाजले निर्धारण गरेका भूमिकालाई जनाउँदछ। लिङ्ग भन्नाले जैविकरूपमा स्पष्ट चिनिने नारी, पुरुष र तेस्रो लिङ्गीका शारीरिक लक्षण तथा चिह्नहरू हुन्।
रजस्वला हुनु, गर्भधारण गर्नु, उठेको स्तन र बच्चालाई स्तनपान गराउन सक्ने सामर्थ्य हुनु, लजालु, कोमलता आदि महिलाको लैङ्गिक सूचक हुन्।
दाह्रीजुँगा आउनु, रुद्रघण्टी देखिनु, स्तन उठेको नहुनु, गर्भ धारण गर्न नसक्नु, रजस्वला नहुनु, वीर्य पैदा गर्नु, धोत्रो स्वर, कठोर स्वभाव, शारीरिक रूपले बलियो हुनु आदि पुरुष लिङ्गका सूचक हुन्।
केही महिलाको र केही पुरुषको जस्तो गुण देखिने र लाग्ने, विपरीत लिङ्गप्रति आकर्षित नभई समलिङ्गीप्रति आकर्षित हुने आदि तेस्रो लिङ्गीका सूचक हुन्। महिला महिलाप्रति आकर्षित हुनु, महिला समलिङ्गी, पुरुष पुरुषप्रति आकर्षित हुनु पुरुष समलिङ्गी, तथा पुरुषजस्तो देखिने तर महिला हुन मन लाग्ने वा हुने, महिला भए पुरुष भएर चिनाउन खोज्ने वा लिङ्ग परिवर्तन गरी महिला भएर पहिचान बनाउने ट्रान्सजेन्डर हुन्।
संस्कृतिले व्यक्ति, परिवार र समाजलाई प्रत्यक्ष रूपमा असर पारेको हुन्छ। समाजमा महिला र पुरुषबीच विभेद गर्ने प्रमुख तत्त्व पितृसत्ता हो। हाम्रो समाज पितृसत्तात्मक सामाजिक कार्यपीठिकामा संरचित छ। पितृसत्तात्मक संस्कृतिले एकातिर महिलालाई लक्ष्मी, सरस्वती र दुर्गामाताको पहिचान दिएको छ भने अर्कोतिर अबला, बेसहारा र पतिको दासी, भोग्या, पातर, बच्चा जन्माउने मेसिन र बोक्सीको समेतको पहिचान दिएको छ। छोरालाई वंश चलाउने, संरक्षक, पितृ तार्ने कुलदीपक र तेस्रो लिंगीलाई नपंसुकताको पहिचान दिएको पाइन्छ।
महादेवको पूजा आराधना गर्नु, कुमारी नारीले पार्वतीलेझैँ असल पति पाउने कामना गर्नु, विवाहिताले श्रीमानको सुस्वास्थ्यको कामना गर्नु, तीजमा माइत जानु, दाजुुभाइ, बाबुआमासँग दुःख सुखका कुरा गर्नु, साथीभाइसँग मिलेर गीत गाउनु,नाच्नु र मनलाई हलुका बनाउनु तीजको सकारात्मक पक्ष हो। अर्धाङ्गिनी, सहयात्री भन्दै जीवनभर दुःखसुखमा साथ दिन्छु भनेर विवाह गरेकी पत्नी, जसले २४ घन्टा उपवास बसेर पतिलाई परमेश्वर ठानेर सुस्वास्थ र दीर्घायुको कामना गर्छे, उपवासको भोलिपल्ट उसले पतिको खुट्टाको पानी खाएर मात्र आफू खाने जुन चलन छ, यो भनेको पितृसत्तात्मक संस्कृतिको प्रतिफल नै हो।
नारीहरूमा पनि पितृसत्तात्माक सोच थियो। उनीहरू यसलाई आफ्नो कर्तव्य ठान्थे। समाजले जतिसुकै लक्ष्मी र सरस्वती भने पनि परम्परादेखि नै नारीलाई दासी र पुरुषलाई मालिकको भूमिकामा राखेको पाइन्छ। सामाजिक, सांस्कृतिक चेतनासँगै विस्तारै यस्तो विभेदपूर्ण प्रचलन हट्दै गएको छ।
शरीर राजनीति
शरीर राजनीतिको अवधारणा पनि सांस्कृतिक अध्ययनसँग सम्बन्धित छ। समाज र संस्कृतिबाट शरीर अलग रहन सक्दैन। औपचारिक रूपमा अमेरिकी सांस्कृतिक अध्ययन केन्द्रले १९७० को दशकबाट शरीर राजनीतिसम्बन्धी अवधारणाको विकास गरेको पाइन्छ।
सर्वप्रथम यो अवधारणा अमेरिकी नारीवादी समालोचकहरूले अघि सारेका हुन्। भट्टराईका अनुसार शरीर राजनीतिले ‘महिलाको शरीरमा महिलाकै अधिकार हुनुपर्दछ। यसले पुरुषका अधीनस्थता र शोषणबाट महिला शरीरलाई मुक्त राख्नुपर्दछ’ भन्ने वकालत गर्दछ।
मिसेल फुकोले शरीरलाई शक्ति र राजनीतिसँग सम्बन्धित रहेको बताएका छन्। उनले शरीर राजनीतिक क्षेत्र हो र यो शक्तिका अधीनमा हुन्छ भनेका छन्। यति मात्र नभएर उनले शरीर शक्ति र शोषणसँग पनि सम्बन्धित रहेको बताएका छन्।
नारीवादीहरूले प्रजनन् अधिकार र पितृसत्ताद्वारा गरिने बलात्कार र नारी हिंसाका विषयलाई लिएर शरीर राजनीतिको अवधारणा अघि सारेका छन्। यसमा फ्रान्सेली नारीवादीहरू जुलिया क्रिस्टेभा र लुसी इरिगेरी, सुलामिथ फायरस्टोन, क्याथरिन म्याकिनन प्रमुख मानिन्छन्।
इरिगेरीले मातृत्वको मूल्य पितृसत्ताबाट नै स्थापना गरिएको र महिलाले त्यसमा आफ्नो स्वत्व खोजिरहेको विचार व्यक्त गरेकी छन्। उनका अनुसार महिला एक उत्पादित वस्तु हो, जसलाई वस्तुझैँ उपभोग गरिन्छ। महिलालाई सामाजिक, आर्थिक, राजनीतिक र यौनका विषयमा समेत विचार राख्न बन्देज लगाइन्छ। यसरी महिलाहरू आफ्नो विचारको सम्प्रेषण गर्नबाट समेत वञ्चित भएर शोषित बनेका छन्।
ओरेक नेपाल नामक संस्थाका अनुसार नेपालमा दैनिक ६ देखि ७ जना महिलाहरू बलात्कृत हुन्छन्। पछिल्ला वर्षहरूमा प्रहरीमा दर्ता भएका उजुरीमा बहुसंख्यक हिस्सा घरेलु हिंसाका छन्। अपराधीहरू प्रायः परिचितहरू छन्। आज महिलाहरू कतै पनि सुरक्षित छैनन्। घरमा, बाटोमा, बसमा, कार्यालयमा, काम गर्ने मालिककोमा, छाउपडीमा, स्वदेश, विदेश जताततै नारीहरू हिंसा र बलात्कारको सिकार भएका छन्। विशेष गरी मधेश प्रदेश, दलित, महिला बालबालिकाहरू बढी पीडित छन्। निकट सम्बन्धमा रहेकैबाट हिंसा बढी हुने गरेको छ।
पछिल्लो समय घुमाउरो रूपमा बहुविवाहलाई मान्यता दिने गरी विधेयकको मसौदा तयार भएको खबर बाहिरियो। कानुन सचिव पाराश्वर ढुंगानाले बहुविवाहलाई मान्यता नदिँदा धेरै महिलाहरूको जीवन बर्बाद भएको र सडकमै आइपुगेको अभिव्यक्ति दिए।
यदि यो साँचो हो भने समाज भाँड्ने नियत बोकेका उच्च पदस्थहरूले गरेको अपमानजनक क्रियाकलाप कुनै नारीका लागि सह्य हुँदैन। यस्ता प्रवृत्तिको विरुद्ध लेखेर, बोलेर प्रतिकार गर्नुपर्दछ। आज महिलाहरू त्यति कमजोर छैनन्। २०८०/८१ मा जम्मा ८५ हजार ५२० निजामती कर्मचारीमध्ये २८ प्रतिशत अर्थात् २४ हजार ९४३ महिला छन्।
घर, जागिर सम्हाल्दै अनुसन्धानात्मक कार्यमा समेत महिला प्रध्यापक तथा शिक्षकहरू त्यत्तिकै सक्रिय छन्। राष्ट्पतिदेखि संसद् र तल्लो निकायसम्म राष्ट्रका लागि महिलाहरूले योगदान दिइरहेका छन्, तर पनि महिलामाथि विभेद छ। पितृसत्ताको दमन छ। यस्तो अवस्थामा तीज पर्व पनि महिला सशक्तीकरणको माध्यमका रूपमा मनाउनुपर्दछ।
सांस्कृतिक अध्ययनले महिला मात्र नभएर पुरुषका पीडाको पनि अध्ययन गर्दछ। पुरुष पनि अनेक बाध्यता र विवशतामा परेर प्रयोग भएका हुन्छन्। पुरुषले घरमूली भएर सबै व्यवहार थाम्नु पर्ने, जसरी पनि कमाएर ल्याउनपर्ने, कमाउन नसके लाछी, हुतिहारा तथा नामर्द कहलिने र पीर पर्दा समेत रुन पनि नसक्ने अवस्थामा हुन्छन्। तर पनि समाजमा समग्रमा महिला नै बढी पीडित छन्।
तेस्रो लिङ्गीका बारेमा नेपालमा पनि कानुन बनेको छ। नेपालको संविधान २०७२ ले लैङ्गिक र यौनिक अल्पसङ्ख्यकले पहिचानसहितको नागरिकता पाउने प्रावधान सुनिश्चित गरेको छ। कानुनले मान्यता दिए पनि उनीहरूले सामाजिक रूपमा मान्यता पाउन सकेका छैनन्। पारिवारिक, सामाजिक व्यवधानका कारण उनीहरू पहिचानसहितको नागरिकता लिन सकिरहेका छैनन्। यस्तो अवस्थामा तीज धार्मिक महत्त्वका हिसाबले मात्र नभएर आजकल महिला सशक्तीकरणको आवाज उठाउने सामूहिक फोरम बन्न पुगेको छ।
नाच्ने गाउने मात्र नभएर सशक्तीकरणको पर्व
संसार गतिशील र परिवर्तनशील छ। यो प्रकृतिको नियम हो। समयको गतिसँगै जीवनशैली र समाज पनि परिवर्तन भइरहेको परिप्रेक्ष्यमा तीज मनाउने तरिका र तीज गीतहरूमा समेत परिवर्तन भइरहेको छ। अहिले धार्मिक पर्वका रूपमा मात्र नभएर महिलाहरूको आत्मबोध, आत्मसम्मान, अधिकार, मानसिक शान्ति, महिला सशक्तीकरण, देशभक्ति र सुशासनका सम्बन्धमा समेत तीज कार्यक्रम सञ्चालित छन्।
गीतहरू पनि यसै उदेश्यले बनेका छन्। लोक भाकामा मादल र लोक बाजाका साथ आधुनिक शैलीमा गाइएका यी गीतहरूले लोक संस्कृतिको समेत संरक्षण गरेको छ। आज महिलाहरू व्रत बस्ने पूजाआजा गर्ने मात्र नभएर तीजको माध्यमबाट सामाजिक अन्धविश्वास, कुरीति, कुसंस्कार र अन्याय अत्याचारप्रति प्रश्न गर्ने, समानताका निम्ति आवाज बुलन्द गर्ने काम गरिरहेका छन्।
तीजको माहोलले महिलाहरूमा सामूहिक रूपमा मिलेर काम गर्नपर्छ भन्ने भावनाको विकास भएको छ। व्यक्तिगत र संस्थागत रूपमा लैङ्गिक समानता र हिंसाविरुद्ध बोलेर, लेखेर, गाएर, महिला सशक्तीकरण र सुशासनका पक्षमा सुसूचित गराउनु तीजको सबल पक्ष हो। यसबाट महिलाहरूमा आत्मबलको विकास भएको छ। आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि तीज माध्यम बनेको छ। तीजमा पीडाका, हिंसाका, साथै महिला अधिकारका गीतसमेत लेखिन र गाइन थालेको पाइन्छ।
तीजको नाममा देखापरेका विकृति
पहिले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म तीज पर्व मनाइने गरिन्थ्यो। उपभोक्तवादी संस्कृतिको प्रभावमा परेर केही सहरिया महिलाहरूले तीजलाई कामकाज छाडेर तीन महिना अघिदेखि पार्टी प्यालेस रिजर्भ गरी भड्किलो रूपमा मनाउने, महँगा कस्मेटिक सामान र दिनदिनै सारी फेरेर फोटो प्रदर्शन गर्नुका साथै तीजलाई फेसनका रूपमा हेर्न थालिएको छ। केही अश्लील गीत पनि बजारमा आएका छन्, जति आधुनिकता बढेको छ त्यति नै परम्परागत गीतहरू, मौलिक नाचहरू र लोक सङ्गीत लोप हुने खतरा बढेको छ।
खास गरी पहिलेपहिलेका तीज गीतमा गरिबी, सासू र नन्द आमाजूको प्रताडना र थिचोमिचोले जन्माएका दुःखदर्दका साथै बालविवाह र अनमेल विवाहबाट भोग्नुपरेका पीडालाई गीतका रूपमा प्रस्तुत गरिएको हुन्थ्यो। माइती लिन आए पनि विभिन्न कारणबाट सबै जना माइत जान पाउँदैनथे। खास गरी पूर्वी पहाड र काठमाडौँ उपत्यकाका नारीहरूले मनको बह यसरी पोख्थे :
तीजको बेलामा सबै जान्छन् माइत
आफ्नो माइत मुग्लानपारि, छैन साइत
पूर्वमा तीजमा संगिनी गीतमा राता सारी तथा धोतीमा महिलाहरूले नाचेको दृश्यले तीजको रौनक नै अर्कै हुन्थ्यो।
अहिले व्यक्तिगत र संस्थागत रूपमा समेत महिला सशक्तीकरण तथा महिला अधिकारका तीज गीत बज्न थालेका छन्। हामीले तीजका नाममा देखापरेका विकृतिलार्ई निरुत्साहित गरी मौलिक संस्कृतिको जगेर्ना गर्नु जरुरी छ। छोरीको घरमा दर पुर्याउने प्रचलन पनि भड्किलो बनेको छ। गहनाको आदानप्रदानले तीज बोझ बन्न पुगेको देखिन्छ।
यी सबै विकृतिलाई निरुत्साहित गरी तीजलाई आत्मनिर्भर भएर नारी शक्तिको पहिचान गराउने अवसरका रूपमा लिनुपर्छ। हाम्रो मौलिक संस्कृति जोगाएर भावी पुस्तालाई अनुशासित, नैतिक र सही मूल्यको हस्तान्तरण गर्नु हाम्रो उत्तरदायित्व हो।
भाषा, साहित्य, धर्म र संस्कृति हामी नेपालीहरूको पहिचान हो। यससँग हाम्रो भावना मात्र जोडिएको नभएर राष्ट्रिय स्वाभिमान गाँसिएको छ। यसर्थ हाम्रो राष्ट्रिय धरोहर तथा हाम्रो संस्कृति जोगाउनु हामी सबैको दायित्व हो।
उपभोक्तावादी संस्कृतिको प्रभावमा परेर विकृति निम्त्याउने गलत संस्कृतिको नक्कल गरेर आधुनिक बन्न खोज्नेहरूलाई सचेत गराउँदै, धर्म र चाडपर्वका नाममा भएका विसंगति, विकृतिको अन्त्य गरी नयाँ पुस्तालाई नारीका सङ्घर्ष र साहसिक कार्यहरू सुनाएर सही मूल्यमा हाम्रो मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने वातावरण बनाउन सकेमा मात्र उचित अर्थमा नेपालीहरूको सांस्कृतिक पहिचान कायम हुनेछ। तीजको महत्त्व र अस्तित्व पनि युगौँ युगसम्म रहिरहनेछ।
Shares

प्रतिक्रिया