उन्नत राजनीति नैतिकतामा आधारित हुन्छ। नैतिकता शुद्धतासँग जोडिएको हुन्छ। शुद्धतालाई विचारले निर्देशित गर्दछ। अनि नैतिकता, शुद्धता र विचार राजनीतिज्ञको व्यवहारमा देखिनुपर्छ। जसले समग्र राजनीतिको नेतृत्व गर्दछ। यस्ता कार्यले राजनीतिलाई पारदर्शी र विश्वसनीय बनाउँछ। नेतृत्वको व्यवहार तथा आचरणले आमनागरिकमा आशा र भरोसा जगाउँछ। र, समाजलाई परिवर्तनउन्मुखतिर डोर्याउँदछ।
कस्ताले आफूमाथि शासन गरिरहेका छन्, त्यसलाई हरेक समाजले सूक्ष्म तरिकाले हेरिरहेको हुन्छ। उसका हरेक क्रियाकलापलाई नजिकबाट निल्यालिरहेको हुन्छ। अझ लोकतान्त्रिक व्यवस्थामा त आमनागरिकले आफूले दिएको मतको सदुपयोग भयो कि भएन भन्ने कुरालाई पनि स्वमूल्यांकन गरिरहेका हुन्छन्। आफूसँग गरेका प्रतिबद्धता, निर्वाचित भएपछि भएगरेका कार्यबारेमा सुसूचित हुन्छन्। अनि अर्को निर्वाचनमा मतदरा अभिमत व्यक्त गर्दछन्। जुन लोकतन्त्रको सुन्दर पक्ष हो।
नेपालमा राजनीतिज्ञमा नैतिकता, वैचारिक शुद्धता तथा पारदर्शी व्यवहार खोज्यो भने पाउन कठिन हुन्छ। अझ अहिलेको अवस्थामा त आशालाग्दो, भरोसायोग्य तथा पत्यारिलो पार्टी तथा नेता हुन र पाउन झनै मुस्किल छ। विशेषगरी नेपालका पुराना पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले वा नेकपा माओवादीलाई हेर्दा आशावादी हुन सक्ने आधार कमजोर हुँदै आइरहेको छ। नेतृत्व गरिरहेकाहरूको विगत र वर्तमान जीवनशैली हेर्दा वा देख्दा आशा र विश्वास गर्न सकिन्न।
फलस्वरुप आमनागरिकमा राजनीतिक दलहरू तथा नेतृत्वप्रति घृणा बढिरहेको छ। उनीहरूमा केबल असन्तुष्टि तथा रोष मात्र देखिन्छ। वैकल्पिक राजनीतिक शक्ति हौँ भन्नेहरू त झनै खोटैखोटयुक्त देखिन थालेका छन्। पारदर्शिताको हिसाबले निकै कमजोर देखिएका छन्। उनीहरूको नेतृत्व नै विवादमा फस्दै गइरहेको देखिन्छ।
यसको मतलब राजनीतिक दल वा नेतृत्वको अगुवाइमा केही नै भएन त? तिनले केही नै गरेनन् वा परिवर्तन भएन भन्यो भने त्यो अन्यापूर्ण हुन्छ। व्यवस्थाप्रतिको पूर्वाग्रही हेराइ हुन्छ। त्यस्ता तर्कलाई सही मान्न सकिँदैन। २०४६ साल वा २०६३ को परिवर्तनपछि भएका राजनीतिक, आर्थिक तथा सामाजिक उपलब्धिलाई नकार्न सकिँदैन। नेपालले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास तथा मानवीय विकासका क्षेत्रमा उल्लेख्यनीय फड्को मारेको छ।
सञ्चार तथा प्रविधिको क्षेत्रमा पनि विश्वलाई पछ्याउँदै गइरहेको छ। अझ सूचना तथा प्रविधिको क्षेत्रमा निकै परिवर्तन गरेको छ। सडक, बिजुली, खानेपानी तथा विकासले नेपालका दुर्गम गाउँबस्तीसम्म पुग्ने क्रममा छ। जसले आमनागरिकको जीवन विगतको भन्दा सहज र सुलभ बनेको छ। तर, यो नै प्रशस्त हो भन्ने होइन। प्रजातन्त्र तथा लोकतन्त्रका चार दशकको बीचमा विश्वमा जे जस्ता परिवर्तन भए, नेपालले त्यही अनुरुप आत्मसात गर्न सकेन। दुर्गम बस्तीलाई राज्यको मूल प्रवाहसँग जोड्न सकिएन। किनकि देशको राजनीतिक नेतृत्वमा देखिएको नैतिक विचलन तथा वैचारिक अस्पष्टताका कारण विकृतिहरू मौलाउँदै गए। जसले राजनीतिलाई थिलथिलो बनायो।
अहिले जसरी परम्परागत राजनीतिक दलहरूको विकल्पको खोजी भइरहेको छ, त्यसैगरी पार्टीहरूभित्र पनि वैकल्पिक नेतृत्वको खोजी भइरहेको छ। संयोगले नेपाल दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशन नजिक आउँदैछ। त्यसकारण पार्टी रुपान्तरण तथा सबल सक्षम नेतृत्वको खोजीका लागि यो उचित समय हो। यसलाई खुला बहसको रुपमा तल्लो तहसम्म लैजानुपर्छ। यो पार्टी रुपान्तरणको सही समय पनि हो।
तर, के नेपाली कांग्रेसजस्तो परम्परागत पार्टीभित्र त्यो सम्भव छ? हामीले भोगेको, देखेको र खोजेको नेपाली कांग्रेस के बीपी कोइरालाको मार्गदर्शनमा अनुसार हिँडिरहेको छ त? के नेतृत्वले पार्टीलाई आशा भारोसायोग्य बनाएको छ त? के आमनागरिकले नेपाली कांग्रेसको नेतृत्वलाई स्वीकार गरेको छ त? के यही नेतृत्वले पार्टी तथा देशमा सुशासन दिन सक्छ त? अनि, के नेतृत्वको जीवनशैली अनुकरणीय बन्दै छ त? यावत् प्रश्नहरू पार्टी र पार्टी नेतृत्वप्रति तेर्सिएका छन्। पार्टी कार्यकर्ता तथा आमनागरिकले उत्तर खोजिरहेका छन्। तर, उत्तर कतै भेटिँदैन।
अब प्रश्न उठ्छ, के नेपाली कांग्रेसमा भरोसायोग्य, नैतिकवान र पारदर्शी नेता नै छैनन् त? सहजै भन्न सकिन्छ, यति पुरानो ठूलो लोकतान्त्रिक पार्टीसँग आमनगारिक तथा पार्टीका कार्यकर्ताले खोजे जस्तै नेतृत्व क्षमता भएका नेताहरू छन्। भेटिन्छन् पनि। खोजी गर्दै जाँदा भेटिने त्यस्ता एक पात्र हुन् डा शेखर कोइराला।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनभन्दा पहिले होस् या पछि उनले मूल रुपमा राजनीति नैतिकता र देशमा सुशासनको विषयलाई मुद्दा बनाइ रहेका छन्। पार्टीभित्र र बाहिर पनि अरुभन्दा उच्च नैतिकता भएको नेताका रुपमा स्थापित छन्। त्यो उनको साधारण जीवनशैली, शुद्ध विचार र सरल आचरणको कारणले सम्भव भएको हो। आम कार्यकर्ता जस्तै आफू पनि सरल जीवनशैली बिताइरहेका छन्।
कोइराला पार्टीमा राजनीति गर्नेहरू नैतिकवान् हुनुपर्छ भन्ने कुरा स्थापित गर्न लागिरहेका छन्। नैतिकवान् नेतृत्वको वकालत गरिरहेका छन्। राजनीतिज्ञमा नैतिकता छैन भने त्यसले समग्र देश तथा व्यवस्थालाई नै दुर्गन्धित बनाउँछ। र, समाजलाई नै धमिलो बनाउँछ। त्यसकारण राजनीति गर्नेले नैतिकवान् बनेर शुद्ध विचारका साथ अघि बढ्नुपर्छ भन्ने कुरालाई नै कोइरालाले राजनीतिक मन्त्र बनाइरहेका छन्। सोहीकारण उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र तथा पारदर्शी प्रक्रियाबारे बारम्बार प्रश्न उठाइरहेका छन्।
विगतदेखि नै निर्वाचनमा टिकट दिने कांग्रेसको प्रक्रिया पारदर्शी नभएको आरोप लाग्दै आइरहेको छ। आफ्ना आसेपासे, भनसुन, पैसा तथा पहुँचको आधारमा पार्टीका टिकट वितरण भएको भनेर नेतृत्वमाथि प्रश्न उठिरहेको छ। यसमा विषयमा कोइरालाले आफ्नो असहमति दर्ज गर्दै आइरहेका छन्। निर्वाचनताका पार्टीको टिकट वितरणका लागि निश्चित मापदण्ड तय गरी योग्यता, क्षमता तथा योगदानको आधारमा न्यायोचित ढंगले टिकट वितरण गर्नु पर्ने भन्दै उनले दबाब दिएका थिए। पार्टी नेतृत्वले समग्रतामा नेता, कार्यकर्तालाई न्याय दिन नसकेकाले उनले देशभर जागरण अभियान सञ्चालन गरिरहेका छन्। र, नेता कार्यकर्तासँग खुला अन्तर्क्रिया तथा छलफल गरिरहेका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेदेखि कोइरालाले सुशासन र भ्रष्टाचार न्यूनीकरणको कुरा उठाइरहेका छन्। उनले बारम्बार प्रधानमन्त्री केपी शर्मा ओलीको म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रतिबद्धतामाथि प्रश्न उठाए। उनले प्रधानमन्त्री ओलीलाई सार्वजनिक रुपमा भने– ‘भ्रष्टाचार गर्दिनँ भनेर रोकिने कुरा होइन। यो त व्यवहारमा देखिने कुरा हो। सरकारको व्यवहारमा देखिएन। सुशासनभन्दा कुशासनले जरो गाडिरहेको छ।’
कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि कोइरालाले नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीलाई बोलाएर जनताको काम गरेर निष्कलंकित भएर काम गर्न निर्देशन दिएका थिए। मलाई बारम्बार भेट्न नआउनू, आफ्ना मन्त्रालयहरूमा सुशासन कायम गर्नू अनि भ्रष्टाचार नगर्नू भनेका थिए। जसरी मन्त्री बन्नु भएको छ, त्यस्तै उच्च नैतिकता र छविका साथ मन्त्री पद गएपछि भेट्न आउनू भनेर सुझाएका डा. शेखर कोइराला आफ्नै पार्टीका मन्त्रीहरूको विरोध गर्नुपर्ने अवस्थामा आइपुगे।
नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरूले असल काम गर्न नसकेको भन्दै डा. शेखर कोइरालाले मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्। उनले गत दसैँमा हवाई भाडा बढाएको तथा नियुक्ति प्रक्रियामा पारदर्शी नभएको भन्दै नेपाली कांग्रेसबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डेको आलोचना गरेका थिए। त्यस्तै भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजनीनामा मागेका थिए। अनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हस्तक्षेप गरेकोमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलमाथि पनि प्रश्न उठाएका थिए। यो कोइरालाको सुशासनप्रतिको प्रतिबद्धता हो।
नेपालमा उच्च कर्मचारीतन्त्रमा आफू अवकाश भएपछि फेरि सरकारी तथा संवैधानिक नियुक्ति लिने विकृति थियो। कोइरालाले त्यसका विरुद्धमा बलियो आवाज उठाए। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राख्नु पर्ने आवाज उठाए। नेकपा एमालेले नचाहेर पनि कोइरालाकै जोडबलमा विधेयकमा कुलिङ पिरियड राख्ने कार्य भयो। तर राज्य व्यवस्था तथा सुशासन समितिमा गएर कुलिङ अफ पिरियडमा गडबडी भएपछि कोइरालाले समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका थिए। जबकि खतिवडा कांग्रेसकै नेता हुन्।
त्यसतै, भूमिसम्बन्धी विधेयकमा राखेको प्रावधानले भूमाफियालाई फाइदा हुने भन्दै कोइरालाले विरोध जनाइरहेका छन्। यस्ता यावत् विषयमा आफ्नै पार्टी तथा संयुक्त सरकारका बारेमा प्रश्न गरिरहेका छन्। अर्को महत्त्वपूर्ण कुरा, कोइरालाले संसदमा बेथिति बढ्दै गएकाले संसदमा एथिक्स कमिटी बनाउनु पर्ने माग पनि गरिरहेका छन्।
वर्तमान राजनीतिमा शेखर कोइराला एक्ला यस्ता पात्र हुन्, जसले सुशासनका लागि पार्टीभित्र र सरकारसँग एकैचोटि लडिरहेका छन्। पार्टीभित्र राजनीतिक स्वतन्त्रताको लडाइँ लडिरहेका छन्। उता सरकारसँग सुशासन र भ्रष्टाचारमुक्त सेवा प्रवाहका लागि दबाब बढाइरहेका छन्। देशमा दुई ठूला दल मिलेर सरकार बनेपछि संसद् तथा सडक प्रतिपक्षविहीन जस्तै बनेको अवस्थामा कोइरालाले जनताको पक्षमा आवाज उठाइरहेका छन्। र, सरकारलाई उत्तरदायी तथा जिम्मेवार बनाउने अभियानमा निरन्तर लागिरहेका छन्।
नेपाली कांग्रेसभित्र वर्तमान नेतृत्वको दबदबा रहेको अवस्थामा पनि उनको अगुवाइमा आन्तरिक लोकतन्त्रको लागि बहस चलिरहेको छ। नेतृत्वलाई अझ पारदर्शी बनाउने कार्यलाई उनले प्राथमिकता दिएका छन्। नेतृत्वको नैतिकता र वैचारिक शुद्धताको खडेरी रहेको समयमा कोइराला कांग्रेसभित्र रोलमोडलका रुपमा स्थापित भइरहेका छन्। र, आफूले पार्टीलाई पारदर्शी, एकताबद्ध र वैचारिक बनाएर सबैलाई न्याय हुने पद्धतिको विकास गर्ने प्रतिबद्धता गरिरहेका छन्।
(लेखक अवस्थी, युवा, विकास, राजनीति तथा समसामयिक विषयमा लेख्छन्।
Shares

प्रतिक्रिया