ब्लग


न्यायालयको जात्रा सफा गरौँ, बिचौलियालाई बिदा गरौँ

न्यायालयको जात्रा सफा गरौँ, बिचौलियालाई बिदा गरौँ

हरि भट्टराई
साउन २५, २०८२ आइतबार १२:४, काठमाडौँ

सांस्कृतिक गाईजात्रामा गाई सजिन्छ, अदालतको जात्रामा बिचौलिया सजिन्छ।

गाईजात्रा हाम्रो संस्कृति र व्यंग्यसाहित्यको अद्वितीय पर्व हो, मृतकको सम्झना र आत्माको शान्ति दिने हेतुसँग जोडिएको। तर, आजको समाजमा यो पर्व विकृति, विसंगति र अन्यायविरुद्धको आवाज मुखर बनाउने एक शक्तिशाली माध्यम बनेको छ।

गाईजात्राले समाजलाई ऐना देखाउँछ। कहिले हाँसोमा, कहिले धारिलो व्यंग्यमा।

यस वर्षको गाईजात्रा अदालतको ढोकाबाट सुरु गरौँ। किनकि, न्यायको मन्दिरभित्र पनि एउटा निरन्तर ‘जात्रा’ चलिरहेको छ। गाईको साटो यहाँ दलाल, बिचौलिया र कानुनको नाममा छड्के बाटो देखाउने पात्रहरूको घुइँचो छ।

अदालतका बिचौलिया: दलाल संस्कृतिको प्रतिरूप
अदालतमा पुग्ने धेरै सेवाग्राही पहिलोपटक कानुनी प्रक्रिया जटिल छ भनी आत्तिन्छन्। यही अवसरलाई बिचौलियाले आफ्नो धन्दा बनाउन प्रयोग गर्छन्।

यिनीहरू फाइल छिटो चलाइदिने, निर्णय अनुकूल पारिदिने वा प्रक्रिया छोट्याइदिने बहानामा पैसा असुल्ने।

यी पात्रहरूको वेश बदलिरहन्छ। कहिले टाई बाँधेर कानुनको प्रवक्ता, कहिले चप्पल च्यापेर कर्मचारीको ‘छेउछाउ’, कहिले ‘दाइ, म छु नि’ भन्दै कानुनी ढोका-गेटमै पर्खाल बनेर। अझ विडम्बना, कतिपय अवस्थामा बिचौलिया आफैँ कर्मचारी हुन्छन्।

गाईजात्रामा गाईको टाउकोमा माला, यहाँ फाइलको मुखपृष्ठमा ‘तात्कालिक’ ट्याग। गाईजात्रामा हाँसो, यहाँ पीडितको ऋण र आँसु।

गाईजात्रामा सत्य व्यंग्यमा लुकेको, यहाँ सत्य बिचौलियाको झोलामा हराएको।

गाईजात्रामा वेश बदल्ने पात्र एक दिनका लागि सक्रिय हुन्छन्, अदालतको जात्रामा भने वेश बदल्ने पात्र वर्षभरि हाबी हुन्छन्।

बिचौलिया निषेध किन र कसरी?
यो केवल चेतावनी होइन, यो न्यायको मेरुदण्ड हो।

प्रत्येक अदालतमा गुनासो सुन्ने अधिकारी हुन्छन्। समस्या त्यहीँ राखौँ, बिचौलियासँग होइन। नहुने काम कसैले पनि गर्न सक्दैन, हुने काम तपाईं आफैँ गर्दा नै पक्का हुन्छ। उजुरी गर्ने संस्कार बसालौँ। दलाल देख्दा वा कर्मचारीबाट अनियमितता अनुभव गर्दा चुप नबसौँ। ‘छिटो हुन्छ’ भन्ने लोभ र अफवाहबाट बचौँ।

न्यायको बाटो पारदर्शी छ तर हामीले त्यसलाई छोडेर हुलतन्त्रको भिडतर्फ मोडिँदैनौँ भने मात्र। दलालको पछि लाग्नु भनेको न्यायको मूल ढोका छोडेर पछाडिको चोर बाटो खोज्नु हो, जसले कहिल्यै स्थायी समाधान दिँदैन।

न्यायको ढोका सबैका लागि खुला छ तर त्यो पार गर्न आत्मविश्वास, सचेतता र कानुनी प्रक्रियाप्रति विश्वास आवश्यक छ।

यो वर्षको गाईजात्रामा हाँसौँ, व्यंग्य गरौँ तर केवल मनोरञ्जनका लागि होइन, चेतनाका लागि।

तसर्थ, गाईजात्रा २०८२ को प्रतीज्ञा गरौँ- बिचौलियालाई देखेँ भने उजुरी गर्छु। दलाललाई छोड्छु, प्रक्रिया समाउँछु।

न्याय मेरो हातमै, उसको दलालीमा होइन।

न्यायको बाटो सफा गरौँ, बिचौलियालाई बिदा गरौं।

(न्यायकर्मी हरि भट्टराई सार्वजनिक उत्तरदायित्व र न्यायिक सुधारमा सरोकार राख्छन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad