जुन किसिमका भ्रम ममा पनि थुप्रै थिए पहिला। अहिलेचाहिँ केही घटाएँ कि?
तर लेखन बजारमा भ्रम यति शक्तिशाली भइसकेको छ कि जान्दाजान्दै पनि कतिपय गल्ती दोहोर्याइरहन विवश छु।
किनकि हाम्रो दृष्टि नै यसरी दिग्भ्रमको दलदलमा परिसकेको छ कि सही लेख्दा गलत, गलत लेख्दा सही देख्ने भएको छ।
-टोपबहादुर रायमाझी सांसदबाट निलम्बन
साथी दगुर्दै आए र आत्तिँदै भने, ‘होइन, होइन, निलम्बित!’
म पनि एकछिन अलमलमा परेँ।
साँच्चै, यहाँनिर निलम्बन लेख्नु उपयुक्त हो कि निलिम्बित?
शब्दकोश पल्टाउँदा यस्तो भेटेँ-
निलम्बन : १. कुनै ओहदामा रहेको पदाधिकारी वा कर्मचारीलाई अनियमितता वा भ्रष्टाचार गरेको सूचना दिई नियमअनुसार छानबिन गर्न राखिने काम। २. पद, अधिकार वा दायित्वको रोक्का।
अनि ‘निलम्बित’को अर्थ : निलम्बन गरिएको।
यसो गम खाँदा त्यहाँ निलम्बन नै उचित हो कि?
निलम्बनले नै काम तमाम गर्छ भने किन निलम्बिततिर दौडिनु?
फेरि त्यो शीर्षक हो। त्यसैले ‘निलम्बित’ अन्त्यमा फ्यात्त पार्ने शब्द पनि होइन कि जस्तो लाग्छ।
यो लेखिरहँदा क्या काइदाको शीर्षक देखेँ- भ्रष्टाचार मुद्दामा निलम्बित सांसद मोहन बस्नेत अदालतमा उपस्थित
यो हो नि तरिका ‘निलम्बित’ प्रयोगको।
अरू उदाहरण हेरौँ :
-बालकुमारी घटनामा निलम्बित डीएसपी र असईको कारबाही फुकुवा
-रास्वपाले निलम्बित महामन्त्री ढकालबारे बुधबार निर्णय गर्ने
-निलम्बित न्यायाधीश थुनामै राख्न सर्वाेच्चको आदेश
अर्थात् निलम्बित डीएसपी, निलम्बित महामन्त्री, निलम्बित न्यायाधीश।
‘निलम्बित’को प्रयोग यस्ता स्थानमा पो उपयुक्त हो कि?
त्यसो त ‘टोपबहादुर रायमाझी सांसदबाट निलम्बन’ पनि सही लेखाइ होइन।
किनकि निलम्बन व्यक्ति टोपबहादुर होइन, उनको सांसद पद गरिएको हो। मान्छे नै ‘निलम्बन’ भन्दाखेरि अर्कै अर्थ लाग्ने खतरा हुन्छ।
अतः ठिक लेखाइ हो : टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
‘टोपबहादुर रायमाझी सांसदबाट निलम्बित’सम्म त जसोतसो ‘मिलाएर’ (तर पढ्नेले नै मिलाएर बुझ्नुपर्ने बाध्यता उतिसारो राम्रो होइन) बुझिदिउँला।
तर हामी ‘निलम्बित’को अपचलन यतिसम्म गरिदिन्छौँ :
-भ्रष्टाचार मुद्दा लागेपछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारी पदबाट निलम्बित भएका छन्।
-दुईजना गार्डलाई निलम्बित गरिएको छ।
माथि नै भनियो- निलम्बितको अर्थ ‘निलम्बन गरिएको’ हो।
अब ‘निलम्बित गरिएको’ भनेपछि के भो?
नेपाली सञ्चारमाध्यममा व्यापक मात्रामा दुरुपयोग भइरहेको अर्काे शब्द हो- स्थगित।
-विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
-एमालेको स्थायी कमिटी बैठक स्थगित
दुवैमा ‘स्थगन’ लेख्दा हुन्न र?
शब्दकोश पल्टाऊँ।
स्थगन : १. गति वा चालमा अवरोध। २. हुँदै गरेको कामलाई रोक्ने काम; रोकावट।
‘स्थगित’को अर्थ : स्थगन भएको; स्थगन गरिएको।
अब सोचौँ- ती शीर्षकमा ‘स्थगित’ ठिक होला कि ‘स्थगन’?
अर्काे कुरा, निलम्बितजस्तै स्थगित पनि पुछारमा पछार्ने शब्द होइन कि?
हेरौँ यो उदाहरण : सोमबार स्थगित एन्फाको बैठक बिहीबार बस्ने
अर्थात् ‘स्थगित’ले पछाडि अर्काे शब्द माग गर्छ कि जस्तो लाग्छ।
शीर्षकमा राखिने ‘स्थगित’लाई त जसोतसो पचाउँला।
तर भ्रम यतिसम्म व्याप्त छ कि जहाँ पनि ‘स्थगित’ ठोकिहाल्छौँ। मानौँ, स्थगन भन्ने शब्दै छैन।
केही उदाहरण :
-आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सोमबार बस्ने गरी स्थगित भएको छ।
-एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण सोमबारको बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिए।
-कर्मचारी सरुवा स्थगित गरिएको निर्णय फुकुवा भएको छ।
‘स्थगित’को अर्थ : स्थगन गरिएको। यसमाथि ‘गरिएको’ थोपरेपछि आउने अर्थ केलाएर हेर्नुहोस्।
-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा पराजित सभापति, उपसभापति, महामन्त्रीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
माथिको वाक्यमा मनोनीत कि मनोनयन?
ठ्याक्कै यस्तै भ्रम ‘प्रकाशित’मा पनि देखिन्छ।
-एसईईको नतिजा प्रकाशित गरिएको छ।
जसरी स्थगितको अर्थ ‘स्थगन गरिएको’, निलम्बितको अर्थ ‘निलम्बन गरिएको’ हो, ठिक त्यसैगरी प्रकाशितको अर्थ ‘प्रकाशन गरिएको’ हो।
तर जहाँ पनि ‘प्रकाशित’ ठोकिहाल्ने प्रवृत्तिले प्रकाशन शब्द त लोप नै होलाजस्तो भइसक्यो।
‘प्रकाशित’ त यस्ता स्थानमा पो राख्ने शब्द हो कि?
-नेपालखबर अनलाइनमा प्रकाशित समाचार हटाउन काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ।
‘प्रकाशित समाचार’ भन्नुको अर्थ भयो- प्रकाशन भएको वा गरिएको समाचार।
‘प्रकाशित’मा पनि ‘गरिएको’ थपेपछि त अर्थ के भयो?
यस्तै, हामी पत्रकार/लेखक/सम्पादकलाई भ्रममा लतार्ने अर्काे शक्तिशाली शब्द बनेको छ- लक्षित।
-अर्थमन्त्रीलाई बीचमै रोकेर उपसभामुखलाई लक्षित गर्दै कांग्रेस सचेतक रास्वपामाथि खनिएपछि...
-राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
-चीनलाई लक्षित गरेर दर्जनौँ संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
‘लक्षित’को अर्थ हो- लक्ष्य गरिएको।
‘लक्षित’मा पनि ‘गर्दै’, ‘गरेर’ जोडेपछि अर्थ कस्तो निस्केला? आफैँ अनुमान गर्नुहोला।
हेरौँ, ‘लक्षित’ शब्दको उचित प्रयोगका केही उदाहरण :
-किन सुरु गरियो भारत र बंगलादेश लक्षित पर्यटन प्रवर्द्धन अभियान
-नेपाली युवा लक्षित चीनको नयाँ कार्यक्रम
-लक्षित वर्गले नदेखेको बजेट
नेपाली सञ्चारमाध्यममा भ्रमको सिकार भइरहेको अर्काे शब्द हो- घोषित।
-यो वर्ष फोर्ब्सले ६१ वर्षीय बेजोसलाई संसारको तेस्रो सर्वाधिक धनी व्यक्ति घोषित गरेको छ।
-सिन्धुपाल्चोकको माङ्खामा गएको पहिरोमा हराइरहेका १ सय २३ जनालाई जिल्ला प्रशासन कार्यालयले मृत घोषित गरेको छ।
-सिजन मिडिया आयोजक रहेको ‘जुनियर स्कुल प्रिन्स एन्ड प्रिन्सेस’को एउटै स्टेजमा तीन विजेता घोषित गरिएको छ।
‘घोषित’को अर्थ हो- घोषणा गरिएको। यसमा पनि ‘गरिएको’ थपेपछि?
त्यसो भए ‘घोषित’ कहाँ लेख्ने त?
हेरौँ उदाहरण :
-मृत घोषित बलात्कारी जीवित भएको पत्ता लगाउने भारतकी एक आमा
-मृत घोषित महिला पाँच घण्टापछि जीवित
‘नोना कोइराला स्मृति प्रतिष्ठानको १७औँ स्थापना दिवसका अवसरमा पत्रकार किशोर नेपाललाई पुरस्कृत गरिएको छ’ शैली पनि नेपाली पत्रकारिता जगत्मा व्याप्त छ।
‘पुरस्कृत’को अर्थ : पुरस्कार दिइएको, पुरस्कार पाएको।
अब भन्नुहोस्, ‘पुरस्कृत गरिएको छ’ लेखेपछि अर्थ के आउँछ?
अतः त्यस्तो अडबाङ्गे लेख्नुभन्दा सिधै ‘पुरस्कार दिइएको छ’ लेख्दा कति राम्रो।
अँ, यस्तै खालको अर्काे एउटा बाक्लै देखिने भ्रम पनि झ्वाट्ट याद आयो।
-२२औँ राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तुका चार उत्कृष्ट कृषकलाई सम्मानित गरिएको छ।
‘सम्मानित’को अर्थ हो- सम्मान गरिएको।
कस्तो कल्पनामा लेखिन्छ होला त गाँठे- ‘सम्मानित गरिएको छ’ ?
यस्तै अर्काे उदाहरण : दिलजित दोसाँझले हालै आफ्नो लाइभ कन्सर्टमा हानिया आमिरलाई स्टेजमा आमन्त्रित गरेका थिए।
‘आमन्त्रित’को अर्थ : आमन्त्रण गरिएको वा बोलाइएको।
माथिको लेखाइ मिल्यो त?
‘आमन्त्रित’ त यस्ता स्थानका लागि पो हो कि?
-आमन्त्रित सदस्यका लागि छुट्टै कुर्सीको व्यवस्था गरिएको छ।
-रमेश आमन्त्रित खेलाडी हुन्।
तपाईं/हामीले लेखिरहने अर्काे शैली हो : ‘...निर्वाचित भएका छन्’, ‘...निर्वाचित गरेको छ।’
शब्दकोशका अनुसार ‘निर्वाचित’को अर्थ : मतद्वारा छानिएको, निर्वाचन भएको, चुनिएको।
तर हामी लेख्छौँ : राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।
माथिको अर्थअनुसार त सही लेखाइ यस्तो पो हुनेरहेछ : राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचन भएका छन्।
तर यस्तो लेख्न थालौँ त, सानोतिनो ‘भूकम्प’ नै जाला।
किनभने ‘निर्वाचित’ लेख्दा लेख्दा हामी भ्रमको जालोमा यसरी फसिसकेका छौँ कि त्यसबाट फुत्किन असम्भवजस्तै भइसकेको छ।
तर मेरो ठहर छ- ‘निर्वाचित भएका छन्’ गलत नै हो।
‘निर्वाचन भएका छन्’ अनौठो लागे ‘चुनिएका छन्’ लेखेर पनि गलत लेखाइबाट बच्न सकिन्छ भन्ने लाग्छ।
‘निर्वाचित’को प्रयोग त यस्ता ठाउँमा पो हो कि :
-प्रतिनिधि सभामा निर्वाचित सांसदमध्ये १६ जना नयाँ अनुहार छन्।
-प्रचण्ड गोरखा-२ बाट निर्वाचित सांसद हुन्।
अर्काे कुरा, ‘निर्वाचित’ अन्तिममा राख्ने शब्द पनि होइन कि जस्तो लाग्छ।
जस्तो : गोरखा-२ बाट प्रचण्ड निर्वाचित
कसरी लेख्ने त?
‘गोरखा-२ बाट प्रचण्ड चुनिए’- यस्तो लेख्दा हुँदैन र?
-इलाममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन्।
यो हाम्रो अर्काे ‘अनुपम’ शैली हो।
शब्दकोश हेरौँ।
‘बलात्कृत’को अर्थ : बलात्कार गरिएको।
यसअनुसार त्यो शीर्षकको अर्थ हुन्छ : इलाममा १३ वर्षीया बालिका ‘बलात्कार गरिएको भएकी’ छन्।
‘बलात्कृत’ शब्द त यस्ता स्थानका लागि पो होला त :
-बलात्कृत बालिकाको अवस्था गम्भीर छ।
-आफ्नै काकाबाट बलात्कृत युवती मृत भेटिइन्।
हालै एउटा यस्तो वाक्य देखेँ : यो पहल इरानलाई युरेनियम रोक्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो।
‘प्रोत्साहित’को अर्थ : प्रोत्साहन दिइएको।
त्यहाँ ‘प्रोत्साहन गर्ने उद्देश्यले’ लेख्नुपर्ने होइन र?
छोटो बनाउँदा बदलिएको अर्थ
-पूर्वप्रधानमन्त्री नेपालका पक्षमा सय बढी वकिल
भनेपछि तोकिएभन्दा सय जना बढी वकिल आएछन्।
अब प्रश्न उठ्छ- ठिक्क संख्याचाहिँ कति थियो कुन्नि?
यहाँ ‘भन्दा’ नलेखेर छोटो बनाउँदा अर्थले लियो अर्कै बाटो।
तर यो चलन यति व्यापक बनिसकेको छ कि कोही बदल्ने पक्षमा देखिँदेनन्।
नेपाली सञ्चारमाध्यममा व्याप्त अर्काे भ्रम हो- सहिद परिवार।
परिवारै सहिद! एकजना पनि बाँचेनन्?
मृतक परिवार र मृतकका परिवार भन्नु फरक छ कि छैन?
त्यसैले त्यस्तो अनर्थ हुन नदिन अल्छी नमानीकन लेख्नैपर्छ- सहिदको परिवार।
यस्तो शैलीले पनि नेपाली सञ्चारमाध्यमलाई नराम्रोसँग गाँजिरहेको छ : ‘गाँजासहित एकजना प्रहरी नियन्त्रणमा’
यस शीर्षकबाट के बुझिन्छ भने गाँजासहित एकजना प्रहरी (कसैको) नियन्त्रणमा परेछन्। यसै भन्न खोजिएको त पक्कै होइन होला।
एउटा ‘को’ नलेखेर शीर्षक छोट्याउन खोज्दा अर्थ भसक्कै अर्काेतिर गयो। त्यसैले लेख्नैपर्छ- गाँजासहित एकजना प्रहरीको नियन्त्रणमा।
-मन्त्रिपरिषद् हेरफेर (सूचीसहित)
मन्त्रिपरिषद् नै हेरफेर? होइन होला। मन्त्री मात्र हेरफेर होला।
मन्त्रिपरिषद् नै हेरफेर गर्न त मन्त्रीमण्डल नै दुई/चारवटा हुनपर्यो नि!
-मृतक संख्या दुई हजार नाघ्यो
मृतक संख्या कि मान्छे?
मान्छे हो भने लेख्नैपर्छ- मृतकको संख्या।
-सचिवालय सकिएलगत्तै एमाले संसदीय दलको बैठक सुरु
सचिवालय समिति नै सकिएको हो त? होइन होला। यसको बैठक मात्र सकिएको हो।
पक्कै पनि यहाँ बैठक शब्द दोहोरिन नदिन र शीर्षक छोटो बनाउन त्यसरी लेखिएको होला। तर त्यसका नाममा अर्थै बिग्रने गरी लेख्नु ठिक हो र?
स्वतन्त्र सम्पादक एवं भाषाविद् शरच्चन्द्र वस्ती ‘हाम्रो भाषा’ पुस्तकमा लेख्छन्, ‘स्पष्टताको मूल्यमा वाक्य छोट्याउन हुँदैन। छोटो–छरितो पार्ने धुनमा वाक्य अस्पष्ट, अपूरो र पाठकलाई बुझ्न सकस पर्ने खालको नहोस् भनेर सधैँ ख्याल गर्नुपर्छ। भन्छन् नि- मौकामा हीरा फोर्नू, बेमौकामा कौडी नछोड्नू।’
अन्य भाषिक भ्रम
अहिले बाढी र पहिरोको बेला छ। नेपाली सञ्चारमाध्यममा ‘बाढी-प्रभावित’, ‘पहिरो-प्रभावित’ शब्दको ‘बाढी’ सुरु भइसकेको छ।
त्यसो त चलनचल्तीअनुसार म आफैँ पनि त्यस्तै लेखिरहेको छु/लेख्न बाध्य छु।
तर मलाई लाग्छ- यो पनि शाब्दिक अपचलन हो।
‘प्रभाव’ शब्दबाट ‘प्रभावित’ बनेको हो। जुन सकारात्मक अर्थमा प्रयोग हुन्छजस्तो लाग्छ।
शब्दकोशले दिएका यी अर्थले पनि त्यही संकेत गर्छन्-
प्रभाव :
(५) व्यक्ति वा वस्तुको शक्ति, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर, छाप।
(६) व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य, शक्ति।
शब्दकोशले ‘प्रभाव’अन्तर्गत बाँकी १, २, ३ र ४ नम्बरमा दिएका अर्थले पनि ‘प्रभावित’ शब्द बाढी, पहिराजस्ता विषयका लागि प्रयोग गर्न नमिल्ने नै प्रस्ट पार्छन्।
सिधै ‘प्रभावित’कै अर्थ पनि हेरौँ न त : कसैको प्रभाव वा असर परेको।
यहाँ शब्दमा ध्यान दिनुहोला- ‘कसैको’, यसले व्यक्तिलाई संकेत गरेको छ।
‘प्रभावशाली’ शब्द पनि ‘प्रभाव’कै जगमा बनेको हो। यसको अर्थ पनि हेरौँ है शब्दकोशमा : ‘प्रभाव पार्न सक्ने गुण भएको, धेरै प्रभाव पार्न सक्ने, प्रभाववान्।
त्यही भएर मानिस प्रभावित कसैको व्यक्तित्व, प्रेम वा शक्तिबाट हुन्छ नकि बाढी-पहिरोबाट।
यसैले ‘प्रभावित’को अप्राकृतिक गठबन्धनतिर लाग्नुभन्दा सोझै ‘बाढीपीडित’ लेख्दा के बिग्रेला त?
अर्कातर्फ नेपाली सञ्चारमाध्यमले नकारात्मक भाव दिने ‘निष्कासन’ शब्दलाई चाहिँ सकारात्मक अर्थमा भरमार प्रयोग गरिरहेका छन्।
-नबिल बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ।
-पियोर इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ।
अब अर्काे खाले ‘निष्कासन’ हेरौँ है त :
-अमेरिकाले थप पाँच नेपालीलाई गर्यो निष्कासन
शब्दकोश हेरौँ।
निष्कासन :
१. घर, संस्था, कार्यालय आदिबाट कसैलाई निकाल्ने काम, निकाला।
२. प्रवेश रद्द गर्ने काम।
३. सम्बन्धित संस्था वा कार्यालयको दायित्वबाट हटाउने काम।
‘राष्ट्र बैंकले १००० रुपैयाँको नोट निष्कासन गरेको छ’, उदाहरण दिँदै वस्ती कटाक्ष गर्छन्, ‘नोटलाई घोक्रेठ्याक?’
तर वस्तीले आफ्नो पुस्तकमा त्यसो भए त्यस्ता स्थानमा ‘निष्कासन’को सट्टा कुन शब्द प्रयोग गर्ने त भन्ने विषयमा बताएका छैनन्।
मेरो विचारमा आईपीओ वा नोट प्रकाशन भन्दा हुन्छ होला (अथवा यो भन्दा राम्रो विकल्प छ भने खोजौँ)।
तर भ्रान्तिले यति गाँजिसकेको छ कि त्यस्ता समाचारमा ‘निष्कासन’ नलेखी सुख नपाइने अवस्था छ।
-प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कार्यसूची भनेको कार्यहरूको सूची हो। एउटा बैठकका लागि एउटै कार्यसूची बनाइएको होला। दुई/चारवटा कार्यसूची भए पो ‘यस्ता छन्’ भन्न मिल्यो।
तर हामी के भ्रममा पर्छाैं भने कार्यसूचीमा समावेश धेरैवटा कार्यक्रमलाई नै कार्यसूची ठान्छौँ।
यसकारण कि ‘यस्ता छन् कार्यक्रम’ कि ‘यस्तो छ कार्यसूची’ लेख्नुपर्छ।
‘दुवै सदनका बैठक बस्दै, यस्ता छन् कार्यसूची’ भन्नचाहिँ मिल्छ। किनभने प्रतिनिधि सभा र राष्ट्रिय सभाका कार्यसूची छुट्टाछुट्टै हुने भएकाले दुइटा भए।
संघीय सरकार, संघीय संसद् रे!
अनि प्रदेशका सरकार र संसद्चाहिँ असंघीय?
बरु संघ (प्रान्त) भनेकै प्रदेश हुन्। यस आधारमा खास संघीय सरकार र संसद् त प्रदेशका पो हुन्।
तर यहाँ ठिक उल्टो- केन्द्रको सरकारलाई संघका रूपमा प्रस्तुत गर्न खोजिरहेका छौँ। केन्द्रका सरकार र संसद्अगाडि जुन संघीय शब्द छ, खासमा यो केन्द्रीयको सट्टा प्रयोग गरिरहेका छौँ।
लेखिनुपर्ने हो- केन्द्रीय सरकार, केन्द्रीय संसद्।
-सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको जारी अवरोध हटाउन मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
सभामुखले मध्याह्न १२ बज्दा बैठक डाकेछन्, अनि कहिलेका लागि रहेछ?
त्यस वाक्यमा भन्न खोजिएको कुरा हो- सभामुखले मध्याह्न १२ बजेका लागि अर्थात् त्यस समय बस्ने गरी बैठक आह्वान गरेका हुन्।
त्यसैले प्रस्टसँग लेख्नुपर्छ- सभामुखले मध्याह्न १२ बजेका लागि बैठक बोलाएका छन्।
हाम्रा सारा (अपवादबाहेक) सञ्चारमाध्यमले ‘स्पष्टीकरण सोध्यो कि सोध्यो’ ठोकिरहेका छन्।
एउटा ताजा शीर्षक : एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण
स्पष्टीकरण प्रश्न हो र सोध्नलाई?
‘स्पष्टीकरण’ आफैँमा कुनै प्रश्न होइन। बरु यो त लिखित (मौखिक पनि हुन सक्छ) जवाफ पो हो त!
अतः स्पष्टीकरण खोज्नु भनेको जवाफ माग्नु हो।
त्यसैले ठिक लेखाइ हो- रामकुमारी झाँक्रीलाई एकीकृत समाजवादीले माग्यो स्पष्टीकरण
अझ तीनदिने, सातदिने स्पष्टीकरण भनेर पनि लेख्ने लहर थामिनसक्नु छ।
‘दिने’ भनेको दिनको। तीनदिने भनेपछि तीन दिनको स्पष्टीकरण मागिएको हो त?
होइन नि!
तीन दिनभित्र स्पष्टीकरण दिनु वा बुझाउनु भनिएको हो।
अझ कहिलेकाहीँ हामी यस्तोसम्म लेखिदिन्छौँ : राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरको स्पष्टीकरण, चितबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरपालिकाले चाहिँ स्पष्टीकरण दिएको हो त? जे पायो त्यही।
अर्काे कुरा, महानगर र महानगरपालिकामा पनि फरक छ।
महानगर भनेको सहर हो भने महानगरपालिका भनेको निकाय। स्पष्टीकरण सहरले लिन सक्दैन, निकायले मात्र लिन सक्छ।
-नेपालको विजयी सुरुवात
खेल समाचारमा सबै सञ्चारमाध्यमले लेख्ने तरिका हो यो।
तर ‘विजयी’ भनेको जित हासिल गरेको व्यक्ति वा टोली हो अर्थात् विजेता हो।
‘विजेता’ सुरुवात गर्ने कुरा हो र?
तर हाम्रो दिग्भ्रमित दृष्टिले ‘नेपालको विजयी सुरुवात’ लेख्दा गजब देख्छ भने ‘नेपालको विजय सुरुवात’ लेखिँदा गलत!
‘विजय’ भनेको जित हो। र, त्यो जितकै सुरुवात हो।
कहिलेकाहीँ यस्ता शीर्षक पनि देखिन्छन् :
-नेदरल्यान्ड्सविरुद्ध नेपालको हार
-लाओसविरुद्ध १–० ले पछि पर्यो नेपाल।
विरुद्ध पनि हार्देको, पछि पर्देको !
त्यसो होइन।
यस्तो हो- नेदरल्यान्ड्ससँग नेपालको हार, लाओससित १–० ले पछि पर्यो नेपाल
-मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा
‘पराजित गर्दै’ ले ‘हराउँदै’ अर्थ दिँदैन।
पराजित भनेको ‘हारेको’ हो।
यसलाई एउटा उदाहरणबाट प्रस्ट पारौँ : नेपालसँग पराजित मलेसिया भुटानसँग भिड्ने
त्यसैले ‘पराजित गर्दै’ भनेर लामो र अमिल्दो लेखनतिर लाग्नुभन्दा ‘मलेसियालाई हराउँदै नेपाल फाइनलमा’ लेख्नु कति छोटो, कति मिठो!
‘नेपाल आउने पर्यटक बढे’ रे!
पर्यटक भनेको व्यक्ति हो। ऊ बढ्नु भनेको अग्लो वा मोटो हुनु हो। हामीले पक्कै त्यसो भन्न खोजेका होइनौँ होला।
त्यसैले प्रस्टसँग लेख्नुपर्छ- नेपाल आउने पर्यटकको संख्या बढ्यो
शब्दकोश आफैँ भ्रममा
नेपाली भाषाको आधिकारिक शब्दकोश हो- प्रज्ञा नेपाली बृहत् शब्दकोश।
त्यही हेरेर यो आलेख तयार पारिरहँदा कतिपय कुरामा शब्दकोश आफैँ भ्रममा रहेको पाएँ।
सवारी र सवारीसाधन भन्नु एउटै कुरा हो?
मैले सामान्य ढंगले बुझेको- सवारी भनेको सवार (यात्रा) गर्ने काम, अनि सवारीका निम्ति प्रयोग गरिने साधन- ‘सवारीसाधन’।
अर्थात् मैले भन्न खोजेको- सवारी र सवारीसाधन एकै कुरा होइनन्। एउटै हो भने दुइटा शब्द किन?
तर शब्दकोशले दुवैलाई एउटै डालोमा हाल्न खोजेको छ।
‘सवारीसाधन’को अर्थमा शब्दकोश लेख्छ : सवारीका लागि प्रयोग हुने कुनै पनि साधन। उदाहरणसमेत दिएको छ : हात्ती, घोडा, मोटर, जहाज, ऊँट।
त्यही शब्दकोश अर्काे ठाउँमा लेख्छ- ‘सवारी’को अर्थ : कहीँ जानका लागि वाहनका रूपमा प्रयोग गरिने साधन, यान।
गजब छैन त?
‘सवारी’ आफैँमा साधन हो भने ‘सवारीका लागि प्रयोग हुने कुनै पनि साधन’ (सवारीसाधन) किन चाहियो?
‘सवारी’का लागि पहिलो नम्बरमा शब्दकोशले जुन अर्थ दिएको छ, दोस्रो र तेस्रो नम्बरमा भने त्यही कुरा काट्ने गरी लेखेको छ।
२. घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीँ जाने काम।
३. राजा वा प्रतिष्ठित व्यक्तिको कुनै यात्राका निम्ति प्रस्थान वा यात्राबाट हुने फिर्ती आगमन।
यो तालले त ‘राजाको सवारी’ लेखियो भने राजाको यात्रा भनेर बुझ्ने कि राजाको सवारीसाधन?
...यातायात सुचारु भएको छ।
बन्द यातायात खुलेपछि हामी सबैले लेख्ने यसैगरी हो।
तर भाषाविद् वस्ती यस्तो प्रयोगलाई ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिन्छन्।
उनी भन्छन्, ‘चारु भनेको सुन्दर हो र सुचारुको अर्थ हो- ज्यादै सुन्दर वा रुचिकर।’
उनले यसो भनेपछि मैले शब्दकोश पल्टाएँ।
सुचारुको अर्थ : ‘खुब राम्रो, ज्यादै सुन्दर’ नै हो रहेछ।
‘नेपाली बृहत् शब्दकोश’ हुँदासम्म यसको अर्थ अरू छैन पनि।
तर अहिले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ भएर आएपछि यसको अर्थ अरू पनि लगाइएको रहेछ।
अर्थात् सुचारु भनेको राम्ररी चलेको, सुचालु पनि हो रे!
तर शब्दकोशको यो कुरा मलाई भ्रमपूर्ण लाग्यो।
किनभने अर्काे ठाउँमा उही भन्छ- ‘चारु’को अर्थ : सुन्दर, मनोहर, रमणीय। अनि त्यही ‘चारु’अगाडि ‘सु’ थप्दा एकाएक कसरी हुन्छ- सुचालु?
धूम्रपान ठिक कि धूमपान?
वस्ती भन्छन्, ‘धूम्र शब्दको अर्थ हो- ध्वाँसो। मान्छेले ध्वाँसो होइन, धुवाँ पिउँछन्। धुवाँलाई धूम भनिन्छ। त्यसैले शुद्ध शब्द धूमपान हो।’
तर शब्दकोशले धूम्रपान र धूमपानलाई पर्यायवाची शब्दका रूपमा राखेको रहेछ। यति मात्र होइन, शब्दकोशले ‘धूम्र’को अर्थ ‘ध्वाँसो’का साथै ‘धुवाँ’ पनि हो भनेको छ।
तर वस्तीको जिकिर छ- ‘शब्दकोशले धूम्रको अर्थ धुवाँ भन्छ भने त्यो गलत हो।’
शब्दकोशका भाषा र शब्द एकएक गरेर हेर्ने हो भने भ्रम निकै भेटिने निश्चित छ। तर अहिलेलाई यत्ति नै।
अन्त्यमा,
बेलायती कवि तथा समालोचक म्याथु अर्नाेल्डले उहिले (सन् १८५० ताका) भनेका थिए, ‘पत्रकारिता हतारको साहित्य हो।’
अहिले अनलाइन पत्रकारिताको युगमा त झन् त्यो ‘हतार’ चौबरै बढेको छ भन्दा फरक नपर्ला।
यसैले हडबडमा गर्नुपर्ने काममा गडबडको जोखिम त हुने नै भयो। जतिसुकै गल्ती गर्दिनँ भने पनि बेलाबखत चिप्लिहालिन्छ। जुन स्वाभाविकै हो।
तर समाचारको भाषामा अनवरत भइरहेको भद्रगोलको कारण त्यही ‘हतार’ मात्र होइन। प्रमुख कारण हो- बेवास्ता, लापरबाही।
जतिसुकै सशक्त विषय किन नहोस्, भाषामा भाँती पुर्याउन सकिएन भने त्यो फितलो हुने मात्र होइन, कहिलेकाहीँ भन्न खोजेको कुरा नै गलत बुझिने अवस्थासमेत आउँछ।
अतः नेपाली भाषा पनि अंग्रेजी भाषाजस्तै शुद्ध लेख्न/बोल्न पर्छ भन्ने सोचेर थोरै मात्र सजग हुने हो भने सुधार्न नसकिने कुरै छैन।
आफ्नै भाषा, मातृभाषा- नेपाली शुद्ध र सही रूपमा लेख्न संस्कृतमा आचार्य वा भाषा विज्ञानमै स्नातकोत्तर गरिरहनुपर्दैन। इच्छाशक्ति र प्रतिबद्धता भए पुग्छ।
Shares

प्रतिक्रिया