ad ad

विचार


भाषामा ‘माथि’को आतङ्क, शव उठेर हिँड्न थाल्यो भने...

भाषामा ‘माथि’को आतङ्क, शव उठेर हिँड्न थाल्यो भने...

लेखक


रूपबहादुर विश्वकर्मा
साउन १४, २०७९ शनिबार १३:४३, काठमाडौँ

–जनार्दन शर्मामाथि छानबिन 

–जनार्दन शर्माको बयानमाथि आशंकै आशंका

–इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको शानदार जित 

–हिरासतमै महिलामाथि बलात्कारको प्रयास

प्रस्तुत पंक्ति विभिन्न अनलाइन पत्रिकामा प्रकाशित समाचार शीर्षक हुन्। 

तपाईंले ती शीर्षकमा सबै कुरा ठीकठाक देख्नुभयो कि केही गडबड?

सायद कुनै गल्ती भेट्नुभएन कि? 

म पनि १६ वर्षअघिसम्म माथिका जस्ता लेखाइमा सबै सही देख्थेँ र लेख्थेँ पनि (अहिले पनि झुक्किएर बेलाबेला लेख्छु होला)।

तर २०६३ सालमा जब शरच्चन्द्र वस्तीले लेखेको ‘हाम्रो भाषा’ हात पर्यो, तब त्यस्ता लेखाइमा त्रुटि देख्न थालेँ। 

अर्थात् सुरुमा उल्लिखित शीर्षकमा ‘माथि’को प्रयोग उपयुक्त छैन। खासमा – जनार्दन ‘शर्मामाथि’ होइन, शर्माबारे छानबिन हो। 

दोस्रो शीर्षकमा – ...बयानमाथि होइन, बयानमा...

तेस्रोमा – इंग्ल्यान्डमाथि होइन, इंग्ल्यान्डविरुद्ध... 

चौथोमा – ...महिलामाथि होइन, महिलालाई... 

यसरी बारे, विरुद्ध, लाई, मा लाग्ने सबै ठाउँमा हामीले ‘माथि’ ठोकिरहेका छौं। गल्तीका यस्ता उदाहरण अरू पनि थुप्रै भेटिनेछन्।

विशेषतः पत्रकारिताको भाषामा म ‘माथि’को आतङ्कै देख्छु। 

‘हाम्रो भाषा’मा वस्ती भन्छन्, ‘मा  र माथि उस्तैउस्तै लागे पनि कतिपय अवस्थामा दुवैको अर्थमा फरक हुन्छ।

जस्तै – उसको ओठमा कोठी छ; उसको ओठमाथि कोठी छ। गाग्रीमा पानी छ; गाग्रीमाथि फूल छ। ग्यारेजमा गाडी छ; ग्यारेजमाथि हरिवंशको कोठा छ।

यस्तै अखण्ड भण्डारीले पनि ‘समाचारको भाषा’ (२०६९) मार्फत ‘माथि’को जथाभावी प्रयोग नगर्न सजग गराएका छन्। 

उदाहरण दिँदै उनी लेख्छन् :

–राजामाथि कारबाही गर्न सांसदको ताकेता

राजामाथि  कारबाही होइन, राजालाई कारबाही हो। 

–एक दर्जन यात्रुबाहक बसमाथि तोडफोड

बसमाथि  होइन, बस तोडफोड हो। 

यसरी वस्तीले १६ वर्षअघि नै, भण्डारीले १० वर्षअघि ‘माथि’को गलत प्रयोग भइरहेको जानकारी गराएका भए पनि हाम्रो पत्रकारिताको भाषा भने अहिलेसम्म सुध्रिन सकेको छैन। लेख्छौं– जनार्दन शर्मामाथि छानबिन,...।

भाषाको कुरा गर्दा कतिपयलाई के भ्रम छ भने यो केवल ह्रस्व, दीर्घ अर्थात् ‘प्रुफ’को विषय मात्र हो। जुन नजान्दा पनि अर्थमा खासै फरक पर्दैन। 

एउटा सन्दर्भमा वस्ती ‘हाम्रो भाषा’मा लेख्छन् : प्रुफ हेर्नेले ह्रस्व–दीर्घ, हिज्जे आदि मात्र हेर्ने हो। भाषासम्बन्धी गल्ती भन्नाले अरू थुप्रै कुरालाई पनि बुझाउँछ, जसमा सुधार गर्ने हैसियत र जिम्मेदारी प्रुफ हेर्नेको हुँदैन। 

वस्तीका अनुसार पत्रपत्रिका सम्पादन गर्ने र पत्रकारलाई तालिम दिने अढाई दशक लामो उनको अनुभवको एउटा रोचक पक्ष भनौं वा विडम्बना – पत्रकारहरूमा भाषागत कमजोरी उसबेला जहाँ थियो, आज पनि लगभग त्यहीँ छ। 

उनी भन्छन्, ‘समाचारदेखि फिचरसम्मको समस्या अभिव्यक्तिमै देखिन्छ; इलामदेखि डडेल्धुरासम्म र रौतहटदेखि कालिकोटससम्म नै।’ 

त्यसो त भाषामा पोख्त भएकै भरमा मात्र कोही अब्बल पत्रकार/लेखक हुन सक्दैन। यसका लागि त विषयवस्तुको ज्ञान र स्रोतसम्म पहुँच आवश्यक हुन्छ। तर भाषा ठीक र सञ्चार सीप भएन भने पनि आफूसँग भएका ज्ञान र सूचना सही किसिमले सम्प्रेषण हुन सक्दैन। अतः भाषामा ध्यान नदिईकन कोही सफल सञ्चारकर्मी बन्न सक्दैन। 

एउटा पत्रकार/लेखक आफैंमा भाषा प्रसारक पनि हो। किनकि उसले लेखेका/बोलेका भाषा/शब्द एकसाथ लाखौं जनासम्म पुग्छ। तसर्थ आफ्नो माध्यम भाषाप्रति पत्रकार/लेखक जिम्मेवार बन्नैपर्छ। तर नेपाली सञ्चारमाध्यम नियाल्दा यस्तो लाग्दैन। नजानेर भन्दा पनि बेवास्ता र लापरबाहीले पत्रकारिताको भाषा भद्रगोल भइरहेको हो। 

–यस विषयलाई लिएर कांग्रेस र एमालेबीच विवाद सुरु भएको छ।

–पार्टी अध्यक्ष शान्ति स्थापनाको विषयलाई लिएर निकै चिन्तित हुुनुहुन्छ।

​माथिका लेखाइमा कुनै समस्या देख्नुभयो कि भएन?

तर लेखक वस्तीका अनुसार लाई लिएर  ले उल्लिखित वाक्यलाई भद्दा बनाएका छन्। त्यसको सट्टा मा  मात्र भन्नु राम्रो हुने सुझाव उनी दिन्छन्। 

अर्थात् यस विषयलाई लिएर होइन, यस विषयमा कांग्रेस र एमालेबीच.....।

वस्तीका अनुसार लाई लिएर ले कहिलेकाहीँ हास्यास्पद स्थिति खडा गरिदिन्छ।

जस्तै : एउटा कुकुरलाई लिएर दुई उद्योगपतिबीच झगडा भयो। 

झगडा कुकुरको बारेमा भएको हो, कुकुरलाई लिएर (बोकेर) होइन। 

शव उठेन!
–संक्रमितको शव उठेन

हाम्रा सञ्चारमाध्यममा यस्ता किसिमका शीर्षक पनि बारम्बार देखिन्छन्/सुनिन्छन्। मृत्यु भएको मानिस उठ्न सक्छ र? शव उठेर हिँड्न थाल्यो भने के होला!​

विजयी कि विजय?
–नेपालको विजयी सुरुवात

खेल खबरमा हामी यस्ता किसिमका शीर्षक पनि देखिरहन्छौं/सुनिरहन्छौं। 

जितेका व्यक्ति वा टोली विजयी हो। विजय भनेको जित हो। तसर्थ माथिको शीर्षकमा नेपालको विजयी सुरुवात कि विजय सुरुवात?

वस्तीसँग असहमति
वस्तीकै पुस्तक पढेर मैले आफ्नो नेपाली लेखन सुधारेको भए पनि उनका केही कुरामा भने मेरो असहमति छ।

उनको अर्काे पुस्तक ‘नेपाली कसरी लेख्ने?’ मा नेपाली शुद्धसँग लेख्न सिकाइएको छ।

त्यसमा उनले अंग्रेजीबाट नेपालीमा आएर चलेका शब्दहरूमा पनि ह्रस्व–दीर्घ र श–स को पूरापुर ख्याल गर्नुपर्ने जिकिर गरेका छन्।

अर्थात् ‘स्पेलिङ’अनुसार अंग्रेजी शब्द पनि देवनागरी (यही) लिपिमा लेख्दा नेपाली भाषाकै नियमानुसार ह्रस्व–दीर्घ, श–स मिलाएर लेख्नुपर्छ भन्ने तर्क उनले गरेका छन्। 

उदाहरण दिँदै उनी लेख्छन् : सिनको अर्थ ‘पाप’ हो भने सीनको अर्थ ‘दृश्य’। त्यसैले ‘मैले क्या राम्रो सिन देखेँ’ लेखियो भने सुन्दर दृश्य होइन, ‘गजबको पाप देखेँ’ भन्ने अर्थ लाग्छ। ​

पापवाला ‘सिन’मा एसआईएन हुन्छ भने दृश्यवाला ‘सीन’मा एसईईएन।

यसै आधारमा उनले ती अंग्रेजी शब्द ह्रस्व र दीर्घमा लेख्नुपर्ने जिद्दी गरेका हुन्।

तर अर्काथरी भाषाविद्ले अंग्रेजी शब्द देवनागरी लिपिमा उतार्दा श  कि ष वा   भनेर नअलमलिई   उच्चारण हुने सबै ठाउँमा एउटै  अनि कि  भन्ने झमेलातिर नलागी   उच्चारण गरिने सबै स्थानमा उही   लेख्नुपर्छ भनेका छन्। मलाई चाहिँ यो तर्क ठीक लागेको छ।

किनभने पहिलो कुरा त अंग्रेजी भाषामा नेपाली भाषामा जस्तो ह्रस्व–दीर्घ भन्ने नै हुँदैन।   कि स भन्ने नियम पनि हुँदैन। त्यसकारण अर्कै लिपि र नियममा रहेको अंग्रेजी भाषा/शब्दलाई जबर्जस्ती नेपाली नियम लाद्न खोज्नु ठीक होला र?

वस्तीले भनेजस्तो ‘स्पेलिङ’अनुसार ह्रस्व–दीर्घ, श, स, ष, न, ण छुट्याएर लेख्ने हो भने चीनका राष्ट्रपति सी चिनफिङको नाममा हुने अंग्रेजी अक्षरअनुसार यो उच्चारण गर्न मिल्ला त? मिल्दैन – सी जिनपिङ भन्नुपर्ने हुन्छ। तर उनको नाम सी चिनफिङ नै हो। 

अर्काे उदाहरण : फ्युचर – एफयूटीयूआरई। अब यसलाई अक्षरका आधारमा देवनागरी लिपिमा लेख्ने हो भने के लेख्नुपर्ला?

यसर्थ मेरो सामान्य बुझाइले भन्छ– अंग्रेजी शब्द/नाम देवनागरी लिपिमा लेख्दा त्यसको उच्चारण लेख्ने हो, त्यसका अक्षर हेरेर ह्रस्व कि दीर्घ, पातलो स कि मोटो श भनेर गन्जागोलमा फस्नु ठीक होइन। एउटै स र एउटै न लेखेर एकरूपता दिनु नै उचित।

अन्त्यमा
अंग्रेजी भाषा लेख्दा/बोल्दा हामी अलिकता पनि कमजोरी होला कि भनेर त्राहिमाम हुन्छौं र शुद्धसँग लेख्न/बोल्न भगीरथ प्रयास गर्छाैं। अन्तर्राष्ट्रिय भाषा जान्न खोज्नु नराम्रो भन्न खोजिएको होइन, बरु जान्नु अनिवार्य छ। तर अंग्रेजीमा हामी जति ध्यान दिन्छौं, नेपालीमा त्यति नै लापरबाही किन? 

पछिल्लाे समय हाम्रो देशका निजी स्कुल मात्र होइन, सरकारी विद्यालयले समेत अंग्रेजी भाषालाई प्राथमिकता दिने नाममा आफ्नै भाषा (नेपाली) लाई भने उपेक्षा गरिरहेका छन्।

भर्खरै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पनि धेरै विद्यार्थी नेपाली (र, सामाजिक) विषयमा कमजोर देखिएका छन्। 

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफलअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या १ हजार ८०४ मात्रै छ। अंग्रेजी विषयमा भने सबैभन्दा धेरै १५ हजार ३९९ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन्। 

२०६८ सालको जनगणनाअनुसार मुलुकमा बहुसंख्यक अर्थात् ४४ प्रतिशत नागरिक नेपाली भाषी छन्। त्यही विषयमा एसईई नतिजा कमजोर देखिनु विडम्बना होइन?  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .