सहरभित्र बग्ने नहरहरू, हराभरा बाटा, फूलहरूले सजिएका साइकल र रमाइला गल्लीहरू। हामी चारजना साथीहरू गत महिना नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमको यात्रामा निस्कियौँ। यो सहरको जीवनशैलीले हामीलाई मोहित गर्यो। हाम्रो यो यात्रा केवल घुमफिरमा मात्र सीमित भएन, यसले हामीलाई हाम्रो देश र विशेषगरी काठमाडौँको अवस्था र सम्भावनाबारे पनि सोच्न बाध्य बनायो।
लामो समयदेखि हाम्रो योजना रहे पनि विभिन्न कारणले अम्स्टर्डम घुम्ने योजना पूरा हुन सकेको थिएन। आम्स्टर्डमका बारे हामीले धेरै पटक सुनेका थियौँ, उन्मुक्त जीवनशैली, पुराना संरचनाहरूको संरक्षण र खुलापनको अभ्यासका कुरा। तर, सुनेर मात्र कहाँ पुग्थ्यो र? हामी आफैँले त्यो अनुभव गर्न चाह्यौँ— र तीन दिने भ्रमण निक्लियौँ।
सहरको पहिलो झल्कोमै हामी प्रभावित भयौँ। हाम्रा आँखामै आम्स्टर्डमको पुरानो सौन्दर्य, सहरभरि बग्ने नहरहरूको छाल, रंगीन घरहरू र खुला क्याफेहरू देखिन थाले। हामी सबैले एउटै कुरा महसुस गर्यौँ, यो सहरमा कुनै बनावटीपन छैन, जीवन्त छ।
सडकमा साइकलको लहर देख्दा हेरिरहुँ जस्तो लाग्ने। शान्त वातावरणमा साइकलका घण्टी बज्दा पनि मन मोहित हुने। बच्चादेखि बुढासम्म सबैजना साइकल चढिरहेका हुन्छन्। हामी एकछिन चकित भयौँ। यहाँको मुख्य यातायात नै साइकल हो। यो सहरको योजना नै साइकलमैत्री छ। छुट्टै लेनहरू र सुरक्षित पार्किङ छन्। विद्यार्थीदेखि पाका नागरिकसम्म सबै आफ्नो कामकाज साइकलबाटै गर्छन्।
सहरभित्र बग्ने नहरहरू, साइकलहरूकै लयमा चल्ने जीवनशैली, पुरानो सौन्दर्य र नयाँ ऊर्जा मिसिएको सहर हो आम्स्टर्डम। हामी चार साथीको यो यात्राले हामीलाई केवल रमाइलो दृश्य मात्र दिएन, जीवनको नयाँ अनुभूति पनि दियो।
नहरहरूले भरिएको सहरमा पाइला टेकेपछि हामीलाई लाग्यो, यो सहर पनि हामी साथीहरूको सम्बन्ध झैँ बगिरहेको छ। पुलमाथि उभिएर हामीले फोटो खिच्यौँ, वरिपरि फूलले सजाइएका साइकल, अनि पारिपट्टिका घरहरू — ती दृश्यले हामीलाई युरोप एउटा बेग्लै सहरको अनुभव गरायो।

हामीले आम्स्टर्डमको अम्स्टेल नदीमा डुंगा चढ्यौँ र ऐतिहासिक नहरको खुला आकाशमुनि, हल्का चिसो हावा, र पानीमाथि सजिएको सहरको मजा लिन थाल्यौँ, साँच्चै जादुमय अनुभव थियो। कहिले सूर्य चम्किन्थ्यो, कहिले बादल ओझेल पार्थ्यो त कहिले पानी झर्थ्यो। यहाँको मौसम पनि माानिसकोे मुड परिवर्तन भएजस्तै छिनछिनमा परिवर्तन हुन्थ्यो।
ती नहरहरूमा हामी पनि जीवनको यात्रामा सँगै अगाडि बढिरहेका थियौँ। पानीले चुटेर निथ्रुक्क भिजे पनि हामी सहर र नहरको दृश्यको रमाइलोमा भुलेका थियौँ।
अर्को दिन हामी सहरबाट अलिक पर, हामी पुग्यौं जानसे स्कान्स नामको परम्परागत गाउँमा। त्यहाँका अग्ला विन्डमिलहरू हेर्दा लाग्थ्यो, हामी कुनै पुरानो कथा भित्र छौँ। अनि चिज फ्याक्ट्रीमा पुग्दा— त्यो गन्ध, त्यो स्वाद र त्यो सजावटले हामीलाई अति नै लोभ्यायो। त्यो गाउँको सादापनले महसुस गरायो कि प्रगति र परम्परा सँगै हिँड्न सक्छन्। र गाउँको विकासमा परम्परागत उत्पादन शैली पनि महत्त्वपूर्ण हुन्छ।
अम्स्टर्डम यात्रामा अर्को मन छुने अनुभव थियो ट्युलिप फूलको रंगीन संसार। यद्यपि ट्युलिप मूल रूपमा नेदरल्यान्ड्सको फूल होइन, तर आज यो फूल नेदरल्यान्ड्सको पहिचान बनेको छ। वसन्तको मौसममा जब ट्युलिपहरू खेतभरि फुल्छन्, सारा सहर र आसपासको क्षेत्र चित्रजस्तै लाग्छ। रंगीविरंगी फूलहरूको त्यो दृश्यले हामीलाई केही समयका लागि सपनाजस्तो अनुभूति गरायो। हामीले ट्युलिप संग्रहालय पनि घुम्ने योजान थियो तर त्यो पूरा हुन सकेन।

आम्स्टर्डम बहुसाँस्कृतिक सहर हो। यहाँ हरेक जात, धर्म, रंग, लिंग र सोचलाई सम्मान गरिन्छ। युरोपकै बहुचर्चित रेड लाइट एरिया जसलाई अनुशासित र सम्मानसहित अति व्यवस्थित बनाएका छन्। विश्वभरबाट दिनहुँ हजारौँ मानिसले यो ठाउँको भ्रमण गर्दा रहेछन्। अनुशासित यस्तो खुलापनले जोकोहीलाई पनि सजग बनाउँथ्यो। हामीले युरोपको यस्तो रंगीन सहर घुमेपछि मनमनै सोच्न थाल्यांँ, मानिस सहिष्णु भएपछि मात्र साँच्चिकै स्वतन्त्रता अनुभूत गर्न सकिने रहेछ।
हामी सहरको मुटु— ड्याम स्क्वायरमा पुग्यौँ। पुराना र भव्य भवनहरूले घेरिएको त्यो ठाउँ, हजारौँ मानिसको हिँडडुल, गल्लीमा मानिसहरूको भीडका दृश्यहरू सबैले सहरको जीवन्तता देखाउँथ्यो। साँझपख हामी त्यहाँ पुग्दा अझ मनमोहक थियो। साँझको खाना ड्याम स्क्वायरको एक रेस्टुरेन्टमा खाँदै रमाइला गफहरू गर्यौँ। तर मेरो नजर भने रेस्टुरेन्टको झ्यालबाट सडकमा गुडेका साइकलहरूमा नै थिए। त्यहाँ गुडेका हरेक साइकलहरू हेर्दा मैले बेग्लै आनन्द महसुस गर्दै थिएँ।
मैले त्यो क्षणमा आफ्नो देश सम्झेँ। काठमाडौँको अस्तव्यस्त ट्राफिक र साइकलप्रतिको बेवास्ता। त्यो दृश्य सम्झँदै गर्दा मेरो मनमा एउटा प्रश्न आयो। के काठमाडौँ पनि आम्स्टर्डम सहर जस्तो बन्न सक्दैन?
हो, चुनौतीहरू होलान्। काठमाडौँका सडक साँघुरा छन्, ट्राफिक अस्तव्यस्त छ, सार्वजनिक यातायातमा सुधार आवश्यक छ। यहाँको धुलो, धुवाँ र पार्किङ समस्याले साइकल यात्रालाई कठिन बनाउँछ। तर के यी चुनौतीहरू समाधान गर्न सकिँदैन? के हामीले आम्स्टर्डमजस्तो सुव्यवस्थित साइकल सहरको सपना देख्नै नहुने? आम्स्टर्डमले देखाएको छ कि सहरको योजना सही भए जीवन सहज बन्छ।

आम्स्टर्डमको जनसंख्या करिब ९ लाख छ, तर यहाँ जनसंख्याभन्दा बढी साइकलहरू छन्। १९५० र ६० को दशकमा एम्स्टर्डका सडकमा ट्राफिक जाम, प्रदूषण, दुर्घटनाहरू बढिरहेका थिए। विशेष गरेर बालबालिकाका दुर्घटना बढ्दै गएपछि सहरभरि आक्रोश फैलियो। त्यसपछि सन् १९७० तिर ‘स्टप डे किन्दरमर्ड’ (बच्चाको हत्या रोक) भन्ने आन्दोलन सुरु भयो। यस आन्दोलनले सडकमा बच्चाहरूको सुरक्षाको माग राख्यो र कारको नियन्त्रण घटाउन साइकल प्रयोग बढाउन दबाब दियो।
जनदबाबपछि सरकारले साइकललाई प्राथमिकतामा राख्दै नीति निर्माण गर्यो। सहरमा साइकल लेन, साइकल पार्किङ, र सार्वजनिक साइकल सेयरिङ प्रणाली विकास गरियो। सहरका सडकहरूलाई कारमुक्त क्षेत्र बनाउने नीति लागू गरियो।
जनचेतना अभिवृद्धि गर्दै साइकल संस्कृतिलाई जनजीवनको हिस्सा बनाइयो। साइकल र सार्वजनिक यातायातको सहज मिलनको योजना बनाइयो। आम्स्टर्डमले दीर्घकालीन सोच र जनताको सक्रिय सहभागिताका साथ आफ्नो सहरको अनुहारै परिवर्तन गर्यो। आज यो संसारकै उत्कृष्ट साइकल सहरको रूपमा परिचित छ।
आम्स्टर्डमलाई हेर्दा मलाई लाग्यो, काठमाडौँको सम्भावना विशाल छ, तर त्यो सम्भावना तत्कालीन प्रयास, स्पष्ट योजना र नागरिकको प्रतिबद्धताबिना साकार हुँदैन। म कल्पना गर्छु— एउटा काठमाडौँ जहाँ साइकल चलाउँदा धुलोको डर छैन, सास फेर्न सकिन्छ, र सडकहरू मानिस र साइकल यात्रुको लागि सुरक्षित छन्।
आम्स्टर्डमको भ्रमणले केवल सहरको सौन्दर्य मात्र दिएन, जीवनको प्राथमिकताबारे बुझ्ने दृष्टिकोण पनि दियो। यहाँको सादापन, स्वतन्त्रता, वातावरणप्रेम, सहर योजना, संस्कृति र मानवताको सम्मान– यी सबै अनुभव गर्न लायक छन्। हामी चारजना साथीहरू फर्किंदा खाली हात फर्केनौँ, हामीसँग अमूल्य अनुभव र नयाँ दृष्टिकोण पनि साथ लिएर फर्कियौँ।
अवश्य पनि यात्रा सकेर फर्किंदा आम्स्टर्डमले हामीलाई केही गहिरो अनुभूत गरायो। त्यहाका नहरहरू, विन्डमिल र साइकलहरूले अब फोटोमा मात्र होइन, हाम्रो हृदयमा छाप बनाइसकेका छन्।
Shares

प्रतिक्रिया