'सेल्टर' पुस्तकमा समेटिएका विषयवस्तुहरू यति गहिरा र समृद्ध छन् कि पहिलो भागमा मैले धेरै कुरा समेट्न सकिनँ। प्रत्येक पृष्ठमा नयाँ अनुभूति, नयाँ सन्देश र नयाँ शिक्षा पाइन्छ। प्रत्येक लेखकका अनुभवमाथि आफ्नो अनुभव लेख्न मन लागे पनि त्यो सम्भव भने नहुने रहेछ।
'सेल्टर'मा संकलित ३४ जना लेखकहरूको सबै अनुभव समेट्न सम्भव नभए पनि केही व्यक्तिहरूको अनुभव उल्लेख गर्दै सबैको साझा संघर्षलाई सम्झनु उचित हुन्छ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकै अनुभव हेरौँ। १५ वर्ष भूमिगत जीवन बिताउनु कुनै सामान्य कुरा होइन। नेताहरूका लागि 'सेल्टर' केवल सुरक्षित आश्रयस्थल मात्र थिएन, यो पार्टी निर्माणका लक्ष्यहरू अनुरूप आचरण व्यवस्थापन गर्ने एउटा जीवनपद्धति बनिसकेको थियो। बीस–एक्काइस वर्षको किशोर अवस्थामा घर-परिवार त्यागेर जनताको स्वतन्त्रता र अधिकारका लागि होमिनु आजको दृष्टिले असाधारण लाग्न सक्छ। तर, त्यतिबेला यी युवाहरू जनताको मुक्तिका सम्बन्धमा विभिन्न दार्शनिक र लेखकहरूको अनुभव र लेखनबाट प्रभावित थिए र त्यो नै उनीहरूको मार्गदर्शन बन्न पुग्यो। समयक्रममा जनतासँगको सामीप्यले त्यसमा व्यवहारिक दृढता कायम गर्यो।
उच्च शिक्षा हासिल गरेका, छात्रवृत्ति प्राप्त गरेका युवाहरूको लागि विदेश जाने, व्यक्तिगत उन्नतिको बाटो समाउने सहज अवसर थियो। तर, ईश्वर पोखरेलजस्ता नेताहरूले व्यक्तिगत लाभका लागि विदेश जाने बाटो रोज्नुभएन। बरु आफ्ना डिग्री च्यातेर देश र जनताको स्वतन्त्रता तथा विकासका लागि आफूलाई समर्पित गरे।
'सेल्टर' पुस्तकमा वर्णित अनेकौं घटनाहरूले त्यतिबेला भूमिगत जीवनको कठोरता स्पष्ट पार्छ। धेरैपटक नेताहरूलाई आश्रयस्थल समेत उपलब्ध हुँदैन थियो। रुखका हाँगामा सुत्नु, निगुराको मुन्टा र घाँस खानु उनीहरूको बाध्यता थियो। यस्ता जनावरले खाने वस्तु खाँदा कतिपय समयमा दिशा नै पशुमलजस्तो भएका घटनाहरू आजका दिनमा सुन्दा रमाइलो लाग्न सक्छ। तर, ती दिनहरूमा ती सबै कुरा जीवनरक्षाका कठिन संघर्ष मात्र थिएनन्, जनताको शासन प्रणाली स्थापनाका लागि जीवनको आहुति दिन तयार नेतागणका यथार्थ पनि थिए।
कहिलेकाहीँ त कुहिएको, किराले भरिएको खानासमेत खानुपरेको र भोकको चरम स्थितिमा खाना सफा छ कि फोहोर भन्ने कुराको कुनै अर्थ नहुने अवस्थासमेत आइपर्थ्यो। धेरैपटक नेता कार्यकर्ता भोकले बेहोस हुने, मृत्युनजिक पुग्ने अवस्था आउँथ्यो। यस्ता कठिन घडीमा उनीहरूलाई बचाउने आश्रयदाताहरूले गरेको सेवा, प्रेम र त्याग अतुलनीय छ।
'सेल्टर' दिने ती व्यक्तिहरू आफैं गरीब थिए तर हृदय विशाल थियो। तिनै गरीब किसान, मजदुरहरूले आफ्नो जीवनको जोखिम उठाएर नेता कार्यकर्तालाई आश्रय, खाना, स्वास्थ्य र सुरक्षाको व्यवस्था गरे। पढ्दै जाँदा उनीहरूले देखाएको निस्वार्थता वास्तवमै आमाबाबुले आफ्ना बालबच्चाप्रति देखाएको प्रेमको भावनाजस्तै लाग्छ।
तराई क्षेत्रमा त झन् चरम गर्मीको अवस्था हुन्थ्यो, जसलाई सहन अत्यन्त गाह्रो हुने गर्दथ्यो। प्रशासनबाट बच्न रातिको समयमा काम गर्नुपर्थ्यो। त्यस्ता बेला दिउँसो कोठाभित्र लुकेर बस्दा लिसाइलो माटो पानीमा घोलेर जिउमा दल्ने र साँझपख पोखरीमा गएर नुहाएर रातभरि लुकेर काम गरेका अनुभव कुनै काल्पनिक चलचित्रको कहानीभन्दा कम छैन।
प्रदीप ज्ञवाली, जो आज नेकपा एमालेका उपमहासचिव हुनुहुन्छ, उहाँको अनुभव पनि उल्लेखनीय छ। सामान्यतः जोसुकैले उहाँलाई भेट्दा उहाँको नम्र स्वभाव र हँसिलो चरित्रको प्रभाव पाउँछन्। तर, जब जनताको अधिकार र मुक्तिको सपना मार्गदर्शन बन्छ, त्यति नै सौम्य देखिने व्यक्ति साहस र प्रतिबद्धताको चरम रूप बन्न सक्छ भन्ने उहाँको यात्राले देखाउँछ।
त्यतिबेला स्वतन्त्रताको बाटो सहज थिएन। यातायात, सञ्चार, सूचना आदिको पहुँच नभएको स्थितिमा उहाँहरूले अनगिन्ती कठिनाइ भोग्नुपर्यो। कहिलेकाहीँ नदी तर्न खोज्दा डुब्नै लाग्ने अवस्था आयो, कहिले प्रशासनबाट चलाइएका गोलीको सामना गर्नुपर्यो। मुसलधारे वर्षाका बेला जुकाले टोकेको, बाढीले बगाएको, जंगलमा हिंड्दा चितुवाले तर्साउनेजस्ता भयावह अनुभवहरू सामान्यजस्तै भए।
सुविधाजनक जीवन छोडेर कठोर संघर्ष रोज्नु सजिलो थिएन। थुप्रैपटक आत्मसमर्पण गर्ने सोच आउँथ्यो। तर गाउँगाउँका गरीब जनता, जसले आफ्ना घरहरू खोलेर नेता कार्यकर्तालाई आश्रय दिए, आफ्ना बच्चाहरुको गाँस काटेर आफ्ना नेताका पेट भरे, तिनको माया, विश्वास र समर्पणले नेता कार्यकर्तालाई लडिरहन प्रेरित गर्यो।
त्यतिबेला ग्रामीण नेपालमा शौचालयको व्यवस्थासम्म थिएन। टाढा खुला स्थानमा दिसा गर्न जानुपर्थ्यो, जसक्रममा सुँगुरहरूले पछ्याउने र उनीहरूबाट टोकिने खतरासमेत थियो। यी कुराहरू अहिले रमाइलाजस्तै लाग्न सक्छन् तर त्यसबेला ती सबै कुरा जीवनमरणको संघर्ष थिए।
अझ अप्ठेरो त के थियो भने सरकारले नेता कार्यकर्ताहरूको टाउकाको मूल्य तोकेको अवस्था थियो। त्यस्तो अवस्थामा पनि जोखिम मोलेर आश्रयदाताहरुले आफ्नो ज्यानको पर्वाह नगरी, न त नाम सोधेर, न त परिचय थाहा पाई, केवल मानवताका आधारमा सहायता गरे। यस्तो सेवा केवल आमाबाबु वा देवताहरूबाट मात्र अपेक्षा गर्न सकिन्छ।
यहाँनिर मुकुन्द न्यौपानेको अनुभव उल्लेख नगरिरहन सकिन्न। उहाँ मेरो निकट मित्रका पिता पनि हुनुहुन्छ। उहाँको जीवन सङ्घर्षका धेरै पक्षहरू मैले पहिले नै सुनेको थिएँ। तर 'सेल्टर' पुस्तकमार्फत नयाँ पाटाहरू पढ्न पाइयो। स्वतन्त्रताको लागि गरिएको त्याग, उहाँले छोडेको घर, अपनाएको अप्ठ्यारो बाटो, सबै कुरा प्रेरणादायी छन्।
मुकुन्द न्यौपानेजस्तै, अन्य नेताहरूले पनि उस्तै संघर्ष व्यहोरे। प्रशासन र विपक्षी शक्तिसँग भिड्नुपर्ने, लामो समय भोकभोकै यात्रा गर्नुपर्ने, कहिलेकाहीँ काँचो चामल खाएर यात्रा गर्नुपर्ने बाध्यता, यी सबै साझा अनुभव हुन्।
'सेल्टर' केवल व्यक्तिगत कथाहरूको संग्रह होइन, यो एउटा पुस्ताको बलिदान, सपना र संघर्षको साक्षी हो। स्वतन्त्रता, समानता र विकासका लागि गरिएको कठोर यात्रा 'सेल्टर' को प्रत्येक पानामा जीवित छ। यस पुस्तकले हामीलाई सम्झाउँछ कि “आज हामीले भोगिरहेको स्वतन्त्रता, सहजता र विकास कुनै चामत्कारिक रूपमा आएका होइनन्। यो हामीभन्दा अघिल्ला पुस्ताले भोगेको पीडा र तिनले गरेको अदम्य संघर्षको परिणाम हो।”
आजको पुस्ताले नेपाली वाम-लोकतान्त्रिक संघर्षको इतिहासलाई बुझ्ने हो भने सेल्टर पुस्तक पढ्न अत्यावश्क छ। परिवर्तित समयमा आज हामीले प्राप्त गरेको लोकतन्त्र र खुला समाज सहजजस्तो लाग्छ। तर, यो अवस्थासम्म ल्याइपुर्याउन हाम्रा अग्रजहरूले गरेको त्याग र समर्पणको विगत साँच्चै नै दर्दनाक र सम्मानयोग्य दुवै छ।
'सेल्टर' पुस्तक पढ्दा हामी प्रत्येक नेपालीले आफ्ना अग्रजहरूप्रति सम्मान र कृतज्ञताको भाव राख्नुपर्ने महसुस हुन्छ। त्यो भावना मात्र होइन, त्यही मार्गबाट अघि बढ्न प्रेरणा पनि पाइन्छ।
Shares

प्रतिक्रिया