साहित्य


देउता लुकाउने ठाउँमा लुकाइएका कमरेडहरू

देउता लुकाउने ठाउँमा लुकाइएका कमरेडहरू

आशिष रेग्मी
बैशाख १६, २०८२ मंगलबार १७:१५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसर पारेर एमालेले ‘सेल्टर’ नामक पुस्तक विमोचन गर्‍यो।

कम्युनिस्ट आन्दोलनका ३४ मूर्धन्य व्यक्तित्वद्वारा लिखित यस पुस्तकको सम्पादन र संयोजन एमालेका केन्द्रीय उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको छ। किताबको प्राक्कथन भने एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको छ।

किताबको एक फरक पाटो भने एमालेका केन्द्रीय सचिव लेखराज भट्टको रह्यो। उहाँको राजनीतिक इतिहास अरु लेखकको भन्दा फरक छ। उहाँ माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट आएकोले फरक अनुभवले सेल्टर पुस्तकलाई थप महत्त्वपूर्ण बनाएको छ।

पुस्तक विमोचनका क्रममा पुस्तकका सम्पादक एवम् संयोजक प्रदीप ज्ञवालीले पुस्तकका बारेमा छोटो मन्तव्य राख्नुभयो। जब उहाँले १२ वर्षीय बालकले ज्यान दाउमा राखेर पनि प्रहरीसमक्ष आफ्ना आश्रयस्थलबारे नखोलेको, आफूहरूलाई कसरी आश्रयदाताहरूले आफ्नो छाक काटेर खाना खुवाउँथे, भोकले छटपटाउँदा बालबच्चाले खाए कि खाएनन् जस्ता विषयको पर्वाह गर्न नसक्ने मनःस्थितिको आफ्नै शैलीमा व्याख्या गर्नुभयो, तब दर्शकदीर्घामा बसेका धेरैका आँखा रसाए। मेरा आफ्नै पनि आँखा तिलमिल तिलमिल भए र केही थोपा आँसुले आफैले लगाएको सर्टलाई स्पर्श गर्न पुग्यो। त्यसै क्षण मैले मेरो पहिलो पुस्तक समीक्षा यही पुस्तकमा लेख्ने निधो गरेँ।

यति धेरै विषयहरू समेटिएको यस पुस्तकको एकै लेखमा समीक्षा लेख्न पक्कै सम्भव छैन। पढ्दै जाँदा प्रत्येक योद्धाका हरेक विषय समेट्न इच्छा लाग्ने किसिमका छन्। मैले पुस्तक सुरुवातै अगम बान्तवाको भागबाट गरेँ। कारण थियो रत्न बान्तवाको इतिहास। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लेख्नुभएको 'पूर्वको रातो तारा' पुस्तक पढ्ने मौका पाएको थिएँ। त्यस पुस्तकले मेरो मानसपटलमा रत्न बान्तवाबारे उच्च सम्मान थियो।

निरङ्कुशतन्त्रको बेला त हुँदै हो तर प्रजातन्त्र आइसक्दा पनि कांग्रेसले कम्युनिस्ट पार्टीमाथि २००८ देखि प्रतिबन्ध लगाएको विषयले कस्तो विषम परिस्थितिमा यो आन्दोलनलाई हाम्रा अग्रजहरूले जोगाएका रहेछन् भन्ने प्रष्ट हुन्छ। जमिन्दारलाई अन्नको ब्याज सयकडा ३० देखि ५० पाथीसम्म र सयकडा २० रूपैयाँ ठेकी बुझाउनुपर्ने विषय आज सपनाजस्तो लाग्न सक्छ तर एक पुस्ताअघिसम्म मात्र पनि यो हाम्रै समाजमा विद्यमान व्यवस्था थियो।

आज लोकतन्त्र छ। शान्तिपृर्ण ढंगले जायज माग राख्न पाउने अधिकार लोकतन्त्रले दिएकै छ। अभिव्यक्ति स्वतन्त्रताको आडमा आज २१औँ शताब्दीमा पनि राजतन्त्रको समर्थनमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध नारा लाउँदा पनि ती व्यक्तिहरूको कुनै मानव अधिकार हनन् भएको छैन। तर, २०३५ चैत २४ गते रत्न बान्तवाजस्तै देखेकै भरमा निर्दोष किसान निमा शेर्पालाई गोली हानी हत्या गरिएको विषयले तत्कालीन सत्ता कति निरङ्कुश र मानवताविरोधी थियो भन्ने प्रष्ट हुन्छ।

सेल्टर पुस्तकमा फरकफरक लेखकहरूले आफ्ना अनुभव लेखेको भएर छुट्टाछुट्टै भाग पढ्न सकिन्छ। यस्तैमा दोस्रो भाग एमालेमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहराको देखेँ र मलाई पछिका लागि राख्नै मन लागेन। अनि, उहाँकै अनुभव पढ्न थालेँ।  पूर्णकालीन बन्ने प्रेरणा, नेकपासँग सम्पर्क छुट्दा पनि एकदिन सम्पर्क पुनस्थापित हुनेछ भनेर पार्टी निर्माणमा गरिएका सक्रियता जस्ता खण्डहरू साँच्चै आजका पुस्ताका लागि राजनीतिक ज्ञान हुन्।

२०२८ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा उद्दण्ड पञ्चहरूले राजा महेन्द्रको मृत्युमा शोक मनाउन भनी कपाल खौरन बाध्य पारेका रहेछन्। त्यस ज्यादतीको विरोध गर्दा धन्नै ज्यान गएको विषयले तत्कालीन समाज कति निरङ्कुश र सामन्ती थियो भन्ने दर्शाउँछ। महिलाको भेष बदलेर प्रहरीबाट भाग्न सफल भएको, चिहानडाँडाको सेल्टर, आफैलाई अमृत बोहराका सुनाइएका कहानीहरूका रोचक प्रसंग पनि समेटिएका छन्।

आफ्नो गाँस कटाएर आफ्ना कमरेडहरूको ज्यान जोगाउने त्यो पसिनाले भिजेका रोटीमा स्नेह र प्रेमका साथै मुक्तिका सपना हुन्थे। त्यसका लागि गाँस काट्ने मात्र होइन, आफ्ना कुलदेवता राख्ने स्थानमा सम्मानका साथ लुकाउन झर्को मानेका थिएनन् आश्रयदाताहरूले। एकपटक त कुलदेवताको हवाला दिएर ज्यानै पनि जोगाएका रहेछन्।

आजको उदार  खुला समाजमा त महिलाहरूले कति कष्ट बेहोर्नुपरिरहेको छ। झन् त्यसबेलाको परिस्थिति कस्तो हुँदो हो भन्ने विषय एमालेकी केन्द्रीय कमिटी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अनुभवले थोरबहुत समेटेको छ। दिउँसोभर लुकेर बस्नुपर्ने अवस्था र राति काम गर्नुपर्ने भूमिगत दिन महिला नेतृत्वका लागि साँच्चै चुनौतीपूर्ण थियो। महिनावारी हुँदा प्याड किन्ने पैसा नहुने र प्रयोग गरिएका कपडा फाल्न नमिल्ने प्रतिकूल अवस्थामा पनि विचलित नभई आन्दोलन हाँकेका यस्ता नेतृत्वलाई हृदयदेखि सम्मान गर्न मन लाग्छ।

अवस्था कतिसम्म प्रतिकूल थियो भने एउटै प्लास्टिकमा खानेकुरा र रक्ताम्य कपडा बोकेर हिँड्नु परेको थियो। त्यसमाथि तत्कालीन समयमा महिलाहरूले लगाउने सुरुवालले हिँड्दा आवाज दिने भएकोले समस्या उत्पन्न गर्ने नै भयो। विपक्षीहरूले जामा पार्टी मुर्दावाद भनिरहँदा पनि र परम्परागत संस्कृतिको विरोध गरेको अर्थ लागे पनि उहाँहरूले सुन्दर भविष्यको कल्पनामा क्रान्तिकारी कदम चालेरै छाड्नु भयो। आज यो ठूलो कुरा जस्तो लाग्दैन तर तत्कालीन समयमा यो समाज र संस्कृतिसँगको विद्रोह थियो।

अझ आमा र बच्चाहरूका लागि त एक अर्काबाट टाढिनु कति कहालिलाग्दो क्षण हुँदो हो। राति बच्चा सुतेपछि अर्काको भरमा घर छाडेर हिँड्ने आँट कसरी आयो होला। अझ त्यसमा पनि एक महिनासम्म पनि बच्चाले नमानेको खबर सुन्दा पनि कठोर हुने त्यो आमाको अठोटले नै हो आज हामीले हाम्रा अधिकार प्राप्त गरेको। आज सामाजिक सञ्जालका माध्यमबाट यिनै व्यक्तिलाई भोट दिएर जिताउने जनता खराब भन्ने भाष्य बनाउने लोकतन्त्र विरोधी शक्तिहरूले के बुझ्न जरूरी छ भने तपाईँहरूले एक वंशलाई भगवानको अवतार बनाउँदै गर्दा जनताले आफ्नो देउता राख्ने स्थानमा माया र विश्वाससहित आफ्ना कमरेडहरूलाई त्यो स्थानमा राखेका हुन्।

'पार्टीका जगका ढुङ्गा' शीर्षकमा एमालेका स्थायी कमिटी सदस्य तथा हालका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी लेख्नु भएको रहेछ। मनमा विश्वास नभएको अवस्थादेखि जनतासँग काम गर्दै जाँदा विकास भएको अभूतपूर्ण दृढताले आज आन्दोलन यहाँसम्म आइपुगेको छ। पार्टीको गोपनीयता कायम गर्न खोज्दा कतिपय सेल्टरदाताहरूका आफन्तहरूसँगै सम्बन्ध टुटेका पनि रहेछन्। गोपनीयता कायम गर्ने क्रममा सेल्टरदाताहरूले राज्यबाट चरम यातनासमेत भोग्न बाध्य भए। यसरी ज्यान जोखिममा पारेर पनि आफ्ना कमरेडहरू र आन्दोलनको गोपनीयता जोगाएका ती आश्रयदाताहरूप्रति नमन नगरी यो मन के मान्थ्यो र।

आश्रय दिने त थियो थियो, आफ्नो कमाइबाट पार्टीलाई लेबी तिर्नु चानचुने कुरा थिएन। अझ केहीले त अतिरिक्त आम्दानी हुँदा विशेष सहयोग पनि गर्ने प्रसङ्गहरूले आजको पुस्तालाई आन्दोलनलाई निरन्तरता दिन प्रेरित गरिरहनेछ भन्ने लागेको छ। यो आन्दोलन र पार्टी जगका ढुङ्गा साँच्चै नै यिनै सेल्टरदाताहरू हुन् जसप्रति यस आनदोलनका भावी पुस्ता सधैँ अनुग्रहित रहनु आवश्यक छ।

एमालेका केन्द्रीय सचिव लेखराज भट्टको अलिक फरक सन्दर्भको अनुभव पनि रोचक छ। हुन त म आफै पनि सुदूरपश्चिमको भएकोले उहाँको बारेमा सुनेको थिएँ। माओवादी संघर्षमा होमिएको अवस्थामा उहाँको सुझबुझपूर्ण नेतृत्वका कारण बिनाअर्थ सर्वसाधारणको ज्यान जाने विषय एकदमै न्यून रहेको सुन्नमा आउँथ्यो। उहाँका अनुभव सुन्दा पनि त्यस्तो यात्रामा पनि सकेसम्म अरूलाई दु:ख नदिने व्यवहारले गर्दा जनताले पनि माथिका अरू अनुभवजस्तै उहाँलाई पनि साथ दिएको पाइन्छ।

माओवादी भनेर डराउने अवस्थामा पनि सकेसम्म आफै खाना पकाउने, बास बस्न पाए भोकै हुँदा पनि रातको समयमा दु:ख नदिने नियतले जनताको मन जित्न सकिँदो रहेछ भन्ने अनुभव सँगालेको छ। बन्दुकको भरमा सेल्टर लिन्छन् भन्ने सधैँ सत्य रहेनछ। दुई दिनसम्म तरुल मात्र खाएर बसेका घटना हुन् कि चार दिनदेखिको भोको शरीरले पहाडको हावा र आकाशको पानीको सामना गर्दा सायद लक्ष्य भेट्ने दृढ उद्देश्यले मात्र जीवित रहन सकिएको थियो होला। वास दिएकै निहुँमा एउटै गाउँका छ जनाको हत्या हुनु डरलाग्दो कुरा थियो।

जति जे भने पनि आन्दोलन यदि जनताका लागि हो भने जनताले आफ्नो ज्यानको ख्याल नगरी साथ दिन सक्छन्। यस्ता धेरै अनुभवहरू केही अरुसँग पनि छन्। तर, जति चाहँदा पनि एक लेखमा पूरा समीक्षा गर्न असमर्थ भएँ। अझ धेरै व्यक्तित्वहरूका अनुभवलाई सँगालेर अर्को भागमा लेख्ने प्रतिबद्धता जनाउँछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad