ब्लग


यसकारण खास छ वैशाख ११ को ‘युवा उत्सव’

यसकारण खास छ वैशाख ११ को ‘युवा उत्सव’

आशिष रेग्मी
बैशाख १०, २०८२ बुधबार ९:१८, काठमाडौँ

मानव जीवन विशेषत: तीन चक्रमा विभाजित हुन्छ: बाल्य अवस्था, युवा अवस्था र वृद्ध अवस्था। युवा भन्नाले जैविक उमेर, सामाजिक भूमिका र मनोवैज्ञानिक अवस्थाको आधारमा छुट्याइएको जीवनको एक विशेष चरण हो। संयुक्त राष्ट्र संघले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ। नेपालको राष्ट्रिय युवा नीति, २०७२ अनुसार नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा मानेको छ।

सामाजिक र आर्थिक भूमिकालाई आधार मान्दा युवापन जीवनको त्यो चरण हो, जहाँ व्यक्ति शिक्षा प्राप्तिमा लागिरहेको हुन्छ, रोजगारीको खोजीमा हुन्छ वा आफ्ना सामाजिक, आर्थिक र राजनीतिक पहिचानको निर्माण गरिरहेको हुन्छ। मनोवैज्ञानिक र सांस्कृतिक दृष्टिकोणलाई आधार मान्दा भने युवापनले जीवनको त्यो चरणलाई प्रतिबिम्बित गर्छ, जसमा उत्साह, आकांक्षा, सिर्जनशीलता, प्रयोग, विद्रोह र सामाजिक परिवर्तन झल्किन्छ। समग्रमा भन्नुपर्दा युवालाई निश्चित उमेरको सीमामा बाँध्न खोजिए पनि यो  जीवनको त्यो अवस्था हो, जहाँ व्यक्तिको व्यक्तित्व निर्माण, आत्म-परिभाषा र सामाजिक हस्तक्षेप प्रबल हुन्छ।

नेपाली लोकतन्त्रको इतिहास विश्लेषण गर्ने हो भने प्रत्येक आन्दोलनको अग्रपंक्तिमा युवाहरू खटेको देखिन्छ। यसरी पटकपटकको संघर्षपश्चात् प्राप्त भएको पूर्ण लोकतान्त्रिक गणतन्त्रमाथि फेरि एकपटक प्रहार गर्ने कोसिस भइरहेको छ। यसपटकको प्रहार राजतन्त्रवादीहरूबाट मात्र होइन लोकप्रियतावाद अभ्यास गरिरहेका नवफासिस्टहरूबाट पनि भएको देखिन्छ। लोकतन्त्रको उदारता र खुलापनको फाइदा उठाउँदै यी दुवै शक्तिले अपव्याख्याको जगमा लोकतन्त्र विरोधी र निर्दलीयताको बहस सुरु गरेको देखिन्छ।

नेपाली जनताले २०७२ को संविधान जारी भएपश्चात् अवस्था परिवर्तनको आश गरेका हुन्। २०४७ मा बहुदलीय प्रजातन्त्र स्थापना हुनु अघिभन्दा नेपालले अहिले धेरै नै प्रगति गरेको तथ्यांकले देखाउँछ। तर, गर्नुपर्ने र हुनुपर्ने धेरै छ। हाल नेपाली जनताको चाहना मुख्यरूपमा सेवा प्रवाह, रोजगारी र उद्यमशीलताका लागि सहज वातावरण हो। विश्व बजारमा देखिएको मन्दी र विश्व नै बहुध्रुवीयतामा प्रवेश गरेको अवस्थाले पनि नेपाली समाजमा केही असर परेको हुन सक्छ। साथै, दुई छिमेकीको भूराजनीतिको चपेटाले पनि नेपालको द्रुत गतिको विकासको चाहनालाई सुस्त गरेको छ।

तर, यो सबै अप्ठेराका बाबजुद नेपाल लोकतान्त्रिक र आर्थिक स्थिरताको बाटोमा बामे सरिरहेको छ। द्रुत विकासको चाहना पूर्तिको कमीलाई देखाएर यी पुरातनवादी शक्ति र पपुलिष्ट शक्तिहरू लोकतन्त्रकै विकल्पको राय निर्माणमा लागेका छन्। एकले यस व्यवस्थामा देखिने हरेक समस्यालाई लोकतन्त्रको कमजोरी र विकल्पमा राजतन्त्र हुनुपर्ने राय राखिरहेका छन्। अर्कोले भने यसै व्यवस्था भित्रबाट निर्दलीयताको बहस सुरु गरेर लोकतन्त्रको मुख्य मान्यता बहुदलतालाई नै ध्वस्त बनाउन खोजिरहेको देखिन्छ। जुनसुकै अवस्थामा पनि नेपाली लोकतन्त्रमाथि फेरि एकपटक प्रहार भइरहेको छ।

प्रत्येक पुस्ताको आफ्नै समय हुन्छ। तर, कुनै समय यस्तो पनि आउँछ जुन महत्त्वपूर्ण मात्र होइन, ऐतिहासिक पनि हुन्छ। अहिले नेपाली युवाहरू इतिहासको एउटा यस्तो मोडमा उभिएका छन् जहाँ उनीहरूको चेतना, इतिहासप्रतिको बुझाइ, र लोकतन्त्रप्रतिको प्रतिबद्धताले मुलुकको दिशा परिवर्तन गर्न सक्छ। यही सन्देश बोकेको छ – वैशाख ११ को 'युवा उत्सव'ले। जसरी वैशाख ११ एउटा मिति मात्र होइन हाम्रो लोकतान्त्रिक यात्राको धड्कन हो, त्यसरी युवा उत्सव केवल कार्यक्रम मात्र होइन, यो नयाँ पुस्ताको संकल्प हो, स्मरण हो, र सङ्घर्षको यात्रामा पाएको जिम्मेवारी हो।

स्वतन्त्रता आफै जन्मिँदैन, त्यसका लागि कयौँ पुस्ताले बलिदान दिनुपरेको हुन्छ। लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरू केवल शासक परिवर्तनको मुद्दा मात्र थिएन, त्यो चेतनाको विस्फोट पनि थियो। वैशाख ११ को उत्सव मार्फत युवा पुस्ताले ती आन्दोलनका ऐतिहासिक महत्त्वलाई स्मरण गर्नु आवश्यक छ किनकि वर्तमान बुझ्न इतिहास जान्नैपर्ने हुन्छ।

नेपालको राजनीतिक यात्रा कहिले पनि सहज रहेन। ००७ सालको जनक्रान्ति, ०४६ सालको पहिलो जनआन्दोलन, ०६२/०६३ को दोस्रो जनआन्दोलन र गणतन्त्रको घोषणासम्म आइपुग्दा नेपाली जनताले ठूलो मूल्य चुकाएका छन्। आज पनि देशको राजनीतिक स्थायित्व, समाजवादको लक्ष्य र गणतान्त्रिक संरचनाको रक्षा गर्न युवाहरूको संलग्नता अपरिहार्य छ। वैशाख ११ मा एमालेले आयोजना गरेको युवा उत्सवले युवाहरूमा लोकतन्त्रप्रति प्रतिबद्ध बनाउने खालको विचारको बिजारोपण गर्नेछ। यो युवा उत्सव केवल हिजोको स्मरण मात्र होइन भविष्यको प्रष्ट दृष्टिकोण सहित टुङ्गिने विश्वास पनि छ।

लोकतन्त्रप्रति युवा प्रतिबद्धता किन आवश्यक छ?
लोकतन्त्रलाई केबल निर्वाचनको प्रक्रियाको रूपमा मात्र चित्रण गरिनु हुँदैन। यो त सोचाइ हो, व्यवहार हो र संस्थागत अभ्यास हो, जहाँ सबै नागरिकको अधिकार सुरक्षित हुन्छ र सबैको आवाजले अर्थ राख्छ। लोकतन्त्र नहुँदाको अनुभव हाम्रो साह्रै तितो हुने गरेको छ। राणा शासन, पञ्चायत र राजा ज्ञानेन्द्रको प्रतिगमन यसका केही नेपाली परिवेशका उदाहरणहरू हुन्। यी सबै कालखण्डमा जनताले स्वतन्त्रता गुमाएका थिए, प्रेसमाथि नियन्त्रण थियो, जनताको अभिव्यक्ति कुण्ठित गरिएको थियो र समग्रमा एक व्यक्ति या वंशको हुकुमी शासन लादिएको थियो।

लोकतन्त्र नहुँदा के हुन्छ भन्ने उदाहरण विश्वभर पनि नेपालकै जस्तो तितो र अमिलो छ। म्यानमारमा सेनाले शासन लिएको छ अनि हजारौँ युवा जो नागरिक अधिकारका पक्षमा थिए ती सबै जेलमा छन्। अफगानिस्तानको तालिबानी शासनमा महिलालाई पढ्न, बोल्न मात्र होइन सार्वजनिक रूपमा हाँस्न समेत निषेध गरिएको छ। उत्तर कोरियामा सत्ताको विरोध गर्नु मृत्युलाई बोलाउनु जस्तै हो। यी दृष्टान्तहरूले प्रष्ट पार्छन् कि लोकतन्त्रको विकल्प निरंकुशता, डर, हिंसा र अभिव्यक्तिको मृत्युसँग मेल खान्छ।

यति भनिरहँदा लोकतन्त्रमा समस्या नै हुन्न भन्ने होइन। एउटा कुरा के स्वीकारौँ भने लोकतान्त्रिक अभ्यासमा कमजोरी हुन्छन्। भ्रष्टाचार, गुटबन्दी, निर्णय प्रक्रियामा ढिलाइ, सेवा प्रवाहमा कठिनाइ, सुशासनको अभावजस्ता समस्या नेपालको लोकतन्त्रले भोगिरहेको धेरै हदसम्म सत्य हो। तर यी समस्या लोकतन्त्रका कारण होइनन् बरु लोकतन्त्रको अभ्यासमा भएका त्रुटिका परिणाम हुन्।

लोकतन्त्रभित्रका समस्या हल गर्न लोकतन्त्रलाई सुधार्नुपर्छ लोकतन्त्रलाई विस्थापन गर्ने होइन। लोकतन्त्रको सुदृढीकरणको विकल्प लोकतन्त्र आफैभित्र छ। यसका लागि पारदर्शिता बढाउनु पर्छ, जवाफदेही नेतृत्व आवश्यक पर्छ, युवाहरूलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउनुपर्छ, डिजिटल युगमा लोकतन्त्रको प्रयोगशाला विद्यालयदेखि नै सुरु हुनुपर्छ।

अन्तमा, लोकतन्त्र सधैँ अपूर्ण हुन्छ तर अपूर्ण भयो भन्दैमा लोकतन्त्रको विकल्प निरंकुशता हुन सक्दैन। त्यसको विकल्प अझ उन्नत लोकतन्त्र, अझ जवाफदेही नेतृत्व र अझ सचेत नागरिक सहभागिता हो। यही चेतनाको उत्सव हो वैशाख ११ को युवा उत्सव।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad