ब्लग

Tata MotorsTata Motors

कोरोनासँग लड्न टोलटोलमा सहयोग समिति


मधुसुदन सुवेदी
काठमाडौं, चैत १५

पूर्वी नवलपरासीको देवचुलीस्थित रजहर सामुदायिक प्राकृतिक चिकित्सालयमा ४०० शैयाको क्वारेन्टाइनमा बसेका नागरिक (तस्बिरः रासस)

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले हामीलाई पनि छोइसकेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै परिस्थिति काबु बाहिर नजाओस र संक्रमण धेरै नफैलियोस भनेर सरकारले चैत ११ गतेबाट एक सताका लागि देशैभर लकडाउन घोषणा गरेको हो। औषधि र खाद्यान्नबाहेक ओसारपसार र आवागमन बन्द गरिएको छ। लकडाउनको समय अझै बढ्ने सम्भावना छ। अपेक्षाअनुसार नागरिकले लकडाउनको पालना गरेका छैनन्। यो अवज्ञा निकै जोखिमपूर्ण छ। यतिबेला नागरिकले के गर्ने? राज्यले के गर्ने?

एयर कन्डिसनर र कारमा धेरैबेर रहन्छ भाइरस
देशबाहिरबाट यात्रा गरेर आएका वा देशभित्र यात्रा गरेकाहरूले १४ दिनको क्वारेन्टिनमा बस्नु भनेको सचेत ढंगले आफ्नो बारेमा थाहा पाउने र कदाचित आफुमा भाइरस सरिसकेको रहेछ भने आफ्नो परिवारका सदस्य, नाता कुटुम्ब, साथीभाइ, इस्टमित्र र कार्यक्षेत्रमा सँगै काम गर्ने व्यक्तिहरुलाई संक्रमणबाट बचाउनका लागि हो।

यो अभूतपूर्व संकटलाई घरमै बसेर, बाहिरी वस्तु एवम् व्यक्तिहरूसँग टाढै रहेर मात्र जित्न सम्भव छ। बाहिर निस्किएर संक्रमित सँगको घुलमिलले ठूलो संकट आइपर्ने हुँदा लकडाउनका नियम पालन गर्नु भनेको हामीले आफूलाई र अरुलाई बचाउने हो। त्यसैले अत्यावश्यक काम बाहेक सबैजना थपक्क घरमै बसौँ। अत्यावश्यक काम परी घर बाहिर जानु पर्दा भाइरसको संक्रमण नहोस् भनेर मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गर्ने हो। सामान्य अवस्थामा घरभित्र बस्दा माक्स लगाउन आवस्यक छैन।

स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक र सहयोगी, औषधि बिक्रेता, अत्यावश्यक समानका थोक तथा खुद्रा बिक्रेता, बैंकका कर्मचारी, सुरक्षामा खटिएका व्यक्तिहरु आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा संक्रमित हुन सक्ने सम्भावना हुन्छ र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामीले बेवास्ता गर्नु हुँदैन। खासगरि स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकका लागि गुणस्तरीय मास्क र स्यानिटाइजरसहित पीपीईको व्यवस्था हुनै पर्छ।

सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। संक्रमितको संख्या बढ्दै जाँदा हामी झन् कडा अनुशासनमा बस्ने र त्यसै बमोजिम आफ्नो बानी ब्यबहारमा पनि ध्यान दिनुपर्छ। मुख, नाक, आँखा, खाना, चावी तालाहरू, चुक्कल, विद्युतीय स्वीचहरू, रिमोट कन्ट्रोल, मोवाइल फोन, घडी, कम्प्युटर, डेस्क, टिभी छुनुअघि र पछि साथै शौचालय तथा स्नानकक्ष प्रयोग पश्चात साबुन पानीले हात धुनुपर्छ। विज्ञहरुका अनुसार यो भाइरसका अणुहरू बाह्य चिसो, घरको एयर कन्डिसनर र कारमा धेरैबेर स्थिर रहिरहन सक्दछन्। तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार चाहिन्छ। तसर्थ वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निष्क्रिय पार्छ। घरमा बस्दा सम्भव भएसम्म झ्याल खुला राख्ने, कपडाहरु घाममा सुकाउने, समय समयमा तातोपानी खानाले भाइरसको संक्रमण घटाउन सकिन्छ।

स्वास्थ्य सचिवको हचुवा भनाइ
यो समयमा स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर हुन दिनुहुँदैन। संक्रमितको उपचार, आइसोलेसनमा राखिएका बिरामीहरुको जाँच लगायत कामका लागि आवश्यक मेडिकल सामग्रीको अभावमा स्वास्थ्यकर्मीले कुशलतापूर्वक काम गर्न सक्ने कुरै भएन। सरकारले छिटोभन्दा छिटो सामान आपूर्तिगरी स्वास्थ्यकर्मीलाई सहजताका साथ कामगर्ने बातावरण बनाउनु पर्छ। संकटको बेला प्रक्रियागत जटिलतालाई तोडेर सामानहरु किन्ने र न्यायमुखी वितरणको व्यवस्था यथाशीघ्र मिलाउनु जरुरी छ। ती सामानहरुलाई प्रदेशतहका अस्पतालहरुमा पठाउने काममा ढिलाई गर्नु हुँदैन।

अहिले पीपीर्ई बनाउने भन्दै जो पायो त्यहि व्यक्तिले रेनकोट, एप्रोन, माक्स बनाउने कपडा सिलाएको सुनिएको छ र सोसल मिडिया मार्फत प्रचारप्रसार गरिँदै छ। त्यस्तो पीपीई लगाउँदा झन् बढी जोखिम हुन सक्छ। भाइरस नछिर्ने माइक्रो प्वाल पारेर सिलाउने प्रबिधिको प्रयोग गरी कपडा सिलाउनु पर्ने हुन्छ। गाइडलाइन बिना यस्तो संवेदनशील उपकरणमा खेलवाड गर्नु प्रत्युत्पादक हुन्छ। सस्तो लोकप्रियताको लागि वा व्यवसायको लागि कसैले पनि स्वास्थ्यकर्मी र बिरामीमाथि खेलवाड गर्नु गैरकानुनी मात्र हैन अपराध हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव जस्तो जिम्मेवार व्यक्तिले पत्रकार सम्मेलनमा श‌ंकास्पद बिरामीको जाँच गर्नका लागि मास्क, पञ्जा र टोपी मात्र लगाए पुग्ने बताए पछि सम्बन्धित व्यक्तिको विषयवस्तुमा ज्ञान र जिम्मेवारीबोध प्रति प्रश्न उठ्नु अस्वभाविक हैन। मन्त्रालयले तोकेको मापदण्डले चिकित्सकहरु आफू सुरक्षित हुनेमा भने श‌ंका व्यक्त गरेका छन्। यस्तो अवस्थामा राज्यको महत्वपूर्ण जिम्मेवारी पाएका व्यक्ति झन संबेदनशील हुनुपर्छ।

कोभिड–१९ का लक्षण देखिने सबै बिरामीहरु कोरोनाबाट संक्रमित हुँदैनन्। तर उनीहरुलाई संक्रमण भएको पुष्टि भएपछि मात्रै पीपीईसहितका स्वास्थ्यकर्मीले परिक्षण गर्ने मापदण्ड बनाउँदा त्यसअघि नै पीपीई बिना उनीहरुको सामान्य उपचार तथा रोग निदानमा संलग्न हुने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा पर्छन् र संकटको अवस्थामा रातदिन काम गरेका स्वस्थाकर्मीको मनोबल गिराउने खालका हर्कत गर्नु हुँदैन।

एक हजार व्यक्तिको पनि रगत परिक्षण गरिएको छैन
हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोनको आशंकामा रहेका व्यक्तिहरुको रगत परीक्षण हुँदै आएको छ । सरकारले पाटन अस्पताल, वीर अस्पताल र बीपी कोइराला मेमोरियल अस्पताल धरानमा पनि यसको परीक्षण सुरु गर्ने भने तापनि अझैसम्म सुरु भएको छैन । यस्तो अवधारणा केन्द्रिकृत छ। सरकारले प्रयोगशालाको परीक्षण क्षमता वृद्धि गर्नेतर्फ ध्यान पुर्‍याएको देखिँदैन। यो आलेख तयार पर्दासम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार व्यक्तिको पनि रगत परिक्षण गरिएको छैन।

यो संख्या चीनबाट जहाजमा नेपाल ल्याइएका व्यक्तिहरुको परीक्षण समेत जोडेर निकालिएको हो। यस्तो अवस्थामा कोरोना संक्रमितको पहिचान गर्न कठिन देखिन्छ । समयमै रोगको पहिचान गर्न सके संक्रमण रोक्नका साथै बिरामीको उपचार गर्न समेत सजिलो हुन्छ। यस्तो अवस्थामा राज्यले निजी क्षेत्र र विश्वविद्यालयसँग सहकार्य गरी परिक्षणको क्षमता पढाउनु पर्छ।

ग्यासको खपत घटाउने बिजुलीको बढाउने
अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु, औषधी, खाद्यान्न, तरकारी, दूध लगायतका सामाग्रीहरुको अभाव हुन नदिने र कालाबजारी रोक्न केन्द्रदेखि स्थानीय तहसम्म, प्रहरी प्रशासनदेखि नागरिक समाजसम्म चनाखो हुनु जरुरी छ। ग्यासमा कालाबजारी भएको छ। हामीले दीर्घकालीन सोचमा जानुपर्छ। भूकम्पको बेला चीनले अनुदान दिएको इन्डक्सन चुलो महँगो मूल्यका कारण बिक्रि नभएको सुनिन्छ। उर्जामन्त्रीले बिजुलीको खपत बढाउने र मूल्य घटाउने भनिरहँदा, गोदाममा थन्किएको इन्डक्सन अनुदानमा दिएर ग्यासको प्रयोग घटाउन र बिजुलीको खपत बढाउन मद्दत गर्छ।

अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु किन्दा र घर ल्याउँदा समेत सावधानी अपनाउनु पर्ने हुन्छ। औषधि, पत्रिका, दुधको पाकेट, पसलबाट भर्खेरै किनिएको सामान र प्लास्टिक जस्ता संक्रमण हुने पदार्थको माध्यम हुँदै भाइरस तपाईं हाम्रो घरमा आइपुग्न सक्छ। सामान किन्न पसल जाँदा माक्स लगाउने, सकभर सामान राख्न आफ्नै झोला लैजाने, तरकारी तथा फलफुललाई राम्ररी पखालेर मात्र राख्ने र साबुनपानीले हात धोई सकेपछि मात्र घरको अन्य काम गर्दा सुरक्षित हुन सकिन्छ।

coronanepal
बेनीमा भाइरस नष्ट गर्ने कीटनाशक औषधि छर्किंदै (तस्बिरः कमल खत्री/रासस)

टोलटोलमा सहयोग समिति
कोरोनाविरूद्ध सिङ्गो देश जुधिरहेको बेला अधिकांश अस्पतालहरूले यो वा त्यो बहानामा दीर्घ रोगी र नयाँ बिरामीहरूको भर्ना नलिएका कारण बिरामीले अस्पताल चाहार्दै हिंडनु पर्ने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्था देखिएको छ। ज्वरो आएका बिरामीलाई गेटबाटै फर्काउने गरेको गुनासो आइरहेका छन्। यसो गर्नु अपराध हो र राज्यले प्रमाणको आधारमा त्यस किसिमको हर्कत गर्ने अस्पताललाई दण्डित गर्नुपर्छ।

हरेक वडामा विभिन्न टोल हुन्छन् र धेरैजसो वडामा टोल विकास समितिहरु छन्। यी समितिहरु विभिन्नरूपमा सक्रिय पनि छन्। यी समितिको अध्यक्षको अगुवाइमा हरेक घरको विवरण राखौं, घरको कुनै सदस्यले विदेश वा स्वदेशको अन्य कुनै ठाउँमा यात्रा गरेको छ भने विस्तृत विवरण राखौं। समिति नभएको टोलमा बनाउँ र सक्रियता बढाउने काम गरौं।

परिवारको कुनै सदस्यलाई कोरोना सम्बन्धि लक्षण देखापरेमा अध्यक्ष वा सचिव मार्फत नजिकको स्वास्थ्यकेन्द्र वा अस्पतालमा खबर गर्न सकिन्छ। यसो गर्दा लकडाउनको बेला औषधी र अत्यावश्यक खाद्यान्नको ओसारपसार गर्न सजिलो हुन्छ। जोखिममा परेका परिवारलाई आर्थिक सहयोग र भविष्यमा पर्न सक्ने समस्या समाधानका उपायहरुको व्यवस्थापन गर्न सकिन्छ।

झोलिलो खानेकुरा खाने र प्रशस्त पानी पिउने
कोरोनाको त्रासले बालबालिका, युवा, वयस्क सबैलाई रन्थन्याएको छ। सोसल मिडिया मार्फत गलत र आतंकित पार्ने किसिमका सूचना प्रवाहितहुँदा धेरैजसो मानिसहरुलाई अस्वाभाविक डर, मृत्‍यु, चरम निराशा र सम्भावित आर्थिक क्षतिको चिन्ताले तनाव बढाउँछ। त्यसको प्रत्यक्ष असर हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ। त्यसो हुन नदिन घरपरिवारका सदस्यहरुबीच सुमधुर सम्बध हुन जरुरी छ।

एकले अर्काको कुरा सुन्ने, धारणा बुझ्ने, फरक फरक किसिमको काम गरेर एकाग्रता बढाउने, लगातार काम नगरी समय समयमा विश्राम लिने, घरभित्र गर्ने सकिने योगा तथा व्यायाम गर्ने, जेष्ठ नागरिक, सुत्केरी महिला, बिरामी र असक्तको खानपिनमा ध्यान दिने, झोलिलो खानेकुरा खाने र प्रशस्त पानी पिउने गर्नुपर्छ। गीत संगीतले पनि तनाव हटाउन मद्दत गर्छ। प्रविधिको उपयोग गरी आफन्त, साथीभाइसँग फोन सम्पर्कमा रहने, हालखबर बुझ्ने र अनावश्यक हल्लाको पछि नलाग्न सल्लाह तथा सुझाव दिने गर्दा आफ्नो र अरुको तनाव घटाउन सकिन्छ।

रोग लाग्दा बित्तिकै मरिन्छ भन्ने भय बाट आफू र अरुलाई पनि जोगाउनु पर्छ। मृत्यु हुनेभन्दा कैयौँ गुणा ज्यादा कोरोनालाई पराजित गर्दै बाँचेर घर फर्केका तथ्यांकहरु सार्वजनिक भैसकेका छन्। त्यसका निम्ति आत्मअनुशासनमा बस्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। आफूलाई अनुशासनमा राख्न सकियो भने कोरोनासँगको लडाइँमा जित सम्भव छ।

coronanepal2
डोटीको सहजपुर बोगटान सडकमा काम गर्ने श्रमिकको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मीको टोली (तस्बिरः विमलबहादुर विष्ट/रासस)

कसैले काम गुमाउने अवस्था नआओस्
लामो समयसम्मको लकडाउनले देशको अर्थतन्त्रमा असर पारेको छ। दैनिक कमाएर गुजारा गर्ने वर्गमा यसको असर धेरै पर्छ। उनीहरु सबै घरभित्र बन्द भएका छन्। दैनिकी कसरी चलाउने भन्ने उनीहरुको प्रमुख चिन्ता छ। दैनिकी नखुलेसम्म काम नपाइने भएकाले यस्ता वर्गका साथै मध्यम र निम्न वर्गका मानिसमा कोरोना भाइरसका कारण ठूलो असर पर्ने निश्चित देखिएको छ। राज्यले यस तर्फ विशेष ध्यान दिएर राहतको व्यवस्था गर्नुपर्छ। जनताले कर यस्तै दुख पर्दा सरकारले हेर्ला भनेर तिरेको हैनन् र?

त्यसैगरी विभिन्न पेसासँग सम्बन्धित दैनिक ज्यालादारी कर्मचारीलाई बिदा मिलाई काम नगुम्ने अवस्थाको प्रत्याभूति गर्न ती संस्था, व्यक्ति र फर्महरुसँग सरकारले समन्वय गर्नु पर्छ। कसैले पनि काम गुमाउने अवस्था आउनु हुँदैन। राज्यप्रति जनताको विश्वास जगाउने यो ठिक समय हो।

‘अरुलाई कामको रन्को घरज्वाइँलाई खानको रन्को’
पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा बढी अमेरिकामा देखिएको छ। नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित भएको देश बनेको हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रण गर्न अमेरिका सबैभन्दा बढी सक्षम राष्ट्र भएको दाबी गरिरहँदा त्यहाँको स्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको छ। ठिक यसैबेला अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई डेढ करोड डलर पुरस्कारको घोषणा गरेको छ।अमेरिकाले मादुरोलाई अमेरिकामा कोकेनको बाढी नै ल्याउन खोजेको आरोप लगाएको छ। आफ्नो सहरमा आगोको मुस्लोले खरानी भैरहदा अरुलाई सत्तो सराप?

देशभित्र पनि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘मुलुक राष्ट्रिय संकटबाट गुज्रिरहेकाले सहमतिको सरकारको खाँचो’ औल्याएका छन्। उनले मुलुक संकटमा परेका बेला सहमतिको सरकार गठन हुने गरेको भन्दै अरु दललाई पनि समेटेर अगाडि बढ्न सरकारलाई सुझाएका छन्। सायद ‘अरुलाई कामको रन्को घरज्वाइँलाई खानको रन्को’ भनेको यहि होला। यसबेला प्रतिपक्षले राम्रो भूमिका खेलेमा सत्ताको थाली पाउन धेरै समय लाग्दैन। राम्रो खेतीपाती गरेपनि बालि भित्राउन केही समय त धैर्य गर्नै पर्छ, हैन र?

र, अन्तमा
पहिलो रोग आउनै नदिने उपाय अपनाउने र दोस्रो लाग्यो भने उपचारका जस्तोसुकै कदम चाल्ने। संक्रमितलाई बचाउको लागि यथेष्ट तयारी हुनु जरुरी छ। सबैले आआफ्नो क्षेत्रबाट योगदान दिनु जरुरी छ। दैनिक जिन्दगी भन्दा अलि फरक परिस्थितिमा सरकार, प्रतिपक्ष, नागरिक समाज, निजीक्षेत्र सबैको महत्वपूर्ण भूमिका हुन्छ। संक्रमित हुँदा बित्तिकै मरिँदैन, आफू जोगिनु पर्छ र अरुलाई पनि जोगाउनु पर्छ। मृत्यु हुनेभन्दा कैयौँ गुणा ज्यादा कोरोनालाई पराजित गर्दै बाँचेर घर फर्केका छन्। दृढ इच्छाशक्तिका साथ लागेमा कोरोना नियन्त्रण गर्न सकिन्छ तर सयमले कसैलाई पर्खंदैन।

 

चैत १५, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors