इजरायलका लागि नेपाली राजदूतको कार्यभार सम्हाल्न आएयता मंगलबार (१५ माघ) को दिन विशेष रह्यो। किनकि, युद्धका कारण विश्व राजनीतिको ध्यान तानिरहेको गाजा क्षेत्रको भ्रमण गर्ने अवसर जुर्यो।
गाजा क्षेत्र प्यालेस्टाइनका विभिन्न समूहमध्ये हमासको प्रभाव रहेको क्षेत्र हो। गाजा क्षेत्रको द्वन्द्व अन्त्य गर्न इजरायल र हमासबीच युद्धविरामको करिब दुई हप्तापछि इजरायली विदेश मन्त्रालयको समन्वयमा नेपालसहित केही मुलुकका हामी राजदूतहरू गाजा क्षेत्र पुगेका थियौँ।
राजधानी जेरुसेलम भए पनि अधिकांश मुलुकहरूले इजरायलको सबैभन्दा ठूलो सहर तेलअबिबमा राजदूतावास र हर्जेलियामा राजदूत निवास राखेका छन्। नेपाली राजदूतको निवास पनि तेलअबिबको हर्जेलिया भन्ने ठाउँमा छ।
मंगलबार बिहानै ७ बजे हर्जेलियाबाट गाजातर्फ प्रस्थान गर्यौँ। बिहानै हिँडेकाले सडकमा जाम थिएन। हामी सवार गाडी अस्कलोनको बाटो हुँदै गाजा क्षेत्रतर्फ लागेको थियो।
हाम्रो राजदूतावासका चालक भरत भारतीले १७० किलोमिटर प्रतिघण्टाको दरले गाडी हाँक्दै छन्। कार कुदिरहेको सडकका दुवैपट्टि फलफूलका ठूलाठूला बगैँचा छन्। बगैँचामा अनार, सुन्तला, आभोकाडो, आरू, आँप र ठाउँठाउँमा ठूलाठूला ओलिभ (जैतुन) का रुखहरू छन्।
कतिपय ठाउँमा रुख नै भन्न मिल्ने ठूला आकारका बिरुवा रोप्न तैयार पारिएको छ।
अर्काे ठाउँमा गोबर, भुस, खरानी, माटोका चाङ मिसाएर खेतीयोग्य जमिन बनाइँदै छ। वरिपरिको जमिन निकै मलिलो छ। फाँटैभरि गहुँको खेती देखिन्छ। सम्पूर्ण फलफूल फल्न थालेपछि जाली वा प्लास्टिकले ढाकेको हुने रहेछ।
जाँदै गर्दा सडकमा एउटा चोक आयो। त्यहाँ दर्जनौँ प्लास्टिकका कुर्सीहरू थिए। कुर्सीको संख्या ८९ रहेछ। सबै कुर्सीमा प्यालेस्टिनी समूह हमासद्वारा अपहरणमा परेका बन्दीहरूको फोटो राखिएको थियो।
लहरै कुर्सीहरू हेर्दै जाँदा मैले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका र ७ अक्टोबर २०२३ (२० असोज २०८०) को इजरायलमाथि हमासको आक्रमणको क्रममा अपहरणमा परेका विपिन जोशीको फोटो पनि देखेँ।
विपिनको सकुशल रिहाइको कामना गर्दै हामी गन्तव्यतर्फ अघि बढ्यौँ।
चालक भारतीले राजदूतावासमा साढे चार वर्षअघि सेवा थालेका हुन्। यस क्रममा उनी इजरायलका धेरैजसो स्थानमा पुगेका छन्।
तर, यतिका वर्ष इजरायलमा बसे पनि यो बाटो आफू कहिल्यै नहिँडेको उनले सुनाए।

दुई घण्टाको ड्राइभपछि हाम्रो गाडी इजरायल र प्यालेस्टाइनको सीमामा पुग्यो। त्यहाँ पुग्दा स्थानीय समय अनुसार बिहानको ९ बजिसकेको थियो।
त्यहाँ ठूलो सैनिक जमघट थियो। बख्तरबन्द गाडीसहित सैनिकहरू पोजिसनमै थिए।
इजरायली उपविदेशमन्त्री सेरिना हास्केल पनि त्यहाँ आयोजित कूटनीतिक जमघटमा सहभागी हुने कार्यक्रम थियो।
मैले सोधेँ, ‘मन्त्री आउनुभयो?’
त्यहाँ रहेका सैनिकहरूले मन्त्री हास्केल रहेको स्थानतिर इसारा गरेर देखाए।
भरतले तोकिएको स्थानमा गाडी पार्किङ गरेपछि म अघि बढेँ। उपविदेशमन्त्री हास्केल र चिफ अफ प्रोटोकलसहित विदेश मन्त्रालयका केही कर्मचारी र राजदूतहरू त्यहाँ उपस्थित थिए। उहाँहरूसँग भेटघाटपछि मन्त्री हास्केलले ‘अघि बढौँ’ भन्नुभयो।
हामी तोकिएको एउटा भवनको माथिल्लो तलामा गयौँ। त्यहाँ रेस्टरुम र रिफ्रेसमेन्ट रहेछ। साथै ४०/५० जना बस्न मिल्ने हल पनि रहेछ।
त्यो भवनमा हामीलाई गाजा क्षेत्रको बारेमा सामान्य जानकारी गराइयो। हामीलाई गरिएको ब्रिफिङअनुसार हामी जुन ठाउँमा थियौँ, त्यो ठाउँ केही वर्षअघिसम्म तस्करीको केन्द्र थियो रे! सीमा जोडिएका केही मुलुकका सैनिकहरू नै आएर हतियार बेच्ने र आफूलाई आवश्यक पर्ने सामाग्री किनेर लैजाने गर्थे रे!
‘तर आजभोलि यो ठाउँ सुख्खा बन्दरगाहको रूपमा विकसित भएको छ,’ हामीलाई जानकारी दिइयो, ‘तस्करीको केन्द्रबाट यो ठाउँ अहिले अन्तर्राष्ट्रिय ट्रान्जिट प्वइन्ट (पारवहन केन्द्र) को रूपमा विकसित भएको छ।’
यो पनि जानकारी गराइयो कि प्रत्येक हप्ता इजरायलले यो ठाउँबाट ४ हजार २ सयवटा ट्रकमा मानवीय सहायताका सामग्री गाजा पठाउन अनुमति दिने गरेको छ।
केही समयपछि विदेश उपमन्त्री सेरिन हास्केल हामी बसिरहेको ठाउँमा आइपुग्नुभयो। त्यसपछि हामी ठीक सवा ९ बजे इजरायल–प्यालेस्टाइनको सीमाक्षेत्र प्रवेश गर्यौँ।
इजरायली विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल गिल हास्केलसँग यहीँ भेट भयो। हामी अगाडि बढ्यौँ। मन्त्रीको गाडी अगाडि थियो, हामी राजदूतहरूको गाडी पछाडि। त्यहाँको सुरक्षा अवस्था असाध्यै कडा थियो। तर, बिनाचेकिङ हामीलाई अगाडि बढ्न दिइयो।

त्यो पोस्ट पार गरेपछि हामी सीमानाका क्षेत्रमा पुग्यौँ। त्यहाँ पनि हामीलाई गाजा क्षेत्रबारे संक्षिप्त ब्रिफिङ गरियो। मानवीय सहायता यसै मार्गबाट आउने जानकारी गराइयो।
निकै संवेदनशील मानिने यस क्षेत्रको कमान्ड ६ महिनायता इजरायली सेनाकी एक महिला अधिकृतले सम्हालेकी रहेछन्। त्यसै बखत एक जना सादा पहिरनका स्थानीयले केही जानकारी गराए। उनले युद्धमा छोराछोरी र धेरै आफन्त गुमाएकी रहिछन्।
हामीलाई बताइएअनुसार गत साताको युद्धविरामपछि ४६ सयवटा ट्रक मानवीय सहायताका सामग्री लिएर प्यालेस्टिनी क्षेत्रमा पुगिसकेका रहेछन्। त्यसका लागि संयुक्त राज्य अमेरिकाले पनि सहयोग गरेको रहेछ।
युद्धविरामपछि विस्थापित गाजाबासीहरू घर फर्कन थालेका छन्। उनीहरूको लागि बसोबासको प्रबन्ध गर्नु पुनर्स्थापनाको मुख्य समस्या रहेछ। मानवीय सहायताअन्तर्गत त्यहाँ पुगेका सहायता सामग्रीको सुरक्षा गर्नु पनि निकै कठिन काम रहेछ। किनभने, कतिपय सामग्रीहरू लुटिँदा रहेछन्।
‘यो हप्ता र अर्काे हप्ता औषधोपचारका लागि सहायता पुर्याउने लक्ष्य छ, यी सामग्रीहरू प्यालेस्टाइनको बाटो हुँदै ल्याउनुपर्ने हुन्छ’ ती महिला अधिकारीको भनाइ थियो, ‘तर कहिलेकाहीँ विभिन्न कारणले हाम्रो लक्ष्य पूरा हुन सक्दैन।’
उनका अनुसार सहायता सामग्री लैजाँदा बाधा–विरोध गर्ने, नकारात्मक प्रचारबाजी गर्ने अन्तर्राष्ट्रिय सहायता समूह पनि छन्। यिनै कारणले सहायता सामग्री निर्धारित स्थानमा समयमै पुर्याउन नसकिएको उनले बताइन्।
‘तैपनि पिठो, बेकरी लगायतका खाद्य सामग्री हामीले पुर्याएका छौँ किनकि यी खाद्य सामग्री हुन्,’ उनले थपिन्, ‘उनीहरू हामीलाई सिध्याउन खोज्ने शत्रु भए पनि मानवीयताका आधारमा हामीले खाद्य लगायतका सामग्री लैजान अनुमति दिएका छौँ।’
इजरायल र हमासबीच युद्धविराम भए पनि दुई पक्षबीच विश्वासको पूर्ण वातावरण बनिसकेको छैन। ती महिला अधिकारीको भनाइबाट पनि यो कुरा बुझिन्थ्यो। उनले कतिपय अन्तर्राष्ट्रिय संघ–संस्थाको भूमिकाप्रति आफूहरू आशंकित रहेको बताइन्।

उनको मुख्य जिम्मेवारी यो नाका हुँदै आउने ट्रकको चेकजाँच गर्नु रहेछ। मानवीय सहायताका सामग्री बोकेर गएका ट्रकहरू त्यहाँ पुगेपछि ती सामग्री झारेर तिनको उपयोगिता तथा गुणस्तर परीक्षण गरिँदो रहेछ र अर्काे ट्रकमा राखेर गाजा लगायतका प्यालेस्टिनी प्रशासन अन्तर्गतको क्षेत्रमा जाँदो रहेछ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सहयोगका लागि पठाइने खाद्य र अन्य सामग्रीहरू इजिप्टमा किनेर यहाँ पठाउने रहेछन्। कहिलेकाहीँ इजरायलको अस्टोड भन्ने ठाउँबाट समेत किनेर लगिँदो रहेछ।
हामी त्यहाँ रहेकै बेला युनाइटेड अरब एमिरेट्स (यूएई) ले पठाएको सहायता सामग्री सहितको ट्रक इजिप्टको बाटो प्यालेस्टाइन क्षेत्रतर्फ जान आइपुग्यो। यस्ता धेरै ट्रकहरू हामीले लाइनमा रहेको देख्यौँ। स्क्यान गरेपछि ती ट्रकहरू सीमा क्षेत्रभित्र प्रवेश गर्दा रहेछन्।
त्यो क्षेत्रमा हामीले केही घण्टा बितायौँ र साँझपख तेलअबिब फर्क्यौँ।
फर्कंदै गर्दा भ्रमण गरेको क्षेत्र त मस्तिष्कमा थियो नै, त्योभन्दा बढी विपिन जोशी थिए– जो अहिलेसम्म हमासको नियन्त्रणमा छन्। दुई घण्टाको अवधिभर मैले विपिनको छिटोभन्दा छिटो मुक्ति होस् भन्ने कामना गरिरहेँ। पहिलोपटक गाजा पुग्न पाएकामा एकसाथ डर र खुसी लागिरहेको थियो।
(प्रा. धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत हुन्)
Shares

प्रतिक्रिया