ब्लग


तारा सरलाई सम्झने साँचो तरिका

तारा सरलाई सम्झने साँचो तरिका

सङ्गीत
माघ ३, २०८१ बिहिबार १८:५, काठमाडौँ

–‘समालोचना लेखनको सङ्गठित प्रयास, आवधिक छलफल, स्रष्टा र समयको अपेक्षाको सम्बोधन अनि बजारको अतिक्रमणका विरुद्ध योजनाबद्ध कार्यक्रम निर्माणमा पनि (हाम्रो) कमजोरी नै रहेको छ। सङ्गठित रूपमा र योजनाबद्ध रूपमा समालोचनाको विकासका लागि जसरी कामहरू गर्नुपर्थ्यो, त्यसरी हुन सकेन। परिणाम स्वरूप समालोचकको नयाँ पुस्ताको निर्माण र विकास जुन रूपमा हुनु पर्थ्यो, त्यो हुन सकेन।’

–‘विश्वव्यापी रूपमा महाख्यानको अन्त्य, इतिहासको अन्त्य, कर्ताको अन्त्य र समग्रतः विचारको अन्त्यको डङ्का बजाएर जसरी कलाको सौन्दर्य मूल्यलाई उपभोक्तावादी बिकाउ मालमा स्खलित गराइँदैछ, त्यसका विरुद्ध जुध्न मार्क्सवादी समालोचना शिविरभित्र पनि महान् बहसको थालनी र सङ्घर्षको साझा मोर्चा निर्माणको आवश्यकता रहेको छ।’

–‘बजार र बजारवादीहरू असङ्गठित देखिए पनि उद्देश्यमा सङ्गठित छन् र उनीहरूसँग स्रोत छ। प्रगतिवादीहरू सङ्गठित देखिए पनि योजनाबद्ध कामको अभाव छ। बजारवादको प्रभावलाई कसरी चिर्ने भन्नेबारे सङ्गठित र योजनाबद्ध प्रयासको खाँचो छ।’

म यो संस्मरणमा धेरै प्रसङ्ग लेख्ने छैन। तीन उद्धरणहरूबाट कुरा थालेको छु, यिनै तीन उद्धरणको सारमा आइपुगेर लेखान्त्य गर्नेछु। र, यो संस्मरणको मूल प्रश्न हुनेछ– सम्झनाको सुरुवात कहाँबाट गर्ने?

सम्झनामा आइरहने महत्त्वपूर्ण पक्षहरू एकआपसमा खप्टिएको र जोल्ठिएको अनुभूति भइरहन्छ, बेलाबेला। विशिष्ट प्रभावको आयतन थोरै लामो छ, म यहाँ त्यसलाई नाप्ने उद्यम गर्ने छैन। कलासमीक्षा मेरो अध्ययनको एउटा रुचिजगत हो, त्यस जगतका भावी दिनहरूमा अभाव खड्कने भूमि परसम्म फैलिएको देखिरहेको हुन्छु, त्यसको निरूपणादि पनि म यहाँ गर्ने छैन। ताराकान्त पाण्डेय, जसको चरित्र–वृत्तबारे उल्लेख गर्न सकिने सन्दर्भहरू उहाँसँग सङ्गत गर्ने एक व्यक्तिका रूपमा मेरो स्मृतिको फाँटमा पर्याप्त छन्। एक पाठकका रूपमा उहाँको लेखन–वृत्तको वैशिष्ट्य र वैचारिक अन्तरविरोधलाई पनि केलाउन पाए हुन्थ्यो भन्ने रुचि छँदैछ। छिटोछिटो लेखिएको यो छोटो लेखमा म स्मृतिको त्यो विशाल फाँटमा र समीक्षाको त्यो तेर्पाएँ उकालोमा उन्मुक्त ढङ्गले पैदलयात्रा गर्न असमर्थ छु। यहाँ त्यस्ता केही सन्दर्भहरूको सस्यानो सङ्केत मात्रै गर्नेछु। सङ्गत र संस्मरणका बाँकी पानाहरू अर्को तिथिमा फेरि पल्टाउने मेसो अवश्य मिल्नेछ। 

२०६० साल जेठमा चितवनमा भएको ‘दलित कवि गोष्ठी’को मञ्चमा पहिलो भेट भएको थियो, जहाँ मैले शार्दूलविक्रीडित छन्दको ‘को नै छ मेरो यहाँ?’ शीर्षकको कविता गाएको थिएँ र उहाँले त्यसै कविताको आलोचनात्मक समीक्षा गर्नुभएर मलाई झसङ्ग पार्नुभएको थियो। झसङ्ग किनभने छन्दकविता गाएर मैले प्रायः प्रशंसा र ताली मात्रै पाइरहेको बखत उहाँले कविताको अन्तर्वस्तुको वैचारिक चिरफार र आलोचना गर्नुभएको थियो। अनि सबैभन्दा पछिल्लो छलफल २०८० पुसमा ‘लेनिन स्मृति शतवार्षिकी’को बैठकमा काठमाडौं, बागबजारस्थित पुष्पलाल ज्ञानशाला र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको कार्यालयमा भयो। अर्को बैठकका लागि असमर्थता जनाउँदै उहाँले केही दिनपछि फोनमा भन्नुभयो, ‘सङ्गीतजी, म भोलि आउन पाउँदिनँ! एउटा कार्यक्रममा सुदूरपश्चिम जाँदैछु। तपाईंहरू मिटिङ बस्नुहोला, भोलिको मिटिङमा मित्रलाल (पंज्ञानी) सरलाई पनि बोलाउनु न! उहाँलाई पनि समितिमा राख्दा हुन्छ, सल्लाह गर्नुहोला। ...काठमाडौं फर्केपछि भेटौंला, कुरा गरौंला है!’

तर, त्यसपछि उहाँ काठमाडौं कहिल्यै नफर्कने हुनुभयो। न अब फेरि हाम्रो भेट नै हुनेछ, न कुराकानी! शतवार्षिकी समितिले पहिलो वक्तव्य नै आफ्नो सदस्यको शोकमा दिनुपर्‍यो।

०६० जेठदेखि ०८० पुससम्मको बीस वर्षको लम्बाइ– तारा सर र मेरोबीच प्रत्यक्ष–अप्रत्यक्ष कहिले साथीजस्तो सङ्गत, कहिले अग्रज–अनुज अन्तर, कहिले कामरेडी संवाद, कहिले गुरुशिष्य सम्बन्ध र कहिले सुक्ष्म वैचारिक–भिन्नताका उकाला–ओराला बाटाहरूको लम्बाइ हो। कहिले एउटै सङ्गठनमा पातलो सहकार्य गर्न पायौं, कहिले साझा मोर्चाहरू निर्माणमा बाक्लो गृहकार्य गर्ने जिम्मा सँगै लियौं, कहिले सडक–सङ्घर्षका अग्रमोर्चामा सँगसँगै हिंड्यौं अनि कहिले वक्तव्य र ऐक्यबद्धताहरूमा सह–दस्तखत गरेर सँगै उभियौं। 

मेरो कवितालेखनको शैशवकाल चल्दै थियो, समाजवादी यथार्थवादी दृष्टिबाट गरिएको पहिलो समीक्षा उहाँकै थियो, जुन मैले माथि उल्लेख गरें। केही हदसम्म त्यसै समीक्षाबाट प्रभावित भएर र धेरै हदसम्म उहाँका कवितासम्बन्धी समीक्षालेखहरू मन पराएर हामीले पर्वत जिल्लामा उहाँलाई कविताको दुई दिने सैद्धान्तिक प्रशिक्षणका लागि निम्त्याएका थियौं। उहाँ आफ्ना कवितासम्बन्धी समालोचनाका किताबहरू र प्रशिक्षण सामग्री झोलामा बोकेर २०६५ सालमा कुश्माबजार पुग्नुभएको थियो, कवि अमर गिरी र समालोचक निनु चापागाईंसहित। 

प्रगतिशील लेखक सङ्घको सैद्धान्तिक विचलन र व्यावहारिक सङ्कुचनसँग विद्रोह गर्ने बेलामा पटक–पटक बैठक, वैचारिक छलफल र अन्तर्क्रिया गर्दा उहाँसँग नजिकबाट वैचारिक संवाद गर्ने मेसो परेको थियो। नयाँ मोर्चा निर्माणका लागि भएको भेलाले अवधारणापत्रको पहिलो मस्यौदा लेखनको जिम्मा मलाई दिएको थियो। पहिलो मस्यौदालाई अन्तिम रूप दिन उहाँ र म धेरैपटक छलफलमा बसेका थियौं। नवगठित ‘मार्क्सवादी सांस्कृतिक मोर्चा’को अवधारणापत्र, विधान तथा त्यसका वक्तव्यहरू धेरैजसो उहाँले र मैले नै लेखेका थियौं। भारतीय कवि वरवर राव र लेखक आनन्द तेलतुमडेको रिहाइ, एमसीसीविरुद्ध आन्दोलन, प्रतिगमनविरुद्ध स्रष्टा आन्दोलन आदि ब्यानरमा जारी गरिएका वक्तव्यहरू तयार पार्दा पनि उहाँ र मैले खेस्रा तयार पार्दै सच्याउँदै, फेरि सम्पादन गर्दै गरेका थियौं।

मार्क्सवादी धाराका उहाँ एक स्थापित समालोचक हुनुहुन्थ्यो। कला–विधाका हिसाबले उहाँ प्रतिबद्ध काव्यचिन्तक हुनुहुन्थ्यो। र, पक्षधरताका हिसाबले एक क्रान्तिप्रेमी कम्युनिस्ट बौद्धिक हुनुहुन्थ्यो। सङ्गतबाट थाहा हुन्थ्यो– आचरणमा, आहारविहारमा, समयपालनमा, मित्र–व्यवहारमा उहाँको जीवन निकै अनुशासित, किफायती र हिसाबकिताबी थियो। यिनै सन्दर्भबारे पनि केही दुर्लभ संस्मरणहरू छन्, उहाँसँगका। त्यसो त उहाँको लेखन–जीवनका, वैचारिकताका र व्यवहारिक जीवनका केही अन्तरविरोधहरू पनि मैले निजी स्तरमा समेत अनुभूत गरेको छु– कतिपय उहाँसँगको अन्तरङ्ग सङ्गतमा र कतिपय उहाँको एक शिष्य तथा पाठकका रूपमा पनि। 

लेखनमा प्रकट हुने त्यस्ता वैचारिक अन्तरविरोधहरू उहाँका समालोचनाभित्र प्राज्ञिक भाषामा खिपिएर पाठकबीच प्रकट भएका म देख्छु। केही अन्तरविरोधहरूले चाहिँ अनुसन्धानमूलक भाषाकै बीचबाट शब्दकलाका माध्यमबाट पुर्लुक्क चिहाइरहेका भेटिन्छन्। उहाँ क्लासिक मालेमावादी धाराका अग्रणी समालोचक मानिनुहुन्छ, तर कलासाहित्यका सन्दर्भमा उहाँले उद्धरण गरिरहने केही विद्वानहरू छन्– लेनिनवादविरोधी ट्राटस्कीदेखि नवमार्क्सवादी भनेर चिनिने रेमन्ड विलियम्स, टेरी इगल्टन र संशोधनवादी भिक्टर आफानास्येभसम्म! अग्रज समालोचक चैतन्यले पनि उहाँका समालोचनामा पाइने मार्क्सवाद र नवमार्क्सवादबीचको अस्पष्टताले ‘पाठक समुदायमा भ्रम पैदा हुनसक्ने’ भन्दै एक लेखमा आलोचना गर्नुभएको छ। 

यदाकदा राजनीतिक समूह–संलग्नताको दबाब पनि उहाँका समालोच्य रचना तथा कृति चयनमा अनि उहाँद्वारा प्रेषित निष्कर्षहरूमा प्रकट भएको महसुस हुन्छ। यस स्मृति–लेखमा उहाँका यसप्रकारका वैचारिक अन्तरविरोधहरूको अलग–प्रदेशतिर प्रवेश नगर्ने पूर्वोक्त अनुशासनमा म कायम रहन चाहन्छु। यति सङ्केतको माने के मात्रै हो भने दुई दशकको सङ्गतको लम्बाइमा र जिज्ञासु अध्ययनको फलकमा राखेर तारा सरलाई मैले जसरी चिनेको छु, त्यो एक संक्षिप्त स्मृतिलेखमा अभिव्यक्त गर्न सम्भव छैन।

म फर्कन चाहन्छु, मूल प्रश्नतिर– ताराकान्त पाण्डेयलाई सम्झनका लागि उहाँका साथी–सँगातीहरू, कमरेडहरू र अनुयायीहरूले पहिलो काम के गर्नुपर्ला? 

कुनै पनि व्यक्तिको जब मृत्यु हुन्छ, निकटस्थहरूमा एउटा रिक्तताले गाँजिरहन्छ। त्यो त्यस्तो रिक्तता हो, जुन ऊ जीवित रहँदा पूरा हुन सक्थ्यो। त्यो रिक्तताले हामीलाई दुःखी किन बनाउँछ भने अब ती–ती काम अधुरै रहन सक्छन्। त्यसो भने हामीले मृत्यु भएका व्यक्तिहरूलाई कसरी सम्झनुपर्ला त? अपूर्ण रहेका उसका जीवन्त सपनाहरू, सुन्दर मानवीय आकांक्षाहरू र अधुरो रहेका सिर्जनात्मक कामहरूलाई पूरा गरेर हामी हाम्रो बीच नरहेका व्यक्तिहरूलाई नयाँ ढङ्गले पुनर्जीवन दिन सक्छौं, सम्झन र सम्मान गर्न सक्छौं। तारा सरका हकमा पनि कुरा यही हो। उहाँका जीवन्त सपनाहरू के थिए? सुन्दर मानवीय आकांक्षाहरू कस्ता थिए? उहाँका अधुरै रहेका सिर्जनात्मक कामहरू के–के हुन्? त्यसबारे उहाँका सबैभन्दा निकट–मित्रहरू, पार्टी–कामरेडहरू, दैनिक सङ्गत गर्ने हितैषीहरूले बढी जानकारी राख्नुहुने कुरा स्वाभाविकै हो। एक सङ्गाती–कामरेडका हिसाबले म यहाँनिर उहाँको एउटा विशिष्ट आकाङ्क्षाको प्रसङ्ग मात्रै अघि सार्ने अनुमति चाहन्छु। त्यो थियो– मार्क्सवादी संस्कृतिकर्मी र समालोचकहरूबीच संवाद, सहकार्य र मोर्चाबन्दीको आकाङ्क्षा! 

यसबारे थोरै मात्र विषय–विस्तार गरौं। माथि यस स्मृतिलेखको सुरुमा मैले तीन वटा उद्धरण राखेको छु। म तिनै उद्धरणको प्रसङ्गमा आइपुग्न चाहन्छु, पुनः एकपटक। त्यसमध्येका दुई उद्धरण उहाँको पछिल्लो समालोचना लेख ‘मार्क्सवादी नेपाली समालोचनाको वर्तमान अवस्था र प्रवृत्ति तथा त्यसका शक्ति र सीमा’ (जो सुरुमा एक कार्यपत्रका रूपमा पेश भएको थियो, पछि ‘प्रवर्तक’मा छापियो)बाट लिएको हुँ। तेस्रो उद्धरण उहाँले मसँगको एक अन्तर्वार्तामा व्यक्त गर्नुभएको विचारांश हो, जुन अन्तर्वार्ता ‘शुक्रबार’ नामक साप्ताहिक पत्रिकामा मेरा प्रिय मित्र कवि विनोदविक्रम केसीको आग्रहमा मैले लिएको थिएँ। यी तीन वटै उद्धरणमा तारा सरले मार्क्सवादी समालोचनाको विकासमा ‘सङ्गठित रूपमा र योजनाबद्ध रूपमा’ काम हुन नसकेको बताउनुभएको छ। त्यसका लागि ‘मार्क्सवादी समालोचना शिविरभित्र महान् बहसको थालनी र सङ्घर्षको साझा मोर्चा निर्माणको आवश्यकता’ औंल्याउनुभएको छ। उहाँले पटकपटक जोड दिनुभएको पाइन्छ, ‘सङ्गठित र योजनाबद्ध प्रयासको खाँचो’प्रति!

सचेत लेखनमा र अन्तर्वार्ताहरूमा उहाँले व्यक्त गरेका यी आकाङ्क्षाहरू अधुरा छन्। मार्क्सवादी शिविरभित्र महान् बहसको थालनी गर्न र सङ्घर्षका साझा मोर्चा निर्माण गर्न प्रयासहरू हुँदै नभएका होइनन्। उहाँको समेत अगुवाइमा ‘मार्क्सवादी सांस्कृतिक मोर्चा’को अवधारणापत्र र विधान समेत निर्माण गरी साङ्गठानिक पहलहरू लिइएको थियो। नयाँ राजनीतिक परिस्थिति र समयको नयाँ मागअनुसार त्यसप्रकारको मोर्चाको भेलासहित पुनःगठन गर्ने कार्यभार हाम्रासामु फेरि पनि अलपत्र नै छ।

दुर्घटनामा पर्नुभन्दा एक साताअघि मात्रै लेनिनवादी बौद्धिक–सांस्कृतिककर्मीहरूको साझा मञ्चका रूपमा निर्माण भएको ‘लेनिन स्मृति शतवार्षिकी’ मूल आयोजक समितिमा उहाँ आबद्ध हुनुभएको थियो। सम्भवतः जीवनमा सबैभन्दा पछिल्लोपटक उहाँ आबद्ध भएको बौद्धिकहरूको साझा मोर्चा थियो, त्यो। इच्छुक सांस्कृतिक प्रतिष्ठानमा अध्यक्ष हुनुहुन्थ्यो, सोही संस्थाबाट पनि उहाँले मार्क्सवादी समालोचना शिविरभित्र ‘महान् बहसको थालनी र सङ्घर्षको साझा मोर्चा निर्माणको आवश्यकता’लाई ध्यानमा राखेर केही योजना बनाउनुभएको थियो कि? उहाँले औंल्याउनुभएको ‘बजारवादको प्रभावलाई चिर्न सङ्गठित र योजनाबद्ध प्रयास’ उहाँसम्बद्ध सांस्कृतिक सङ्गठन, विभाग र पार्टीभित्र पनि हुँदै थिए कि?

यी प्रश्नहरूको उत्तर खोज्नु नै तारा सरलाई सम्झन सुरु गर्नु हो। उहाँका निकट वैचारिक मित्रहरू, उहाँको चिन्तनका अनुयायीहरू र उहाँको सिर्जनात्मकताका अनुरागीहरूले उहाँको रिक्तता पूर्ति गर्न केही साझा पहल त लिनैपर्ने छ। हामी सबैलाई थाहा छ– ताराकान्त पाण्डेयको लेखन धारा पारिजात, कृष्ण सेन इच्छुक, घनश्याम ढकालको वैचारिक हारमा पर्छ। तीन दशकदेखि पारिजात हामीबीच हुनुहुन्न। पारिजातको निधन भएको नौ वर्षपछि कृष्ण सेन इच्छुक सहिद हुनुभयो। इच्छुक सहिद भएको नौ वर्षपछि घनश्याम ढकाललाई हामीले गुमायौं। यी तीन स्रष्टाका सम्झनालाई ताजा राख्ने, उहाँहरूका योगदानलाई स्थापित गर्ने, उहाँहरूको अधुरा आकाङ्क्षा पूरा गर्ने उद्देश्यले निर्माण भएका पारिजात स्मृति केन्द्र, इच्छुक सांस्कृतिक प्रतिष्ठान र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान छन्। तिनले अलग–अलग ढङ्गले काम गरिरहेकै छन्। यी संस्थाहरूबीच संवाद, बहस र साझा मञ्चहरूमार्फत् सहकार्य हुन सक्दा सायद तारा सरको अधुरो आकाङ्क्षा पूर्ति हुन सक्थ्यो कि? नत्र पारिजातमाथि आक्रमण गर्दै बुर्जुवाहरूले सुरु गरेको अपव्याख्या, बदनामी र दुष्प्रचारको आक्रमण क्रमशः इच्छुक, घनश्याम, ताराकान्तमाथि पनि नहोला भन्न कहाँ सकिन्छ र? 

फेरि एकपटक दोहोर्‍याउन चाहन्छु– मार्क्सवादी संस्कृतिकर्मी र समालोचकहरूको मोर्चाबन्दी अर्थात् ताराकान्त पाण्डेयको एक सपना! अर्थात् अधुरो सपना! आज नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनले जस्तो वैचारिक अस्पष्टता झेलिरहेको छ, त्यसका लागि जरुरी छ साझा सांस्कृतिक पहल र निरन्तर वैचारिक सङ्घर्ष। लामो इतिहास भएको प्रगतिशील लेखक सङ्घ आजको क्रान्तिकारी आवश्यकतालाई सम्बोधन गर्न नसक्ने गरी सङ्कुचित र जड संस्थामा परिणत भइसकेको छ। एक समय क्रान्तिकारी कित्ताबाटै विकसित भएका केही सांस्कृतिककर्मीहरू उत्तरआधुनिकतावादी विभ्रममा फँसिसकेका छन्।

इच्छुक सांस्कृतिक प्रतिष्ठान र त्यस वरपर आबद्ध सांस्कृतिककर्मीहरूको पंक्ति नेपालको क्रान्तिकारी वाम–बौद्धिक जगतको एउटा मुख्य हिस्सा हो भन्न हिच्किचाउनु पर्दैन। तारा सर स्वयम् दुर्घटनामा पर्ने बखतमा इच्छुक प्रतिष्ठानकै अध्यक्ष हुनुहुन्थ्यो। उहाँको सपना, आकाङ्क्षा र अधुरा कामहरूलाई निरन्तरता दिने हो भने हामीले वैचारिक बहस र सङ्घर्षका लागि साझा सांस्कृतिक पहलहरूलाई मूर्त रूप दिन प्रयास थाल्नु जरुरी छ। त्यो नै उहाँको सम्मान र सम्झनाको सुरुवात हुन सक्छ।

के हामी यसरी सम्झनाको सुरुवात गर्न सकौंला?

(मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेको एक वर्षअघि माघ २ गते दाङमा भएको बस दुर्घटनामा निधन भएको थियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad