ब्लग


भोस्सोको चाल मिठो, डेउडाको पाइलो मिठो

भोस्सोको चाल मिठो, डेउडाको पाइलो मिठो

फाइल तस्बिर


दैवज्ञराज न्यौपाने
पुस १५, २०८१ सोमबार १२:४८, काठमाडौँ

यो समय च्याट जीपीटीको हो। केही जान्नबुझ्न मन भयो भने च्याट जीपीटीसँग बातचित हुनु सामान्य नै हो। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा मनाइने भुवा पर्वबारे उही च्याट जीपीटीमा सोध्दा त्यसले जवाफ दियो, भुवा नेवार समुदायको पर्व भनेर।

त्यसपछि भुवा पर्वबारे केही लेख्नैपर्ने भयो।

नेपाली भाषामा भुवा पर्व, भुवो नाच तथा भुवा खेलको रूपमा चिनिने पर्व हो भोस्सो। यो पर्व मुख्य गरी सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम बझाङ र कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्लातिर मनाइन्छ। यस पर्वको मुख्य दिन भनेको पुसे औँसी हो।

पुसे औँसीको रातभरि मुडा बालेर डेउडा, चालीका साथै भोस्सो खेलेर रात काट्ने गरिन्छ। तर कतिपय ठाउँमा एक हप्तासम्म डेउडा र चाली खेलेर पनि भोस्सो पर्व मनाउने गरेको पनि पाइन्छ।

हिन्दू धर्मका प्रायः पर्वहरूको उत्पत्तिकथा महाभारतमा जोडिएजस्तै यस पर्वको सुरुवात महाभारतबाटै भएको मानिन्छ।

महाभारत युद्धमा पाण्डव पक्ष विजयी भई इन्द्रप्रस्थमा राज्य गर्न जाँदा खुसियालीमा यो पर्व मनाइएको भन्ने किम्बदन्ती छ। भोस्सोमा खेलिने चालीले पनि युद्धकै झल्को दिन्छ। तर भोस्सो भट्याउदा (पुवाड्दा) आउने प्रसंग ले पहिलो भुवा स्वर्गबाट सुरु भएको भन्छ। त्यसपछि मानसरोवर, यारी हुँदै प्रत्येक गाउँमा पुगेको हुन्छ।

बाजुरातिर भोस्सो भट्याउँदा आउने उत्पत्ति कथा जुम्लातिर भैलोसँग मिल्न जाने रहेछ। त्यसैले भोस्सो सुरुवात कहिले र कहाँबाट भयो भनेर फरकफरक मान्यता पाइन्छ।

भोस्सोको खेल्ने शैली भेगअनुसार केही फरक छ। जस्तो बाजुराको कोल्टी भेगतिर डेउडा र भोस्सो बढी खेलिन्छ तर मार्तडीदेखि पश्चिमका ठाउँहरूमा चाली प्रधान भएर आउँछ।

भोस्सो खेल आउने एउटा चाली खेलमा ढाल र तरबार नचाएर युद्धकला प्रदर्शन गरिन्छ। यसले युद्धकै झल्को दिन्छ।

काठमाडौँ आएपछि गाउँका धेरै कुरा छुटेका छन्। छुटेको र सम्झना आइरहने पर्व हो, भोस्सो।

यस पंक्तिकारका अनुभवमा, तिहार सकिएपछि भोस्सोको दिनगन्ती सुरु हुन्थ्यो। यो पर्वमा सार्वजनिक बिदा दिने चलन थिएन। अहिले प्रदेश सरकारले दिन्छ। स्कुलमा बिदा नभए पनि हाम्रा लागि बिदासरह नै हुन्थ्यो। हामी स्कुल जादैनथ्यौँ।

भोस्सोको मुख्य दिन रातभरि मुढा बाल्ने चलन छ। त्यसका लागि कसैले घरघरबाट (प्रत्येक छोरा मान्छे) मुडा संकलन गर्ने वा त्यो दिन जंगलमा गएर रूख काटेर मुढा ल्याउने चलन छ। बिहानको खाना खाएर नुहाउन गइन्थो। नुहाएपछि अर्नी (नास्ता) खाएर जंगलतिर लागिन्थो। आफूले बोक्न सक्ने ‍अनुसारका मुढा ल्याएर सबै पन्यारा (पँधेरा) मा जम्मा हुने गरिन्छ। पन्याराबाट भास्सो खेल्दै भुवाखाडा (मुढा बाल्ने ठाउँ) पुगिन्छ।

मुढा जम्मा गरेपश्चात् सबै घर खाना खान घर जाने गरिन्छ। राति ९ बजेतिर गाउँको मुख्य मान्छे (नाइक) घरबाट दियो ल्याएर भुवाखाडामा मुडा बाल्ने गरिन्छ। योसँगै भोस्सोको औपचारिक सुरूवात हुन्छ।

राति डेउडाका साथै बेलाबेला भोस्सो खेल्ने गरिन्छ। राती १२ बजेसम्म भोस्सो एकोहोरो खेलिन्छ भने १२ पछि भोसिरे भोस्सो भन्दै दोहोरो  उच्चारण गरेर खेल्ने गरिन्छ।

बिहान उज्यालो हुने बेला सबै व्यक्तिले राँका (आगो लगाएको निगालाको मुठो) सेलाउन गइन्छ। यो समय कोही नछुटोस् भनेर घरमा सुतेका व्यक्तिलाई पनि बोलाएर राँका सेलाउन लैजाने गरिन्छ। भुवाखाडाबाट राँका सल्काएर जिउला वा गाउँभन्दा पर एकान्त ठाउँ पुगेर ती राँका सेलाउने चलन छ।

राँका सेलाएसँगै भोस्सो सकिन्छ र चाली खेल सुरू हुन्छ। राँका सेलाएकै ठाँउबाट चाली खेल्दै भुवा खाडा आएर दिनभरि चालि खेल्ने गरिन्छ।

कतिपय ठाँउमा तीन-चार दिनसम्मै चाली खेल्ने चलन विद्यमान छ। चाली खेलेर पैसा उठाएर सामाजिक काम गर्ने र भोज खाने पनि चलन छ। भुवाखाडामा खसी काटेर गाँउभरि बाँडीचुँडी खाने गरिन्छ।

भनिन्छ, भोस्सोको चाल मिठो, डेउडाको पाइलो मिठो। सुदूरपश्चिम भनेपछि डेउडा आउने भइगो। डेउडा खेलका सवाल जवाफ, चालीको युद्धकला मिल्ने र अझ अलिअलि उत्ताउलो पनि गर्न मिल्ने भएकाले वृद्धदेखि युवासम्म सबैमा उत्तिकै लोकप्रिय छ यो पर्व।

पछिल्लो समय गाउँमा युवाहरुको उपस्थिति कम हुँदै गएकाले भोस्सोजस्ता हाम्रा पर्व जोगाउन गाह्रो हुने देखिन्छ। गत वर्ष मात्र बाजुराका युवाले पहिलोपटक काठमाडौँमा भोस्सो मनाएका थिए। यसले गर्दा केही गाउँदेखि टाढिँदै गएको युवा पुस्तालाई पनि आफ्नो संस्कृतिसँग जोड्न सकिन्छ कि भन्ने आस जागेको थियो।

च्याटजीपीटी अर्थात् ज्ञानको भर्चुअल भण्डारमा भोस्सोको असली अभिलेख राख्नकै लागि पनि भोस्सोजस्ता चाडपर्व हामी जहाँ पुगे पनि एकपटक मनाऔँ। डिजिटल दुनियाँमा राखौँ। भोस्सोको शुभकामना।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad