म बच्चै थिएँ। मेरा बा जवान थिए त्यतिबेला। एक बिहान बाले कम्मरमा बाँधेको पटुकीमा हँसिया घुसारे अनि खोज्दै बसे दलिन, खोपा र बार्दलीमा। त्यहीबेला आमाले बाको कम्मरको हँसिया समाउँदै भनिन्, ‘पागल’। बा मुस्कुराउँदै खेततिर लाग्नु भयो।
एकदिन बाले हँसिया बिर्सिएझैं मैले आफ्नै जिन्दगीको बाटो बिर्सिएँ। बालाई आमाले हँसिया सम्झाएझैं मलाई भूलेको बाटो सम्झाउने कोही थिएन। बिर्सिएको बाटोको गन्तव्य कहाँ पुगेर टुङ्गिन्छ थाहा थिएन। अन्यौलमै जीवनको गतिलाई चलायमान बनाउनु मेरो बाध्यता थियो। रोकिएर पछाडि फर्किने छुट मलाई थिएन।
त्यसबेला म जीवनको सबैभन्दा कठिन परिस्थितिबाट आफूलाई माथि उठाउने प्रयत्न गरिरहेकी थिएँ। सायद यो प्रयत्नमा कसैले भर, साथ र अपनत्व देओस् भन्ने पनि ममा चाहना थियो होला। यही चाहनाको नदीमा आँसुको बहाव बोकेर आइपुग्यो कोही। आफू रुँदारुँदैका आँसु लुकाएर उसलाई हिम्मत दिएँ। पुछिदिन टाढा थियो, आफू नरोइदिएर साथ दिएँ। उसको घाम उदाउँदा मेरो रात पर्यो, रुँदारुँदै फोन काटेर ऊ काममा जान्थ्यो, म रोएर रात बिताउँथे। यो क्रम निकै दिनसम्म चल्यो। लाग्न थालेको थियो, ‘बाटो बिर्सनु पनि त नयाँ गन्तव्य भेटिनु रहेछ।’
उसको मेरो चिनजान पुरानो थिएन। मंसिर सकिएर पुस लाग्ने तरखरमा थियो। काठमाडौंको मौसम चिसिने क्रममा थियो। डेरामा आइपुग्दा साँझ झमक्क छिप्पिएको थियो।
बिहानको दौडादौडले घरको खाना खान पाइँदैन। रात त आफ्नै हो जस्तो लाग्ने। घडीको काँटाले रातको आठ बजाउन लाग्दै थियो। मोबाइलमा ‘बटुवा हो मान्छे भन्नु यो संसारमा’ बोलको गीत बजिरहेको थियो अन्जु पन्तको आवाजमा। गीतको धुनलाई मिचेर म्यासेन्जरको आवाज आयो। कराइमा भुटुन तात्दै थियो। चम्सुर र पालुङ्गोको साग ओइरिन खोज्दै थिएँ। ध्यान म्यासेजमा गयो।
म्यासेज हेरेँ, छोडेँ। पुनः म्यासेज आइरह्यो। तेलमा २÷४ दाना जिरा हालेँ र टाइप गरेँ, ‘नमस्कार।’
‘सन्चै हुनुहुन्छ?’
‘म ठिक छु। तपाईंको के छ?’
एक हातले कराईमा साग ओइरिँदै टाइप गरिपठाएँ। राइस कुकरको बिर्कोले साग छोपेँ।
त्यसपछि म्यासेन्जरको घण्टी ३ पटक लगातार बज्यो। लेखेको थियो, ‘यो को मान्छे को होला, किन बोलाएको होला भन्ने लागेको होला है!’ उसले हाँसेको इमोजी पनि सँगै पठाएको थियो। अघिल्लो वर्ष सुकाएर राखेको कोइरालो र आलुको अचार मोल्न भाँडामा ठिक्क पारेको थिएँ। अचार झान्ने तेल आगोमाथि राफिँदै थियो। यसैगरी राफिन्छ कहिले काहिँ मेरो मन पनि। तेल राफिएपछि धुवाँ आउँछ। मेरो मन भने जति राफिए पनि धुवाँ निक्लँदैन।
त्यो साँझ त्यसपछि उसँग मेरो कुराकानी भएन। ऊ काममा गयो सायद। म खाना खाएर सुतेँ। भोलिपल्ट बिहान उसका म्यासेजले मेरो इनबक्स भरिएको थियो। मलाई खै किन मान्छेसँग बोलिहाल्न डर लाग्छ। उसँग बोल्न पनि डराएँ। मेरी नजिककी एक जना दिदीसँग उसको चिनजान रहेछ। उसँग गफिनु अघि दिदीलाई सोधेँ। मैले दिदीलाई सोध्नुअघि उसले दिदीलाई भनिसकेको थियो। सोचेँ, दिदीले राम्रो भनेको मान्छे राम्रै मनको हुनुपर्छ।
त्यसपछि मैले बेवास्ता गर्न सकिनँ उसका अक्षरहरुलाई। उसका आँसुका कहानी मुटु गाँठो पारेर सुनेँ। कहिले बोलीमा, कहिले अक्षरमा हामीले एक–अर्काप्रति पिरती साट्यौँ। ऊ आमासँग झैं रुन मन छ तिमीसँग भन्थ्यो र रुन्थ्यो। रुने थुप्रै कहानी त मेरो छातीमा पनि थिए। सोचेथेँ, ‘ऊ हल्का होस् अनि एकदिन म पनि बिसाउँला दुःखको कथा, अनि सँगै फेरौँला मुक्तिको एक सुस्केरा।’
तर त्योभन्दा अघि नै बज्यो म्यासेजको घण्टी। केसी थरकी एक बहिनीले लेखिन्, ‘तपाई आएपछि ऊ मबाट टाढा भयो।’ म एकाएक छाँगाबाट खसेजस्ती भए। मलाई जिन्दगीमा कसैको खुसी खोसेर खुसी हुनु थिएन। अञ्जान हुँदा कुनैदिन दुखाइयो होला कसैको मन। तर जिन्दगीमा यो गल्ती गर्नु थिएन। त्यसपछि हाम्रो लगभग राम्रो संवाद भएन।
कलिलो उमेरको वैराग्यले जीवनप्रतिको मोह पटकपटक नटुटाएको होइन। फेरि सम्झिन्थेँ, बाआमा। उहाँहरुले हुर्काउन गरेको संघर्ष। सोच्थेँ, रङ पो खोसियो जीवनबाट, फेरि फर्किएला। जीवन नै नरहे ...। यही रङ र जीवनको संघर्षमा छुट्दै गए अरु धेरै कुरा। औपचारिक शिक्षा छुट्यो। मन मिल्ने साथी छुटे। र, झन् धेरै एक्लो बन्दै गयो जीवनको यात्रा। यो यात्राको दौरानमा ठोकिए पनि होला कतिका पाइलासँग पाइला। पाइतालाले छोडिहिँडेको डोब फेरि पछ्याउने समय नै कहाँ थियो र? कसैसँग मन ठोक्किन भने वर्षौँ लाग्यो। त्यो उही थियो। तर त्यही समय उसको मन अन्त कहाँकहाँ गएर ठोक्किएको थियो, त्यो थाहा पाइसक्दा समय निकै पर पुगिसकेको थियो।
म खासमा मनमा एकथोक बोकेर अक्षरहरुमा अर्कोथोक लेख्न वा भन्न सक्ने मान्छे होइन। त्यसैले जसका अक्षर पढेँ, ती सबै अक्षरमा मन पढेकी हुँ। उसलाई मैले त्यसपछि पनि कयौँ पटक भनेकी हुँ, ‘विकल्पमा राखेर कसैलाई, कोही अर्को मानिसको भावनासँग नखेल्नू।’ उसलाई घृणा गर्न र अर्को बाटो समात्न सजिलो होस् भनेर गल्ती हुने जानेर केही गल्ती गरिदिएँ।
माया बोकेर कसैको छातीमा यात्रालाई गति दिन कति गाह्रो हुन्छ, त्यो मैले राम्रोसँग भोगेकी थिएँ। हुन त उसँग मैले माफी नै माग्नु नपर्ने ठाउँमा कयौँ पटक माफी मागेको छु। ऊ त ऐनाजस्तो थियो, जो अगाडि पर्यो, उसैको भैजाने। उसले कसरी बुझोस्, माफी मागेर उसलाई सम्मान गर्ने मानिसहरुले कति प्रेम गरेका हुन्छन्।
उसले कहिले कारण खोजेको भए म बताउँदी हुँ। तर उसले कारण सोधेन म रुनुको। उसलाई मैले रुँदारुँदै स्वीकार गरेको थिए जीवनमा, तर म रोएकै दिन ऊ अर्को मानिससँग गाँसिन पुग्यो। मलाई लागेथ्यो, ‘संसारमा सब चिज झुठा होलान्, आँसु झुठा हुँदैनन्।’ यो भ्रम पनि उसैले तोडिदियो।
हिजोआज सम्बन्धहरू प्राय डिजिटल बन्दै गएका छन्। कुराकानी गर्ने माध्यम बदलिएको छ। सोसल मिडिया नेटवर्क, मोबाइल म्यासेजबाट हृदय पोखिन्छ। धेरैले अक्षरमा मन पठाउँछन्, कतिले त्यसको उल्टो अर्थ लगाउँछन्, त्यसको हिसाबै हुँदैन। ऊ पनि हर कुराको गलत अर्थ खोज्न माहिर थियो। मैले पनि हरेक शब्दको अर्थ यो हो भनेर बुझाइरहनु जरुरत ठानिनँ। तर मैले उसलाई दिल खोलेर माया गरेको हुँ।
लामो समय एक्लै हिँडेपछि जिन्दगीमा आहा! लाग्ने थुप्रै मोडहरु भेटिने रहेछन्। मैले पनि भेटेकी हुँ। आहा! लागेका कयौं मोडमा रोकियो होला आफैंलाई, कति मोड यी पनि उस्तै हुन् भनेर बेवास्ता गरियो होला। तर मलाई कहिल्यै लागेन, प्रेमको धरातल यति कमजोर हुन्छ। तर त्यही कमजोर धरातलमा अडिएको थियो मेरो मन। त्यो दिनपछि मलाई मेरै मन फर्काउन समय लाग्यो। अझै पनि मुस्कुराउन सकेका छैनन् ओठ। रुन सक्दैनन् आँखाहरु। थाहा छैन जिन्दगीको त्यो मोडमा मैले रुन सक्नु पर्थ्यो कि हाँस्न? भावनाशून्य भएर स्थिर गतिमा कुदेको मन राम्रो हो कि नराम्रो? थाहा छैन, भुलिदिन्छु भनेका सबै कुरा कापीमा पेन्सिलले बिगारेका अक्षर मेटेझैँ इरेजरले मनको भित्तामा याद बनेर बसेका सम्झनाहरू केले मेटाउँछ उसैगरी। सहज यात्रामा निस्किएपछि ऊ, उसलाई बाटो छोडिदिनु मेरो कर्तव्य थियो।
बानी परेकाहरु निस्किए पनि आफ्नो सहज यात्रामा अर्को मान्छेको मन सहज हुन समय लाग्दो रहेछ। मन असहज भएकै दिन पनि मैले मेरो जिन्दगी भने असहज हुन दिएकी छैन। यो जन्मले, यो जिन्दगीले के के दियो, के के गुमायो त्यसको हिसाब राखेकी छैन। मलाई यति थाहा छ, उसलाई दिएको यही जिन्दगीले हो। त्यसैले पनि मैले मेरो जिन्दगीलाई धन्यावाद दिएर सजिलोसँग दौडाउनु पर्छ सम्झनाका यी अप्ठ्यारा कुइँनेटाहरुमा।
थाहा छैन आउनेहरु के सोचेर आए जिन्दगीमा? फेरि फर्किंदै गर्दा के लिएर गए? उनीहरुले किन महसुस गर्न सकेनन् आफैंले पोखेका संवेदनाहरु? हुन त आउने र जानेसँग मेरो कहिले गुनासो रहेन। आउँदा खुसीले आएकाहरु जाँदा पनि खुसीले बिदा भएर जाऊन्। आफ्नै जिन्दगीको भर नभएको यो दुनियाँमा सम्बन्धको भरपाइ दिएर पो को बस्छ र? सँगै हिँड्दा बाटो असजिलो लाग्यो, साँघुरो लाग्यो भने सहज बाटो समातेर हिँड्ने हरकसैलाई अधिकार छ।
तर, सँगै हिँडिरहेका मानिसहरूबाट छुट्टिने बेला भोलि भेटिँदा ‘तिमी सन्चै छौ?’ भनेर प्रश्न गर्न मिल्ने ठाउँ राखेर छुटिदिऊन् भन्ने लाग्छ। कहिलेकाहीँ अत्यास लाग्दा आफ्नै सफरमा, ऐँठन गर्दा सपनामा एकअर्काको खबर बुझ्ने बाटो नटुटाएर जाऊन् भन्ने लाग्छ। सबै कुरा लागेको जस्तो नहुने। उसले त यति जरुरी पनि ठानेन, ‘आफ्नै बोली र व्यवहारले भत्किएको एउटा जिन्दगी छोडेर जाँदै गर्दा एक पटक माफी मागेर जाऊँ।’
३ दशकभन्दा लामो यात्रा एक्लै हिँडियो। यो यात्रामा कयौँ पटक फेरे होला आँखाले यारहरु। हृदयले पनि त परिवर्तन गरिरह्यो होला प्यारका मुलायम आभासहरु। म चाहन्थेँ, हरकसैसँगको तीतोपन यो ब्रह्माण्डमै नरहोस्। सम्बन्धको अमिलोपन बोकेर कसैले हिँड्नु नपरोस्। म त कसैलाई घृणा गर्नै नसकेर भत्किएको मान्छे। मायाले स्पर्श गरेका आफन्तलाई झन् कसरी हेर्न सक्थेँ र उपहासका नजरले। मैले त उसैगरी जतनसाथ राखेकी छु उनीहरुका सम्झनालाई हृदयको ग्यालरीमा।
प्रतिक्रिया