ad ad

ब्लग


कम्युनिष्ट किल्ला भोजपुर र टिकटमा गणेश प्रवृत्ति

कम्युनिष्ट किल्ला भोजपुर र टिकटमा गणेश प्रवृत्ति

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भोजपुर एमालेका नेता तीर्थकुमार राई


दिलिप बान्तावा
असोज १३, २०७९ बिहिबार १७:५४, काठमाडौँ

२००७ सालमा प्रजातन्त्र स्थापनापछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा भोजपुरबाट नेपाली कांग्रेसले विजय हासिल गर्‍यो।

त्यसयता संसदिय निर्वाचनमा कम्युनिस्ट पार्टीले निरन्तर विजय हासिल गर्दै आइरहेको छ। 

दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा २०४८ सालको प्रतिनिधि सभा, २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ सालको संसदीय निर्वाचनमा एमालेले दुवै क्षेत्रमा निरन्तर विजय प्राप्त गर्‍यो।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा नेकपा माओवादीले दुवै क्षेत्र जित्यो। 

२०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा फेरि नेकपा एमालेले दुवै क्षेत्र आफ्नो बनायो।  

देश संघीय ब्यवस्थामा रुपान्तरण भएपछि भोजपुरलाई प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्रमा विभाजन गरियो।

त्यही ब्यवस्थाअनुसार २०७४ सालमा सम्पन्न  निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीचको कार्यगत एकता (पछि एकीकरण) अनुसार विभाजन गरिएको उम्मेदवारहरुले संघीय र प्रदेश दुवै तहमा जित निकाले।

केही समयपछि यी दुवै पार्टी मिलेर 'नेपाल कम्युनिस्ट पार्टी' बनाइएको थियो।

यसरी, कम्युनिस्ट पार्टीको वर्चश्व कायम रहेको भोजपुरमा अहिले कम्युनिस्ट पार्टीहरु रक्षात्मक अवस्थामा पुगेका छन्। 

निर्वाचन आयोगले संघीय तथा प्रदेश सभा निर्वाचन मिति तय गरिसकेको छ। सबैभन्दा बढी जनमत भएको नेकपा एमाले यतिखेर आफ्नो शाख जोगाउने चुनौतीबीच उभिएको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न राजनैतिक घटनाक्रमले तत्कालीन नेकपालाई पूर्ववत एमाले र माओवादीमा फर्काएन मात्रै, एमालेलाई विभाजन गरेर नेकपा एकीकृत समाजवादी नामक अर्को कम्युनिस्ट घटक जन्माइदियो। 

अर्कातिर नेकपाको दुईतिहाइ बहुमत रहेको केन्द्र सरकार, सातमध्ये ६ प्रदेशको बहुमत प्राप्त सरकार भत्किएर एमालेइतरका पार्टीहरुको गठबन्धनबाट खिचडी सरकार बनेर देश चलिरहेको छ। 

त्यही गठबन्धन यतिखेर चुनावी मैदानमा पनि लागेको छ। गठबन्धनको एकल एजेण्डा छ, 'एमालेले कुनै हालतमा जित्नु हुँदैन।' 

अर्थात् गठबन्धन एमालेविहीन संसद र एमालेविहीन सरकार बनाउन चाहन्छ। कम्युनिस्ट पार्टिहरुले दक्षिणपन्थी र यथास्थितिवादी भनेर गाली गरिरहने कांग्रेससँग आफूलाई निख्खर क्रान्तिकारी कम्युनिस्ट भनाउने नेकपा माओवादी र एमालेमुक्त देश बनाउने अभियानमा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टी लगायत केही दलहरुको गठबन्धन यतिखेर सिट बाँडटको रस्साकस्सीमा छन्। गठबन्धनको केन्द्रमा चलिरहेको रस्साकस्सीबीच जिल्ला तहमा कतै विद्रोहको चेतावनी त कतै विद्रोहको स्थिति आइसकेको छ।

यता अन्य दलीय गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिनुपर्ने अवस्थामा रहेको एमाले पनि सकेसम्म अन्य दलहरुलाई समेटेर सानो तिनै भए पनि गठबन्धन बनाउने कोसिसमा छ। त्यसो नभए एक्लै भए पनि चुनावको सामना गर्नुछ उसलाई। एमालेलाई पनि उम्मेदवार टुङ्गो लगाउन सजिलो भने छैन। 

त्यहाँभित्रका नेतापिच्छे फरक स्वार्थ समूह, कोटरी पिच्छेका गुट र तिनको फाइदा बेफाइदाका हिसाब किताब लगायत आन्तरिक राजनैतिक दाउपेच निक्कै पेचिलो छ। देशब्यापी एकल उम्मेदवारर सिफारिस निक्कै कम छ। धेर जना इच्छुकहरुबीच एउटालाई उम्मेदवार बनाउनुपर्ने अवस्थामा ती 'एकजना'ले कतिवटा र कस्ता कस्ता देखिने/नदेखिने शर्तहरु पूरा गर्नुपर्ने हो, कोही भन्न सक्दैन।

भोजपुरमा प्रत्यक्ष निर्वाचनका लागि निर्धारित एकजना  प्रतिनिधि सभा र दुईजना प्रदेश सभामा निर्वाचन लड्ने गरि उम्मेदवार तय हुनेछन्। तर त्यसका लागि प्रतिनिधि सभामा दोस्रो संविधानसभा सदस्य कृपाशुर शेर्पा र प्रदेश नम्बर १ का प्रथम मुख्यमन्त्री शेरधन राईलाई सिफारिस गरेको छ।

दुईवटा प्रदेश सभाका लागि १४ जनाको नाम सिफारिस गरिएको छ। यतिखेरको सिफारिस, कतिपय अवस्थामा पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन, कसैलाई चित्त बुझाउन र कसैलाई भने डमीका रुपमा अगाडि देखाउन पनि यस्तो सूची बनाउनुपर्ने बाध्यतामा पार्टीहरु पुग्ने गर्दछन्। यो गन्थन विशेष रुपले भोजपुर एमालेले प्रदेश सभा 'ख' का लागि गर्ने अन्तिम उम्मेदवार छनौटमा केन्द्रित छ।

शुरुमै उल्लेख गरेको छु, भोजपुर कुनै न कुनै हिसाबले कम्युनिस्ट पार्टी त्यो पनि 'जनताको बहुदलीय जनवाद' लाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएर अघि बढेको एमालेको बर्चश्व भएको भूमि हो। विभिन्न ब्यवधान र प्रतिकुलताका बावजुद पनि एमाले सतीसाल जसरी उभिरहेको छ भोजपुरमा। 

२०५४ सालमा भएको विभाजनपछि २०५६ सालको संसदीय निर्वाचनमा एमालेलाई पत्तासाफ गरिन्छ भन्नेहरु आफैँ पत्तासाफ भए। कांग्रेसको परम्परागत गुण्डागर्दी, तत्कालीन नेकपा माओवादीको एमाले लक्षित ज्यादतीमा समेत भोजपुर एमालेले आफूलाई कमजोर हुन दिएन। यी सबै प्रतिकुलतासँग जुध्दै पार्टीपंक्तिलाई चुस्त बनाउन भूमिका खेल्ने थोरै ब्यक्तिमध्ये एउटा नाम हो, तीर्थकुमार राई।

२०५६ सालको आम निर्वाचनमा एमालेसँग भरपर्दो र स्थापित नेता कोही थिएन। जिल्लाका सबै प्रमुख नेताहरु मालेमा लागेका थिए। त्यस्तो अवस्थामा उम्मेदवार भएका शेरधन राईलाई मालेको दबदबाबाट बचाउनु थियो। 
मालेका कार्यकर्ताहरु 'एमालेलाई काँचै चपाइन्छ', भन्दै उम्मेदवारको खोजी गर्दै हिँडिरहेका थिए। संकटोन्मुख अवस्थाको पार्टीमा बसेर काम गर्ने भरपर्दो मान्छेको अभाव त थियो नै, भर्खर क्याम्पस पढ्दै गरेका उम्मेदवारलाई निर्वाचन अभियानमा समेत पुर्‍याउनु थियो। त्यो अवस्थामा तीर्थकुमार राई लगायत त्यतिबेलाका जोशिला र भरोसिला युवाहरु शिरमा कफन बाँधेर मैदानमा ननिस्किएको भए सम्भवतः एमाले भोजपुरको  रुपरेखा आज जस्तो नबन्न सक्थ्यो।

हामीले बुझेको कम्युनिस्ट पार्टी त सैद्धान्तिक एवम् वैचारिक निष्ठा तथा वर्गीय प्रेमले ओतप्रोत हुनुपर्ने हो। तर यतिखेर आफुलाई कम्युनिस्ट भनाउने पार्टिहरु जनताहरुबाट धेरै टाढा पुगिसकेका छन्।  जनता र पार्टीबीचमा अनेकौँ बिचौलियाहरु बसिरहेका छन्। ठूला उद्योगी, दलाल, गुण्डागर्दीमा कहलिएका वा नेतृत्वको अनावश्यक भक्तिगान र चाकडी गर्नेहरुको झुण्डले जनताहरुको बाटो थुनिदिएका छन्। यही परिदृष्यमा रमाइरहेका छन् कम्युनिस्ट पार्टीहरु। 

यो अत्यन्तै कुरुप दृष्यलाई बदलेर साँच्चैको कम्युनिस्ट पार्टी बनाउने हो भने नेतृत्व सच्चिन जरुरी छ। नेतृत्व सँच्चिन सही व्यक्ति सही स्थानको अवधारणामा जान जरुरी छ। कुन गुट, कुन नेताको आफ्नो वा नजिकको, कति चन्दा दिन सक्छ आदि इत्यादि कुनै पनि पदीय जिम्मेवारीको मापदन्ड बन्नु हुँदैन। वैचारिक रुपले कति प्रष्ट छ, कति निष्ठावान छ, कति नैतिकवान छ, वर्गीय चेत र ब्यवहारमा तादाम्यता छ कि छैन जस्ता विषय छनौटका आधार बन्नुपर्दछ। तब मात्रै पार्टी र जनताहरुको पक्षमा काम हुन सक्नेछ। यदि दोस्रो अवधारणाका आधारमा छनौट गर्ने हो भने भोजपुरबाट प्रदेश सभा 'ख' का लागि तीर्थकुमार राईभन्दा अर्को योग्य उम्मेदवार हुन सक्दैन।

पिखुवापारी साविक ठुलोदुम्मा, वर्तमान पौवादुङ्मा गाउँपालिकाको स्थायी बासिन्दा। म पिखुवावारी हतुवाको। यसरी हामी प्रदेश सभामा एउटै निर्वाचन क्षेत्रको मतदाता। मैले उहाँको अनावश्यक बखान गरेर कुनै कुराको लाभ पाउनु छैन। मैले त केवल एकजना योग्यतम् मान्छेले हाम्रो प्रतिनिधित्व गरिदिए केही फरक पर्न सक्छ भन्ने अभिलाषा मात्रै राखेको हुँ। सिफारिसमा पर्ने  सबैको आ-आफ्नो स्थानमा राजनैतिक योगदान छ। त्यसलाई पूर्ण सम्मान छ। तर प्राकृतिक रुपले सबैभन्दा उत्तम विकल्प छनौट हुनुपर्दछ भन्ने मेरो मान्यता हो। 

आजको समाज त्यो समयको जस्तो छैन जतिबेला ठूलाबडा भनिएकाहरुले जे भन्यो त्यसैको विश्वासमा रहने। आजका मान्छे पूरै विश्व आफ्नो गोजीमा बोकेर हिँड्दछन्। पाँच मिनेट अगाडि भएको अन्तर्राष्ट्रिय समाचार भोजपुरको कुनै पनि ठाउँमा पुरानो भइसकेको हुन्छ। त्यसकारण हामीलाई समयको त्यो रफ्तार समात्न सक्ने प्रतिभाशालीसँगै समयलाई विश्लेषण गर्न सक्ने बौद्धिक प्रतिनिधिको जरुरत छ। समाजको चरित्र बुझेर त्यसको सामाजिक इन्जिनियरिङ गर्न सक्ने सामाजिक ब्यक्तित्वको खाँचो छ। देशको वा समाजको सबैभन्दा चलायमान र महत्वपूर्ण युवाशक्तिलाई तिनको मनोविज्ञान अनुसार समाजका खातिर परिचालन गर्न सक्ने युवामैत्री र जुझारु प्रतिनिधि आजको आवश्यता हो। 

तीर्थ सर, लामो समयसम्म शिक्षण पेशामा आवद्ध हुनुभयो। एमालेनिकट शिक्षक संगठनको  नेतृत्व तहमा बसेर शिक्षकहरुको हक हित संरक्षणका साथै पार्टीले दिएको जिम्मेवारिलाई पूर्ण प्रतिवद्धतासाथ निभाइरहनुभयो। सँगै आफ्नो शैक्षिक यात्रालाई समेत निरन्तरता दिँदै ग्रामीण विकास विषयमा स्नातकोत्तर पूरा गर्नुभयो। त्यसको अलावा कानुन संकायमा स्नातक पूरा गरि अधिवक्ताका रुपमा समेत आफुलाई स्थापित गरिसक्नुभएको छ। 

देश संघीय ब्यवस्थामा गएपछि तत्कालीन ६३ गाविस रहेको भोजपुरलाई कति स्थानिय तहमा लैजाने र नामाकरण के गर्ने भन्ने विवाद लामो समयसम्म चल्यो। त्यस क्रममा ऐतिहासिक पृष्ठभूमि बोकेको पौवादुङ्मा क्षेत्रलाई अहिलेको अरुण गाउँपालिकासँगै राख्ने नीतिगत निर्णय हुँदै गर्दा उहाँकै नेतृत्वमा पौवादुङ्माको छुट्टै ऐतिहासिकता रहेको भन्दै अरुण गाउँपालिकामा समेटिने नभई छुट्टै स्थानिय तह बन्नुपर्ने मागसहित आन्दोलन गरियो। 

अन्ततः उहाँहरुको दाबी कायम भयो र स्थानीय तहको नामाकरण पनि पौवादुङ्मा गरियो। उहाँहरुको सक्रियतामा पौवादुङ्मा क्षेत्रमा बोलिने दुङ्माली भाषाको छुट्टै ब्याकरण र शब्दकोष निर्माण भइसकेको छ। स्थानीय तहलाई ऐतिहासिकताका आधारमा पौवादुङ्मा नामाकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे बापत गत वर्ष राष्ट्रपतिबाट जनसेवाश्री पदकबाट समेत विभुषित हुनुभएको छ।

यतिखेर सबै पार्टीहरुमा एउटा साझा र संगीन समस्या छ। त्यो हो, जनतासँग नजिक हुनेले भन्दा नेतासँग नजिक हुने मान्छेले अवसर पाइरहेका छन्। जोसँग क्षमता छैन, वैचारिक र सैद्धान्तिक रुपले जीर्ण छ ऊ नेतृत्वको वरिपरि फन्को लगाउँछ, चाकडी बजाउँछ र आफूलाई स्थापित गर्छ। माथिल्लो तहको नेताले जे बोले पनि त्यसैलाई अमृत वचन मानेर रटिरहन्छ। त्यस्ताले नेतृत्वलाई सधैँ गुमराहमा राखिरहन्छन्। यो स्थितिले जनताको तहमा पार्टी कमजोर हुँदै जान थाल्छ। अर्कातिर जसले पार्टी र नेतृत्वबारे आलोचनात्मक दृष्टिकोण बनाउँछ, त्यस्तो मान्छेलाई पार्टीबाट पाखा लगाइन्छ। तर तिनै आलोचनात्मक दृष्टिकोणबाट  नै पार्टीले जीवन प्राप्त गर्ने हो, असल नेतृत्वको विकास हुने हो। आलोचनालाई विरोधका रुपमा मात्रै बुझ्न खोज्नु त्यो नेतृत्वको कमजोरी हो। तीर्थकुमार राई, त्यही आलोचनात्मक दृष्टिकोणसहित भोजपुर एमालेको संगठन निर्माणमा लागेको नाम हो।

यसरी सामाजिक, राजनैतिक एवम् बौद्धिक क्षेत्रमा निरन्तर एकाकार भइरहेका तीर्थकुमार राई सिफारिसमा रहनुभएका अन्य ब्यक्तित्वहरुको तुलनामा निक्कै माथि हुनुहुन्छ। अहिलेका मतदाताहरु उम्मेवार कति सक्षम छ र उसले कति काम गर्न सक्छ भन्ने कुराको मोटामोटी हिसाब निकाल्न सक्छन्। तसर्थ पनि अब पार्टी मात्रै हेरेर मतदान गर्ने मतदाताहरु बदलिसकेका छन्। यदि साँच्चै जनप्रिय र निर्वाचन जित्ने उम्मेदवार चुनावी मैदानमा पठाउने हो भने तीर्थकुमार राई भन्दा अर्को विकल्प छैन। होइन, 'जो उठे पनि चुनाव जितिन्छ' भन्ने आत्मविश्वास वा 'हारे नि जिते नि फरक पर्दैन' या त 'केही पाउन केही गुमाउनुपर्छ' भन्ने अराजनैतिक र कुटिल समीकरण बनाउने हो भने अहिलेसम्म हामिले लगाउँदै र सुन्दै आइरहेको, 'भोजपुर जिल्ला : लाल किल्ला'  भन्ने नारा बिर्सनुपर्ने हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .