NepalKhabar NepalKhabar

ब्लग


बलात्कार, होस्टाइल र हदम्याद : म के बोलौं?

बलात्कार, होस्टाइल र हदम्याद : म के बोलौं?

राधिका अधिकारी
जेठ १७ , काठमाडौँ

गत जेठ ५ मा एक युवतीले सामाजिक सञ्जालमा ‘मिस ग्लोबल इन्टरनेशनल’का नाममा यौन हिंसा भोगेको बताएपछि थुप्रैले मलाई मेन्सन गरेका थिए। यो विषयमा बोल्न र लेख्न आग्रह गरेका थिए।

बितेका दुईसाता म मौन रहेँ। यही समय बोल्नुपर्ने थुप्रै विषय सार्वजनिक भए। बारम्बार थुप्रैले प्रश्न गरिरहे ‘किन मौन छस्?’

धेरैलाई यतिबेला मेरो बोलीको अपेक्षा थियो। धेरैले मेरो साथ खोजिरहेथेँ। हुनसक्छ यो समय म आफैं साथको अपेक्षामा थिएँ। तथापि मलाई थाहा थियो यो समय म बोल्नुपर्छ।

सौन्दर्य प्रतियोगिताका क्रममा यौन हिंसामा परेकी ती युवतीको सार्वजनिक बयानपछि उनी जस्तै थुप्रै युवतीले न्यायका लागि उजुरी गरे। केही युवती त ‘मिस ग्लोबल इन्टरनेशनल’ सञ्चालक मनोज पाण्डेबाटै हिंसामा परेको उजुरी बोकेर प्रहरी कार्यालय पुगे।

त्यसपछि सुरु भएको हिंसा पीडित बोल्ने क्रम रोकिएको छैन। बितेका केही दिनयता जसरी यौन हिंसाका घटना सार्वजनिकको दर निकै उच्च देखियो। हिंसामा परेका किशोरी, बालिका र युवती खुलेर सडकमा आए। आफू हिंसामा परेको उजुरी बोकेर प्रहरी कार्यालय पुगे। हिंसाका आरोप लागेका शिक्षकदेखि सामान्य मानिससम्म पक्राउ परे।

यो समय सबैभन्दा धेरै तातेको विषय भने मनोज पाण्डे माथि लागेको आरोप हो। उनको हिंसामा परेकी भनिएकी युवतीले दिएको बयानलाई लिएर मलाई पनि सबैभन्दा धेरै लेख्न र बोल्न दवाब थियो। म सँगै हिँडिरहेकाहरु पीडित युवतीको न्यायका लागि सडकमा थिए। उनीहरु अखबार र सामाजिक सञ्जालमा सक्रिय थिए। म भने अझैं पनि मौन रहिरहे। सामाजिक सञ्जालमा दीक्षा कट्टेल लगायतका साथीहरुले मेरो नाम नै मेन्सन गरेर बोल्न र लेख्न आग्रह गरिरहेका थिए। यो समय मलाई मेरो बोली निक्कै हलुंगो लागिरहेको थियो।

गत फागुनमा यस्तै प्रकृतिको घटना सार्वजनिक भयो। एक नाबालिग गायिकाले नेपाली चलचित्रका नायक पल शाहले आफूमाथि करणी गरेको आरोप लगाइन्। नायकमाथिको उक्त उजुरी बोकेर ती गायिका तनहुँ प्रहरी कार्यालय पुगिन। उजुरीलगत्तै ती नाबालिग गायिकालाई साथ दिने ठूलो जमात देखियो। उनको पक्षमा सरकारी वकिलदेखि सर्वसाधारणसम्म सबैले आवाज उठाए। उनलाई साथ दिन कहिले तनहुँ त कहिले पोखरा दौडिए। उनलाई साथ दिनका लागि मोहना अन्सारी, राधिका खतिवडा लगायतले गरेको दौडधुप देखेर लाग्थ्यो, यो घटनाले समाजमा एउटा नजिर स्थापना गर्ने छ।

त्यो समय म पनि खुब बोलेँ। सबै कोणबाट लेखेँ। मेरो धारण जो पीडित हो, उसले न्याय पाउनुपर्छ भन्ने नै थियो। म पीडितको विषयमा लेखेर थाकेकै थिइनँ। उनलाई साथ दिनेहरु सडक, सामाजिक सञ्जाल तथा कोटमा उनको न्यायका लागि खबरदारी गरिरहेकै थिए। तर, उनका लागि न्याय मागिरहेका भन्दा पहिला नै पीडित भनिएकी नाबालिग गायिका आफैं थाकिन्।

गत बैशाख ६ गते अदालतमा बकपत्र दिने क्रममा उनले बयान फेरिन्। आफूमाथि हिंसा नभएको, अरुको उक्साहटमा उजुरी दर्ता गराएको बयान दिइन्। लगत्तै उनका बाबुले पनि बहकाउमा उजुरी दर्ता गरेको बताए। एकाएक पीडितलाई न्याय दिनुपर्छ भनेर लेखिरहेका हाम्रा कलम रोकिए। उनका न्यायका लागि बोलिरहेका सबैका बोलि रोकिए। उनको न्यायका लागि अनेक तरह गर्ने जस्मिन ओझा अहिले मौन बस्न बाध्य छिन्। उनीमाथिका टीका टिप्पणी हेर्न र सुन्न सकिने खालका छैनन्।

त्यसपछि नै लागेको हाम्रो बोली निक्कै हलुंगो भयो। कुनै दिन बोलीको तुलना गोलीसँग हुन्थ्यो। पछिल्लो घटनाक्रमले जो पीडितको न्यायका लागि बोले, लडे उनीहरु सबैको तोलाको बोली गोलामा गयो। म पनि त्यही सूचीमा मिसिएँ। त्यसैले ‘मिस ग्लोबल इन्टरनेशनल’का नाममा भएको यौन हिंसा र त्यसपछि निरन्तर सार्वजनिक भएका हिंसाका घटनामा तत्काल बोलिहाल्न मन लागेन।

हुन त यो घटनाले सडक र सामाजिक सञ्जाल मात्रै होइन, संसद पनि ततायो। पल प्रकरण ताका बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राख्नेहरु नै यो घटनापछि बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउनुपर्ने मागसहित सडकमा ओर्लिए। आन्दोलनको मोर्चामा देखिएका सबैजसोको माग हद म्याद हटाउने नै देखिन्थ्यो। बलात्कारसम्बन्धी मुद्दामा हदम्यादको विषयलाई लिएर अहिले विभिन्न कोणबाट बहस भैरहेका छन्। यो बहसले के निश्कर्ष निकाल्छ, त्यो भने समयले बताउला।

तर, पछिल्लो समयका यी सबै घटनाक्रमलाई हेर्दा हामीले बोल्नै पर्ने ठाउँ धेरै रहेछन् भन्ने देखाइदिएका छन्। सबैभन्दा पहिलो कुरा त बालबालिकाका विषयमा बोल्नुपर्ने देखियो। पल प्रकरण होस् अथवा मनोज पाण्डे प्रकरण, सबै घटनाका पीडित नाबालिग देखिन्छन्। दुबै नाबालिग सेलिब्रेटी बन्ने दौडमा हिंसामा परेका देखिन्छन्।

नाबालिग बच्चीहरुलाई सेलिब्रेटी बनाएर मञ्चमा उतार्ने समाज होस् अथवा त्यही मञ्चमा उनीहरुलाई हेरेर ताली बजाउने यो देशको प्रशासन, सबै सबैका विषयमा बोल्नुपर्ने रहेछ।

नाबालिकाहरु हिंसामा परे भनेर सडकमा आउनुअघि हामी सार्वजनिक मञ्चमा नाबालिकालाई प्रस्तुत गरिरहेका आयोजक, यो देशको प्रशासन, उनीहरुलाई मञ्चमा उतार्ने उनीहरुकै अभिभावकाका बारेमा बोल्नुपर्ने रहेछ। उनीहरुलाई त्यतिबेलै प्रश्नसहित सजग गराउन सकेको खण्डमा बालिकाहरु हिंसामा पर्ने दर कम हुन्छ जस्तो महसुस भएको छ।

अन्यथा बालबालिकालाई बालबालिका नै रहन नदिएको हामीले नै हो। प्ले ब्याक सिङ्गिङका लागि पर्फेक्ट स्वर लिएर आउनु नै एउटी नाबालिग बालिग हुनुको प्रमाण होइन। मञ्चमा आकर्षक पहिरनसहित क्याटवाकमा हिँड्ने कला जान्नु पनि नाबालिग बालिग हुनुको प्रमाण होइन। उनीहरुलाई जसरी हामी यो दुनियाँमा धकेलिरहेछौँ, त्यस हिसावले उनीहरुमाथि भएको हिंसाको जिम्मेवार पीडक मात्रै नभएर हामी (अभिभावक, प्रशासन, देशका अन्य संयन्त्र) पनि हौं।

फेरि हिंसा हुन्छ भनेर बालिकाहरुलाई बालिग नहुँदासम्म प्रतिभा प्रस्फुटनमा रोक लगाउनुपर्छ भन्ने मेरो मान्यता होइन। तर, हरेक क्षेत्रमा निश्चित मापदण्ड बन्नुपर्छ। सरकारी निकायबाट त्यसको अनुगमन हुनुपर्छ। बालिकाहरुको प्रतिभा प्रस्फुटनको क्रममा सुरुदेखि अन्त्यसम्म अभिभावकको साथ हुनुपर्छ। अन्यथा, बालिका हिंसामा परिसकेपछि उनीहरुको न्यायको माग राख्दै सडकमा उत्रिनुले मात्रै अर्थ राख्दैन। पीडक जेल पर्नु, उसले सजाय पाउनु, पीडितले केही क्षतिपूर्ति पाउनुले मात्रै एउटी बालिकामाथि भएको यौन हिंसाको पूर्ति गर्न सक्दैन। यस्ताखाले घटनाले उनीहरुलाई जिन्दगीभर कुन मानसिक अवस्थाबाट गुज्रिन विवश बनाउँछ, त्यसको क्षतिपूर्ति पीडकले पाउने सजायले मात्रै पुर्ताल गर्न सक्छ जस्तो लाग्दैन। त्यसैले हामीले बोल्ने समय त उनीहरु हिंसामा पर्नु अगावै रहेछ भन्ने लागेको छ।

अर्को, हिंसामा परेको लामो समयपछि मात्रै पीडितहरुले आफू हिंसामा परेको कुरा सार्वजनिक गरिरहेका छन्। सामान्य हिंसामा बालिका मात्रै होइन, वयस्क महिला पनि बोलिरहेका छैनन्। सबैभन्दा ठूलो कुरा त छोरीहरुलाई तत्काल हिंसाको प्रतिरोध गर्न सक्ने बनाउनु र हिंसाका बिषयमा समयमै बोल्न सक्ने गरी तयार पार्नु पनि हाम्रो दायित्व हो भन्ने लाग्छ। उनीहरुलाई हिंसाको प्रतिकार कसरी गर्ने, हिंसा परे लगत्तै कसरी बोल्ने, घटना सार्वजनिक गर्ने भन्ने कुरामा हामीले अहिले सडक आन्दोलनमा खर्चिरहेको शक्ति खर्चिन सक्ने हो भने पनि महिला हिंसाको दर कम हुनसक्छ भन्ने लाग्छ।

अन्तमाः कानून संशोधनको कुरा चलिरहँदा हिंसापीडितलाई न्याय दिनका लागि संशोधन गर्नुपर्ने कानूनको पाटो पीडित होस्टाइलपछिको पनि हो। बालिकाहरुको करणी हुन्छ, उनीहरुले अभिभावकलाई सुनाउँछन्, अभिभावक आक्रोशमा आउँछन् र मुद्दा हाल्छन्। पीडकले उनीहरुलाई विभिन्न प्रभावमा पार्छन्। पीडित होस्टाइल हुन्छन्। मुद्दा अदालतमा पुगेपछि पीडितले बयान फेर्छन। होस्टाइल भएबापत अथवा पीडकले पीडितलाई होस्टाइल गराएको प्रमाणित भएको खण्डमा हुने कानूनी उपचारका बारेमा पनि बहस हुनुपर्छ भन्ने लाग्छ।  

बालबालिकाको हकमा छुट्टै कानुन हुनु आवश्यक छ। संरक्षक भएर मुद्दा लड्न जाने अभिभावकलाई अदालतमा गएर वयान फेरेमा अथवा झुठो जाहेरी दर्ता गरेमा छुट्टै सजाय हुनुपर्छ। अहिलेको कानुनले होस्टाइल भएको खण्डमा ३ महिना जेल र ५ हजार जरिवाना भनेको छ। यो सजाय निक्कै कम देखिन्छ। तर कानुन संशोधन गरेर अलि कडा सजायको व्यवस्था गर्ने हो भने यस्ता घटना कम हुने, पीडितले न्याय पाउने सम्भावना बढ्छ भन्ने लाग्छ।

बलात्कारसम्बन्धी दर्ता हुने मुद्दाको हदम्याद हटाउँदैमा र उजुरी दर्ता हुँदैमा पीडितले न्याय पाउन सक्दैनन् भन्ने कुरामा थुप्रै नजिर भेट्न सकिन्छ। त्यसैले हिंसाविरुद्ध उजुरी बोकेर न्यायका लागि पुगेका बालिका हुन् अथवा महिला सबैले पुनः होस्टाइलको शिकार बन्नु नपरोस् भन्ने कोणबाट बहस हुनु जरुरी छ। जसका लागि राज्यले पनि ठूलो भूमिका खेल्नुपर्ने देखिन्छ। 

जेठ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.