नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्धनका निम्ति एक अनुदान योजना प्रारम्भ भएको छ। काठमाडौँमा आयोजित एक समारोहबीच बिहीबार यस कार्यक्रमको शुभारम्भ गरिएको हो।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरू अवलम्बन गर्न प्रोत्साहन गर्नु रहेको छ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत सञ्चालित यस योजनाबाट उद्योग तथा व्यवसायहरूमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई देशमा दिगो औद्योगिक विकासलाई बढावा दिने र कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको छ।
यस पहलअन्तर्गत ऊर्जा परीक्षकबाट सिफारिस भएका दक्षताका उपायहरू कार्यान्वयनमा प्रोत्साहन दिन बैंकमार्पmत आंशिक अनुुदान उपलब्ध गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अनुदान सञ्चालन निर्देशिका अनुसार, आंशिक अनुदान ऊर्जा दक्षताका उपायहरूमा कुल आवश्यक लगानीको निश्चित प्रतिशन हुनेछ। अनुदानको निमित्त योग्य हुन उद्योग व्यवसायहरूले मर्यादित कामका सिद्धान्त तथा वातावरणीय मापदण्डहरू समेत अवलम्बन गरेको हुनुपर्नेछ।
यस पहलले उद्योग तथा व्यवसायहरूमा ऊर्जा दक्षताका उपायहरू अवलम्बन गर्दा देखिने वित्तीय समस्यालाई सम्बोधन गरी ऊर्जा दक्षताका प्रविधिहरूमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको पनि बैंकले जनाएको छ।
यसबाट ऊर्जा दक्षताको महत्त्वपूूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ तथा विदेशी विनिमयको सञ्चितिमा समेत टेवा पुग्ने ठानिएको छ।
जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयद्वारा सञ्चालित यस कार्यक्रममा जर्मन विकास सहयोग–जीआईजेडले प्राविधिक सहयोग गरेको छ।
Shares

प्रतिक्रिया