हेटौँडा उपमहानगरपालिका-४, पारिजात पथमा रहेको एउटा घरको साघुँरो कोठा। कोठाभरि ठेलमठेल गरी राखिएको तान।
तानको नियमित खटखट आवाज। तानको छेउमै रहेको रंगीचंगी धागोको लट्टा।
महिलाका हातहरू निरन्तर धागो र तानमा सीमित, अनि आँखाहरू सुन्दर बुट्टा बनाउनकै तल्लीन।
धागो एकापसमा जेलिँदै जाँदा तानमा सुन्दर बुट्टाहरू उभिन्छन्। अनि बन्छ सबैले मन पराउने, नेपालीको पहिचान– ढाकाको कपडा।
‘चोली राम्रो पाल्पाली ढाकाको’ चर्चित गायिका कुन्ती मोक्तानले गाएको यो गीतले लामो समयसम्म नेपालीहरूको मनमा एउटा सन्देश स्थापित गर्यो, ‘राम्रो ढाका भनेकै पाल्पाको।’
ढाका कपडाको चर्चा हुँदा पाल्पाको नाम अग्रपंक्तिमा आउँथ्यो र पाल्पाली ढाका नेपाली मौलिक पहिचानको प्रतीक बनेको थियो।
तर समयसँगै ढाकाको कथा नयाँ मोडमा आइपुगेको छ। अहिले पाल्पासँगै मकवानपुर पनि ढाका उत्पादनको उदाउँदो केन्द्रका रूपमा परिचित हुँदै गएको छ।
हेटौँडामा उत्पादन गरिने ढाकाको कपडाले महिलालाई उद्यम क्षेत्रमा त टिकाएको छ नै, उनीहरूकै उद्यमले हेटौँडामात्रै होइन मकवानपुरलाई देशविदेशसम्म चिनाइरहेको छ।
केही वर्षअघिसम्म सौन्दर्यकर्म र हस्तकलाको क्षेत्रमा सक्रिय थिइन् हेटौँडाकी गीता कडरिया मैनाली। तर ५ वर्षअघि एउटा कार्यक्रममा पुगेपछि उनको जीवनले नयाँ मोड लियो।

कार्यक्रममा सहभागी एक अतिथिले लगाएको आकर्षक ढाकाको सारीले उनको ध्यान खिच्यो। रंग, बुट्टा र बनोटले उनलाई यति प्रभावित बनायो कि कार्यक्रमभरि उनको नजर त्यही सारीमा अडिरह्यो।
कार्यक्रम सकिएर घर फर्कंदै गर्दा पनि उनको मनमस्तिष्कमा त्यही ढाकाको तस्बिर घुमिरह्यो। ‘मकवानपुरमा पनि यस्तै ढाका बनाउन पाए कस्तो हुन्थ्यो होला? म पनि यो कला सिक्न पाए...’ भन्ने सोचले उनलाई छोडेन।
त्यही उत्सुकता र जिज्ञासाले पछि उनलाई ढाका बुनाइको संसारमा प्रवेश गरायो। सुरुवातमै हेटौँडा उपमहानगरपालिकासँग तालिमको माग गरेर एउटा तानबाट सिकाइ सुरु भएकोमा आज उनी आफू मात्र ढाका उत्पादनमा संलग्न छैनिन्, अन्य महिलाहरूलाई समेत सीप सिकाएर दक्ष बनाइरहेकी छन्। ढाकाको पहिचानले हेटौँडाको परिचयमा अर्को इँटा थप्ने अभियानको एक हिस्सा हुन् गीता।
हेटौँडाका १ सय जना सयभन्दा बढी महिलालाई ढाका बुन्ने तालिम दिइएको छ। केही तालिमकै क्रममा छन्।
तीमध्ये नियमितरूपमा १० जनाले रोजगारी पाइरहेका छन् भने ४१ जनाले घरमै तान राखेर कपडा बुन्दै आएका छन्। जसको बजारीकरणमा साथ दिइरहेको छ, हेटौँडा उपमहानगरपालिकाले।
ढाका उद्योगमा आफ्नो यात्रा सम्झिँदै गीता भन्छिन्, ‘गरे नहुने भन्ने केही रहेनछ। मैले ढाका बुन्ने इच्छा व्यक्त गरेँ, हेटौँडा उपमहानगरपालिकाले तालिम लिन सहजीकरण गरिदियो। सोच त मेरो एक्लैको थियो, तर त्यसलाई सार्थकता दिने मुख्य भूमिका उपमहानगरपालिकाकै रह्यो।’
आज उनको यात्रासँग एक सयभन्दा बढी महिलाको जीवन जोडिएको छ। ढाका बुनाइबाट उनीहरू आम्दानी गर्दै आफ्नै खुट्टामा उभिएका छन्। ‘अहिले ढाका बुनेरै १ सयभन्दा बढी दिदीबहिनीहरूले आम्दानी गरिरहनुभएको छ। आफ्नो खुट्टामा उभिनुभएको छ,’ उनी गर्वका साथ भन्छिन्।
गीता र उनीसँग जोडिएका महिलाहरूले ढाकाको धागोमा आफ्ना सपना बुन्दै गर्दा हेटौँडाकै अर्को कुनामा केही महिलाहरू अमिलो गुन्द्रुकको स्वाद तयार गरिरहेका छन्।
परम्परागत ज्ञान र स्थानीय उत्पादनलाई उनीहरूले व्यवसायसँग जोड्दै नयाँ पहिचान बनाइरहेका छन्। यस्तै प्रयासको अर्को उदाहरण हो– गुन्द्रुक उत्पादन।

गत शुक्रबार बिहान ९ बजेतिर कञ्चनजंघा कृषि सहकारी संस्थाकी अध्यक्ष चिनीमाया गुरुङको मोबाइलमा घण्टी बज्यो। उताबाट आवाज आयो, हेल्लो चिनीमाया म्याम हो?
उनले जवाफ दिइन्: हजुर हो। कहाँबाट को बोल्नुभ’को?
उताबाट प्रश्न सोधियो: हामीलाई गुन्द्रुक चाहिएको थियो। कम्तीमा पनि १ सय केजी। छ होला त?
उनले भनिन्: छ न त छ। तर अहिले साग फल्ने सिजन नभएका कारण त्यति त अलि पुग्दैन होला, मिलाएर पठाउँला नि है। बरु बाँकी फेरि पछि पठाइदिन्छौँ।
उताबाट उत्तर आयो: हस् हुन्छ। म तपाईंलाई लोकेसन पठाउँछु।
चिनीमाया र उनका साथीहरूलाई आजभोलि यस्तै फोन आइरहन्छ। कहिले पोखराबाट, कहिले काठमाडौँबाट त कहिले भैरहवा, विराटनगर र सुर्खेतबाट।
गुन्द्रुकको अर्डर थामिनसक्नु छ। हेटौँडामा बनाइएका गुन्द्रुक अहिले देशका ठूला सहरका होटलहरूमा अचारको रूपमा प्रयोग हुने गरेको छ।
हेटौँडा–१२ मा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था आबद्ध महिलाहरूको हातले तयार पारेको अमिलो, स्वादिलो गुन्द्रुकले माग धान्न सकेको छैन।
‘गुन्द्रुक बनाएर पनि के बिक्ला भन्ने लागेर काम सुरु गर्नै मन लागेको थिएन,’ संस्थाकी अध्यक्ष गुरुङले भनिन्, ‘सुरुमा मेयर साबले गुन्द्रुक बनाउ, बेच्ने जिम्मा मेरो भयो भन्नुभयो। उहाँले त्यसो भनिरहँदा गुन्द्रुक कस्ले किनेर खान्छ? भन्ने लागेको थियो। तर अहिले माग धान्न सकिएको छैन।’
अर्गानिक साग उत्पादनदेखि गुन्द्रुक बनाउने प्रक्रियासम्म यहाँ करिब १२ देखि १५ जना महिला नियमित रूपमा खटिन्छन्।
बाँकी महिलाहरू भने आवश्यकताअनुसार घण्टाको आधारमा काम गर्छन्। यही सामूहिक प्रयासले महिलाहरूलाई आम्दानी दिएको छ। हेटौँडाको गुन्द्रुक पनि नयाँ बजारसम्म पुगेको छ।
ढाका र गुन्द्रुक जस्तै हेटौँडाका महिलाहरूको सीप एकै क्षेत्रमा मात्रै सीमित छैन। केही महिला काठमा आफ्ना सम्भावना कुँदिरहेका छन्। माध्यम फरक भए पनि उनीहरूको उद्देश्य एउटै छ, सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भरताको यात्रा तय गर्ने।
हेटौँडा उपमहानगरपालिका–५, सिँचाइकुनास्थित एउटा जस्ताको टहराभित्र बिहानैदेखि मेसिनको आवाज गुञ्जिरहेको छ।
टहराभरि काठका चाङ छन्। छेउमा काठ चिर्ने मेसिन राखिएको छ।
काठका धुलोबीच केही महिला निर्जीव काठका टुक्रालाई कलात्मक सामग्रीमा रूपान्तरण गर्न व्यस्त छन्।
सोही समूहकी ४२ वर्षीया विष्णुकुमारी राई दारको ठेकी बनाउन मेसिनमा काठको मुठो राखेर घुमाइरहेकी छन्।
ठेकीको आकार दिन मेसिनसँगै उनका हात पनि उत्तिकै व्यस्त छन्।
काठबाट मेसिनले निकालेको धुलोले उनको परेला खैरा भएका छन्। तर, ठेकीको आकार देखेर उनको आँखाको नानीमा देखिएको उत्साहले बताइरहेको थियो, धुलोको प्रवाह छैन।
समाजले पुरुषको पेसा मान्दै आएको काष्ठकलाको क्षेत्रमा उनीहरूले आफ्नै पहिचान स्थापित गरिरहेका छन्।
२०७४ सालमा ‘श्रमजीवी महिला काष्ठ उद्योग’ दर्ता भएपछि यहाँका महिलाहरूले काष्ठकलाको उत्पादन सुरु गरेका थिए।
सुरुमा सानो स्तरबाट थालेको यो समूहले विस्तारै आफ्नो उत्पादन र सीप दुवैलाई विस्तार गर्दै आएको छ।
अहिले उनीहरूले उत्पादन गर्ने काष्ठ हस्तकलाका सामग्रीहरू हेटौँडामा मात्र होइन, देशविदेशका विभिन्न कार्यक्रमहरूमा समेत प्रयोग हुन थालेका छन्।
दारको ठेकी, मन्दिर, घण्टी फ्रेम, मायाको चिनो, नेपालको नक्सा, कि–रिङलगायतका सामग्रीहरू उपहार तथा सम्मान सामग्रीका रूपमा प्रयोग हुने गरेका छन्।
यस्तै उनीहरूको हातले कुँदिएका काठका फ्रेमहरूमा प्रमाणपत्रसमेत राखेर प्रदान गर्ने चलन बढ्दै गएको छ।
सीप बढ्दै जाँदा बजार पनि विस्तारिएको छ। त्यससँगै महिलाहरूको आम्दानीको दायरा पनि फराकिलो बन्दै गएको छ।
काष्ठकलाको माध्यमबाट मासिक २०/२५ हजारसम्म कमाउन थालेपछि घर खर्च र बचतका लागि अरुको भर पर्नुपर्ने बाध्यता हटेकोमा सम्झना कोइराला दंग छिन्।
साना बाबुनानीका लागि खाजा खर्चको जोहो गर्न र पकेट खर्चसमेत यही काष्ठ हस्तकलाको माध्यमबाट सम्भव भएको उनी बताउँछिन्। ‘घरको काम पनि भ्याइएको छ। रोजगार पनि भइएको छ,’ उनले भनिन्, ‘घरखर्चका लागि यही कामले पुगिरहेको छ।’
घर खर्च चलाउन सधैँ श्रीमानको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ। ‘हामी आफैं कमाउँछौँ, लाउन खान मन लागेको कुरालाई खर्चदेखि सहकारी, टोल विकास संस्थामा बचत राख्न सक्ने भएका छौँ,’ उनले भनिन्।
मकवानपुरको चिनारी दारको ठेकी बनाउने जिम्मासमेत उनीहरूकै काँधमा छ।
पछिल्लो समय ठेकी बनाउन जानेपछि काष्ठकलामार्फत् हेटौँडालाई चिनाउन अर्को परिचय थप्न सकिएको उनीहरूको भनाइ छ।
‘अहिले जुन कार्यक्रममा पनि मायाको चिनोको लागि ठेकी बनाउन लगाउनुहुन्छ, ठेकी बनाउने सीप जानेपछि त अरू सामान बनाउन भ्याउनै मुस्किल छ,’ कोइरालाले भनिन्।

ढाकामा गीता, गुन्द्रुकमा चिनीमाया र काष्ठकलामा विष्णुकुमारी। फरक क्षेत्रमा भए पनि उनीहरूको साझा परिचय उद्यमीको हो।
आफ्नै सीपलाई आम्दानीसँग जोड्दै उनीहरू अघि बढिरहेका छन्। आफ्नै सीप, श्रम र सिर्जनशीलताको बलमा उनीहरू स्वरोजगार बन्दै हेटौँडाको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पुर्याइरहेका छन्।
हुन त हेटौँडामा यी तीन उद्यम मात्रै चर्चामा छैनन्। मेवा, ड्रागन फ्रुट, दालमोठ, बाँसका हस्तकला सामग्री, विवाहका साइपाटा, जुत्ता–चप्पल, गार्मेन्ट उद्योगका उत्पादनलगायत धेरै क्षेत्रमा स्थानीय सीप र श्रमले बजार पाउन थालेको छ।
हेटौँडा उपमहानगरपालिकाले विभिन्न तालिम, सीप विकास कार्यक्रम, उद्यम प्रवर्द्धन तथा समूह सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सीप सिकाउनदेखि उत्पादनलाई व्यवसायसँग जोड्नेसम्मका प्रयासले धेरै महिलालाई स्वरोजगार बन्ने अवसर मिलेको छ।
उपमहानगरपालिकाको सहयोगमा कतिपय महिलाले नयाँ सीप हासिल गरेका छन् भने कतिपयले परम्परागत सीपलाई व्यवसायिक रूप दिएका छन्।
सीप विकास, उद्यम प्रवर्द्धन र उत्पादनको बजारीकरणसम्मको यात्रामा हेटौँडा उपमहानगरपालिकाले उनीहरूलाई निरन्तर साथ दिँदै आएको छ।
परिवर्तन देखेका आँखाहरू
त्यसो त स्थानीय बुद्धिजीवी रामचन्द्र आचार्य ‘फुर्सदी’ का अनुसार पछिल्लो दशकमा हेटौँडाको सामाजिक र आर्थिक परिवेशमा उल्लेखनीय परिवर्तन आएको छ।
‘पहिले यस्ता उद्यम धेरै देखिँदैनथे,’ उनी भन्छन्, ‘अहिले घरघरमा महिलाहरू केही न केही उत्पादनसँग जोडिएका छन्। त्यो परिवर्तन देख्न पाउनु सुखद् छ।’
‘१० वर्षअघिसम्म साँझ परेपछि घरबाट बाहिर निस्कन डर हुन्थ्यो। यस्ता विकास कहाँ देख्न पाउनु। हेटौँडा नै सुनसान थियो,’ उनले थपे, ‘हेटौँडाको सम्रग क्षेत्रमा विकास भएको छ। उद्यम क्षेत्रमा भएको विकासले नै हेटौँडालाई समृद्ध बनाउने हो। अहिले घरैपिच्छे महिलाहरू आफ्नै उद्यममा लागेका छन्। त्यो परिवर्तन हेटौँडामा स्पष्ट देख्न सकिन्छ।’
सीपदेखि बजारसम्मको सहयात्रा
विकास भनेको चिल्ला सडक बन्नु, ठूला भवन ठडिनु वा आकर्षक पार्क निर्माण हुनु मात्र होइन। विकास त्यो हो, जसले नागरिकको जीवनमा अवसर थप्छ।
आयआर्जनको बाटो खुलाउँछ। जब महिलाहरू आफ्नै सीप र मेहनतका आधारमा उद्यम सञ्चालन गर्छन्, आम्दानी गर्छन् र आत्मनिर्भर बन्छन्, त्यहीँबाट विकासको वास्तविक अर्थ देखिन थाल्छ। हेटौँडा आज त्यही विकासको गतिलाई तीव्रता दिइरहेको छ।
हेटौँडा उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाका अनुसार हाल हेटौँडाका ९ सय भन्दा बढी उद्यमीहरू उद्यममा जोडिएका छन्।
उनीहरूको उद्यमबाट झण्डै ५ हजारलाई रोजगारी प्रदान गरिरहेका छन्। उपमहानगरपालिकाले स्थानीय उत्पादनलाई उद्योगको रूपमा विकास गर्ने योजना अघि बढाएको छ।
हाल १४ प्रकारका उत्पादनलाई उद्योगमा रूपान्तरण गर्ने तयारी भइरहेको छ।
यसअन्तर्गत ढाका उत्पादन, कृषि तथा फलफूल–तरकारीमा आधारित व्यवसाय, गार्मेन्ट उद्योग, केरा खेती, अचार, काष्ठकला, दालमोठ तथा चिप्स उत्पादन, गुन्द्रुक तथा बेसार खेती र प्रशोधनजस्ता क्षेत्र समेटिएका छन्।
स्थानीय स्रोत, सीप र उत्पादनलाई बजारसँग जोड्दै उद्यमशीलताको दायरा अझ फराकिलो बनाउने लक्ष्य उपमहानगरपालिकाको छ।
थोेरै बजेटले उल्लेख्य परिणाम दिने भएकोले यस क्षेत्रको विस्तार गर्न सहज भएको सापकोटा बताउँछन्।
‘लगानी अरू क्षेत्रमा पनि छ, तर उद्यमशीलता क्षेत्रको उपलब्धि लोभलाग्दो छ,’ सापकोटाले भने, ‘यस क्षेत्रमा काम गरिरहँदा अन्य क्षेत्रलाई छायाँ पार्ने भन्ने होइन। त्यस्तो भएको पनि छैन। उद्यमीका कारण हेटौँडाको पहिचान फेरिँदै गएका कारण हौसला थपिएको छ।’

स्थानीय उत्पादनमा देखिएको सम्भावना
भौतिक पूर्वाधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक सञ्जाल जस्ता विकासको क्रम जारी रहन्छ। तर यस्ता उद्यमशीलताको क्षेत्रमा गरेको थोरै लगानीले हेटौँडाको पहिचाननै अलग बनाइदिँदा हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू आफैँ दंग छन्।
हेटौँडामा फलेको मेवा, ड्राइगन फ्रुट, ढाकाको कपडा, काष्ठकलाको सामाग्री, गुन्द्रुक, दालमोठ, बाँसको हस्तकला, उनको कपडा, विवाहको साइपाटादेखि जुत्ता चप्पल र दुईवटा आफ्नै गार्मेन्ट।
स्थानीय स्रोत, सीप र श्रमलाई उत्पादनसँग जोड्ने यस्तै प्रयासहरूले हेटौँडाको विकासलाई अझ मजबुत बनाइराख्न सफल भएको उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ बताउँछन्।
‘पहिले म आफैँलाई पनि लाग्थ्यो विकास भनेको पूर्वाधार मात्रै हुन्छ, तर विस्तारै बुझ्दै गएँ, विकास भनेको त आफ्ना पालिकामा भएका नागरिकलाई रोजगारीसँग जोेडेर सक्षम बनाउनु पो रहेछ,’ उपमेयर बानियाँले भने, ‘अहिले हेटौँडाका स्थानीय उत्पादन हेर्नकै लागि अन्य जिल्लाबाट यहाँ भ्रमण टोलीनै आउने गरेको छ। हेटौँडाको पहिचान फेर्न पाउँदा गर्व लाग्छ। जसका लागि उद्यममा लाग्नु भएका दिदी बहिनी दाजुभाइको मिहिनेत अथक छ, उहाँहरूलाई त म सेल्युट नै गर्छु।’
सपनादेखि परिणामसम्म
हेटौँडाको बागडोर सम्हाल्दा नगरप्रमुख मीनाकुमारी लामासामु चुनौतीहरूको चाङ थियो।
रोजगारीको माग गर्दै दैनिकजसो महिलाहरू उनको कार्यकक्ष पुग्थे। त्यही दबाबले उनलाई विकासलाई फरक दृष्टिकोणबाट हेर्न प्रेरित गर्यो।
पूर्वाधारसँगै नागरिकको आर्थिक सशक्तीकरणलाई विकासको आधार मान्दै उनले स्थानीय उत्पादन र उद्यमशीलतालाई प्राथमिकतामा राखिन्। त्यसकै परिणामस्वरूप आज हेटौँडाका धेरै स्थानीय उत्पादनले बजार र पहिचान दुवै पाउन थालेका छन्।
‘त्यो दिन म अझैँ सम्झन्छु। दिदीबहिनीहरू ‘जिताएर पठायौँ, अब जागिर दिनुस्’ भन्दै दिनदिनै आउनुहुन्थ्यो,’ नगरप्रमुख लामा भन्छिन्, ‘एकपटक चीन भ्रमणका क्रममा त्यहाँ गुन्द्रुक उत्पादन र निर्यातको अवस्था देखेँ। त्यहीँबाट हेटौँडामा पनि स्थानीय उत्पादनलाई उद्यमसँग जोड्ने सोच बलियो बन्यो। आज त्यही सपना विस्तारै वास्तविकतामा बदलिँदै गएको देख्दा खुसी लाग्छ।’
साँझ बिस्तारै हेटौँडामाथि ओर्लिँदैछ। गीता अझै तानमै व्यस्त छिन्।
चिनीमायाले भोलिको अर्डर मिलाउन बाँकी छ भने विष्णुकुमारीको ठेकीले अन्तिम आकार पाइसकेको छ।
उनीहरूका लागि यो सामान्य दिनचर्या हो। तर यिनै दिनचर्याले परिवारको आर्थिक अवस्था मात्रै होइन, हेटौँडाको विकासको नयाँ कथा पनि लेखिरहेका छन्।
नगरप्रमुख लामाले भनेझैँ, ‘महिला सक्षम भए सिंगो समाज सक्षम बन्छ।’ यही विश्वासका साथ उपमहानगरपालिकाले महिलालाई सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। तर यसको अर्थ पुरुषलाई पछि पार्नु नभई स्थानीय उत्पादन र उद्यमशीलतालाई सबैको साझा अभियान बनाउनु रहेको उनको भनाइ छ।
सायद त्यसैले आज हेटौँडाको विकास सडक, पुल र भवनमा मात्रै सीमित छैन।
आफ्नै हातले अवसर सिर्जना गर्ने, स्थानीय स्रोतलाई आयआर्जनमा बदल्ने र आत्मनिर्भर भविष्यको जग बसाल्ने यिनै उद्यमी नागरिकहरूको सफल यात्रामा पनि हेटौँडाको समृद्धिको नयाँ परिचय देख्न सकिन्छ।
Shares

प्रतिक्रिया