ad ad

बागमती


काठमाडौँमा किन घट्यो जाडो?

काठमाडौँमा किन घट्यो जाडो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस १२, २०८० बिहिबार ७:३५, काठमाडौँ

केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढिरहेको छ। 

४.५ डिग्री सेल्सियससम्म झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले ८ डिग्री सेल्सियसम्म उक्लिएको छ। 

त्यसैले केही दिनयता काठमाडौँ उपत्यकामा बिहान कठ्यांग्रिँदो जाडो महसुस भएको छैन भने दिउँसो पनि तातो हुने गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ६:४५ बजेको मापनमा पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको छ।

हिजो (बुधबार) यही समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो। तर पछि बिहान ८:४५ बजेको मापनमा ७.८ डिग्री सेल्सियस देखिएको थियो। आधिकारिक न्यूनतम तापक्रम भने यही थियो।

आज पनि काठमाडौँ उपत्यकाको आधिकारिक न्यूनतम तापक्रम अहिले ८:४५ बजे आउने मौसमविद् पुडासैनीले बताए। 

‘तर त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ, अथवा यही कायम रहन पनि सक्छ’, उनले भने। 

यही पुस ५ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४‍‍.५ डिग्री सेल्सियसमा झरेको थियो। त्यसयता क्रमशः बढ्दै अहिले उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसम्म उक्लिएको हो। 

काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि अहिले केही बढेको मौसमविद् पुडासैनीले बताए। ‘आज उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरेका छौँ’, उनले भने। 

केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नभएकाले काठमाडौँ उपत्यकासहित लगभग देशभर तापक्रमको मात्रा केही बढेको मौसमविद् पुडासैनीको भनाइ छ। 

‘अहिले मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन, चिसो ल्याउने पश्चिमी वायुको प्रभाव पनि खासै छैन’, उनले भने, ‘त्यसले गर्दा केही दिनयता तापक्रम केही बढेकै हो।’

यो क्रम अझै कम्तीमा ३ दिनसम्म जारी रहने अनुमान गरिएको मौसमविद् पुडासैनीले बताए। 

उनका अनुसार आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना छ। 

देशभरका लागिआज ३, भोलि ६ प्रदेशमा मौसम बदली हुने अनुमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .