बागमती


चितवन-३ मा सोबिता र रेनुको चर्चा, कस्तो छ जित्ने सम्भावना?

चितवन-३ मा सोबिता र रेनुको चर्चा, कस्तो छ जित्ने सम्भावना?

सोबिता गौतम र रेनु दाहाल


सुनिता विष्ट
माघ १४, २०८२ बुधबार १२:२, हेटौँडा

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन-३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा ६ जना स्वतन्त्र उम्मेदवारसहित १८ जना प्रतिस्पर्धामा छन्। 

तर तीमध्ये मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम र नेपाली कम्युनिस्टकी उम्मेदवार रेनु दाहाललाई हेरिएको छ।

२०७९ सालको चुनावमा काठमाडौँ-२ बाट निर्वाचित गौतम यसपपटक चितवन झरेकी हुन् भने यसअघि भरतपुर महानगरपालिका प्रमुख रहेकी रेनु पनि राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएकी हुन्। यी दुईबिच नै मुख्य प्रतिस्पर्धा हुने आकलन छ। 

चितवन रास्वपाका लागि बलियो जनमत भएको जिल्ला हो। अघिल्लो निर्वाचनमा चितवनका १ र २ मै रास्वपाको जित भएको थियो।

२०७९ को चुनाव हुनु ठिकअघि मात्र खुलेको दल रास्वपाका सभापति रवि लामिछाने चितवन-२ बाट दुईदुईपटक भारी मतका साथ विजयी भएका थिए। त्यस वर्ष मंसिर ४ मा भएको चुनाव जितेर गृहमन्त्री भएका रविले नागरिकता विवादका कारण पद गुमाएपछि फेरि २०८० वैशाख १० गते भएको उपनिर्वाचन उनी अझ बढी मतान्तरले सांसद निर्वाचित भए। 

२०७९ मंसिरको चुनावमा चितवन-१ मा पनि रास्वपाकै हरि ढकाल विजयी भएका थिए। तर त्यो निर्वाचनमा चितवन-३ मा भने रास्वपा तेस्रो स्थानमा सीमित भएको थियो। 

अहिले त्यही निर्वाचन क्षेत्रमा रास्वपाले नेता सोबिता गौतमलाई उठाएको हो। 

२०७९ मा त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे विजयी भएका थिए। उनले ३४ हजार ३६२ मत ल्याउँदा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीले २४ हजार ६७१ मत पाएका थिए भने रास्वपा उम्मेदवार जिता बरालले १४ हजार ७७९ मत मात्रै पाएकी थिइन्।

यसरी अघिल्लो निर्वाचन परिणाम पनि हेर्दा भने चितवन-३ मा यसपटक मुख्य प्रतिस्पर्धीमा रास्वपा र नेकपा मात्र नभएर राप्रपा पनि देखिन्छ। 

यद्यपि गत निर्वाचनमा त्यहाँ प्रत्यक्षतर्फ राप्रपा विजयी भए पनि समानुपातिकतर्फ भने रास्वपा पहिलो दल बनेको थियो। त्यसबेला रास्वपाले समानुपातिकतर्फ २८ हजार मत प्राप्त गरेको थियो।

त्यही मतलाई रास्वपाले आफ्ना उम्मेदवार गौतम विजयी हुने आधार मानेको छ। 

उता त्यही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाकी निर्वतमान मेयर रहेकी नेकपा उम्मेदवार दाहाल पक्षले भने उनले आफ्नो कार्यकालमा त्यहाँ गरेका विकास-निर्माणलाई जितको आधार मानेको छ। 

दुई कार्यकाल भरतपुर महानगरपालिकाको बागडोर सम्हालेकी दाहाल चितवन-३ का मतदाताका लागि नयाँ अनुहार होइनन्।

मेयर हुँदा जनताको मन जितेकी उनी मत जित्नेमा पनि ढुक्क देखिन्छिन्। 

तर २०७९ मा दाहाल आबद्ध तत्कालीन नेकपा माओवादी केन्द्रले पाएको मत हेर्ने हो भनेचाहिँ जित्न चुनौती देखिन्छ।

किनकि त्यसबेला प्रत्यक्षतर्फ विजयी राप्रपाभन्दा ९ हजारभन्दा बढी कम मत ल्याएको माओवादीले समानुपातिकतर्फ १६ हजार ९० मत मात्र ल्याएको थियो। 

तथापि दाहालले यसपटक आफ्नो दलबाहेकका मतदाताबाट पनि मत तान्न सक्ने देखिन्छ।

अहिले चितवन-३ मा उनीहरूसँगै नेकपा एमालेबाट शंकर थपलिया र नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ पनि चुनावी मैदानमा छन्।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले समानुपातिकतर्फ १४ हजार ५२२ मत पाउँदा कांग्रेसले १० हजार ५२४ तथा तत्कालीन नेकपा एकीकृत समाजवादीले १ हजार ८५ मत ल्याएका थिए। अहिले नेकपामा त्यस बेलाको एकीकृत समाजवादी पनि सामेल रहेकाले त्यो मत पनि रेनुले पाउने देखिन्छ। 

पछिल्लो चर्चाका कारण गौतम र दाहाललाई प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिए पनि उक्त क्षेत्रमा बलियो प्रभाव रहेको राप्रपा, दर्बिलो संगठन भएका एमाले र कांग्रेसका उम्मेदवारलाई पनि कम आँक्न मिल्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad