नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई निवासमै बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन्।
बिहीबार साँझ देउवा निवास बुढानीलकण्ठ पुगेका मुख्यमन्त्री लामालाई देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका हुन्।
पार्टीभित्रको विवाद चुलिँदै जाँदा देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न भनेका हुन्।
सभापतिसँगको संवादमा मुख्यमन्त्री लामाले आफ्ना साथीहरूसँग छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन्।
मुख्यमन्त्री लामानिकट स्रोतका अनुसार उनले यस विषयमा आफ्नो समूहमा रहेका प्रदेश सांसद र पार्टीका केही शीर्ष नेतासँग छलफल गर्ने बताएका छन्।
लामालाई हराउँदै कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि बागमती सरकार संकटमा परेको छ।
प्रदेश सांसद रामकृष्ण चित्रकारका अनुसार देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले छलफल गर्न आज दिउँसोका लागि सांसदहरूलाई बोलाएका छन्।
आजको छलफलबाट राजीनामाका विषयमा के गर्ने भन्ने निर्णय हुने चित्रकारको भनाइ छ।
‘हिजो मुख्यमन्त्रीज्यू र पार्टी सभापतिज्यूसँग बागमतीको राजनीतिको विषयमा संवाद भयो भनेर मुख्यमन्त्रीज्यूले जानकारी गराउनुभएको छ,’ उनले नेपालखबरसँग भने, ‘अब राजीनामा दिने कि यत्तिकै अघि बढ्ने भन्ने निर्णय उहाँले गर्नुहोला। त्यसै विषयमा छलफल गर्नका लागि आज हामीलाई बोलाउनुभएको छ। पार्टी हितविपरीत हामी जाँदैनौँ। जे गर्दा उचित लाग्छ, त्यही निर्णय लिनुहोला।’
निर्णय लिनुअघि मुख्यमन्त्री लामाले पार्टीका केही शीर्ष नेताहरूलाई भेट्ने र यसपछि आजै भैँसेपाटीस्थित सरकारी निवासमा आफू निकटका सांसदहरूसँग छलफल गर्ने तयारी छ।
स्रोतका अनुसार आज साँझसम्म मुख्यमन्त्री लामाले आफ्नो निर्णय गर्नेछन्। उनले मुख्यमन्त्रीबाट राजीनामा नदिएको खण्डमा आफ्ना मन्त्रीहरूलाई विश्वासको मत फिर्ता लिएर सरकार छाड्न एमालेले निर्देशन दिइसकेको छ।
उता मुख्यमन्त्री लामा भने संसद्मा विश्वासको मत लिनुपर्ने स्थिति आए पद जोगिने दाउ पनि हेरिरहेका छन्।
उनी निकटका १५ सांसदले उनलाई नै मत दिए भने माओावदी केन्द्रका २१, राप्रपाका १२, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी लामाका पक्षमा ५६ जना हुन्छन्।
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ। ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा बानियाँका पक्षमा उनीनिकटका २२, एमालेका २७ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ सांसद हुने अनुमान छ।
तर नेमकिपाले जस्तोसुकै परिस्थितिमा पनि सरकारका पक्षमा उत्रेको विगत छैन।
तसर्थ एमालेका २७ र आफूनिकट कांग्रेसका २२ गरी अहिलेसम्म बानियाँका पक्षमा ४९ जना मात्र पक्का देखिन्छ।
Shares

प्रतिक्रिया