बागमती प्रदेशको राजधानी हेटौँडामा २ वर्षअघि स्थापना गरिएको बागमती धुलो दूध उद्योग अझै परीक्षण उत्पादनमै सीमित रहेको भनेर जनगुनासो आइरहेका बेला प्रदेश सरकारले नियमित सञ्चालनका लागि कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको दाबी गरेको छ।
२०७७ पुस १६ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको धुलो दूध उद्योग ४७ करोड रुपैयाँ खर्चिएर झन्डै ३ वर्षमा निर्माण पूरा गरिएको थियो।

त्यसपछि उक्त धुलो दूध उद्योगमा परीक्षण उत्पादनका लागि दुग्ध विकास संस्थान (काठमाडौँ) र प्रदेश दुग्ध विकास बोर्ड (हेटौँडा) बीच १४ मंसिर २०८० मा लिखित सम्झौता भयो।
यसपश्चात् २२ माघ २०८० मा परीक्षण उत्पादनसम्बन्धी सम्झौतापत्रमा बोर्डका तत्कालीन निर्देशक सजिता ज्ञवाली र हेटौँडास्थित दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालीन निर्देशक राजीव खनालबीच पुन: हस्ताक्षर भयो।
त्यसयता डीडीसीले उक्त उद्योगमा धुलो दूध र बटर उत्पादन गरिरहेको डीडीसीका निमित्त आयोजना प्रमुख अञ्जन अधिकारीले जानकारी दिए।
हालसम्म ४४ लाख लिटर दूध प्रशोधन गरेर ३ सय ९९ मेक्ट्रिक टन धुलो दूध र २ सय मेक्ट्रिक टन बटर उत्पादन गरिएको उनले बताए।
उनका अनुसार बागमती प्रदेशको मात्रै नभएर छिमेकी मधेस प्रदेश तथा पश्चिमी जिल्लाबाट दूध संकलन गर्ने गरिएको छ।

यसरी डेढ वर्षदेखि परीक्षणकै रूपमा उत्पादन भइरहेको बागमती धुलो दूध उद्योग नियमित रूपमा सञ्चालनका लागि कुन संस्थालाई जिम्मा दिने भन्ने विषयमा प्रदेश सरकार अझै टुंगोमा पुग्न सकेको छैन।
प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. रामप्रकाश श्रेष्ठ केही संरचना थप गरेर प्रतिस्पर्धाका आधारमा धुलो दूध उद्योग चलाउन सक्ने संस्थालाई भाडामा जिम्मा दिने तयारी भइरहेको बताउँछन्।
यसका लागि कार्यविधि बनाउन प्रदेश दुग्ध विकास बोर्ड र प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय लागिरहेको बताइएको छ।
अब केही समयभित्रै धुलो दूध उद्योग पूर्ण रूपमा सञ्चालन गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको कृषिमन्त्री मधुसुदन पौडेलको दाबी छ।
‘बागमती प्रदेश सरकारले लामो समय लगाएर निर्माण गरेको उद्योग परीक्षणका लागि भनेर डीडीसीलाई दिइएको रहेछ। तर यसलाई पूर्ण रूपमा सञ्चालन गर्न कार्यविधि बनाइरहेका छौँ’, मन्त्री पौडेलले नेपालखबरसँग भने, ‘यो उद्योगलाई हामी छिट्टै सञ्चालनमा ल्याउने तयारीमा छौँ। जसका लागि डीडीसीलाई नै दिने कि अन्य संस्थालाई भन्ने विषयमा छलफल चलिरहेको छ।’

यसैबीच डीडीसीका निमित्त आयोजना प्रमुख अधिकारी भने जिम्मेवारी दिए उक्त उद्योग आफूहरूले नै राम्रोसँग सञ्चालन गर्न सक्ने बताउँछन्।
उनले भने, ‘दूध उत्पादनमा खासै समस्या छैन। तर संरचना थप्नुपर्ने आवश्यकता देखिन्छ। उत्पादित धुलो दूध भण्डारण, प्याकेजिङ कक्षजस्ता संरचना अत्यावश्यक छन्। त्यसबाहेक जेनेरेटरको आवश्यकता देखिन्छ। यो सबै कुरा हुँदाहुँदै पनि उद्योग सञ्चालन गर्न समस्या छैन। डीडीसीलाई चलाउन दिने हो भने जिम्मेवार भएर हामी धुलो दूध उद्योग चलाउन सक्छौँ।’

उता प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल भने धुलो दूध उद्योग जति कम चल्यो, उति किसानका लागि फाइदा हो भनेर बुझ्नुपर्ने बताउँछन्।
किसानले उत्पादन गरेका दूध बिक्री गर्न नपाएर सडकमा पोख्नुपर्ने अवस्था नआओस् भनेर मात्र प्रदेश सरकारले धुलो दूध उद्योग स्थापना गरेको उनको भनाइ छ। तर किसानलाई अहिले त्यस्तो समस्या नरहेकाले धुलो दूध उद्योग चलेन भनेर चिन्ता गर्नुपर्ने विषय नभएको जिकिर उनले गरे।
उपाध्यक्ष पौडेलले भने, ‘किसानको दूध बजारमा जानु नै सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ। दूध धेरै उत्पादन हुने समयमा दुग्ध सहकारी संस्थाहरूले किसानमार्फत संकलन गरेको दूध बजारमा बिक्री भएन भने मात्र धुलो दूध बनाएर भण्डारण गर्ने हो। धुलो दूध उद्योग चलेन भनेर चिन्ता गर्न आवश्यक छैन।’
Shares

प्रतिक्रिया