बागमती


कुलेखानी जलाशयमा पानीको सतह अन्तिम विन्दुमा, काठमाडौँमा विद्युत्‌ अभाव हुने आशंका

कुलेखानी जलाशयमा पानीको सतह अन्तिम विन्दुमा, काठमाडौँमा विद्युत्‌ अभाव हुने आशंका

कुलेखानी जलाशयमा पानीको वर्तमान अवस्था।


सुनिता विष्ट
भदौ १, २०८२ आइतबार १३:५०, हेटौँडा

देशकै पहिलो मानव-निर्मित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह अन्तिम विन्दुमा पुगेको छ।

बर्खाको समयमा पनि जलाधार क्षेत्रमा पर्याप्त वर्षा नहुँदा जलाशायमा जलसतह अन्तिम विन्दुमा पुगेको हो।

कुलेखानी जलाशयमा पानीको वर्तमान अवस्था।

काठमाडौँ उपत्यकामा विद्युत्‌को मुख्य स्रोतका रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनामा पानीको सतह लगभग सकिने अवस्थामा पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए।

वर्षात्‌को समयमै पानीको सतह घटेपछि हिउँदमा विद्युत् आपूर्तिमा समस्या आउने भट्ट बताउँछन्।

कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्री सतहबाट १ हजार ५३० मिटर हो भने यसको न्यूनतम सीमा १ हजार ४८४ मिटर हो।

केन्द्र प्रमुख भट्टका अनुसार आइतबार (आज) कुलेखानी जलाशयमा पानीको सतह १ हजार ४९४ मिटर छ।

अब यसमा १० मिटर पानीको सहत कम भए न्यूनतम सीमा हुनेछ।

केन्द्र प्रमुख भट्टका अनुसार गत वर्ष भदौ पहिलो साता कुलेखानीको जलाशय १ हजार ५१३ मिटर थियो।

जलाशाय पूर्ण रूपमा भरिँदा झन्डै ८५ लाख घनमिटर पानी जम्मा हुने उनको भनाइ छ।

वर्षायाम सुरु भए पनि कुलेखानी जलाधार क्षेत्रमा राम्रोसँग पानी नपरेकाले जलाशयमा पानी जम्मा नभई रित्तिँदै गएको प्रमुख भट्टले जानकारी दिए।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयको सतह घट्दै गएकाले सञ्चालनको समय कटौती गरिएको बताइएको छ।

नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशय विद्युत् आपूर्ति सन्तुलन गर्न र अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा वितरण प्रणाली व्यवस्थित गर्न सञ्चालन गरिन्छ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन्।

६० मेगावाट क्षमताको कुलेखानी प्रथम जलविद्युत् आयोजनाले पछिल्लो आवश्यकताका अधारमा विद्युत् उत्पादन गरिरहेको छ।

‘पर्याप्त वर्षात् नहुँदा गत वर्ष भन्दा जलाशायको सतह न्यूनतम स्थितीमा पुगेको छ’, केन्द्र प्रमुख भट्टले भने, ‘अघिल्लो वर्ष यो बेला १ हजार ५१३ मिटरको हाराहारीमा जलाशाय भरिएको थियो। यो पटक जलाधार क्षेत्रमा वर्षा नहुँदा पानीको विन्दु अन्तिम अवस्थामा पुगेको छ।’

उनले थपे, ‘अझै पानी पर्ने सिजन बाँकी नै छ। त्यसैले आत्तिनुपर्ने अवस्था त छैन। तर पानी राम्रोसँग परेन र आयोजनास्थल नभरिए त्यसैले यो वर्षको हिउँदमा काठमाडौँ उपत्यकामै विद्युत्‌को अभाव हुनसक्छ।’

नेपालको एक मात्र जलाशययुक्त आयोजना भएकाले वर्षात्‌मा पानी जम्मा गरी हिँउदको समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी काठमाडौँ उपत्यकामा प्रवाह गर्दै आएको छ।

३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा १ हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ।

२०७२ सालको भूकम्पपश्चात् क्षमताभन्दा २/३ मिटर कम पानी संकलन गर्ने गरिएको आयोजनाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad