आर्थिक संकटका कारण समयमा कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ।
उद्योगलाई मासिक ३ हजार ६ सय मेट्रिक टन कोइला चाहिन्छ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले दसैँको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए।
उनले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सोमबारदेखि सिमेन्ट उत्पादन बन्द गरेको बताए।
महाप्रबन्धक पाण्डेले आर्थिक संकटबारे कन्द्रीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराएको र केही अनुदान उपलब्ध भएमा उद्योग पुनः सञ्चालनमा ल्याइने बताए।
कूल तीन लाख बोरा सिमेन्ट काठमाडाैँलगायत विभिन्न सहरमा बिक्रीका लागि तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री-वितरण गर्न समस्या भएको जनाइएको छ।
कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ।
२०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २०४३ मंसिर २६ गतेबाट व्यावसायिक रूपमा उत्पादन सुरुवात गरेको थियो। उद्योगमा ३९० कर्मचारी कार्यरत छन्।
Shares
प्रतिक्रिया