बागमती


श्रीकृष्ण विक मृत्यु प्रकरणः इन्सपेक्टर र जवानलाई विभागीय कारबाहीको  सिफारिस

श्रीकृष्ण विक मृत्यु प्रकरणः इन्सपेक्टर र जवानलाई विभागीय कारबाहीको  सिफारिस

सुनिता विष्ट
बैशाख ३१, २०८३ बिहिबार २०:३९, हेटौँडा

सिन्धुलीको हिरासतमा शंकास्पद रुपमा मृत फेला परेका सुनकोसी गाउँपालिका–३ का श्रीकृष्ण विकको घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ। 

विकको शंकास्पद मृत्यु प्रकरण छानबिनका लागि बनेको समितिले प्रतिवेदनमा इलाका प्रहरी कार्यालय, खुर्कोटका इन्स्पेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको हो।

घटनाबारे छानबिन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो। समितिले प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाएको छ। 

प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर बसन्त भुजेल र तत्कालीन बेलामा हिरासतको ड्यूटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ। सिफारिस अनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरेर बागमती प्रदेश कार्यालय तानिएको छ। 

त्यस्तै, खुर्कोटमा कार्यरत अन्य १० जना प्रहरीलाई भने ध्यानाकर्षण र सचेत गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। हिरासतमै रहेको अवस्थामा मृत भेटिएका विकको घटना शंकास्पद देखिएपछि प्रहरीले समिति बनाएर थप अनुसन्धान अघि बढाएको थियो। 

आचार्यको संयोजकत्वमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सोही कार्यालयका सई राजेश्वर देवकोटा सदस्य राखिएको थियो। 

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक रेग्मीका अनुसार प्रतिवेदनमा उल्लेख भए अनुसार प्रहरी दोषी भेटिए विभागीय कारबाही हुनेछ।

डीआइजी रेग्मीले नेपालखबरसँग भने, ‘इन्सपेक्टरलाई प्रदेश कार्यालय तानेका छौं। अहिले त्यहाँ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अर्का एकजना इन्सपेक्टरलाई खटाइएको छ। छानबिनका क्रममा उहाँहरू दोषी देखिनुभयो भने विभागीय कारबाही हुन्छ।’

विक वैशाख ७ गते साँझ हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए। उनलाई उद्धार गरेर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

विकको भिसेरा परीक्षणदेखि ‘होल बडी’ पोस्टमार्टम गर्ने काम समेत सकाएर प्रतिवेदन तयार पारेको समितिले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad