बागमती


सामान्य विवादमै छिमेकीले लिए दाजुभाइको ज्यान, ६ जना पक्राउ

आफैंले फोन गरेर प्रहरीलाई दिएका थिए जानकारी
सामान्य विवादमै छिमेकीले लिए दाजुभाइको ज्यान, ६ जना पक्राउ

सुनिता विष्ट
बैशाख ३१, २०८३ बिहिबार १८:२६, हेटौँडा

नुवाकोटको म्यागङ गाउँपालिका–४ का ४३ वर्षका समराज तामाङ र उनका ३६ वर्षका भाइ सूर्यमान कुलोमा पानी लगाउन भनेर मंगलबार (वैशाख २९ गते) बिहानै घरबाट निस्किएका थिए। 

यत्तिकैमा बाटोमा छिमेकी ३६ वर्षका धनबहादुर तामाङसँग दाजुभाइको भेट भयो र सामान्य भनाभन सुरु भयो। उनीहरूबीच पहिल्यैदेखि नै बेला/बेलामा झगडा हुँदै आएको थियो। 

मंगलबार पनि सामान्य विवाद भएको थियो। सोही राति नुवाकोट प्रहरीको कन्ट्रोल रुपमा फोन धनबहादुरले फोन गरेर समराज र सूर्यमानलाई गोली हानेर हत्या गरेको जानकारी दिए।

यसअघि गोलीको आवाज आएपछि गाउँलेले प्रहरीलाई खबर गरिसकेका थिए। खोजी गर्दै जाने क्रममा बुधबार प्रहरीले म्यागङ गाउँपालिका–१ मा पर्ने किम्ताङबेशी स्थित तोमजोङ खोलामा ढुंगाले च्यापेको अवस्थामा दाजुभाइको शव फेला परेको थियो।

झगडा के निहुँमा सुरु भयो, भन्ने विषयमा जानकारी नभए पनि पुरानो रिसिबिकै कारण दुई दाजुभाइको हत्या भएको खुलेको नुवाकोट प्रहरीले जनाएको छ। 

समराज र सूर्यको घरबाट ७/८ सय मिटरको दूरीमा घर रहेका धनबहादुर तामाङलाई धादिङको खनियाँबास गाउँपालिका–भीरवनबाट आज बिहान पक्राउ गरिएको छ। उनीसँगै सोमबहादुर तामाङ पनि पक्राउ परेका छन्। यसअघि तत्कालै घटनास्थलबाट अन्य ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो।

मुख्य अभियुक्त भनिएका धनबहादुर सहित सोमबहादुरलाई आज बिहान पक्राउ गरिएको हो। उनीहरूको साथबाट ३ थान भरुवा बन्दुक समेत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सह–प्रवक्ता प्रहरी उपरीक्षक बीर बहादुर बुडाऐरले जानकारी दिए। उनका अनुसार घटनास्थलमा एउटा खुकुरी फेला परेको थियो। 

सोही वडाका वडाध्यक्ष कमल बहादुर तामाङका अनुसार धनबहादुर र सूर्यको परिवारबीच केही समय अघि पनि झगडा भएको थियो। प्रायः सामान्य भनाभन हुँदै आएपनि हात हालाहालको स्थिती भने यसअघि नभएको उनले बताए। 

सूर्यमान नुवाकोटमै निर्माण व्यवसायमा आवद्ध थिए भने समराज गतवर्ष मात्रै कतारबाट फर्किएका हुन्। उनले भाइ सूर्यमानको व्यवसायमा सघाउँदै आएका थिए।

समराजको ११/१२ वर्षकी छोरी छिन् भने श्रीमतीसँग केही समयअघि डिभोर्स भएको थियो। उनका भाइ सूर्यकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा क्रोसियामा रहेको वडाध्यक्ष तामाङले बताए। उनीहरूको ८ वर्षको एउटा छोरा काठमाडौँमा बसेर अध्ययन गरिरहेका छन्।

समराज र सूर्यमान घरमा आमाबुवासँग बस्दै आएका थिए। सूर्यमान नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत हुन्।

प्रहरीका अनुसार दुवैजनाको शवको मुचुल्का पश्चात् पोष्टमार्टमका लागि नुवाकोटको त्रिशूली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad