बागमती


नुवाकोट-२ मा केसी परिवारको विरासत धान्न जगदीश्वरनरसिंहलाई चुनौती

नुवाकोट-२ मा केसी परिवारको विरासत धान्न जगदीश्वरनरसिंहलाई चुनौती

सुनिता विष्ट
माघ २०, २०८२ मंगलबार २१:५६, हेटौँडा

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोट–२ मा कांग्रेसका ‘हेभीवेट’ नेता जगदीश्वरनरसिंह केसी परिवारको पुरानो विरासत कायम राख्ने राणनीति सहित चुनावी मैदान उत्रिएका छन्।

अघिल्लो निर्वाचनमा उनका दाजु अर्जुननरसिंह केसी विजयी भएको यहाँ यो पटक उनी विजयी हुन चाहन्छन्। अर्जुननरसिंह केसीले भने चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले समानुपातिक सूचिको उनको नाम राखेको छ। 

नुवाकोट–२ को हरेक निर्वाचनमा प्रायः केसी परिवारसँगको टक्करमा पुग्ने नेता हुन् एमाले नेता केशव पाण्डे। २०७० सालको संविधान सभा निर्वाचनदेखि चुनावी भिडन्त गर्दै आएका केसी र पाण्डे आउँदो फागुन २१ गतेको निर्वाचनका पनि प्रतिस्पर्धी हुन्।

२०७० को संविधान सभा निर्वाचनमा यस क्षेत्रमा कांग्रेसबाट अर्जुननरसिंह केसी विजयी हुँदा पाण्डे पराजित भए। त्यतिबेला अर्जुननरसिंहका भाइ जगदीश्वर भने समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेका थिए। 

२०७४ को आम निर्वाचनमा नुवाकोट २(२) बाट बागमती प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका पाण्डेको प्रतिस्पर्धीमा केसी परिवार जोडिए। अघिल्लो निर्वाचनमा दाजुसँग हार व्यहोरेका पाण्डे प्रदेश निर्वाचनमा भाइको प्रतिस्पर्धी बने।

जगदीश्वरनरसिंह केसी र पाण्डेबीचमा चुनावी प्रतिस्पर्धा भयो। पाण्डेले २० हजार ९ मत ल्याउँदा केसीले १२ हजार ७२९ मत मात्रै प्राप्त गरे। संविधान सभा सदस्य बनिसकेका केसीको प्रदेश यात्रामा ब्रेक लाग्यो। 

२०७९ को निर्वाचनमा एमालेबाट नारायणप्रसाद खतिवडा उम्मेदवार बनेका थिए। त्यतिबेला कांग्रेसबाट अर्जुननरसिंह केसी पुनः उम्मेदवार बने। केसी विजयी हुँदा एमाले तेस्रो स्थानमा खुम्चनु परेको थियो। रास्वपाका सुमन विक्रम पाण्डे दोस्रो भएका थिए।

गठबन्धनको साथ पाएका केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भएका थिए। एमालेका खतिवडाले १५ हजार ५६१ मतका साथ तेस्रो हुँदा राप्रपाका झनक प्याकुरेलले १ हजार ५७१ मत प्राप्त गरेका थिए। 

आगामी निर्वाचनका लागि यहाँ नेकपाले हिरानाथ खतिवडालाई उम्मेदवार बनाएको छ। २०७४ को निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका खतिवडा पहिलो पटक प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका हुन्।

पुराना नेता खतिवडा मत तान्न सक्ने छविका कारण उम्मेदवार बनाइएको नेकपाका नेताहरू बताउँछन्। यस क्षेत्रमा २०६४ मा तत्कालीन नेकपा माओवादीबाट पोष्टबहादुर बोगटी विजयी भएका थिए। १८ वर्षपछि यस क्षेत्रबाट जित निकाल्ने जिम्मेवारी खतिवडाको काँधमा आइपरेको छ। 

आउँदो निर्वाचनमा सबै दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिदा नुवाकोट–२ मा ठूला दलका लागि रास्वपा चुनौती हुने देखिन्छ। २०७९ मै गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसी २८ हजार १०७ मतसहित विजयी हुँदा रास्वपाबाट उठेका सुमन विक्रम पाण्डे १६ हजार ४७७ मत प्राप्त गर्दै दोस्रो बनेका थिए।

नयाँ दलको नयाँ उम्मेदवार मैदानमा आउँदा पनि लोकप्रिय मत बटुलेको रास्वपा अघिल्लो मतलाई जोगाएर आउँदो निर्वाचनमा बहुमतले विजयी हुने रणनीति सहित चुनावी गतिविधि अघि बढाइरहेको छ। यहाँ रास्वपाबाट अचुत्तम लामिछाने उम्मेदवार बनेका छन्। 

उम्मेदवारी दर्तादेखि नै चुनावी घरदैलोमा होमिएका लामिछाने नुवाकोट–२ को महोल रास्वपामय भएको बताउँछन्। खेल क्षेत्रको रुपान्तरण नुवाकोटदेखि प्रवाससम्म, सांस्कृतिक उन्नयन देखि सुशासनसम्म भन्ने नारा लिएर मतदाताको घरदैलो पुगिरहेका छन्। 

रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेल आकांक्षीहरूमध्ये जित्ने सम्भावना भएको नेतालाई उम्मेदवार बनाउँदा माहोल रास्वपामय भएको दाबी गर्छन्।

‘चुनावको तीव्र तयारी गरिरहेका छौँ, उनले भने, ‘अहिले ग्रामिण भेगका मतदाता भेट्ने क्रमलाई तीव्रता दिएका छौँ। उहाँहरुको गुनासो सुन्ने, सुझाव लिने र चुनाव चिह्न चिनाउने काम भैरहेको छ। हामीले गरेको प्रारम्भिक अनुमानका ५ देखि ७ हजारको मतान्तरमा चुनाव जित्छौँ।’

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा विजय हासिल गरेको कांग्रेस साख जोगाउने कसरतमा छ। कांग्रेसबाट उम्मेदवार बनेका केसी विजयी हुनेमा दुईमत नरहेको कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महत बताउँछन्। 

यस्तै, एमालेका उम्मेदवार पाण्डेलाई जिताउन सिंगो एमाले नै लागिपरेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली बताउँछन्। यस क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने माहोल बढ्दै गएको मैनालीको दाबी छ।

‘नेकपा एमाले ठुलो संगठन भएको दल भएकै कारण पनि पराजित हुँदैन, विजयी हुने नै हो,’ उनले भने, ‘हाम्रो प्रतिस्पर्धी नयाँ दल होइन, नेपाली कांग्रेस नै हाम्रो मुख्य प्रतिस्पर्धी हो। भूगोल नबुझेको उम्मेदवारलाई यहाँका जनताले जिताउनु भयो भने विकास देख्न चाहानुहुन्न भन्ने प्रमाण हो।’ 

नुवाकोट–१ का उम्मेदवार समेत रहेका अध्यक्ष मैनालीका अनुसार जिल्लामा एमालेका उम्मेदवार जिताउन ४ हजार १२० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। यसमा विभिन्न उपसमितिहरू गठन गरेर चुनावी कार्यक्रमहरूको प्रचार प्रसार गरिँदै आएको उनले बताए।

यता, २०७४ र २०७९ निर्वाचनमा पालैपालो एमाले र कांग्रेसलाई सहयोग गरेको तत्कालीन माओवादी केन्द्र (हालको नेकपा)ले यसपटक पनि आफूलाई एक्लै चुनावी प्रतिस्पर्धामा उतारेको छ।

नेकपाबाट उम्मेदवार बनेका खतिवडा यो पटक नुवाकोट–२ मा नेकपाकै जित हुने दाबी गर्छन्। जनयुद्धकालदेखि राजनीतिमा लागेर नुवाकोटको विकासमा आफूले दिएको योगदानकै आधारमा मतदाताले आफूलाई विश्वास गरेर जिताउने उनको दाबी छ।

‘२०७४ को निर्वाचनमा बागमती प्रदेश सभामा निर्वाचित भएर मैले गरेको कामहरुले नै मलाइ जिताउनेछ, उनले भने, ‘नुवाकोटका मतदाताहरू यो पटक गम्भीर भएर भोट हाल्नुहुन्छ भन्नेमा म ढुक्क छु। विगतमा गरेको काम र नेकपामा रहेको स्पष्ट ऐजेन्डाका कारण जनताले दायाबाया सोचिरहन आवश्यक छैन।’

मुख्य प्रतिस्पर्धी चार दलका नेताहरू आफ्नै पार्टीले जित हासिल गर्ने दाबी गरिरहँदा यही दाबी साथ १३ जना उम्मेदवार चुनाव प्रचारमा व्यस्त छन्।

यहाँ उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट किरण तिमसेना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झनक प्याकुरेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट नवराज ढुंगाना, मंगोल नेशनल अर्जनाइजेसनबाट रेन्छेन तामाङ, श्रम संस्कृति पार्टीबाट विनोद कुमार तामाङ छन्। 

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट सुवाश भट्ट, आम जनता पार्टीबाट मानसिंह गोदाइली, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रजमान तामाङ, र उज्यालो नेपाल पार्टीबाट ज्ञानेन्द्र घले चुनावी मैदानमा छन्। 

गएको निर्वाचनमा प्राप्त मतका आधारमा नुवाकोट–२ मा प्रत्यक्षतर्फ कांग्रेस पहिलो, रास्वपा दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छ। कांग्रेसको समानुपातिक मत २० हजार ८५, एमालेको १५ हजार २४८, रास्वपाको १० हजार ८३४ र माओवादीको १० हजार ३५९ मत रहेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad