बागमती प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेका छन्।
मंगलबार काठमाडौँ-२ बाट रास्वपा टिकट लिएर उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि उनले सोमबार प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको पत्र इमेलमार्फत पठाएका थिए। उनले दलको कुनै जानकारी नै नगराई राजीनामा दिएको राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा बताउँछन्।
२०७९ को आम निर्वाचनमा केसी राप्रपाको टिकट लिएर प्रदेश सभामा इन्ट्री गरेका थिए। काठमाडौँ २(१) बाट राप्रपाका उम्मेदवार बनेका उनले नेकपा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई पराजित गरेका हुन्। बागमती प्रदेशका पूर्वसभामुख समेत रहेका श्रेष्ठलाई १ हजार ५१९ मतान्तरले पराजित गरेर केसी विजयी भएका थिए।
यसअघि राप्रपाबाट प्रदेश सांसद बनेपनि उनले सदनमा बोल्दै नबोली साँढे तीवर्षको समय बिताए। प्रदेश सभा बैठकलाई महत्व नै नदिने केसी यो अवधिभर जम्मा १७ वटा बैठकमा मात्रै उपस्थित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयका अनुसार सांसद केसीले प्रदेश सभाको पहिलो अधिवेशनको प्रदेश सभा बैठकमा उल्लेख्य सहभागिता जनाएका थिए। पहिलो अधिवेशनको ८ वटा बैठकमा सहभागी भएका सांसद केसीले दोस्रो अधिवेशनको ५ वटा बैठकमा सहभागी भएको तथ्यांक छ भने तेस्रो अधिवेशनमा एउटा बैठकमा सहभागी थिए।
यस्तै, चौथो अधिवेशनमा २ वटा बैठकमा सहभागी भएका केसी त्यपछिका कुनै बैठकमा पनि उपस्थित भएनन्। सदनलाई महत्व नदिने उनले राजीनामा पनि इमेल मार्फत नै पठाएका हुन्। प्रदेशको निर्वाचमा भाग लिन त्यतिबेला पनि ३ महिना अघि मात्रै राप्रपामा प्रवेश गरेका थिए। त्यसअघि उनी लौरो अभियानमा लागेका थिए।
प्रदेश सांसद भैरहँदा पनि उनले सदनलाई भन्दा आफ्नो निर्वाचन क्षेत्र र काठमाडौँको विकास निर्माणको कामलाई प्राथमिकतामा राखे। हलो चुनाव चिह्नबाट प्रदेश सांसद निर्वाचित भए पनि उनी काठमाडौँका पूर्व मेयर बालेन शाह निकट मानिन्थे। जसअनुसार केसीलाई रास्वपाले प्रतिनिधि सभाको टिकट दिएको बताइएको छ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा रास्वपाकी सविता गौतम विजयी भएकी थिइन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहको लागि होल्ड गरिएको थियो। उनी झापा-५ मा जाने निश्चित भएपछि बालेन निकटका केसीलाई काठमाडौँ-२ मा टिकट दिएको थियो। यस क्षेत्रबाट निर्वाचित भएकी गौतमलाई भने चितवन-३ पठाइएको छ।
रास्वपाका केसीसहित यस क्षेत्रमा एमालेका मणिराम फुयाँल, कांग्रेसका कविर शर्मा, राप्रपाबाट कुन्तीदेवी पोखरेल र नेकपाबाट नितेश पौडेल लगायत २२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
Shares

प्रतिक्रिया