बागमती


केन्द्रमा ‘जम्प’ गर्ने प्रयास गर्दा प्रदेश कमिटीबाटै चिप्लिए यी एमाले नेता

केन्द्रमा ‘जम्प’ गर्ने प्रयास गर्दा प्रदेश कमिटीबाटै चिप्लिए यी एमाले नेता

सुनिता विष्ट
पुस ७, २०८२ सोमबार १७:२६, हेटौँडा

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियाबाट केन्द्रीय कमिटीमा डेब्यु गर्ने आकांक्षासहित उम्मेदवारी दिएका २० जना नेताहरू अन्ततः पार्टीको तल्लो कमिटीको जिम्मेवारीबाट समेत हटेका छन्।

बागमती प्रदेश कमिटीका ३२ जना पदाधिकारी तथा सदस्यले केन्द्रीय कमिटी सदस्यका लागि उम्मेदवारी दिएका थिए। तीमध्ये १२ जना मात्र निर्वाचित भएर केन्द्रीय कमिटीमा पुग्न सफल भए भने बाँकी २० जना प्रदेश कमिटीको जिम्मेवारीबाट समेत चिप्लिएका हुन्।

एमालेको विधानमा माथिल्लो तहमा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भइसकेपछि कार्यरत पद स्वतः नरहने प्रावधान छ। सो अनुसार प्रदेश कमिटीमा रहेका पदाधिकारी तथा सदस्यहरूले केन्द्रीय कमिटीमा उम्मेदवारी दिएका कारण प्रदेश कमिटीको पद स्वतः खारेज भएको एमाले बागमती प्रदेश कमिटीकी उप सचिव भक्तकुमारी लामाले बताइन्। 

उनका अनुसार उम्मेदवारी दिएकामध्ये १२ जना निर्वाचित भएर केन्द्रीय कमिटीमा पुगेका छन् भने २० जनाको स्वत: पद गएको हो। प्रदेश कमिटीबाट बाहिरिनेमा प्रदेश कमिटीका सचिवदेखि सचिवालय सदस्य तथा सदस्यहरु रहेका छन्।

२०८० असोज ८ र ९ गते काठमाडौँमा भएको बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट निर्वाचित भएका सचिव नवराज सिलवाल पदमुक्त भएका छन्। ललितपुरका सिलवालले भूगोल राजधानी विशेष क्लष्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। उनको पक्षमा उत्साहजनक मत प्राप्त भए पनि विजयी भने बन्न सकेनन्। उनको पक्षमा १ हजार ४८ मत खसेको थियो। 

यता, प्रदेश कमिटी सदस्य रामेछापका शान्तिप्रसाद पौडेल, सीतादेवी कार्की, गंगादेवी कार्की, चिवतनकी शारदा कुमाल र राम प्रसाद न्यौपाने, रसुवाको कर्णेल लामाको पद खारेज भएको हो। 

यस्तै, काठमाडौँका उद्धव प्रसाद खरेल, केशव प्रसाद पोखरेल, विदुर चालिसे, प्रकाश श्रेष्ठ, विष्णु कुमारी भुसाल र सन्तोष खड्काको पद पनि गयो।

यता, काभ्रेबाट प्रदेश कमिटीमा प्रतिनिधित्व गर्दै आएका कञ्चन अधिकारी, जेनिस लामा र ज्ञानबहादुर तामाङ केन्द्रीय कमिटीमा पुग्न खोज्दा प्रदेश कमिटीबाटै बाहिरिए। दोलखाका ईश्वरचन्द्र पोखरेल, धादिङका धुव्र विक, भक्तपुरका राम बहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका टासी लामाले पनि एमाले बागमती प्रदेश कमिटी सदस्यको पद स्वतः गुमाए। 

प्रदेश कमिटीमै रहेर उम्मेदवारी दिएका ३२ जनामध्ये १२ जना केन्द्रीय कमिटीमा डेब्यु गर्न सफल भए। काठमाडौँका गणेश प्रसाद अर्याल, अमन मास्के, सपना अर्याल बानियाँ, ललितपुरका तारा सञ्जेल, सिन्धुपाल्चोककी डोल्मा तामाङ र हस्त पण्डित, सिन्धुलीका प्रदीप कटुवाल, चितवनका कृष्ण प्रसाद सिलवाल, कृष्ण प्रसाद भुर्तेल र निशा अधिकारी प्रदेश कमिटी सदस्यबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। 

यस्तै, मकवानपुरका एकालाल श्रेष्ठ र काभ्रेका अशोक ब्यन्जु पनि प्रदेश कमिटी सदस्यबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad