दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले हिन्दू अधिराज्य, राजसंस्था र संघीयता खारेज लगायतका मागका विषयमा अध्ययन गर्न थप समय मागेको छ।
नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल नेतृत्वको उच्च स्तरीय समितिले पठाएको पत्रमा उनका मुख्य मागहरू उल्लेख गर्दै त्यसबारे अध्ययन गर्न समय लाग्ने आशय व्यक्त गरेको हो। प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले राखेका २७ बुँदे मागमध्ये सरकारले ५ वटा मुख्य माग उल्लेख गरी अध्ययन गर्न थप समय आवश्यक देखिएको बताएको हो।
‘महाअभियानले राखेका अन्य विविध मुद्दाहरूका सम्बन्धमा यस अवधिमा घनीभूत छलफल भएको छ। वार्ता र संवादकै माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न सरकार प्रतिबद्ध छ’, पत्रमा भनिएको छ।
यससँगै प्रसाईंले राखेका माग पूरा गर्न थप अध्ययन गर्न आवश्यक भएको पनि उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, ‘प्रस्तुत मागहरूमध्ये कतिपय नीतिगत, कानूनी र संवैधानिक जटिलतासँग जोडिएकाले सम्बन्धित मन्त्रालयहरू र अन्य सरोकारवाला पक्षहरूसँग व्यापाक परामर्श एवं विस्तृत प्राविधिक अध्ययन गर्न थप समय आवश्यक देखिएको छ।’
सरकारले पठाएको पत्रमा भएका पाँच बुँदाः
१) २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित सभाका क्रममा महाअभियानका केन्द्रीय अध्यक्ष श्री दुर्गा प्रसाईं लगायतका अभियन्ताहरूमाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अघि बढाउनुपर्ने।
२) भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दिगो वैकल्पिक व्यवस्थापन नभएसम्म हालको स्थानबाट नहटाइने सुनिश्चितता हुनुपर्ने।
३) बैंक, वित्तीय संस्था, सहकारी र लघुवित्तसँग सम्बन्धित समस्याहरू (कालोसूची हटाउने, २० लाख मुनिको ऋण मिनाहा, ३५ दिने सार्वजनिक सूचना लिलामी प्रक्रिया स्थगन एवं ऋणीको घरमा गरिने पिरलो अन्त्य) सम्बोधन हुनुपर्ने।
४) किराँत, बौद्धसहितको हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाका सन्दर्भमा जनमत संग्रहको माध्यमबाट निर्णय लिनुपर्ने।
५) चिकित्सा शिक्षातर्फ नर्सिङ, एमबीबीएस र एमडी अध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्नुपर्ने।
यी मागहरूबारे प्रधानमन्त्री कार्कीले प्रसाईंसँग छलफल गर्ने पत्रमा उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, ‘यी मुद्दाहरूमा दुई समितिहरूबीच निरन्तर संवाद गर्ने र आगामी मिति २०८२ पुस १५ गतेभित्र सम्मानीय प्रधानमन्त्री श्री सुशीला काकीज्यू र महाअभियानका अध्यक्ष श्री दुर्गा प्रसाईंज्यूबीच उच्चस्तरीय भेटवार्ता गर्ने निर्णय भएको जानकारी गराउँदछौंँ।’
यसअघि पनि पुस १ गते प्रधानमन्त्री कार्की र प्रसाईंबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। त्यसपछि सरकारले प्रधानन्त्रीका मुख्य सल्लाहकार खनालको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान वार्ता समिति गठन गरेको थियो। त्यही समितिका संयोजक खनालले हस्ताक्षर गरेर पत्र सोमबार प्रसाईंलाई पठाइएको हो।
Shares

प्रतिक्रिया