नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मकवानपुरका ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सोमबार काठमाडौँमा जारी चुनावी प्रक्रिया अन्तर्गत मकवानपुरबाट केन्द्रीय सदस्य पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
जिल्लाका ४ नेताले संस्थापन प्यानलबाट उम्मेदवारी दिएका हुन् भने २ नेताले इतर प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली प्यानलबाट रामेश्वर राना, महेश कुमार बर्तौला, भारती पाठक र एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् भने इतर अर्थात् ईश्वर पोखरेलको प्यानलबाट कृष्णप्रसाद दाहाल र देव कृष्ण विकल केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्।
रानाले बागमती प्रदेश भूगोल तर्फबाट खुला सदस्यमा उम्मेदवारी दिएका हुन् भने बर्तौलाले युवातर्फको खुला सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्। यता, भारती पाठकले खुला महिला कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउँदा श्रेष्ठले जनजाती कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
यता, ईश्वर प्यानलबाट दाहाल खुला सदस्यतर्फका उम्मेदवार हुन् भने विकल दलीत कोटातर्फका उम्मेदवार हुन्। दाहालले एमाले बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पराजय भोगेका थिए।
२०८० असोज ८ र ९ गते काठमाडौँमा सम्पन प्रदेश कमिटीको निर्वाचनमा कैलाश ढुंगेलसँग पराजय भोगेका दाहाल पार्टीको इतर समूहको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट ढुंगेलसँग २५७ मतान्तरले पारजित भएका दाहाल पोखरेल प्यानलबाट केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा होमिन लागेका हुन्।
एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न पश्चात् मतगणना हुने बताइएको छ।
Shares

प्रतिक्रिया