यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका दर्जनभन्दा बढी सरकारी संरचनामा आक्रमण भए। प्रायः सबै प्रदेश संरचना ध्वस्त भए। बागमती प्रदेशका १४ मन्त्रालयमध्ये १० वटामा आगजनी गरियो। चार मन्त्रालय भने मुस्किलले बचे।
तत्कालीन क्षेत्रीय निर्देशनालयको कार्यालयबाट सञ्चालित प्रदेशसभाको पुरानो भवन र गत साउन २७ गते मात्र उद्घाटन गरिएको नयाँ भवन पनि जलाइयो।
दिउँसो १ बजेतिर हेटौँडास्थित नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा पनि आगजनी भइसकेको थियो। अनि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवासदेखि कार्यालयसम्म प्रदर्शनकारीको निसानमा परिसकेका थिए।
राजनीतिक दलका कार्यालयहरूबाट सुरु तोडफोड र आगजनीले आधा घण्टाभित्र बागमती प्रदेशका आधा दर्जन मन्त्रालय आगोको मुस्लोमा परिसकेका थिए।
दिउँसो करिब पौने २ बजे बागमती प्रदेशसभा भवन परिसरमा जेनजी समूहको प्रदर्शन सुरु भयो। केही बेरमै गेट फोडियो। भित्र रहेका सामान चोरिए। कर्मचारीका सवारीसधानमा आगजनी गरियो र अन्तमा प्रदेशसभा परिसरमा रहेका सबै भवनमा आगो लगाइयो।
जब ऐन निर्माण गर्ने थलो प्रदेशसभा भवन जल्न थाल्यो, तब सभामुख भुवनकुमार पाठकले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे।
प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट सभामुख बनेका पाठक तीन वर्षसम्म यो पदमा बसे।
२०७९ पुस २८ मा सभामुख पदका लागि भएको निर्वाचनमा पाठकले ६२ मत पाएका थिए। एमाले, माओावदी केन्द्र र राप्रपाको साझा उम्मेदवार बनेका उनलाई कम्युनिस्टहरूकै मतले सभामुख बनाएको थियो।
त्यसो त त्यतिबेला संघीयताविरोधी व्यक्तिलाई सभामुखको कुर्सी सुम्पिएको भन्दै उनको विरोध नभएको पनि होइन, तर सुरुवाती अवस्थामा केन्द्रदेखि प्रदेशसम्मै गठबन्धन सरकारमा सहभागी भएको राप्रपाले बागमतीमा सभामुखककै पद पायो।
त्यसपछि सत्ता गठबन्धन फेरियो, तर पनि सभामुख पाठकको पद गएन। तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको प्रदेश सरकार हुँदा उनलाई हटाउने प्रयास त गरियो तर केही सांसदले साथ नदिँदा सफल हुन सकेन।
सभामुख बनेपछि राजनीतिक दलबाट अलग भई स्वतन्त्र हुनुपर्ने प्रावधान भए पनि राप्रपाका महामन्त्री पाठकले पार्टीको सदस्यता त्यागेनन्। अन्य दललाई पेलेरै सदन चलाइरहे।
आवरणमा गणतन्त्र रक्षकजस्तो देखिए पनि उनले सधैँ राजतन्त्र र राजावादी दललाई काखी च्यापिरहे। राप्रपा प्रदेश संसदीय दलको नेता उद्धव थापा भए पनि निर्णायक भूमिकामा पाठकले नै अधिकार जमाइरहे।
प्रदेश खारेजीको माग बोकेर प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको राप्रपालाई सभामुख पाठकले मौन समर्थन गरिरहे।
यसको बलियो उदाहरण हो- प्रदेश सरकारले गौरवका रूपमा मनाउने गणतन्त्र दिवस, संविधान दिवसजस्ता कार्यक्रममा कहिल्यै सहभागी भएनन्।
हुन त जेनजी आन्दोलनलाई राप्रपाले खुलेरै समर्थन गर्यो। पाठकले मात्र होइन, राप्रपाबाट निर्वाचित १२ सांसदले नै राजीनामा दिए।
राप्रपाका प्रवक्ता एंवम् पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले भदौ २४ गते प्रेस विज्ञप्ति जारी गरी संसद् र संविधानको औचित्य समाप्त भएको भन्दै आफ्नो पार्टीबाट प्रतिनिधि सभा र प्रदेशसभामा रहेका सांसद सामूहिक राजीनामा दिने जानकारी गराए।
यसै क्रममा बागमती प्रदेशका सभामुख पाठकले उक्त दिन दिउँसो २:४९ बजे फेसबुकमा स्टाटस लेखे।
जसमा उनले भनेका थिए, ‘गह्रौँ तर दृढ मनले मैले बागमती प्रदेशसभाको सभामुखको पदबाट राजीनामा दिने निर्णय गरेको छु, सभामुखको हैसियतमा मैले सधैँ लोकतन्त्र र सभाको गरिमा जोगाउन प्रयास गरेँ। तर यस घडीमा नयाँ पुस्ताको न्यायोचित आकांक्षासँग ऐक्यबद्धता जनाउनु नै मेरो पहिलो दायित्व ठान्छु। यस कार्यकालमा मप्रति देखाइएको विश्वास सहयोग का लागि म आभारी छु। सभाले समयको मागअनुसार सत्यनिष्ठा र जिम्मेवारीसहित अघि बढोस् भन्ने मेरो शुभेच्छा छ।’
उनले यो स्टाटस लेख्दासम्म प्रदेशसभा भवन जलिसकेको थियो।
उनको यो कदमको यतिबेला आलोचना भइरहेको छ। संघीयता खारेजीको एजेन्डा बोकेको दललाई सभामुखजस्तो गरिमामय पद सुम्पिँदा पाठकले त्यसो गरेको आशंका पनि गरिएको छ।
यस विषयमा नेपालखबरले सभामुख पाठकको धारणा बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।
तर प्रदेशसभा सचिवालयका कर्मचारीहरूका अनुसार पछिल्लो समय उनले सदनको अवस्थाबारे चासो दिइरहेका छन्।
टेलिफोनमार्फत प्रदेशसभा भवन र त्यसको वस्तुस्थितिबारे जानकारी लिइरहेको प्रदेशसभाका एक कर्मचारीको भनाइ छ।
Shares

प्रतिक्रिया