सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६, गातीका श्रीकृष्ण श्रेष्ठ काठमाडौँमा फुपू राममाया श्रेष्ठको घरमा बसेर स्नातक पहिलो वर्ष पढ्थै थिए।
काठमाडौँको बागबजारमा रहेको क्याम्पसमा अध्ययनरत उनी सोमबार बिहान जिम गएर फर्किए र ९ बजेतिर खाना खाएर कसैलाई केही नभनी घरबाट निस्किए।
बिहानै खाना बनाइदिएर पसल निस्किएकी राममायालाई भदै श्रीकृष्ण त्यस दिन कहाँ गएका थिए, थाहै थिएन।
तर जब त्यही दिन बानेश्वरमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाउनेमा श्रीकृष्ण पनि रहेको थाहा पाइन्, तब छांगाबाट खसेजस्तै भइन्।
अहिले उनी पीडाले विक्षिप्त अवस्थामा छिन्।
लामो सास फाल्दै उनले नेपालखबरसँग भनिन्, ‘आन्दोलनका भिडिओहरू मोबाइलमा आउन थालेपछि भाइलाई फोन गरिरहेँ। कहिले लाग्दै लागेन, लागेको बेला उठेन। दिउँसो ४ बजेदेखि अस्पतालैपिच्छे चहारेर खोजेँ। ७ बजेतिर ट्रमा सेन्टरमा शव रहेको कुरा भाइकै साथीहरूले पत्ता लगाए। कोखामा गोली लागेको छ रे। मैले हेर्न सकेको छैन।’
गाउँमा एसईईसम्मको पढाइ सकेका उनलाई क्याम्पस पढाउने भन्दै फुपू राममायाले नै काठमाडौँ लगेकी थिइन्। बागबजारको त्यही क्याम्पसमा ११ र १२ को पढाइ सकेर श्रीकृष्णले यसै वर्ष मात्र स्नातक तह सुरु गरेका थिए।
अर्धचेतजस्तै बनेकी राममायाले बागबजारको क्याम्पसमा पढ्ने गरेको तर आफूलाई क्याम्पसको नाम याद नभएको बताइन्।
श्रीकृष्णको निधनले यतिबेला गाती गाउँ नै शोकमा डुबेको छ। छोरालाई गोली लागेर मृत्यु भएको खबरले उनकी आमा देवीमाया सम्हालिन सकेकी छैनन्।
‘दुईभाइ छोरामध्ये कान्छो छोराको मृत्युको समाचारले श्रीकृष्ण बाबुको आमाको अवस्था नाजुक बनेको छ’, पूर्ववडाध्यक्ष मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘उसको बाचाहिँ शव बुझ्नका लागि भर्खर काठमाडौँ हिँडे। १९/२० वर्षको युवाको मृत्युले यतिबेला हाम्रो सिंगो गाउँमै रुवाबासी चलेको छ।’
श्रीकृष्ण तिलक श्रेष्ठ र देवीमाया श्रेष्ठका कान्छा छोरा थिए। जेठा दाजु रामकृष्ण श्रेष्ठ सोही वडामा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्।
सोमबार काठमाडौँको बानेश्वरमा भएको जेन-जीको आन्दोलनमा प्रहरीको गोली लागेर श्रीकृष्णसँगै १७ जना मारिएका हुन्।
Shares

प्रतिक्रिया