बागमती


वडाध्यक्ष खनालको आँट: आफैँले क्याम्पस खोलेर १२ पढे, ५२ वर्षको उमेरमा स्नातक थाले

कक्षा ११ मा भर्ना हुँदा स्नातक अध्ययनरत छोरा भन्दै थिए, ‘पास हुनुभएन भने त बेइज्जत हुन्छ त!’
वडाध्यक्ष खनालको आँट: आफैँले क्याम्पस खोलेर १२ पढे, ५२ वर्षको उमेरमा स्नातक थाले

आफू पढ्ने क्याम्पसअगाडि वडाध्यक्ष शिवराज खनाल


सुनिता विष्ट
भदौ ६, २०८२ शुक्रबार १२:७, हेटौँडा

उमेर ५२ वर्ष। तर उत्साह र आकांक्षा २० वर्षको जस्तो। काँधमा किताब र कापीले भरिएको झोला। सर्टको गोजीमा कालो कलम। अनि दाहिने हातमा ‘नोट बुक’। बिहान ७ बजेतिर हिरो होन्डा बाइक क्याम्पसको प्रांगणमा राखेर हतारिँदै कक्षाकोठामा प्रवेश गर्दै थिए- वडाध्यक्ष शिवराज खनाल।

मकवानपुरको मनहरी गाउँपालिका-१ का वडाध्यक्ष खनाल गत साउन अन्तिम साता हेटौँडा उपमहानगरपालिका-१९ स्थित श्री निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक तहमा भर्ना भएका हुन्। अघिल्लो वर्ष मनहरी-१ मै रहेको श्री बाल जीवन ज्योति उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ पास गरेका ५२ वर्षका वडाध्यक्ष खनालले चालु शैक्षिक सत्रबाट स्नातक अध्ययन थालेका हुन्।

वडाध्यक्ष शिवराज खनाल

बाराको सिद्धेश्वर माध्यमिक विद्यालयबाट २०४९ सालमा एसएलसी उत्तीर्ण गरेका खनालको पढाइ घरायसी समस्याका कारण यत्तिमै रोकिएको थियो। त्यतिबेला २० वर्षको उमेरमा बारा जिल्लाको विद्यालयबाट एसएलसी गर्दा यही पढाइ स्नातकसरह महत्त्वपूर्ण मानिन्थ्यो।

चारदाजुभाइमध्ये साइँलो खनालका जेठा दाजुबाहेक सबैले एसएलसी पास गरेका छन्। घर नजिकै क्याम्पस नहुँदा र घरका कामधन्दामा आमाबुवालाई सघाउनुपर्ने भएकाले तीन दाजुभाइकै पढाइ एसएलसीमै रोकियो। 

घरायसी काम र आफ्नो व्यवसायसँगै शिवराज राजनीतिमा लागे। नेपाली कांग्रेसमा आबद्ध खनाल २०७४ सालमा स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिका-१ मा वडाध्यक्षमा उठे। चुनाव जित्दै वडाध्यक्ष बनेपछि खनालले दुई वर्षजति वडाको विकास-निर्माणका काममा बिताए। 

उनको वडामा तीनवटा विद्यालय थिए। जसमध्ये उनका छोराहरू बाल जीवन ज्योति माध्यमिक विद्यालयमा पढ्थे। २०७५ सालमा उनले उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्ने मौका पाए।

त्यही वर्ष खनालको नेतृत्वमा वडाका लागि एम्बुलेन्स किन्ने उद्देश्यले स्थानीय मन्दिरमा सप्ताह लगाइयो। सप्ताहमा ८ लाख रुपैँया संकलन भयो। तर एम्बुलेन्स सप्ताहमा सहभागी हेटौँडाकै एक प्रतिष्ठित व्यवसायीले किनिदिने भएपछि वडाध्यक्ष खनालले सप्ताहबाट उठेको रकमले गाउँमै ११/१२ पढ्ने क्याम्पस खोल्ने निर्णय गरे। 

यसपछि २०७८ सालमा मनहरी-१ मा रहेको उनी व्यवस्थापन समितिको अध्यक्ष रहेकै विद्यालयमा कक्षा १२ सम्मको पढाइ सुरु भयो। आफ्ना दुई छोराले एसएलसीसम्मको पढाइ पूरा गरेको विद्यालयमा ११ र १२ कक्षा थपिएपछि साथीहरूले उनैलाई पढ्न सल्लाह दिए।

साथीहरूले दिएको सल्लाह त ठिकै थियो, तर उनलाई डर थियो, ‘पास भए त ठिकै हुन्छ। फेल भएँ भने बालबालिकाहरूका अगाडि एउटा वडाध्यक्ष त्यसमा पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फेल भएँ भने त!’

ती दिन सम्झिँदै उनले नेपालखबरसँग भने, ‘त्यसैले तुरुन्तै पढ्ने आँट गर्न सकिनँ।’

तर अन्तत: उनी आफैँ अध्यक्ष रहेको विद्यालयमा कक्षा ११ मा भर्ना भए। र, किशोर-किशोरीसँगै पोसाकसहित पढ्न विद्यालय धाउन थाले।

उता भारतमा स्नातक अध्ययन गरिरहरेका उनका जेठा छोरा कृष्णप्रसाद खनाल भने ४८ वर्षको उमेरमा बुवा कक्षा ११ पढ्न थालेको खबरले तनावमा परे।

त्यसपछि उनले फोन गरेर बुवालाई भने, ‘कतै साथीहरूको उक्साहटमा लागेर भोलि लाजमर्दो अवस्था त आउने होइन?’

तर शिवराजले त्यस्तो केही नहुने भनेर छोरालाई सम्झाए। 

तर कृष्णले प्रश्न गरे, ‘तपाईंले पास गर्न सक्नुपर्‍यो नि! पास हुनुभएन भने त बेइज्जत हुन्छ त!’

शिवराजले अडान लिए, ‘आ..चिन्ता नलेऊ छोरा। तँ आँट म पुर्‍याउँछु भन्छन् रे भगवान्‌ले।’ 

केही नसोची शिवराज क्याम्पस धाइरहे। यत्तिकैमा दुई महिना बित्यो। तर छोराको कुराले उनको मनमा एउटा डर भने पस्यो। 

शिवराज सुनाउँछन्, ‘हुन पनि हो, फेल भएँ भने त भन्ने लागिरह्यो। अनि विषयगत शिक्षकसँग जोडिएँ। पढाइको नोट तयार गर्न थालेँ।’

कान्छो छोरा लक्ष्मण खनाल मकवानपुर क्याम्पसमा कक्षा १२ मा पढ्दै थिए।

कान्छो छोरासँग शिवराजले भने, ‘तिमी सानो हुँदा मैले पढाएँ। अब तिमी ठुलो कक्षामा छौ, मलाई पढ्न सिकाऊ।’

बुवाको कुरामा सहमत हुँदै लक्ष्मणले पनि हरेक साँझ उनलाई पढाउन थाले। अंग्रेजीमा कमजोर खनाललाई यो विषयमा चाहिँ फेल हुन्छु कि भन्ने पीर थियो। तर कडा मिहिनेत गरेपछि उनी सबै विषयमा पास भए। 

कक्षा ११ उत्तीर्ण हुँदा शिवराज त हौसिए नै, बुबा पास भएको खबरले छोराहरू पनि निकै खुसी भए। 

यसपछि अब पास गर्न सक्ने रहेछु भन्ने लागेर शिवराज कक्षा १२ मा भर्ना भए। सोही तरिकाले पढेर उनले २०८० सालमा १२ पनि पास गरे। 

तर त्यसपछि उनी एक वर्ष त्यत्तिकै बसे। यसबीच उनलाई साथीभाइबाट स्नानतक पनि पढ्न दबाब आयो। अनि चालु शैक्षिक सत्रबाट भर्ना भए- स्नातक तहमा। 

श्रीमती विनिता खनालले पनि हौसला दिएको उल्लेख गर्दै शिवराज भन्छन्, ‘मेरो इच्छा पूरा गराउन मेरी श्रीमतीले धेरै साथ दिइन्। घरबार सबै हेरेर मलाई पढ्न पठाइन्। दिउँसो वडाको काममा व्यस्त हुन्छु। तर पनि मेरी श्रीमतीले पढ्न नजानू, घरको का गर्न भ्याइनँ भनेर अहिलेसम्म भनेकी छैनन्। अहिले पनि उनकै सहयोगमा पढ्ने निर्णय गरेको हुँ।’

गत स्थानीय तहको निर्वाचनबाट पनि वडाध्यक्ष पदमा दोहोरिएका खनाल राजनीति र औपचारिक अध्ययनलाई सँगसँगै अघि बढाइरहेका छन्। 

उनले हाँस्दै नेपालखबरसँग भने, ‘पढाइ छाडेको वर्षौंपछि १२ पढियो। अब ब्याचलर्स भर्ना भएको छु। यो सकाउन कति वर्ष लाग्ने हो थाहा छैन। यो भन्दा माथिको पढाइबारे भने सोचेको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad